बिमान कम्पनी ग्राउन्डेड बीमाको मनस्थितिमा, बीमा कम्पनी भन्छन्ः शुल्क घट्न सक्छ

काठमाडौं । विमान सेवा संचालक व्यवसायीहरुले लकडाउनको कारण विमानहरुले आफ्नो उडान भर्न नपाई ग्राउण्डेड रहदा ग्राउण्डेड बीमा गर्नु पर्ने बाध्यता आउन सक्ने बताएका छन् । बीमा कम्पनीका अनुसार विमान सेवा संचालकहरुले बीमा शुल्क बुझाउने अवधि थप्न माग गर्दै आएका छन् । ‘उडेको विमानमा खतरा पनि धेरै हुनेले त्यस्तो अवस्थामा बिमांक महङ्गो हुन्छ, तर रोकेर राखेको बीमानमा खतरा कम हुन्छ, सोही कारण विमान उड्दा बीमा शुल्क धेरै बुझाउनु पर्छ भने नउडाई राख्ने बेलामा बीमा शुल्क निकै कम हुने गर्छ, यसरी विमान उडनै पाएन भने हामीले ग्राउण्डेड बीमा गर्न बाध्य हुन्छौ,’ श्री एयरलायन्सका प्रबन्धक अनिल मानन्धरले विकासन्युजसँग भने । प्रबन्धक मानन्धर बीमा कम्पनीहरुलाई आफूहरुले बीमा शुल्क बुझाउने म्याद थप्ने विषयमा सल्लाह भइरहेको र एक हप्ता भित्र टुङ्गो लाग्ने बताउँन् । अहिले छैन ग्राउण्डेड इन्स्योरेन्स, बाध्यता आईलाग्न सक्छ विमान व्यवसायीहरुका अनुसार अहिले विमान कुनै पनि बेलामा संचालनमा आउनु पर्ने हुन सक्छ । यस्तो अवस्थामा ग्राउण्डेड बीमा गराउनु राम्रो हुँदैन । तर लकडाउन निकै बढेको अवस्थामा तथा विमानलाई ग्राउण्डेड अवस्थामा लामो समय राख्नु पर्ने निश्चित भएमा उक्त बीमा गराउन आवश्यक हुन्छ । अहिले विश्वमा कोरोना महामारी फैलिएका कारण धेरै वटा देशहरु लकडाउनमा छन् । नेपालले गत चैत ११ गतेदेखि सुरु गरेको लक डाउन जेठ २० गतेसम्म निरन्तर रहने सरकारको निर्णय छ । तरपनि आगामी दिन विगतको तुलनामा कस्तो अवस्थामा कस्तो रहला सहजै अनुमान गर्न सक्ने स्थिति छ्रैन । विशेष गरेर हवाई क्षेत्रपनि विगतको जसरी चल्न त्यति सहज नरहेको व्यवसायीको धारणा छ । मुख्यत विदेशी पर्यटकहरुबाट आय आर्जन गर्ने भएकाले अहिले हवाई व्यवसायीहरुले भोलिका दिन ठ्याक्कै कस्तो होला भन्ने धारण बनाई नसकेको बताउँछन् । यस्तो छ बीमा कम्पनीको भनाई नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक खड्काका अनुसार लकडाउनका कारण हवाई बीमाको बीमा शुल्क त्रैमासिक रुपमा बुझाउने प्रस्ताव व्यवसायीहरुले ल्याएका छन् । ‘अहिले लक डाउनको कारण विमानहरु उड्न पाएका छैनन् । अन्य बेलामा विमान कुनै किसीमका दुर्घटनामा नफसेको बेलामा बीमा शुल्कमा छुट दिने गरिन्छ, त्यस्तै अहिले विमान नउड्दा जोखिम कम भएकोले सोही कारण जोखिमको घटबढका आधारमा बीमा शुल्कमा केही हेरफेर हुनसक्छ, अहिले विमान व्यवसायीको तर्फबाट पनि बीमाशुल्क त्रैमासिक रुपमा बुझाउने कुरा आई रहेको छ’, प्रमुख कार्यकारी अधिकृत खड्काले भने ।

सिल गरिएको सिद्धार्थ इन्स्योरेन्सको शाखा आइतबारदेखि खुल्ने

काठमाडौं । कर्मचारीमा कोरोनो संक्रमण देखिएपछि सिल गरिएको सिद्धार्थ इन्स्योरेन्सको कमलादी शाखा आइतबारदेखि खुल्ने भएको छ । उक्त शाखा कार्यालय संक्रमण रहित गरी कम्पनीले जेठ ११ गतेदेखि सञ्चालनमा ल्याउने भएको हो । उक्त शाखामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि साे शाखा सिल गरिएको थियो । कोरोना संक्रमित कर्मचारीको सम्पर्कमा आएका सबैको पिसिआर परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएपछि इन्स्याेरेन्सले शाखा सञ्चालनमा ल्याउने निर्णय गरेकाे हाे । इन्स्योरेन्सका अनुसार उक्त शाखा कार्यालयको नेपाल सरकारले तोकेको मापदण्ड बमोजिम सरसफाईका साथै संक्रमण रहित बनाइएको छ । यससँगै, आगामी जेठ ११ गतेदेखि सीमित कर्मचारीबाट उक्त शाखा सञ्चालन हुने र बीमितहरुले पूर्ववत रुपमा बीमा सेवा लिन सक्ने सिद्धार्थ इन्याेरेन्स कम्पनीले जनाएकाे छ । यस विषम परिस्थितिमा प्रभावकारी बीमा सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको छ । त्यस्तै, कोरोना देखिएको संक्रमित कर्मचारीको अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको इन्स्योरेन्सले जनाएको छ ।

प्राईम लाईफको नाफा ११.८५ प्रतिशतले बढ्यो

काठमाडौं । प्राईम लाईफ इन्स्योरेन्स कम्पनीको खुद नाफामा ११.८५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १८ करोड ३० लाख ९२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने कम्पनीले १६ करोड ३८ लाख ८१ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । खुद बीमाशुल्क: यस्तै, गत आर्थिक वर्षकोे तेस्रो त्रैमासमा कम्पनीको खुद बीमाशुल्क १ अर्ब ८७ करोड ३ लाख रुपैयाँ थियो भने चालु आर्थिक वर्षको सोही समयमा खुद बीमाशुल्क २ अर्ब २३ करोड ७५ लाख रुपैयाँ रहेको छ । जीवन बीमा कोष: गत आर्थिक वर्षको चैत मसान्तमा कम्पनीको जीवन बीमा कोष ८ अर्ब १४ करोड ७६ लाख रुपैयाँमा सिमीत थियो भने चालु आर्थिक वर्षकोे सोही समयमा जीवन बीमा कोष १० अर्ब ६६ करोड ६ लाख रुपैयाँ पुगेको छ ।