सबै सरकारी सम्पत्तिको बीमा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सरकारी सम्पत्तिहरुको बीमा गर्ने निर्णय गरेको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनपश्चात् सिंहदरबारदेखि देशभर रहेका धेरै सरकारी संरचनाहरू ध्वस्त भएसँगै सरकारले यस्तो निर्णय गरेको हो । जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारको असोज ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले सरकारी सबै सम्पत्तिको बीमा गर्ने निर्णय गरेको अर्थमन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेले बताए ।  सरकारी सम्पत्तिको बीमा गर्नुपर्छ भन्ने माग लामो समयदेखि उठ्दै आएपनि सरकारले यसतर्फ ध्यान दिएको थिएन । बीमा प्राधिकरणले सरकारी बीमा गर्नका लागि सरकारसँग पटक पटक छलफल र प्रयास गर्दै आएको थियो । अन्तत: सरकारले सबै सरकारी सम्पत्तिको बीमा गर्ने निर्णय गरेकोमा बीमा कम्पनीहरूले यसलाई सकारात्मक कदमको रुपमा लिएका छन् ।  नेपालमा बेलाबेला घटिरहने भूकम्प, बाढीपहिरोजस्ता प्राकृतिक र मावनजन्य घटनाहरूबाट सार्वजनिक तथा निजी सम्पत्तिमा ठूलो क्षति हुँदै आएको छ । सरकारी सम्पत्तिमा तेस्रो पक्ष बीमा गरिएपनि सरकारी सम्पति भवनको बीमा गर्ने अभ्यास यसअघि थिएन ।    

जेनजी आन्दोलन : बीमा कम्पनीहरूमा क्षतिग्रस्त सम्पत्तिको बीमा दाबी २३ अर्ब नाघ्यो

काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएका बीमांकृत सम्पत्तिको बीमा दाबी बढ्दै गएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको असोज ८ गतेसम्मको तथ्यांकअनुसार  १४ वटा निर्जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा २३ अर्ब ३९ करोड २७ लाख रुपैयाँ बढीको दाबी परेको परेको छ । प्राधिकरणको अनुसार कम्पनीहरुमा कुल २ हजार ९८८ वटा दाबी परेको परेको छ । प्राधिकरणका अुनसार सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियरमा परेको छ । उक्त कम्पनीमा ५ अर्ब ४५ करोड ९३ लाख रुपैयाँ बराबरको ३०७ वटा दाबी परेको छ । दोस्रो धेरै दाबी परेको कम्पनी ओरिएन्टल इन्स्योरेन्स रहेको छ । ओरियन्टयलले  ८६ वटा दाबीको ५ अर्ब २३ करोड २४ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ ।  त्यस्तै तेस्रोमा आइजीआई प्रुडेन्सियलान २ अर्ब ७९ करोड ६६ लाख रुपैयाँ बराबरको १९६ वटा बीमा दाबी परेको छ । शिखर इन्स्योरेन्समा २ अर्ब ३९ करोड १३ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा १ अर्ब ५७ करोड ५९ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्समा १ अर्ब २३ करोड ७८ लाख रुपैयाँ र नेको इन्स्योरेन्समा १ अर्ब १२ करोड ४३ लाख रुपैयाँ राष्ट्रिय बीमा कम्पनीमा ९० करोड ६८ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्समा ८४ करोड ४४ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्समा ५३ करोड २० लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा ५१ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्समा ४८ करोड २ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्समा २० करोड ४९ लाख रुपैयाँ र नेसनल इन्स्योरेन्समा ६ करोड ८९ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ । लघु निर्जीवन बीमा कम्पनीतर्फ प्रोटेक्टिभ माइक्रोमा १ करोड १५ लाख रुपैयाँ, स्टार माइक्रोमा ७२ लाख ३८ हजार रुपैयाँ, ट्रस्ट माइक्रोमा ४४ लाख रुपैयाँ र नेपाल माइक्रोमा ४१ लाख ५० हजार रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।  सम्पति बीमा तर्फ धेरै दाबी क्षेत्रगत हिसाबले हेर्दा सम्पत्ति बीमातर्फ सबैभन्दा बढी दाबी परेको छ । प्राधिकराको तथ्यांकअनुसार सम्पत्ति बीमातर्फ कम्पनीहरूमा १९ अर्ब ३ करोड २८ लाख रुपैयाँको ५९४ वटा दाबी परेको छ । त्यस्त मोटर बीमातर्फ ३ अर्ब ६५ करोड ४ लाख रुपैयाँ दाबी परेको छ । इन्जिनियरिङ तथा ठेकेदार जोखिमतर्फ ३४ करोड ७२ लाख रुपैयाँ, अन्य बीमातर्फ ३४ करोड ६६ लाख रुपैयाँ र परिवहन बीमातर्फ १ करोड ५५ लाख रुपैयाँ दाबी परेको छ । 

सानिमा रिलायन्स लाइफको ‘क्लब अचिभर्स इभेन्ट २०८२’ सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ‘क्लब अचिभर्स इभेन्ट २०८२’ सम्पन्न गरेको छ । लेमन ट्री प्रिमियर, बूढानीलकण्ठमा आयोजना गरिएको उक्त कार्यक्रममा देशभरका शाखा तथा उपशाखामा कार्यरत रही क्लब योजनामा सहभागी हुन सफल बीमा सल्लाहकारहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा कम्पनीका अध्यक्ष रतनलाल केडिया, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, डेपुटी सिईओ निराजन कंडेललगायत उच्च व्यवस्थापन समूहको उपस्थिति रहेको थियो । अध्यक्ष केडियाले क्लब सदस्यता हासिल गर्न सफल बीमा सल्लाहकारहरूलाई हार्दिक बधाई दिँदै सानिमा रिलायन्सप्रति देखाइएको विश्वास र व्यवसाय वृद्धिमा पुर्‍याएको योगदानप्रति आभार प्रकट गरे । प्रमुख कार्यकारी अधिकृत पाण्डेले कम्पनीका मेरुदण्डका रूपमा रहेका बीमा सल्लाहकारलाई निरन्तर प्रोत्साहन गर्ने कार्यक्रम ल्याइने जानकारी गराए । त्यसैगरी, डेपुटी सीईओ कंडेलले सफल बीमा सल्लाहकार बन्न आवश्यक सीप र क्षमता विकासबारे सुझाव प्रस्तुत गरेका थिए । आर्थिक वर्ष २०८१/८२ को अभिकर्ता प्रोत्साहन योजना अन्तर्गत गोधूली क्लब, पृथ्वी क्लब, अग्नी क्लब, आकाश क्लब र ग्यालेक्सी क्लबका सदस्यता लक्ष्य हासिल गर्न सफल सल्लाहकारहरूलाई कार्यक्रममा सम्मान गरिएको थियो । कार्यक्रममा वरिष्ठ पत्रकार शिवानी थापा बस्न्यातले सञ्चालन गरेकी थिइन् भने गायिका समीक्षा अधिकारी र हास्य कलाकार सुन्दर खनालका प्रस्तुति साथै विभिन्न नृत्य कार्यक्रमले मनोरञ्जनात्मक रंग भरेका थिए ।