ग्लोबल आईएमई लघुवित्तले घोषणा गर्याे हालसम्मकै उच्च लाभांश, कुन वर्षमा कति ?
काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले हालसम्मकै उच्च लाभांश घोषणा गरेको छ । मंसिर २८ गते बसेको संस्थाको सञ्चालक समितको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको २८.९२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जुन संस्थाले हालसम्म वितरण गरेको लाभांशभन्दा बढी हो । संस्थाले गत आवको नाफाबाट २७.४७ प्रतिशत बोनस र १.४५ प्रतिशत नगद(कर प्रयोजनको लागि) गरी २८.९२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । लघुवित्तको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले साे मात्राकाे लाभांश पाउनेछन् । हाल संस्थाको चुक्ता पुँजी २५ करोड ९५ लाख रुपैयाँ रहेको छ । २७.४७ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ३३ करोड रुपैयाँ नाघ्ने छ । संस्थाले हालसम्म ५ वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गरिसकेको छ । संस्थाले अघिल्लो आव २०७५/७६ को नाफाबाट सेयरधनीलाई १८.४२ प्रतिशत लाभांश (१७.५ प्रतिशत बोनस र ०.९२ प्रतिशत नगद) वितरण गरेको थियो । त्यस्तै, आर्थिक वर्ष २०७४/७५को १५.७८७५ प्रतिशत, २०७३/७४ को २१.०५ प्रतिशत, २०७२/७३ को २० प्रतिशत र २०७१/७२को १३.६८ प्रतिशत लाभांश सेयरधनीलाई वितरण गरेको थियो ।
बोनसपछि चिलिमे हाइड्रोको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?
काठमाडौं । सोमबार चिलिमे हाइड्रोपावर कम्पनीको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५७० रूपैयाँ कायम भएको छ । नेप्सेले कम्पनीको आइतबार (मंसिर २८ गते) को अन्तिम कारोबार मूल्य प्रतिकित्ता ६२७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
प्रभु लाइफ इन्स्योरेन्स चौथो वर्षमा प्रवेश, यसरी मनायाे वार्षिकाेत्सव
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स स्थापनाको तेस्रो वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । २०७४ मंसिर २८ गतेदेखि जीवन बीमा व्यवसाय शुरुवात गरेको यो कम्पनीले आफ्नो वार्षिकोत्सवको अवसरममा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरुमा सहभागी हुने कार्यलाई निरन्तरता दिंदै आएको छ । आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखालाई स्यानिटाइजर, मास्क र साबुन सहितको स्वास्थ्य सुरक्षा सम्बन्धी सामाग्रीहरु उपलब्ध गराएको छ । २०७७ मंसिर २८ गतेका दिन महानगरीय ट्राफिक प्रहरी महाशाखामा आयोजित एक समारोहमा प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले उक्त सामाग्रीहरु ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरिक्षक जनक भट्टराईलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा प्रभु लाइफ इन्स्योरेन्सका वरिष्ठ अधिकृतहरु एवम् उक्त महाशाखाका ट्राफिक प्रहरी पदाधिकारीहरुको उपस्थिति रहेको थियो । यसैगरी उक्त कम्पनीका प्रदेशस्थित कार्यालयहरुबाट पनि रक्तदान लगायतका विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रमहरु संचालन गरिएको थियो । थप समाचारः प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ भोलिदेखि भर्न पाइने