बैंकको व्याज घट्दा जीबन बीमा कम्पनीको नाफा खुम्चिदै, भन्छन्ः दीर्घकालिन ऋणपत्र चाहियो
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले मुद्दति निक्षेपको व्याज घटाएको भन्दै जीवन बीमा कम्पनीहरुले आफ्नो आम्दानी घट्ने चिन्ता गरेका छन् । आफूहरुको आम्दानीको प्रमुख स्रोत नै बैंकमा राखिएको बीमा शुल्कको व्याज भएकोले आम्दानी घट्दा नाफा प्रभावित हुने उनीहरुको भनाइ छ । बैंकको व्याज घटेकोले कम्पनीहरु सरकारको दीर्घकालिन ऋणपत्रको माग गर्न थालेका छन् । सरकारले दीर्घकालिन ऋणपत्र जारी गरेमा आफूहरु त्यसमा लगानी गर्न तयार रहेको उनीहरुको भनाइ छ । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिवेक झाले दिएको जानकारी अनुसार बैकको व्याजदर घट्दा त्यसको असर बीमा कम्पनीहरुलाई प्रत्यक्ष रुपमा पर्छ । ‘बैकको व्याजदर कम हुँदा बीमा कम्पनीहरुको आम्दानी घट्छ, बीमा कम्पनीहरुमा निश्चित दरको बोनस ग्यारेन्टी गरेका पोलिसीहरु पनि रहेका कारण कम्पनीहरुले मार खाने अवस्था आउँछ’, प्रमुख कार्यकारी अधिकृत झाले भने । नेपाली बीमा कम्पनीहरुको ठूलो हिस्सा मुद्दति निक्षेपमा लगानी रहेको र यस्तो लगानीको व्याज दर पनि संस्थागत निक्षेपकर्ताले कम पाउने भएकोले समस्या परेको उनको भनाइ छ । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालका अनुसार बीमा कम्पनीहरुले लगानी गर्ने धेरै क्षेत्रहरु खुलाइएको छैन । लगानी क्षेत्र सिमित हुँदा बीमा कम्पनीहरुलाई समस्या भएको प्रमुख कार्यकारी अधिकृत अर्यालको भनाइ छ । ‘अहिले बीमा क्षेत्रले लगानी गर्ने धेरै क्षेत्रहरु खुल्ला गर्न बाँकी छ, सरकारका दीर्घकालिन ऋणपत्र आउने र त्यसमा लगानी गर्न पाउने हो भने केही हदसम्म सहज हुने थियो, लगानीयोग्य पूँजीबाट प्राप्त हुने प्रतिफल नै जीवन बीमाको आम्दानी हो, त्यसमा बैकको व्याजदर पर्छ, बीमा समितिले तोकेको लगानीको क्षेत्र उपलब्ध छैन’, प्रमुख कार्यकारी अधिकृत अर्यालले भने । बीमा कम्पनीहरुले संकलन गरेको बीमा शुल्कको ९० प्रतिशत जति रकम बैक तथा वित्तीय संस्थामा निक्षेपको रुपमा राख्ने गरेका छन् । सोही कारण बैकको व्याज घट्दा बीमा कम्पनीहरुले ठुलो नोक्सान व्यहोर्नु पर्छ । जीवन बीमाले संकलन गरेको बीमा शुल्क ३ खर्ब रुपैयाँभन्दा धेरै हुन्छ । सो रकमबाट २ प्रतिशत मात्र घट्दा ६ अर्ब रुपैयाँ घट्छ । यसरी घट्ने रकमले बीमा क्षेत्रमा ठूलो प्रभाव पार्ने सरोकारवालाको भनाइ छ । व्याजदरको असर बीमा कम्पनीहरुका अनुसार बैकको व्याजदरसँग बीमा क्षेत्रको आम्दानीको हिस्सा जोडिने भएकाले त्यसको प्रत्यक्ष असर जीवन बीमालाई पर्छ । बिमितले पाउँने शुल्क, कम्पनीको सल्भेन्सी मार्जिन, अभिकर्ताले पाउँने बोनस, कम्पनीको नाफाघाटा लगायत हरेक क्षेत्रमा आर्थिक नोक्सानी हुन्छ । नेपाल टेलिकम लगायतका संस्थाहरुले संस्थागत निक्षेप राख्दा नाफा वा बचत राख्ने तर जीवन बीमा उद्योगले लगानी नै राख्ने भएकाले संस्थागत व्याजदर घट्नुको असर बीमा क्षेत्रमा बढी पर्छ । जीवन बीमा कम्पनीका एक प्रमुख कार्यकारी अधिकृतले दिएको जानकारी अनुसार बैकको मुद्दती निक्षेपको व्याजदरको असर बिमितलाई पनि पर्छ । यसको असर बोनस