सरकारको ध्यान ग्रे मार्केटमा, व्लाक मार्केट बढ्दा राजश्वमा गिरावट
सरकारले निर्धारण गरेको लक्ष्यको तुलनामा राजस्व संकलन निरन्तर कम भएको छ । कात्तिक मसान्तसम्म लक्ष्यको तुलनामा २२.२२ प्रतिशतले कम राजस्व संकलन भएको अर्थमन्त्रालयको तथ्याङ्कले देखाउँछ । कात्तिक मसान्तसम्ममा ३ खर्ब ३० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकोमा २ खर्ब ५७ अर्ब रुपैयाँ मात्रै संकलन भएको छ । सरकारले आर्थिक वृद्धिदर नै १.१ प्रतिशतले कम हुने जनाईसकेको छ । ८.५ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेकोमा आर्थिक वर्षको प्रथम चार महिना नवित्दै सरकारले आर्थिक वृद्धि दर ७.४ प्रतिशत मात्र हुने जनाएको छ । राजश्व वृद्धि दर पनि सरकारको लक्ष्यभन्दा कम हुने देखिएको छ । भलै सरकारले आफ्नो लक्ष्य घटाएको छैन । भन्सार राजस्व सबैभन्दा धेरै घटेको छ । डिजेल, पेट्रोल, एलपी ग्यास, सवारी साधन, सिमेन्ट, क्लिंकर, सुन, पत्थर, कोइलालगायत वस्तुको आयात घटेको छ । त्यसको प्रभावले पनि भन्सार करमा गिरावट आएको हो । अत्यासलाग्दो बैदेशिक व्यापार घाटा कम गर्नको लागि आयातलाई निरुत्साहित गर्ने सरकारको घोषित नीति नै भएकोले भन्सार कर घट्दै सरकारले चिन्ता गर्ने ठाउँ भएन । भन्सार कर घट्नुले मात्र कुल राजश्वमा २२ प्रतिशतको गिरावट आएको होइन । पुँजी बजारमा उच्च गिरावट आएको छ । घरजग्गा कारोबारमा चरम मन्दी छ । निर्माण क्षेत्र ठप्प भएको छ । उत्पादन मुकल क्षेत्रमा पनि मन्दी छ । सिमेन्ट, स्टील लगायत निर्माण सामाग्रीको उत्पादन र बिक्री वितरणमा ठूलो गिरावट आएको छ । जलविद्युत क्षेत्रका लगानीकर्ता लगानी डुब्यो भनेर रोइकराई गरिरहेका छन् । सेवा क्षेत्रमा समेत मन्दीको संकेत देखिएको छ । बैंकिङ क्षेत्रको नाफा ६ प्रतिशतमा सीमित भएको छ । जवकी विगतमा यस क्षेत्रको ग्रोथ १५ देखि ४० प्रतिशतसम्म रहदै आएको थियो । बीमा, टेलिकम, शैक्षिक परामर्श सेवा, विज्ञापन सेवा, संचार लगायतका सेवा मुलक क्षेत्रमा पनि कारोबार सुस्ताएको छ । यसको स्वभाविक असर राजश्व वृद्धिमा देखिन आएको हो । राजश्वको दृष्टिकोणले बजारलाई तीन वर्गमा विभाजन गर्न सकिन्छ । पहिलो, पूर्ण पारदर्शी र पूर्ण रुपमा कर तिर्दै आएका कम्पनी । बैंक, बीमा, नेप्सेमा सूचिकृत कम्पनीहरु, टेलिकम लगायत ठूला करदाता कार्यालयमा सूचिकृत कम्पनीहरुलाई यस वर्गमा राख्न सकिन्छ । दोस्रो वर्ष भनेको करको दायरामा आएका तर पूर्ण रुपमा सुशासनमा नबसेको, कर दाहित्वमा पूर्ण पारदर्शी नभएको कम्पनीहरु हुन् । कम्पनी रजिष्ट्रारमा दर्ता भएको, भ्याट प्यानमा दर्ता भएको तर कर सम्बन्धि कानुनहरुको पूर्ण परिपालना गर्न चुकेका