आन्दोलनमा भएको क्षतिको बीमा दाबी रकम २३ अर्ब २२ करोड
काठमाडौं । हालैको आन्दोलनका क्रममा भएका भौतिक र अन्य क्षतिको बीमा दाबी रकम बुधबार (असोज २२ गते) सम्ममा करिब २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ पुगेको छ । बीमा प्राधिकरणका अनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा परेका ३ हजार ९९ वटा दाबीका आधारमा सो रकम दाबी गरिएको हो । निर्जीवन बीमा कम्पनीहरूले बुधबारसम्ममा अग्रिम भुक्तानीसहित करिब १ अर्ब २९ करोड १९ लाख रुपैयाँ वितरण गरिसकेका छन् । त्यस्तै, क्षतिको सर्भे प्रतिवेदन तयार गर्न २ हजार ७०६ जना सर्भेयर खटाइएको र तीमध्ये ३७४ सर्भे प्रतिवेदन प्राधिकरणमा पेश भइसकेको जानकारी प्राप्त भएको छ ।
निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा घट्दै
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूको व्यवसायमा सबैभन्दा धेरै हिस्सा ओगट्दै आएको मोटर बीमाको व्यवसाय घट्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो को दुई महिना अर्थात भदौसम्ममा निर्जीवन बीमा कम्पनीहरूले ८ अर्ब २९ करोड ३२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । जसमा मोटर बीमालेखमार्फत मात्रै २ अर्ब ३० करोड ६९ लाख रुपैयाँ व्यवसाय आर्जन गरेका छन् । यो कुल व्यवसायको २७.८१ प्रतिशत हिस्सा हो । गत वर्षको यस अवधिसम्म निर्जीवन बीमकहरूले कुल ७ अर्ब ८५ करोड ७० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्दा मोटर बीमाबाट मात्रै २ अर्ब २० करोड ४१ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका थिए । गत वर्ष मोटर बीमाको हिस्सा २८.०५ प्रतिशत थियो । निर्जीवन बीमा व्यवसाय धान्ने प्रमुख क्षेत्र मोटर बीमा नै मानिन्छ । तर पछिल्लो समय अर्थतन्त्रमा छाएको संकुचनको कारण भनेजस्तो सवारीसाधन बिक्री हुन नसकेको र यसले बीमा कम्पनीको व्यवसायसमेत खुम्चिने गरेको बीमा कम्पनीहरू बताउँछन् । त्यस्तै, पछिल्लो केही वर्षयता नेपालमा विद्युती सवारीसाधन (ईभी) बढी भित्रिन थालेको छ । ग्राहकको रोजाइ पनि ईभी बन्दै गएको छ । ईभीको लागि पनि छुट्टै बीमादर निर्धारण हुन सकेको छैन । विद्युतीय सवारीको लागि छुट्टै निर्देशिका पनि बनिसकेको छैन । नेपाल बीमा प्राधिकरणले मोटर बीमादर निर्देशिका, २०७३ मा एक नयाँ च्याप्टर बनाएर ईभीको पोलिसी बनाउने कुरा यसअघि गरेको भएपनि कार्यान्वयन हुन सकेको छैन । मोटर बीमा दरसम्बन्धी निर्देशिका,२०७३ अनुसार बीमा गरिएका विद्युतीय सवारीसाधनको डिप्रेसिएसन वा क्षतिपूर्ति कम आउने सवारीसाधनकर्ताहरूको तर्क छ । त्यस्तै, बीमा कम्पनीहरूले उक्त प्रतिशतभन्दा बढी क्षतिपूर्ति दिन परेमा उक्त प्रिमियम रकमले नधान्ने तर्क राख्दै आएका छन् । सम्पत्ति बीमाको हिस्सा बढ्दै निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा घट्दै गएको भएपनि सम्पत्ति बीमाको भने हिस्सा बढ्दै गएको छ । चालु आवमा दुई महिनामा बीमा कम्पनीहरूले सम्पत्ति बीमामार्फत २ अर्ब ५१ करोड ४२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । जुन कुल निर्जीवन बीमा व्यवसायमा सम्पत्ति बीमाको हिस्सा ३०.३२ प्रतिशत रहेको छ । गत आवको यही अवधिमा बीमा कम्पनीहरूले सम्पत्ति बीमामार्फत ८५ हजार ६१५ बीमालेख जारी गरी २ अर्ब ३३ करोड २४ लाख रुपैयाँ बराबरको व्यवसाय आर्जन गरेको थियो । जुन कुल निर्जीवन बीमा व्यवसायमा सम्पत्ति बीमाको हिस्सा २९.६८ प्रतिशत थियो ।