दरसम्ममा पुग्ने भएकाले बीमा समितिले बीमा क्षेत्रको लगानीको दायरालाई वृद्धि गर्नु पर्ने कम्पनीहरुको भनाइ छ । यस्तो छ लगानी निर्देशिका बीमा समितिले बीमकले लगानी गर्नुपर्ने रकमको न्यूनतम सीमा तोकेको छ । बीमकको लगानी निर्देशिका २०७५ अनुसार लगानीको क्षेत्र नेपाल सरकार वा नेपाल राष्ट्र बैंकको बचत वा ऋणपत्र वा नेपाल सरकारको जामानत प्राप्त वचतपत्र वा ऋणपत्रमा कूल टेक्निकल रिजर्भको ५ प्रतिशतलाई लगानीको न्यूनतम सीमा तोकिएको छ । टेक्निकल रिजर्भ भन्नाले कम्पनीको दायित्वलाई थाम्न पुग्ने बीमा शुल्कबाट आउँने रकम र टेक्निकल्ली मूल्याङ्कन गरिएको दायित्व रकम हो । यस्तै, वाणिज्य बैक तथा नेपाल पूर्वाधार बैकको मुद्दती निक्षेपमा कुल टेक्निकल रिजर्भको ४० प्रतिशत रकम लगानी गर्न पाइने व्यवस्था निर्देशिकामा छ । टेक्निकल रिजर्भको प्रयोजनको लागि गणनायोग्य सम्पत्तिको अधिकतम सीमा समेत तोकिएको छ । उक्त सीमाअनुसार घरजग्गाा व्यवसायमा कूल टेक्निकल रिजर्भको ५ प्रतिशतसम्म, नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त विनिमय बजारमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण सेयरमा कूल टेक्निकल रिजर्भको १० प्रतिशतसम्म तथा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको अग्राधिकार सेयरमा (सधारण सेयरमा परिणत नहुने) र ऋणपत्रमा कूल टेक्निकल रिजर्भको २० प्रतिशतसम्म लगानीको सीमा तोकिएको छ । नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त धितोपत्र विनिमय बजारमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीको सुरक्षित डिवेन्चरमा कूल टेक्निकल रिजर्भको २० प्रतिशतसम्म लगानी सीमा तोकिएको छ । कृषि, पर्यटन र जलस्रोत लगायतका पूर्वाधारमा गरिएको लगानी कुल टेक्निकल रिजर्भको २० प्रतिसम्म लगानी गर्न मिल्ने व्यवस्था निर्देशिकामा छ । यसरी नै नागरिक लगानी कोष तथा म्युचुअल फण्डका लगानी योजनाहरुमा कूल टेक्निकल रिजर्भको ५ प्रतिशतसम्म, विकास बैंकमा मुद्दती निक्षेपमा कूल टेक्निकल रिजर्भको २० प्रतिशतसम्म फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा कूल टेक्निकल रिजर्भको १० प्रतिशतसम्म लगानी गर्न मिल्ने व्यवस्था निर्देशिकामा छ । कूल टेक्निकल रिजर्भ समितिबाट स्वीकृत भएको पछिल्लो वित्तीय विवरण बमोजिम हुनु पर्नेछ । समितिले बीमा कम्पनीहरुलाई लगानीको केही शर्त तथा कैफियत समेत तोकेको छ ।
युनाईटेड इन्स्योरेन्सबाट आर्थिक पत्रकारको कोरोना बीमा
काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) मा आवद्ध आर्थिक पत्रकारहरुको कोरोना बीमा गरिएको छ । युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडमार्फत सेजनमा आवद्ध सदस्यहरुको कोरोना बीमा गरिएको हो । सेजनले आफ्ना प्रत्येक सदस्यहरुको ५० हजार रुपैयाँ बराबरको वीमाङ्ग रकमको कोरोना बीमा गराएको छ । बीमापछि सेजनमा आवद्ध विभिन्न सञ्चार माध्यममा कार्यरत आर्थिक पत्रकारहरुलाई कोरोनाले पर्ने आर्थिक व्ययभारमा कम जोखिम हुनेछ । युनाईटेड इन्स्योरेन्सले यस बन्दाबन्दीको अवधिमा डिजिटल प्रविधिको माध्यमबाट बीमा सेवा प्रवाह गरिरहेको जनाएको छ । कम्पनीले हाल २९ वटै शाखा कार्यालयमार्फत मोटर, बीमा अग्नी बीमा, इन्जिनियरिङ्ग बीमा, कृषि तथा पशुपन्छी बीमा लगाएतका बीमा लेखहरु जारी गर्दै आएको जानकारी दिएको छ ।
