एमबीबीएस र बीडीएसको सिट सङ्ख्या तोकियो
काठमाडौं। नेपाल मेडिकल काउन्सिलले विभिन्न मेडिकल कलेजका लागि एमबीबीएस र बीडीएस तर्फको सिट संख्या निर्धारण गरेको छ । काउन्सिलले काठमाडौंँ विश्वविद्यालय अन्तर्गत १० मेडिकल कलेजका लागि ८९० सिट संख्या निर्धारण गरेको छ भने त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सात वटा मेडिकल कलेजका लागि ७६१ सिट तोकेको छ । नेपाल मेडिकल काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीले दिएको जानकारी अनुसार विराट मेडिकल कलेजले एमबीबीएस तर्फ ७५ सिट पाएको छ । गतवर्ष पनि विराटले ७५ संख्या पाएको थियो । यस्तै कलेज अफ मेडिकल साइन्सेज भरतपुरले यसवर्ष एमबीबीएस तर्फ एकसय सिट पाएको छ । गत वर्ष पनि उक्त मेडिकल कलेजले एकसय सिट नै पाएको थियो । बीडीएसतर्फ यो वर्ष ३५ सिट मात्र पाएको छ । गत वर्ष बीडीएसतर्फ ४० सिट पाएको थियो । काउन्सिलका अनुसार देवदह मेडिकल कलेज रुपन्देहीले एमबीबीएसमा ४० सिट प्राप्त गरेको छ । कान्तिपुर डेन्टल कलेज काठमाडौले बीडीएसतर्फ ५० सिट पाएको छ । यो कलेजले गतवर्ष पनि ५० सिट पाएको थियो । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले एकसय सिट पाएको छ । बीडीएसमा केएमसीले ५० सिट प्राप्त गरेको छ । काठमाडौँ युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सेज धुलिखेलले यो वर्ष एमबीबीएसका लागि ७५ सिट पाएको छ । बीडीएसतर्फ भने ५० सिट मात्र पाएको छ । त्यसैगरी, लुम्बिनी मेडिकल कलेजले पाल्पाले एकसय सिट पाएको छ भने मणिपाल मेडिकल कलेज पोखराले पनि ७५ सिट पाएको छ । जोरपाटीस्थिति नेपाल मेडिकल कलेजले एकसय सिट पाएको छ । बीडीएसतर्फ एनएमसीले ५० सिट पाएको छ । नेपालगञ्ज मेडिकल कलेजले एकसय सिट एमबीबीएसतर्फ पाएको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेजले ९० सिट पाएको छ । गतवर्ष भन्दा यो वर्ष नोबेलको १० सिट कम भएको छ । बीडीएसतर्फ नोबेलले ३० सिट पाएको छ । गत वर्ष बीडीएसमा ३५ सिट पाएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले ७५, नेसनल मेडिकल कलेज वीरगन्ज, युनिभर्सल मेडिकल कलेज भैरहवा, नेपाली सेना मेडिकल कलेज र चितवन मेडिकल कलेज प्रत्येकले एक÷एकसय सिट पाएका छन् । यस्तै, किस्ट मेडिकल कलेजले ९०, गण्डकी मेडिकल कलेजले ९५ सिट पाएका छन् । यो वर्ष पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले ६५ सिट पाएको छ भने धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एकसय सिट पाएको छ । काउन्सिलका प्रवक्ता डा. अधिकारीले काउन्सिल तथा विश्वविद्यालयले गरेको अनुगमनबाट सिट संख्या निर्धारण गरिएको जानकारी दिए। श्रोत- मेरो स्टडी
३८० विद्यालयमा आयुर्वेद तथा योग शिक्षा लागू गर्दै सरकार
काठमाडौँ। सरकारले चालु आर्थिक वर्षमा ३८० भन्दा बढी विद्यालयमा आयुर्वेद तथा योग प्रशिक्षण कार्यक्रम शुरु गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आयुर्वेद विभागले यो कार्यक्रम शुरु गर्न लागेको हो । बढ्दै गएको नसर्ने रोगको जोखिम कम गर्नका लागि खानपान तथा जीवनशैली परिवर्तन गराउने उद्धेश्यले यो कार्यक्रम शुरु गर्न लागिएको विभागका महानिर्देशक डा बासुदेव उपाध्यायले बताए । उनका अनुसार देशभर रहेका ३८० वटा आयुर्वेद संस्थाले आफ्नो नजिकको कम्तीमा एक विद्यालयमा गएर साप्ताहिक रुपमा आयुर्वेद तथा योग कक्षा सञ्चालन गर्नेछन् । उनीहरुले यो कक्षामा विद्यार्थी संगै शिक्षकलाई समेत सहभागी गराउनेछन् । ‘खासमा अहिले बढदै गएको नसर्ने रोगको जोखिम न्युनिकरण गर्ने चुनौती हो । त्यसका लागि योग व्यायम, जीवन शैली आदिका कुराहरु मुख्य रुपमा आउँछ । त्यसैमा केन्द्रीत रहेर योग तथा आयुर्वेदिक कक्षा सञ्चालन गर्ने हाम्रो योजना हो,’ महानिर्देशक डा. उपाध्यायले भने । विभागले यसका लागि प्रत्येक आयुर्वेदिक संस्थालाई ८५ हजार बजेट समेत उपलव्ध गराएको जनाएको छ । विद्यालयमा साप्ताहिक रुपमा निश्चित दिन र समयमा योग प्रशिक्षण गराइने बताइएको छ । श्रोत-नेपाल हेल्थ
