कृषि विकास बैंककाे कर्मचारीलाई काेराेना संक्रमण, नेकाे इन्स्याेरेन्सबाट १ लाख बीमा दावी भुक्तानी

काठमाडाैं । कृषि विकास बैंकका एक कर्मचारीमा काेराेना भाइरस संक्रमण पुष्टि भएपछि नेकाे इन्स्याेरेन्सले कोरोना बीमा अन्तरगत एक लाख दावी भुक्तानी गरेकाे छ ।  कोरोना बीमामा परेकाे याे पहिलाे दावी तथा भुक्तानी भएको नेकाे इन्स्याेरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशाेक खड्काले जानकारी दिए । बैंकका सबै कर्मचारीकाे सामूहिक काेराेना बीमा नेकाे इन्स्याेरेन्स कम्पनीमा भएकाे थियाे । बैंकका एक कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भएपछि मानव संशाधन विभाग प्रमुख दीर्घ बहादुर अर्याल मार्फत बीमितलाई बीमा बापतको एक लाख रुपैयाँ भुक्तानी गरिएको उनले बताए । कृषि विकास बैंकका अनुसार गुल्मी जिल्लाकाे फुर्काेट शाखामा कार्यरत अाेम बहादुर डाँगीलाई काेराेना संक्रमण पुष्टि भएकाे छ । बीमा गरेका जो कोहीलाई पनि १५ दिनपछि कोरोना पीसीआर परीक्षण पोजिटिभ देखिएको अवस्थामा बीमा दाबी भुक्तानी हुने बताइएको छ । प्रति व्यक्ति एक हजार रुपैयाँमा एक लाख रुपैयाँको र पाँच सय रुपैयाँमा ५० हजार रुपैयाँको कोरोना बीमा गर्न सकिने व्यवस्था छ । समूहमा गर्दा एक लाखकाे बीमा प्रति व्यक्ति ६ सय रूपैयाँ र ५० हजारकाे बीमा गर्दा प्रति व्यक्ति ४ रूपैयाँमा काेराना बीमा हुन्छ । हाल यस बीमा गर्दा लाग्ने शुल्ककाे ५० प्रतिशत अनुदान सरकारले दिने व्यवस्था बजेटमा गरिएकाे छ ।    

नेको इन्स्योरेन्सको सेयर रजिष्टारमा आरबीबी मर्चेन्ट नियुक्त

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको सेयर रजिष्टारमा आरबीबी मर्चेन्ट बैंकिङ्ग नियुक्त भएको छ । कम्पनीको सेयर रजिष्ट्रेशनसँग सम्बन्धित सम्पूर्ण काम गर्नका लागि दुबै संस्थाबीच बुधबार(जेठ २८ गते) सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता पत्रमा नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक कुमार खड्का र आरबीबी मर्चेन्टका सीईओ बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् । यससँगै, अब यस कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुहको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कामहरु आरबीबी मर्चेन्ट मार्फत हुने आरबीबी मर्चेन्टका सीईओ प्याकुरेलले जानकारी दिएका छन् ।

मोटर बीमापछि सम्पत्ति र हवाई बीमा शुल्कमा छुटको गृहकार्य, स्वास्थ्यमा पनि दाबी घट्यो

