प्रभु इन्स्योरेन्स २४ औँ वर्षमा, ‘अघिल्लो आवको भन्दा १३ प्रतिशत व्यवसाय बृद्धि’
काठमाडौँ । प्रभु इन्स्योरेन्स लिमिटेडको २३ औँ बार्षिक साधारण सभा तथा २४ औं बार्षिकोत्सव कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । तिनकुने काठमाण्डौस्थित कम्पनीको कार्यालय ‘प्रभु कम्प्लेक्स’ मा सम्पन्न भएको बार्षिक साधारण सभाले आर्थिक वर्ष २०७४/०७५ को आर्थिक प्रतिवेदन पारित गरेको छ । साथै श्रावण १७ गते देखि कम्पनी स्थापनाको २३ औँ बर्ष पूरा गरी २४ औँ बर्षमा प्रवेश गरेको छ । २४ औँ स्थापना दिवसको उपलक्ष्यमा राजधानीमा आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागाईले निर्जीबन बीमा कम्पनीहरु मध्ये प्रभु इन्स्योरेन्सको संस्थागत सुशासन अब्बल रहेको बताए । ‘व्यवसायको तुलनामा दावी भुक्तानी न्यून रहेको तथा अन्य परिसूचकहरु राम्रो रहेकोले कम्पनीको अवस्था धेरै राम्रो रहेको छ’–उनले भने । सोही कार्यक्रममा बोल्दै अध्यक्ष चापागाईले गत आर्थिक वर्ष २०७५/०७६ मा बीमा क्षेत्रले धेरै राम्रो प्रगति गर्न सकेको बताउँदै बिगत वर्ष बीमाको पहुँच ६÷७ प्रतिशत जनतामा रहेकोमा आव २०७५/०७६ मा १९ प्रतिशत जनतामा बीमाको पहुँच पुगेको बताउँदै मुलुकको कूल गार्हस्थ उत्पादनमा बीमाक्षेत्रको योगदान २ प्रतिशत रहेको बताए । साथै बीमा कम्पनीको पूँजी बृद्धिको लागि तोकिएको समय सीमा समाप्त भएकोले अब तोकिएको चुक्ता पुँजी पुर्याउन नसक्ने कम्पनीको लागि कुनै पनि समय सीमा थप नगर्ने तथा पुँजी बृद्धि गर्न असफल कम्पनीहरुलाई स्पष्टिकरण सोधिसकिएको बताए । बीमा कम्पनीमा कार्यरत कर्मचारी, अभिकर्ता तथा सर्भेयरको बृत्ति बिकासको लागि सबै बीमा कम्पनी तथा बीमा समितिको सहकार्यमा बीमा तालिम केन्द्र स्थापना गरिसकिएको उनले बताए । उक्त कार्यक्रममा कम्पनीका अध्यक्ष कुसुम लामाले कम्पनी बीमा समितिको मार्गदर्शनमा अगाडि बढिरहेको बताउँदै कम्पनीले बीमाको बिकासको लागि नयाँ-नयाँ प्रोडक्टहरुको शुरुवात गर्न लागेको बताइन् । सोका लागि नियामनकारी निकायको सदैव सहयोगको आवश्यकता रहेको छ–उनले बताइन् । साथै कम्पनीका सञ्चालक राजेन्द्र मल्लले पुनर्बीमा सम्वन्धी सम्पूर्ण कारोवार मुलुक भित्र नहुने हुनाले अझै पनि ठूलो रकम बिदेशिने गरेकोले नेपालमा रहेको पुनर्बीमा कम्पनीलाई अझ मजबुत बनाउन आग्रह गरे । कम्पनीको बार्षिक प्रगति बिवरण प्रस्तुत गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले कम्पनीले गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा १३ प्रतिशत व्यवसाय बृद्धि गरेकोे बताए । ग्राहकहरुको सुविधाको क्यासलेस दावी भुक्तानीको सेवा ७ वटै प्रदेशमा बिस्तार गरिसकिएको