कम्पनीहरु । तेस्रो वर्ग भनेको त्यस्तो क्षेत्र हो, जसले कानुनी राज्यलाई पूर्णत वेवास्ता गरेको छ, दर्ता नै नभई व्यवसाय गरेको छन्, नाफा गर्छन तर कत्ति पनि कर तिर्दैनन् । वर्तमान सरकारले तेस्रो वर्ग अर्थात व्यालक मार्केटलाई केही गरेन । ग्रेह मार्केटलाई टार्गेट गर्यो । यसले करका दायरामा आउँदै गरेको ठूलो वर्ग आत्किएको देखिन्छ । उनीहरु कसरी सरकारी नियमनबाट जोखिने भनेर आत्तिएका छन् । सरकारी कडाईले उनीहरु व्यवसाय विस्तार गर्ने, थप कर तिर्ने भन्दा व्यवसाय संकुचित बनाउने, कर दाहित्वबाट वाहिरिने बाटोमा लाग्ने खतर बढेको छ । अहिले राजश्वमा आएको गिरावटलाई सरकारले यसरी पनि बुझ्न जरुरी छ । सरकारले ग्रे मार्केटलाई कसिकसाउ गर्नु भन्दा व्ल्याक मार्केटलाई कसिकसाउ गर्ने दिशामा काम गरे आर्थिक गतिविधि पनि बढ्ने छ भने राजश्व पनि वृद्धि हुन सक्छ ।
सपनाको खेती नबनोस् ‘सिस्नेरी खोला’
राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको विकल्पका रुपमा उपत्यकाको ललितपुर जिल्ला क्षेत्रभित्र खानेपानी आपूर्ति गर्ने उद्देश्यले मकवानपुरमा अवस्थित सिस्नेरी खोलाको पूर्व सम्भाव्यता अध्ययन थालिएको छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड)ले मकवानपुरमा अवस्थित सिस्नेरी र कोगटे खोलाको पूर्व सम्भाव्यता अध्ययन थालेको छ । गत शुक्रबार खानेपानी मन्त्री बिना मगरको नेतृत्वमा बोर्डका पदाधिकारी सहितको टोलीले उक्त खोलाको अवलोकन र निरीक्षण गरेको छ । यो आयोजनालाई मेलम्चीको विकल्पका रुपमा हेरिएको छ । काठमाडौं जिल्ला राजधानी भनिएपनि अघोसित रुपमा ललितपुर पनि राजधानीको एउटा अंग बन्दै छ । काठमाडौंमा सँगै ललितपुर र भक्तपुरमा बस्ती बढ्दो छ । पानीको माग पनि बढ्दो छ । सिस्नेरीबाट पानी ल्याउने हो भने ललितपुर र भक्तपुरका धेरै ठाउँहरुमा खानेपानी आपूर्ति सहज बन्न सक्छ । भक्तपुरका लागि खानेपानी आपूर्ति गर्न महादेव खोलामा काम शुरु भएको बताइएको छ । भविष्यमा मेलम्चीको पानीमा कुनै समस्या सिस्नेरी वा महादेव खोलाको पानीले काठमाडौं उपत्यकाको खानेपानीमा समस्या समाधान गर्न केही सहयोग पुग्न सक्छ । सिस्नेरी फर्पिङ पम्पिङ स्टेशनबाट १४ किलोमिटर दक्षिणमा पर्दछ । जुन कुलेखानी खोला, सिस्नेरी खोला र मकवानपुर जिल्ला हुँदै बगेको बागमती नदीको नजिक पर्दछ । सिस्नेरीमा रहेको कोगटे खोला कुलेखानीको शाखा हो भने कुलेखानी बागमती नदीको शाखा हो । यस आयोजना अन्तर्गत सिस्नेरीमा बाँध निर्माण गरी कोगटे खोला र कुलेखानी खोलाको पानी वर्षायामको समयमा संकलन गरिनेछ र संकलित पानीलाई पम्प गरी सैंबु जलाशयमा पठाई ललितपुर महानगर क्षेत्रभित्र वितरण गर्न