त्रिविको दीक्षान्त फाराम अनलाइनबाट, ई–सेवाबाटै शुल्क भुक्तानी
काठमाडौँ। त्रिभुवन विश्वविश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीका लागि अनलाइनबाट आवेदन दिन सक्ने व्यवस्था गरेको छ । योसँगै अब परीक्षा नियन्त्रण कार्यालयमा उपस्थित भएर फाराम भर्नुपर्ने र बुझाउनुपर्ने झन्झटिलो व्यवस्था हट्ने भएको छ । विगत वर्षमा विद्यार्थीले भदौ महीनामा फाराम भर्न आउनुपर्ने र पुनः दोस्रो पटक दीक्षान्त समारोहमा भाग लिन आउनुपर्ने बाध्यता थियो । भदौ महीनाभर फाराम भर्ने, शुल्क बुझाउने, रसिद काट्ने र फाराम सम्बन्धित फाँटमा बुझाउनेको भीड हुने गरेकामा अब यस्तो समस्या अन्त्य भएको उक्त कार्यालयले जनाएको छ । उपत्यका भित्र र उपत्यकाबाहिर रहने विद्यार्थीले समेत अनलाइनबाट सिधै फाराम भरेर नाम दर्ता गर्न सक्ने र दीक्षान्त समारोहमा भाग लिन एक पटक मात्र काठमाडौँ आउँदा हुने भएको छ । त्रिविद्वारा बुधबार प्रकाशित सूचनाअनुसार गत साउन ५ गतेको त्रिविसभा बैठकबाट पारित ५६औँ ग्रेस लिस्टमा समावेश गत शैक्षिकसत्रमा उत्तीर्ण ७३ हजार ९०१ विद्यार्थीका लागि आगामी पुस महीनामा हुने दीक्षान्त समारोहमा सहभागी हुन विद्यार्थीले अनलाइनबाट फर्म भर्न सक्ने व्यवस्था मिलाइएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए। दीक्षान्तका लागि छुट्टै पोर्टल कार्यालय स्रोतका अनुसार दीक्षित हुने विद्यार्थीलाई फाराम भर्ने प्रयोजनका लागि छुट्टै वेब पोर्टल निर्माण गरिएको छ । जुन मोबाइलबाट समेत खोल्न सकिने खालको छ । विद्यार्थीले आफ्नो मोबाइलबाट धधध।तग।नचबमगबतष्यललउ।अयm मा लग इन गरेर आफ्नो विवरणहरु छ चरणमा प्रविष्ट गर्नुपर्नेछ । ई–सेवाबाटै शुल्क भुक्तानी अनलाइन फाराम भर्ने विद्यार्थीले अब उक्त कार्यालयसंगै रहेको ग्लोबल आइएमई बैंकमा लाइनमा बसेर पैसा बुझाउनुपर्ने र लेखा शाखामा आएर नगदी रसिद लिनुपर्ने झन्झटबाट पनि छुटकारा पाउने भएका छन् । उनीहरुले अनलाइन फाराम भरिसकेपछि ई–सेवाको माध्यमबाट शुल्क पनि बुझाउन सक्नेछन् । ई–सेवाको खाता हुने विद्यार्थीहरुले सिधै भुक्तानी गर्न सक्नेछन् भने ई–सेवाअन्तर्गत खाता नहुने विद्यार्थीलाई त्रिविको पोर्टल सिस्टमले नै टोकन नं उपलब्ध गराउनेछ । विद्यार्थीले उक्त टोकन नं लिएर नजिकैको ई–सेवा प्रदान गर्ने पसलमा गएर तोकिएको दस्तुर तिर्नुपर्नेछ । दस्तुर तिरेको निस्सा विद्यार्थीले तुरुन्तै पाउनेछन् । त्यसपछि त्यहीँबाट विद्यार्थीलाई चार प्रकारका विवरण उपलब्ध हुन्छ । पहिलो, दस्तुर बुझाएको नगदी रसिद, जुन दीक्षान्त समारोहमा भाग लिन जानुअघि परीक्षा नियन्त्रण कार्यालयमा गई रुजु गराएर छाप लगाएपछि मूल प्रमाणपत्र प्राप्त गर्न आवश्यक हुन्छ र दोस्रो यो दीक्षान्त समारोहमा प्रवेश गर्ने निस्सा होे, जुन यसअघिका दीक्षान्त समारोहमा प्रवेशपत्रका रुपमा कार्यालयले उपलब्ध गराउँदै आएको थियो। भौगोलिक विकटताका कारण दुर्गम क्षेत्रमा रहेका र काठमाडाँै आएर दीक्षान्तको फाराम भर्न सम्भव नहुने विद्यार्थीले समेत यो प्रविधिको प्रयोगबाट अब फाराम भर्न सक्नेछन् । उनीहरुले अनलाइनबाट फाराम भरेर नाम दर्ता गरिसकेपछि सिधै दीक्षान्त समारोहमा भाग लिनका लागि मात्र काठमाडौँ आउँदा हुने कार्यालयले जनाएको छ। रासस