तथा ग्राहकलाई बीमालेख तथा दावी सम्वन्धी जानकारी दिनको लागि अनलाइन सिस्टकको बिकास गरेको बताउँदै आगामी दिनमा थप शाखा सञ्जाल बिस्तार गर्दै लगिने बताए । हाल कम्पनीको चुक्ता पूजी रु. १ अर्व ५० लाख ७६ हजार रहेको छ । केन्द्रीय कार्यालय सहित ५० भन्दा बढी शाखा, उपशाखा तथा सेवा केन्द्रहरुबाट सेवा प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।
प्रभु इन्स्योरेन्सको २३ औँ साधारण सभा सम्पन्न, आव २०७४/०७५ को वार्षिक प्रतिवेदन पारित
काठमाडौँ । प्रभु इन्स्योरेन्सले शुक्रबार २३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । आव २०७४/०७५ को वार्षिक प्रतिवेदन पारित गर्दै साधारण सभा सम्पन्न भएको हो । एनएफआरएस मोडेलमा वित्तीय विवरण तयार गर्नु परेकाले यसपटक साधारण सभा गर्न केही ढिलो भएको बताउँदै आगामी वर्ष सेयरधनीहरुलाई खुशी बनाउने प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्यले बताए । गत वर्ष कम्पनीले १९ दशमलव २० प्रतिशत बोनस र ४६ प्रतिशत हकप्रद वितरण गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी रु. १ अर्ब ५० लाख ७६ हजार रहेको छ ।
भारतका एक्चुरीलाई वित्तीय विवरण पठाउँदा कति रहला गोपनियता ? बीमा कम्पनी भन्छन्-‘विश्वासमा चल्ने हो’
काठमाडौँ । बीमा कम्पनीहरुले भविश्यमा आइपर्ने जोखिम र त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा गरिने बीमाङ्कीय मूल्याङ्कनका लागि वित्तीय विवरणहरु भारतमा पठाउने गरेका छन् । नेपालमा बीमाङ्की(एक्चुरी) नभएकाले बीमा कम्पनीहरुका सबै विवरण भारतका एक्चुरीका कहाँ पठाउँदा कम्पनीहरुको गोपनियता भङ्ग हुने संभावना रहन्छ । यसरी एक्चुरीले वित्तीय विवरणहरु हेरिसकेपछि एक कम्पनीको पोलिसी अर्को कम्पनीमा पुग्ने सम्भावना हुन्छ । जसले बीमा कम्पनीहरुलाई धरासायी बनाउन सक्नेमा विज्ञहरुले आशंका व्यक्त गरेका छन् । नेपालमा बीमा व्यवसाय संचालन गर्दै आएका बीमा कम्पनीहरुको एक्चुरी भ्यालुयसनको कारण गोपनियतामा पर्ने सक्ने असरलाई विश्वाससँग जोडेर हेर्ने गरेका छन् । यता, बीमकहरुले बीमा विश्वासमा चल्ने व्यवसाय भएकाले नै आफूहरु सुरक्षित रहेको जानकारी दिएका छन् । नेपालको एक्चुरी छैनन् । सोही कारण वित्तीय विवरण भारत लानु पर्ने बाध्यता छ । बीमा कम्पनीहरुले अनिवार्य रुपमा वार्षिक वित्तीय विवरण एक्चुरियल भ्यालुयसन गराउनु पर्छ । कम्पनीहरुले उक्त एक्चुरी गरेको विवरण बीमा समितिमा पनि पठाउँछन् । पुनः बीमा समितिले आफैँले नियुक्त गरेको एक्चुरी मार्फत वित्तीय विवरण स्विकृत गर्ने गर्छ । तर, बीमा समितिले समेत सो कुरा सही हो कि होइन भन्ने नेपालमा पत्ता लगाउन सक्दैन । नेपालमा