सकिने छ । सिस्नेरीमा बनाईने बाँधको लम्बाई १९० मिटर र चौडाई ७५ मिटर रहनेछ । सिस्नेरी बाँध स्थलदेखि सैंबु पानी प्रशोधन केन्द्रसम्म कूल १९ किलोमिटर रहेको छ । निर्माणाधिन काठमाडौं निजगढ द्रुत मार्ग हुँदै सिस्नेरीदेखि सैंबुसम्म पाईप लाईन निर्माण गरेर पानी लैजान सकिने छ । सिस्नेरीबाट दैनिक १३ देखि १४ करोड लिटर पानी ललितपुरको सैंबु जलाशयमा पठाई ललितपुर क्षेत्रभित्र वितरण गर्न सकिने प्रारम्भिक अनुमान छ । परियोजनाको लागत करिब २६ अर्ब रुपैयाँ अनुमान गरिएको छ । एक अध्ययनले सन् २०३० पछि काठमाडौं उपत्यकाको जनसंख्यालाई मेलम्चीको पानीले धान्न नसक्ने जनाएको छ । त्यस अवस्थामा यी दुई खोलाको पानी राजधानीबासीको प्यास मेटाउन राम्रो विकल्प हो । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौंमा ल्याउने योजनाले दुई दशकसम्म पूर्णता पाउने सकेको छैन । काठमाडौका जनताहरुको खाने पानीको लागि मकवानपुर सिस्नेरी खोलाबाट पानी ल्याउने यो योजना र सम्भाब्यता अध्यायन सारै राम्रो कुरा हो । यसमा खाली फोटो खिचाएर प्रचारबाजी गर्ने र गफैगफमा जनताहरुलाई आसै आस देखाएर भुलाउने मात्रै नहोस । साँच्चै नै जाँगर लगाएर ठोस कामको सुरुवात गरियोस र यसमा पनि कसैको कमाइखाने भाँडो नवनोस । यो परियोजना राजधानी बासीको लागि अर्को सपना खेती नबनोस् ।
महँगाे दशैं
बडादशैं २०७६ तपाईँ हाम्रो घरआँगनमा आइसकेको छ । असोज १२ गते फूलपातिदेखि वडा दशैं शुरु भइसकेको छ । फूलपातिदेखि नवमीसम्मका नौ दिनलाई नौरथा भनिन्छ । यो नौ दिनमा देवीका विभिन्न रुपलाई विभिन्न नाम दिएर पूजा आरधना गरिन्छ र दशमीका दिन आफ्ना मान्यजनहरुबाट टीका र जमरा ग्रहण गर्ने सांस्कृतिक परम्परा रहिआएको छ । परापूर्वकालमा असत्य माथि सत्यको विजय भएको, दानव माथि देवताले जीत हासिल गरेको जस्ता किवदन्तीहरु रहेका छन् । परापूर्वकालमा जे जसरी विजयादशमी मनाउन थालिए पनि पछिल्लो समय हिन्दु धर्माबलम्बीहरुकोे महान चाडका रुपमा बडादशैंलाई मनाइदै आएको छ । नेपालमा हिन्दुहरुको जनसंख्या धेरै छ, त्यसकारण पनि यो पर्वलाई नेपालीहरुले महान् पर्वका रुपमा मनाउने गरेका छन् । अहिले विभिन्न कामको शिलशिलामा घर बाहिर रहेकाहरु दशैं मनाउन घरमा भेला हुन थालेका छन् । देशभित्रै रहेका परिवारका सदस्यहरु घर फिर्ने क्रम जारी छ । बैदेशिक रोजगारीको शिलशिलामा रहेकाहरु पनि महान् चाड बडादशैं मनाउन घर आएका छन् । बसपार्क र विमानस्थलहरुमा बडादशैं मान्न घर जानेहरुको भीड देख्न सकिन्छ । एकैपटक धेरै मानिसहरु चाडपर्व मान्न घर जाने हुँदा गाडी र हवाई टिकटको अभाव हुने गर्छ । सामान्य अवस्थामा हुने भाडा भन्दा यो समयमा बढी भाडा लिएर