जीवन बीमक संघको अध्यक्षमा प्रविणरमण पराजुली

काठमाडौं । जीवन बीमक संघ नेपालको अध्यक्षमा प्रविणरमण पराजुली चयन भएका छन् ।  जीवन बीमक संघ नेपालले २०८२ भदौ २९ गते काठमाडौंमा सम्पन्न छैठौं वार्षिक साधारण सभाले पराजुलीलाई अध्यक्षको रूपमा चयन गर्दै नयाँ कार्यसमितिको गठन गरेको हो । पराजुली नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ।   नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रकाश विक्रम खत्री (सूर्यज्योति लाइफ), सचिवमा नारायण लोहनी (रिलायबल नेपाल), कोषाध्यक्षमा दिनेश लाल श्रेष्ठ (एशियन लाइफ) र सदस्यहरुमा मनोजलाल कर्ण (हिमालयन लाइफ), सुन्दर पन्थी (राष्ट्रिय बीमा संस्थान) र प्रणय कुमार (एलआइसी नेपाल) रहेका छन् । संघको नयाँ कार्यसमितिले आफ्नो कार्यकालमा नेपाली बीमा क्षेत्रको विकास, बीमा सचेतना अभियान, जीवन बीमा कर्मचारीहरूको क्षमता अभिवृद्धि एवं हकहित संरक्षण, बीमा सेवाको सर्वसुलभ विस्तार, बीमित हितका विविध कार्यक्रम तथा नीति निर्माण तहमा गर्नु पर्ने प्रभावकारी भूमिकाहरूमा क्रियाशील रहने प्रतिबद्धता जनाएको छ । सभामा संघका सदस्यहरू तथा विभिन्न बीमा कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा जीवन बीमा क्षेत्रमा देखिएका हालका चुनौतीहरू, सम्भावना र संघको भावी रणनीति बारे छलफल गरिएको थियो।

सलिको र मातृका आँखा उपचार केन्द्रको निःशुल्क मोतिबिन्दु शल्यक्रिया अभियान

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र पुरानो बानेश्वरस्थित मातृका आँखा उपचार केन्द्रबीच निःशुल्क मोतिबिन्दु शल्यक्रिया कार्यक्रम सञ्चालन गर्न सम्झौता भएको छ । सम्झौताअनुसार मातृका आँखा उपचार केन्द्रले आँखा जाँच, भिजन स्क्रिनिङ, उपचार तथा विशेषज्ञ टोलीमार्फत निःशुल्क मोतिबिन्दु शल्यक्रिया उपलब्ध गराउनेछ । साथै शल्यक्रिया गर्नुपर्ने बिरामीलाई आवश्यक औषधि, इन्ट्राअक्युलर लेन्स (आईओएल), एनेस्थेटिक औषधि र शल्यपूर्व परीक्षणहरू समेत निःशुल्क प्रदान गरिनेछ । कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिका वडा नं. १८ मार्फत छानिएका ५० जना बिरामीहरूको मोतिबिन्दु शल्यक्रिया असोज २४ गते मातृका आँखा उपचार केन्द्रमा सञ्चालन गरिनेछ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रीले सम्झौतामार्फत समुदायमा स्वास्थ्य सेवा पहुँच विस्तारमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।  उनले सलिकोले यस्ता सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमलाई भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए । सम्झौता हस्ताक्षर कार्यक्रममा सलिकोकी नायव प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्य, कार्यकारी व्यवस्थापन समूहका कर्मचारी, मातृका आँखा उपचार केन्द्रका अध्यक्ष सुरज श्रेष्ठ र प्रशासकीय अधिकृत कल्याण ढुंगाना उपस्थित थिए ।

बीमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्मा नियुक्त, लिए शपथ

काठमाडाैं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्मा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको हो । अर्थमन्त्री रामेश्वर खनालले शुक्रबार (आज) नवनियुक्त अध्यक्ष शर्मालाई शपथग्रहण गराए । नवनियुक्त अध्यक्ष शर्माले आजै पदभार ग्रहण गर्ने जनाइएको छ । उनी अर्थमन्त्रालयका सहसचिव हुन् । केपी शर्मा ओली नेतृत्वको सरकारले गत असार ३० गते सहसचिव सेवन्तक पोखरेललाई अध्यक्षमा नियुक्त गरेको थियो । उनलाई अर्को व्यवस्था नभएसम्मका लागि भन्दै अध्यक्षको जिम्मेवारी दिइएको थियो ।  उनी अध्यक्षकै जिम्मेवारी रहेको बेला प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझा पनि भदौ ३१ गते सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको भन्दै प्राधिकरणमा हाजिर भएको थिए । सोही दिन प्राधिकरणमा दुई अध्यक्ष पोखरेल र ओझाले हाजिर गरेका थिए ।  गत असार ३० गते सरकारले उनको योग्यतामाथि छानबिन गर्ने निर्णय गरेसँगै ओझा स्वतः निलम्बनमा परेका थिए । तत्कालीन सरकारले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । त्यसपछि ओझा अदालत पुगेको थिए । उनको योग्यतासम्बन्धी विवाद सर्वोच्च अदालतमा समेत विचाराधीन छ । अहिले अन्तरिम सरकार बनेसँगै अर्थमन्त्री रामेश्वर खनालले अर्को व्यक्तिलाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेका हुन् ।