राष्ट्रिय बीमा कम्पनी र ओम डेभलपमेण्ट बैंकबीच बीमा सेवा सम्झौता

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेड र ओम डेभलपमेण्ट बैंक लिमिटेडबीच बुधबार एक कार्यक्रममा बीमा सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतामा राष्ट्रिय बीमा कम्पनीको तर्फबाट क्मपनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्याल र बैंकका तर्फबाट बैकका प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीले हस्ताक्षर गरेका छन् । बैंकले हालसालै मात्र बजारमा ल्याएको “सुरक्षित बचत खाता” अन्तर्गत खाता खोल्ने ग्राहकहरुका लागी यस सम्झौता अन्तर्गत जारी भएको दुर्घटना बीमा लेखले सात लाखसम्मको आर्थिक सुरक्षा प्रदान गर्ने छ । साथै, बैंकमा “सुरक्षित बचत खाता” खोल्ने ग्राहकको दुर्घटनाको कारण मृत्यु भएमा बीमाले सात लाख ग्राहकको हकवालालाई बैंक मार्फत क्षतिपूर्तिको रुपमा भुक्तानी गर्ने बैंकले जनाएको छ । सम्झौता पश्चात दुबै पक्षले बाली तथा पशुपन्छीको क्षेत्रको परनिर्भरता हटाउँदै जनतालाई समृद्ध बनाउने विश्वास लिएका छन् ।

६० प्रतिशत हकप्रद पछि एशियन लाइफ इन्स्योरेन्सको मूल्य समायोजन

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद पछि मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बुधबार इन्स्योरेन्सको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात इन्स्योरेन्सको मूल्य प्रतिकित्ता ३७५ रुपैयाँ तोकिएको छ । जसको आधार मूल्य प्रतिकित्ता ६१५ रुपैयाँ रहेको छ । बुधबारको बजारमा कम्पनीको सेयर मूल्य बढ्दो क्रममा रहेको छ । दिँउसोको सवा एक बजेतिर कम्पनीको सेयर मूल्य प्रतिकित्ता १० रुपैयाँले बढेर ३८५ रुपैयाँ पुगेको छ ।

४८ प्रतिशत बोनसपछि नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य बढ्यो

काठमाडौं । आइतबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ४८.५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । उक्त घोषणासँगै आइतबारको बजारमा इन्स्योरेन्सको सेयर मूल्य बढीरहेको छ । सो दिन प्रतिकित्ता १०१५ रुपैयाँबाट कारोबार शुरु भएको कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता १०७५ रुपैयाँसम्म कारोबार भएको छ । दुई बजेसम्म इन्स्योरेन्सको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ३४ रुपैयाँले बढेर प्रतिकित्ता १०४९ रुपैयाँमा सेयर किनबेच भइरहेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस र कर प्रयोजनको लागि समेत २३.५ प्रतिशत गरी ४८.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस सेयरपछि इन्स्योरेन्सको चुक्ता पुँजी ५ अर्ब ४९ करोड रुपैयाँ पुग्ने छ ।