कालोबजारी पनि हुने गरेको छ । अरु बेलाको भन्दा दोब्बर बढी गाडी भाडा तिर्नु पर्ने बाध्यात्मक अवस्था समेत सिर्जना हुने गरेका छन् । यसरी यातायातका क्षेत्रमा हुने गरेको अबैध धन्दा रोक्न राज्यले निगरानी गरिरहेको बताए पनि यात्रु ठगिनेक्रम भने उस्तै देखिन्छ । यसपटक खाद्यान्य र तरकारीको मूल्य पनि आकाशिएको छ । खसीबोका र च्याङ्ग्राको भाउ पनि बढेको छ । भारतबाट आउने प्याजको आयात बन्द हुँदा बजार भाउ आकाशिएको छ र यसपटकको दशैंको भान्सा प्याजरहित हुने संभावना छ । प्याज पाइएपनि धेरै मूल्य तिर्नु पर्ने अवस्था छ । दशैं पर्वमा नयाँ लुगा लगाउने, मीठा मीठा परिकारहरु खाने प्रचलन छ । त्यसकारण यो पर्व मनाउने नेपालीहरुलाई यस समयमा धेरै नै आर्थिक ब्ययभार पर्ने गर्छ । दुर्गा पूजा गर्ने र विजयादशमीका दिन मान्यजनहरुबाट निधारमा टीका र कानमा जमरासहित आशिष ग्रहण गरिन्छ । बडादशैंमा मान्यजनहरुबाट टीका, जमरा र आशिष ग्रहणसँग विभिन्न शिलशिलामा घरबाट टाढा रहेका आफन्तहरु भेला हुने र रमाइलो गर्ने अवसरका रुपमा समेत लिइन्छ । यो दशैं पर्वले हुने खाने भन्दा पनि हुँदा खानेहरुलाई समस्यामा पनि पार्ने गरेको छ । दशैंमा आफ्नै घरमा खसी काट्नै पर्ने, छोराछोरीहरुलाई नयाँ कपडा किनिदिनै पर्ने र समाज अनुसार चल्नु पर्ने नाममा ठूलाबडाको देखासिकी गर्दा हुँदा खानेहरुले आर्थिक ब्ययभार निकै बोक्नु पर्ने हुन्छ । तर, वर्षको एक पटक मनाइने महान् पर्वलाई हाँसीखुशी गरेर मनाउने पर्वका रुपमा मनाउनु पर्छ । अर्काको देखासिकी गरेर भन्दा पनि आफ्नो हैसियत अनुसार मनाउँदा धेरै आर्थिक ब्ययभार बोक्नु पर्दैन । ‘घाँटी हेरी हाड निलौं’ भन्ने कुरालाई मनन् गर्दै आफ्नो हैसियत र क्षमता अनुसार पर्वलाई मनाउन सकियो भने पर्व मनाउँदाको आर्थिक ब्ययभारले लामो समयसम्म पिरोल्ने छैन । पछिल्लो समय बडादशैंमा हुने छुट्टीको अवसरलाई विभिन्न पर्यटकीय र धार्मिक क्षेत्रहरु घुमफिर गर्ने परिपाटी शुरु भएको छ । कत्तिले यो छुट्टीमा राम्रा किताबहरु पढेर, राम्रो सिनेमाहरु हेरेर दशैं बिदालाई सदुपयोग गर्ने गर्छन् । वर्षभरी विभिन्न काममा व्यस्त रहनेहरुले दशैं पर्व हर्षोल्लासका साथ मनाएर आफूलाई पुर्नताजगी बनाउने अवसरका रुपमा समेत लिन्छन् । बडादशैंको यो माहौलमा हामी पनि भन्छौँ, हर्षोल्लासमय वातावरणमा दशैं मनाउनु होला । यो समयमा कसैलाई दुःखद् घटनाले नपिरोलोस् हामी कामना गर्छौँ । अन्त्यमा विकासन्युज परिवारकाे तर्फबाट सम्पूर्ण पाठक, विज्ञापन दाता, शुभेच्छुकसहित सम्पूर्ण नेपालीहरुमा बडादशैं २०७६ को हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछ । बडादशैं सबैका लागि शुभ रहोस् ।