सूर्या लाइफले ५ प्रतिशत वोनस सेयर दिँदै, साधारण सभा बैशाख १४ गते

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाँच प्रतिशतको दरले वोनस सेयर वितरण गर्ने भएको छ । यो जीवन बीमा कम्पनीले हालको चुक्ता पूँजी ६२ करोड ५० लाखको ५ प्रतिशतका दरले ३ करोड १२ लाख ५० हजार रुपैयाँको बोनस सेयर वितरण गर्ने भएको छ । यो जीवन बीमा कम्पनीले वोनस सेयरको स्वीकृतिसहितका विविध एजेन्डा स्वीकृतिका लागि आगामी वैशा १४ गतेका लागि आठौ वार्षिक साधारण सभाको मिति तय गरेको छ । यसले उद्योग संगठन मोरङको सभाकक्ष, विराटनगरमा साधारण सभा गर्ने निर्णय गरेको छ । यसले आगामी चैत्र २८ देखि बैशाख १४ गतेसम्मका लागि बुक क्लोज गरेको छ ।

एशियन लाईफको १३ करोड ४२ लाख रुपैयाँ बोनस र ५० प्रतिशत हकप्रद सेयर पारित

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्षको मुनाफाबाट १३ करोड ४२ लाख ६५ हजार ५४० रुपैयाँ बोनस दिने प्रस्ताव पारित भएको छ । कम्पनी सञ्चालक समितिको उक्त प्रस्तावलाई बिहीबार सम्पन्न कम्पनीको आठौँ तथा नवौँ साधारणसभाले पारित गरेको हो । साथै, सभाले कम्पनीको चुक्ता पूँजीको ५० प्रतिशत (२ बराबर १ को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव समेत पारित गरेको छ । उक्त हकप्रद बोनस सेयर वितरण पश्चात निष्कासन गर्ने कम्पनीले जनाएको छ । बोनस सेयर पश्चात कम्पनीको चुक्ता पूँजी ८० करोड ५५ लाख ९२ हजार ४०० रुपैयाँ हुने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीका अनुसार हकप्रद सेयर पश्चात कम्पनीको चुक्तापूँजी एक अर्ब २० करोड ८३ लाख ८८ हजार ६ सय रुपैयाँ पुग्ने छ । साथै, सभाले संस्थापक सेयरधनी समूह ‘क’ वर्गबाट बिजय कुमार सरावगी, दिनेशलाल श्रेष्ठ, सुशान्त चाचान, दीपक कुमार श्रेष्ठ र सुरेन्द्र गोयललाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ । त्यस्तै, सर्वसाधारण सेयरधनी समूह ‘ख’ बाट रबी कुमार गुप्ता र सौरभ रुगंटालाई आगामी चार वर्षको लागि संचालक पदमा निर्वाचित भएका छन् ।

नेपाल बङ्गलादेश बैंकले दियो दुर्घटना बीमाको ५ लाख रुपैयाँको भुक्तानी

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले भैँसेपाटी शाखाका ग्राहक स्व. सुकुमाया लामाको बीमा रकम ५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकले उक्त क्षतिपुर्ति रकमको चेक मृतकका छोराहरु मनोजकुमार लामा, रमेशकुमार लामा र सुवर्ण लामालाई हस्तान्तरण गरेको हो । बैंकका नायव महाप्रबन्धक सुरेन्द्रभुषण श्रेष्ठद्वारा एक समारोह बिच हस्तान्तरण गरेका हुन् । बैंकले आफ्ना बचत खातावालाहरुलाई दुर्घटना बीमा सुविधा दिंदै आएको छ । उक्त सुविधा अन्र्तगत खातावालहरुको दुर्घटनामा मृत्यु भएमा खातामा भएको मौजदातको दोब्बर अथवा बढीमा ५ लाख रुपैयाँसम्म रकम क्षतिपुर्ति वापत भुक्तानी गरिने जनाएको छ । यस प्रकारको सुविधा आगामी दिनहरुमा पनि निरन्तरता दिंदै जाने बैंकले जनाएको छ ।