जीवन बीमा कम्पनीहरुले संकलन गरे ६२ अर्ब बीमा शुल्क, गत वर्षकोभन्दा १७ अर्ब बढी
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ६२ अर्ब ४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको सोही अवधिमा ४५ अर्ब ८६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए । बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा १७ अर्ब रुपैयाँको वृद्धि भएको हो । बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क २१ अर्ब २२ करोड रुपैयाँ तथा नविकरण बीमाशुल्क ४१ अर्ब ३ करोड रुपैयाँ रहेको छ । यस्तै, बैदेशिक रोजगारी बीमाशुल्क मार्फत चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले १ अर्ब ६५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । बैदेशिक रोजगारमा जाने श्रमिकहरुको बीमाशुल्क बीमा कम्पनीहरुको पुल मार्फत हुँदै आएको छ । कोरोना महामारीका कारण हाल देशभर भइरहेको लकडाउनको कारण जीवन बीमातर्फ अभिकर्ताहरुको नविकरण शुल्क बुझाउँने म्याद थप गर्न बीमा समितिले निर्देशन दिएको थियो । लकडाउनकै कारण अभिकर्ताहरुले नविकरणकालागि बुझाउँने शुल्क भने बीमा कम्पनीहरुले उठाउन बाँकी छ । बीमालेख जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ७५ लाख १२ हजार ६ सय ३० वटा बीमालेख बिक्री गरेका छन् । कर्मचारी संख्या चालु आर्थिक वर्षको चैत मसान्तसम्मको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीहरुको संख्या ५ हजार ५ सय ३४ रहेको छ । यस्तै, चैत मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीहरुको कार्यालय संख्या १ हजार ८ सय ४७ रहेको छ । कुन कम्पनीले संकलन गरे कति बीमाशुल्क ? सरकारको स्वामित्वसमेत रहेको राष्ट्रिय बीमा संस्थानले चालु आर्थिक वर्षकोे चैत मसान्तसम्ममा ६ अर्ब ५० करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यस्तै, नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ५ अर्ब ६४ करोड, नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले १८ अर्ब ७० करोड र एलआईसी नेपालले १० अर्ब ३८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । मेट लाइफले १ अर्ब ५४ करोड रुपैयाँ, एशियन लाइफले ३ अर्ब १० करोड, सूर्या लाइफले १ अर्ब ८५ करोड रुपैयाँ तथा गुराँश लाइफले १ अर्ब ३७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस्तै, प्राईम लाईफले २ अर्ब २१ करोड, आईएमई लाईफ ८८ करोड रुपैयाँ, युनियन लाइफले ३ अर्ब १९ करोड रुपैयाँ, ज्योति लाईफले १ अर्ब ९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुुुसार सन नेपाल लाइफले ८५ करोड रुपैयाँ, रिलायन्स लाइफले ७३ करोड रुपैयाँ, रिलायबल लाइफले १ अर्ब २५ करोड रुपैयाँ र सिटिजन लाइफले १ अर्ब २७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । सानिमा लाइफले ५७ करोड, प्रभु लाइफले ५२ करोड तथा महालक्ष्मी लाईफले ४० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।