पत्ता नलाग्ने भएको कारण छिमेकी राष्ट्र भारतको एक्चुरी मार्फत नै बीमा समितिले पनि काम गराउँदै आएको छ । कम्पनीले भारतमा वित्तीय विवरण मात्र पठाउँदैनन, आफूले हालसम्म सोच्दै आएका केही गोप्य कागजपत्र समेत पठाउँछन् । यस्तो अवस्थामा बीमा कम्पनीहरुले आफूले अन्य कम्पनीहरुसँग लुकाएका सूचनाहरु बाहिरिन सक्ने खतरा रहेकोमा स्वीकार गरेका छन् । बीमा कम्पनीहरुले सफ्ट कपी मात्र नभएर कतिपय सन्दर्भमा हार्ड ड्राईभको समेत प्रयोग गर्ने गरेका छन् । बीमा समितिले पनि आफ्नै एक्चुरी नभएका कारण एक्चुरी भ्यालुयसन टेष्ट भारतमै गराउनु पर्ने बाध्यता रहँदै आएको बताएको छ । साथै, सोही कारण बीमाका वित्तीय विरण तयार हुन पनि केही ढिलाई हुने गर्छ । बीमा समितिक एक अधिकारीले भने-‘एक्चुरीयल भ्यालुएसन टेष्टका लागि हामीले बीमा समितिमा एउटा ढाँचा तयार गरेका छौँ, सोही ढाँचा अनुसार काम गर्ने गर्छौ ।’ उनले कम्पनीहरुले इस्यू गरेका पोलिसी, ल्याप्स भएका पोलिसी, सरेण्डर भएका पोलिसी लगायत सम्पूर्ण विवरण पठाउने गरेको जानकारी दिए । साथै, विजेनश स्ट्राटीजी अनुसार काम गरिने भएकाले यस्ता सूचनाहरु नबाहिरिने उनले जानकारी दिए । एउटा कम्पनी र अर्को कम्पनी, एउटा एक्चुरी र अर्को एक्चुरीबाट सूचना बाहिरिने सम्भावना भएपनि त्यस्तो अनैतिक कार्य कसैले नगर्ने उनको तर्क छ । यस्तै, बीमा कम्पनीका एक प्रमुख कार्यकारी अधिकृतले भने-‘हामीले एक्चुरी भ्यालुएसनका लागि सम्पूर्ण वित्तीय विरण पठाउने गरेका छौँ, यो त सबै विश्वसले नै गर्दा हो, विश्वास टुटन गएमा हामीले नयाँ एक्चुरी छनोट गर्नुपर्ने हुन्छ ।’ ‘बीमा समितिले बीमा कम्पनी पिच्छे फरक फरक एक्चुरी नियुक्त गर्नु पर्ने व्यवस्था गरेकाले गोपनियता सुरक्षित हुन्छ’-उनले भने । सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत(सिईओ) राजकुमार अर्यालले बीमा कम्पनीको नियामक बीमा समिति भएकाले आफ्नो समस्यामा समितिले भूमिका निभाउने बताए । प्रमुख कार्यकारी अर्यालका अनुसार-‘बीमा कम्पनीको असहजतामा समितिले सहयोग गर्छ, बीमा भनेको विश्वासले चल्ने व्यवसाय हो, शंकाले शंकाले चल्दैन ।’ बोनस दरको डर छ बीमा कम्पनीहरुले दिएको जानकारीलाई आधार मान्ने हो बोनस दर बिमितलाई आफूले भन्नु भन्दा अगाडि नै सार्वजनिक हुने होकी भन्ने डर रहेको पाइन्छ । तर, बीमा कम्पनीहरुले सो विषयमा आफूहरुले बीमा समितिप्रति विश्वास गर्दै आएको मत जाहेर गरेका छन् । एक्चुरीले अनुशासन पालन नगर्दा मात्र बीमा कम्पनीको गोपनियता अर्को कम्पनीसम्म पुग्ने जानकारहरु बताउँछन् । साथै, एक्चुरीले पेशागत मर्यादा कायम गर्ने भएकाले बीमा व्यसायमा कुनैपनि हानी नपुग्ने उनीहरुको तर्क छ ।