काठमाडौं । बीमा समितिले लकडाउनको समयमा जोखिम न्यून भएको क्षेत्रका बिमितलाई राहत दिन अध्ययन थालेको छ । जोखिम न्यून भएका क्षेत्रका बिमितलाई बीमा शुल्क कम गरी राहत दिने गृहकार्यमा समिति लागेको हो । बीमा कम्पनीहरुले पनि जोखिम कम भएका क्षेत्रमा बीमा शुल्क घटाउन सकिने जानकारी दिदै आएका छन् । इन्स्योरेन्स इस्न्टिच्युट अफ नेपालले केही दिन अघि गरेको अन्तराष्ट्रिय वेबिनारमा बोल्दै बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डेले हवाई बीमाको बीमा शुल्क कम गर्ने बारेमा गृहकार्य भइरहेको जानकारी दिएका थिए । सरकारले ११ चैतदेखि जारी गरेको लकडाउनका कारण सबै प्रकारका हवाइ सेवा बन्द गरिएको छ । लकडाउनको बेलामा बन्द भएका हवाई सेवाले बीमा शुल्क तिर्न नसक्ने भन्दै वायुसेवा संचालक संघले छुट हुनपर्ने माग गरिरहेको छ । यस्तै, लकडाउनको समयमा यातायातका साधन चल्न नपाएकोले दाबी कम परेको पाइएपछि नियामक निकाय बीमा समितिले मोटर बीमाको शुल्क कम गरेको छ । मोटर बीमामा शुल्क कम गरेको समिति अव अन्य क्षेत्रमा पनि शुल्क घटाउन सकिन्छ कि भनेर अध्ययनमा लागेको हो । पछिल्लो समय स्वास्थ्य बीमामा पनि दाबी कम परेको बीमा कम्पनीहरुले जानकारी दिएका छन् । लकडाउनको समयमा निजी तथा सरकारी अस्पतालहरुले नियमित सेवा प्रवाहमा समस्या आएको, नियमित र सामान्य स्वास्थ्य परीक्षणको लागि कोरोना संक्रमण नभएको पुष्टी हुने गरी पीसीआर परीक्षण रिपोर्ट देखाउनु पर्ने र कोरोना संक्रमण डरकै कारण अति आवश्यक नभइ अस्पताल नजानेहरुको संख्यामा बृद्धि भएका कारण स्वास्थ्य बीमामा दाबी कम परेको हो । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले अन्य कुन कुन क्षेत्रमा के कसरी राहत र छुटका कार्यक्रम ल्याउन सकिन्छ भनेर अध्ययन भइरहेको बताए । ‘जोखिम कम देखिएपछि मोटर बीमाको शुल्क कम गरियो, हवाइ बीमाको शुल्क पनि कम गर्नुपर्ने आवाज उठिरहेको छ, अन्य क्षेत्रमा पनि यस्तो कुनै राहत वा छुट दिन सकिने ठाउँ छ कि भनेर अध्ययन गरिरहेका छौं,’ कार्यकारी निर्देशक पौडेलले भने । सम्पत्ति बीमामा कस्तो आउँला छुट ? बीमा समितिले सम्पत्ति बीमामा छुट दिनको लागि गृहकार्य सुरु गरेको छ । सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा लकडाउनको अवधिमा बन्द भएका उद्योग प्रतिष्ठानलाई सम्पत्ति बीमामा राहत दिने सन्दर्भ उल्लेख गरेकोले सोही अनुसारको गृहकार्य समितिले थालेको हो । लकडाउनको समयमा साइलेन्स रिस्क कम भएकोले बीमा शुल्कमा छुट दिन समितिले गृहकार्य थालेको कार्यकारी निर्देशक पौडेलले जानकारी दिए । अन्य समयमा उद्योग प्रतिष्ठान बन्द भएको बेलामा बिमांक रकमको प्रतिहजार रुपैयाँमा ३ रुपैयाँका दरले बीमा शुल्क छुट हुने भएपनि लकडाउनको समयमा के कसरी गर्ने भन्ने विषयमा बेग्लै गृहकार्य आवश्यक देखिएको समितिको भनाइ छ । नसोचेको जोखिम आउन सक्छः विज्ञ बीमाविज्ञ सुकल्याण पराजुलीले बीमा क्षेत्रमा नसोचिएको क्षेत्रमा जोखिम बढ्ने संकेत मिलेको बताए । मोटर तथा हवाई बीमामा जोखिम कम देखिए पनि कार्गाे बीमाको दाबी बढी देखिन थालेको उनको भनाइ छ । ‘विश्वव्यापी लकडाउनले आयात निर्यात व्यापार प्रभावित भएको छ, तोकिएको ठाउँमा समयमै नपुगेका कारण केही बस्तुहरु गुणस्तर कम हुने तथा विग्रने खतरा पनि देखिएको छ, केही यस्ता दाबी परेको बीमा कम्पनीहरुले बताउँन थालेका छन्, त्यसैले कुनै क्षेत्रमा दाबी कम परेपनि अर्काे क्षेत्रमा बढी दाबी पर्ने र नसोचिएको क्षेत्रमा दाबी परेका कारण विवाद बढ्ने र कम्पनीहरुलाई दायित्व पनि थपिने सम्भावना छ, यसको लागि नियामक निकाय र बीमा कम्पनीहरु तयार भएर बस्नुपर्ने देखिन्छ,’ बीमा विज्ञ पराजुलीले भने ।