लुम्बिनी जनरल इन्स्योरेन्सको एजीएम साउन २९ गते, बुक क्लोज कहिले ?

काठमाडौँ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १४ औँ वार्षिक साधारण सभा(एजीएम) साउन २९ गते हुने भएको छ । कम्पनी सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले बिहान ११ बजे अमृतभोग कालीकास्थान डिल्लीबजारमा साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभा प्रयोजनको लागि साउन १५ गते १ दिन सेयरधनी दर्ता किताब बन्द(बुक क्लोज) गरिने कमपनीले जनाएको छ । साधारण सभाले आव २०७४/०७५ को वार्षिक प्रतिवेदन र लेखा परीक्षकको प्रतिवेदन पारित गर्ने कार्यसूची रहेको छ । कम्पनीको हालको चुक्ता पूँजी ८८ करोड रहेको छ । बैशाख २५ गते विशेष साधारण सभा गरिएको र उक्त साधारण सधाको निर्णय बमोजिम चुक्ता पूँजीको २० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरिएको कम्पनी सचिव देवेन्द्र कोइरालाले जनाएका छन् ।

शिखरको साधारण सभा साउन २८ मा, चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव

काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनीको १४ औं वार्षिक साधारण सभा साउन २८ गते हुने भएको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले बिहान ११ बजे केन्द्रीय कार्यालय थापाथलीमा साधारण सभा गर्ने निर्णय गरेको हो । सञ्चालक समितिको बैठकले चुक्ता पूँजी बृद्धि गर्नका लागि ३० प्रतिशतको दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव साधारण सभामा लैजाने निर्णय पनि गरेको छ । साथै, कम्पनीको संस्थापक समूहको सञ्चालकहरुको पदावधी वार्षिक साधारण सभा अघि नै सकिने भएकाले पदावधी थप गर्ने सञ्चालक समितिको निर्णय अनुमोदन गरिने छ । नियमनकारी निकाय बीमा समितिबाट जारी भएको गाभ्ने, गाभिने तथा प्राप्ती गर्ने सम्बन्धी निर्देशिका २०७६ बमोजिम सम्पूर्ण प्रक्रिया अवलम्बन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय प्रस्ताव पनि साधारण सभामा प्रस्तुत गरिने छ । साधारण सभा प्रयोजनको लागि साउन १५ गतेदेखि कम्पनीको सेयर दाखिला खारेज बन्द गर्ने निर्णय गरिएको कम्पनी सचिव सुरज राजवाहकले जनाएका छन् ।

चुक्ता पूँजी नपुर्याउने बीमा कम्पनीलाई बीमा समितिले माग्यो स्पष्टिकरण

काठमाडौ । बीमा समितिले चुक्ता पूँजी नपुर्याउने बीमा कम्पनीहरुसँग स्पष्टीकरण माग गरेको छ । मंगलबार सात दिनको समय तोक्दै बीमा बीमा कम्पनीहरूसँग स्पष्टिकरण माग गरेको हो । बीमा समितिका अध्यक्ष चिरञ्जीबि चापागाईँले विकासन्यूजसँग भने-‘अहिले हामीले जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीसँग स्पष्टिकरण माग गरेका हौँ,’ यसकालागि हामीले एक साताको समय छुट्याएका छौँ ।’ उनले सो अवधिमा आएको स्पष्टिकरणको आधारमा थप कारवाही गरिने बीमा समितिका अध्यक्ष चिरञ्जीबि चापागाईँले बताए । समितिले जीवन बीमा व्यवसाय गर्ने सूर्या लाइफ इन्स्योरेन्स, गुराँश लाइफ इन्स्योरेन्स र प्राइम लाईफ इन्स्योरेन्सलाई पत्र पठाएको छ । राष्ट्रिय बीमा संस्थानको ऐन अलग्गै रहेकाले उक्त कम्पनीलाई केही फरक प्रकृया अपनाइने बीमा समितिले जानकारी दिएको छ । राष्ट्रिय बीमा कम्पनीले आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण स्विकृतीका लागि छिट्टै पेश गर्नु पर्ने बीमा समितिले जनाएको छ । निर्जीवन बीमा व्यवसाय गर्ने यूनाइटेड इन्स्योरन्स, एनएलजी इन्स्योरेन्स, प्रुडेन्सीयल कम्पनी, लुम्बिनी जनरल इन्स्योरेन्सलाई पनि समितिले पत्र काटेको छ ।