छिमेक लघुवित्तले पायाे अन्तराष्ट्रिय स्तरको प्रतिष्ठित ग्राहक संरक्षण प्रमाण पत्र

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले स्मार्ट अमेरिकाको क्याम्पियनबाट अन्तराष्ट्रिय स्तरको मापदण्ड पुरा गरेको विश्वका उत्कृष्ट वित्तीय संस्थाको रुपमा मान्यताको प्रमाणपत्र प्राप्त गरेका छ । अमेरिकाको वासिगंटन डीसीमा अवस्थित स्मार्ट क्याम्पियनले निर्धारण गरेका ग्राहक संरक्षण सम्बन्धि ७ सिद्धान्त र १९२ मानकहरुलाई यस वित्तीय संस्थाले पुर्ण रुपमा पालना गरेको हुनाले संस्थाले उक्त प्रमाणपत्र प्राप्त गरेको हो । ग्राहकको आवश्यकता अनुसारको सेवा सुविधा, ग्राहकलाई अधिक ऋण ग्रस्त हुनबाट जोगाउने, संस्थाको प्रत्येक क्रियाकलाप पारदर्शिता, सेवाको मुल्य निर्धारण गर्दा जिम्मेवार बन्ने, ग्राहकको तथ्याङ्क तथा सुचनाहरु गोप्य राख्ने र ग्राहकको गुनासो सुनुवाई संयन्त्र चुस्थ र दुरुस्त बनाई राखेकाे कारण संस्था ग्राहक संरक्षण प्रमाण पत्र पाउन योग्य भएको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीले वताए । २०५८ सालमा नेपाल राष्ट्र बैंकबाट छिमेक विकास बैंकको रुपमा स्थापना भई हाल देशको ६७ जिल्लाका १७३ शाखा मार्फत कार्य गर्दै आइरहेको राष्ट्रिय स्तरको छिमेक लघुवित्त वित्तीय संस्थाले हालसम्म विकट गाउँ, पिछडिएका विपन्न वर्गका ३ लाख ८३ हजारभन्दा बढि  परिवारहरुलाई आयमुलक क्षमता अभिवृद्धि कार्यक्रमका साथै वित्तीय साक्षरता सहित वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ । अन्तराष्ट्रिय स्तरको प्रतिष्ठित सर्टिफिकेसन पाएसँगै संस्थालाई थप उर्जा प्राप्त भएकाे जाेशीले बताए । यस प्रमाणपत्र प्रक्रियामा निरन्तर सहयोग गर्दै आइरहेको युकेएड सक्षम एक्सेस टु फाइनान्स, गुड रिटर्न, एम–सीआरआईएल, सञ्चालकहरु, पूर्वप्रमुख कार्यकारी अधिकृत रामचन्द्र जोशी, संस्थाका कन्सल्ट्यान्ट नवीन सुवेदी, संस्थाका सम्पूर्ण कर्मचारी र ग्राहकप्रति संस्थाले विशेष आभार प्रकट गरेको छ।

नागरिक लगानी कोषको नाफा ५६ प्रतिशतले बढ्यो, जगेडामा १३ अर्ब २६ करोड रुपैयाँ सञ्चित

काठमाडौं । नागरिक लगानी कोषले खुद नाफा ५६.०४ प्रतिशतले बढाएको छ । कोषले सार्वजनिक गरेको चैतसम्मको वित्तीय विवरण अनुसार एक वर्षको अवधिमा कोषको खुद नाफा ५६.०४ प्रतिशतले बढेको हो । गत आवको चैत मसान्तमा ३७ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको कोषले चालु आर्थिक वर्षको सो अवधिसम्ममा ५९ करोड २० लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो । त्यस्तै, कोषको खुद आम्दानी ३७ प्रतिशतले बढेर ४ अर्ब ६७ करोड रुपैयाँ नाघेको छ । जुन अघिल्लो वर्षको चैत मसान्तसम्ममा ३ अर्ब ४१ करोड रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दनी घटेर प्रतिकित्ता २६.३१ रुपैयाँमा झरेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ ५२ रुपैयाँले घटेर १५६ रुपैयाँ कायम भएको छ । कोषको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषको रकम ८३ प्रतिशतले बढेर १३ अर्ब २६ करोड रुपैयाँ सञ्चित रहेको छ ।

वीर अस्पतालमा चाैधरी फाउण्डेसनले १८ शैयाको आईसीयू वार्ड र नबिल बैंकले अक्सिजन प्लान्ट स्थापना गर्ने

काठमाडौं । वीर अस्पतालमा चाैधरी फाउण्डेसनले १८ शैयाको आईसीयू वार्ड र नबिल बैंकले अक्सिजन प्लान्ट स्थापना गर्ने भएकाे छ । फाउण्डेसन र बैंकले अस्पतालसँग यस विषयमा मंगलबार समझदारी पत्रमा हस्ताक्षर गरेको छ । फाउण्डेसनका तर्फबाट उपाध्यक्ष निर्वाण चौधरी, प्रतिष्ठानका उपकुलपति प्रा.डा. देवनारायण शाह र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाहले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । सरकारले वीर अस्पताललाई ‘केन्द्रीय कोभिड अस्पताल’ घोषणा गरेको छ । वीर अस्पतालको नयाँ भवनलाई अक्सिजन प्लान्टसहितको आईसीयू वार्ड बनाउन यस्तो पहल गरिएकाे फाउण्डेसनले जनाएकाे छ । नबिल बैंकद्वारा स्थापना गरिने अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक मिटर/प्रतिघण्टा रहनेछ । यसअनुसार एक दिनमा ४० लिटर क्षमताका १५० सिलिन्डर अक्सिजन भर्न सकिनेछ । चौधरी फाउन्डेसनका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले कोरोना महामारीले आक्रान्त मुलुकलाई जिम्मेवार कर्पोरेट नागरिकको रूपमा सहयोग गर्न पाउँदा आफूहरूलाई सन्तोष लागेको बताP । ‘कोरोनालाई परास्त गर्न हाम्रो संयुक्त प्रयास आवश्यक छ,’ उनले भने, ‘हरेक नागरिक, सामाजिक संघसंस्था, कर्पोरेट हाउस अहिले एकजुट भएर सार्वजनिक अस्पतालहरूसँग सहकार्य गर्दै अत्यावश्यक पूर्वाधार निर्माणमा सरिक हुनुपर्ने बेला आएको छ ।’ यस्तै नाम्स उपकुलपति शाहले यस्तो कठिन घडीमा कोरोना उपचारका लागि अत्यन्तै संवेदनशील मानिने आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने फाउण्डेसन र बैंककाे निर्णयले सयौं कोरोना बिरामीलाई जीवनदान दिने बताए ।