सीईओहरुलाई सुवेदीले भने- बीमितले पैसा पाएको अनुभूति गर्नुपर्यो, समयमै एडभान्स दिनु
काठमाडौं । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमक, लघु निर्जीवन बीमक र पुनर्बीमकहरूका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेको छ । प्रमुख अधिकृतहरूसँग हालैको आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी तथा दाबी भुक्तानीको अवस्था, दाबी भुक्तानीमा आइपरेका समस्या र दाबी भुक्तानीलाई छिटोछरितो तुल्याउन गर्नुपर्ने कार्य लगायतका विषयमा छलफल भएको प्राधिकरणले जनाएको छ । छलफलमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले जेनजी आन्दोलनको क्रममा भएको क्षतिको दाबी छिटोभन्दा छिटो भुक्तानी गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । सुवेदीले बीमा दाबी भुक्तानी योग्य भएको र दाबी भुक्तानी गर्ने दायित्व बीमा कम्पनीहरूको हुने हुँदा छिटो दाबी भुक्तानी गर्न निर्देशन दिएको जानकारी दिए । कार्यकारी निर्देशक सुवेदीले दाबी भुक्तानीका सम्बन्धमा बीमकहरूलाई कानूनी तथा व्यावहारिक समस्यामा भएमा प्राधिकरणले सहजीकरण गर्ने बताए । उनले भने, ‘बीमकले प्रारम्भिक सर्भे रिपोर्टका आधारमा बीमा दाबी भुक्तानी गर्दै जानुपर्यो, बीमितले पैसा पाएको अनुभूति गर्नुपर्यो, दाबी भुक्तानी दिएको बारेमा आम रूपमा जानकारी दिनुपर्यो, बीमकले बीमितलाई र पुनर्बीमकले बीमकलाई समयमै एडभान्स रकम दिनुपर्यो ।’ बीमकले प्रवाह गर्ने बीमा दाबी र दाबी भुक्तानी सम्बन्धी तथ्याङ्क सही हुनुपर्ने र गलत तथ्याङ्क दिने बीमकमाथि प्राधिकरण कडाइका साथ प्रस्तुत हुने उल्लेख गर्दै कार्यकारी निर्देशक सुवेदीले तरलतालाई उच्च प्राथमिकतामा राखेर बजारमा अविलम्ब तरलता प्रवाह गर्न पुनर्बीमा कम्पनीहरूलाई निर्देशन दिए । छलफलमा निर्जीवन बीमा कम्पनी र लघु निर्जीवन बीमा कम्पनीका सीईओहरुले आन्दोलनका क्रममा भएको क्षतिको बीमा दाबी भुक्तानी दिन कम्पनी सक्षम रहेको र यसमा समस्या नभएको बताएका छन् । उनीहरुले साना बीमा दाबीहरूको भुक्तानी गर्दै आएको, ठूला दाबीको हकमा नगद प्रवाह आवश्यक भएकाले पुनर्बीमा कम्पनीहरूले सक्रिय रूपमा सहयोग गर्नुपर्ने र तरलता व्यवस्थापनमा समेत पुनर्बीमकले भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरेका छन् । कम्पनीहरूले क्षतिको प्रतिवेदन तयार गर्न फिल्डमा बीमा सर्भेयरहरू खटाइसकेको र सर्भेयरहरूबाट प्रतिवेदन आउनेक्रम समेत जारी रहेको छलफलमा सीईओहरुले जानकारी दिएका छन् । नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले पुनर्बीमा बापतको दाबी रकम भुक्तानी गर्न कम्पनी सक्षम रहेको थप प्रष्ट पार्दै पुनर्बीमा बापतको रकम आवश्यक प्रक्रिया पूरा गरी बीमकहरूलाई यथाशीघ्र उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल अधिकारी, निर्देशक ध्रुव तिमिल्सिना, निर्देशक शाम्भराज लामिछाने तथा निर्देशक निर्मल अधिकारी र निर्जीवन बीमा कम्पनी, लघु निर्जीवन बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।