तीन वर्षभित्र प्रदेशका सबै नागरिकको स्वास्थ्य बीमा
काठमाडाैं । गण्डकी प्रदेश सरकारले आगामी तीन वर्षभित्र प्रदेशका सबै नागरिकको स्वास्थ्य बीमा गर्ने तयारी गरेको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को बजेटमा नेपाल सरकारसँगको समन्वयमा प्रदेशका सबै नागरिकलाई आगामी तीन वर्षभित्र स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गर्न २ करोड रूपैयाँ छुट्याइएको उल्लेख छ । अपाङ्ग, असहाय, अशक्त, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक र विपन्नवर्गको उपचारको लागि प्रदान गर्दै आएको सुविधालाई निरन्तरता दिने व्यवस्था मिलाइएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बताए । सरकारले आर्थिक वर्ष २०७७/७८ मा क्यान्सर, मुटु, मिर्गौला, सिकलसेल एनिमिया, स्पाइनल इन्जुरी, पार्किन्सन, अल्जाइमर र हेड इन्जुरीजस्ता रोगबाट पीडित अति गरिब बिरामीलाई उपचारको लागि आर्थिक सहयोग गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ । केन्द्र सरकारसँगको सहकार्यमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिर्गौला र मुटुरोगको विशिष्टिकृत उपचार सेवा प्रारम्भ गर्न आवश्यक बजेटको व्यवस्था मिलाइएको मन्त्री गुरुङले बताए । प्रदेश जनस्वास्थ्य तालीम केन्द्र, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र प्रदेश क्षयरोग नियन्त्रण केन्द्रको सुदृढीकरण गर्न १० करोड २७ लाख रूपैयाँ विनियोजन गरिएको उनले बताए । नवलपुरको मध्यबिन्दु अस्पताल, कास्कीको मातृशिशु मितेरी अस्पताल तथा पर्वत, मनाङ र मुस्ताङ जिल्ला अस्पतालका भवन निर्माणकार्यलाई निरन्तरता दिन आवश्यक बजेट विनियोजन गरिएको प्रदेश सरकारले जनाएको छ । आयुर्वेद तथा प्राकृतिक चिकित्सालगायत वैकल्पिक चिकित्सा सेवालाई प्रवद्र्धन गर्नुका साथै जिल्ला स्वास्थ्य कार्यालयका नियमित कार्यक्रमलाई निरन्तरता दिन र समुदायस्तरमा स्वास्थ्य साक्षरता कार्यक्रम सञ्चालन बजेट विनियोजन गरिएको मन्त्री गुरुङले जानकारी दिए । रासस
काठमाडौं महानगरपालिकाका कर्मचारीको जीवन बीमा राष्ट्रिय बीमा संस्थानमा
काठमाडौं । काठमाडौं महानगरपालिकामा कार्यरत कर्मचारीहरुको सामूहिक सावधिक जीवन बीमा राष्ट्रिय बीमा संस्थानमा हुने भएको छ । जसको लागि महानगरपालिका र राष्ट्रिय बीमा संस्थानबीच बिहीबार सम्झौता भएको हाे । उक्त सम्झौतामा महानगरपालिकाको तर्फबाट प्रशासन विभागका विभागीय प्रमुख नमराज ढकाल र संस्थानको तर्फबाट नायव महाप्रवन्धक महेश रिमालले हस्ताक्षर गरेका थिए । कार्यक्रममा महानगरपालिकाका प्रशासन विभागका प्रमुख नमराज ढकालले कर्मचारीहरुको हितमा संस्थानसंग जीवन बीमा जस्तो दुरगामी महत्वको सम्झौता गर्दा खुसी लागेको र संस्थानबाट गुण्स्तरीय सेवाको अपेक्षा राखेको बताए । संस्थानको तर्फबाट नायव महाप्रवन्धक महेश रिमाललेसंस्थान समयानुकूल परिमार्जन गर्दै वित्तीय रुपले सक्षम, प्रविधिको दृष्टिले आधुनिकता तर्फ उन्मुख रहेको र बीमितहरुलाई आकर्षक बोनस प्रदान गर्न सदा प्रयत्नशील रहेको जानकारी गराए ।
शिखर इन्स्योरेन्सको स्थगित हकप्रद सेयर असार १४ गतदेखि बिक्री शुरु
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको स्थगित हकप्रद सेयर असार १४ गतेदेखि बिक्री शुरु हुने भएको छ । कम्पनीले चुक्ता पुँजीको ३० प्रतिशत अर्थात एक बराबर ०.३ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३१ लाख ७१ हजार ९३२ किता अर्थात ३१ करोड ७१ लाख ९३ हजार २ सय रुपैयाँ बराबरको हकप्रद बिक्री खुल्ला गर्न लागेको हो । जसको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ । इन्स्योरेन्सले असार १४ गतेदेखि साउन ४ गतेसम्म सेयर निष्काशन गर्ने छ । जसको लागि फागुन १२ गतेसम्ममा सेयर किनेका सेयरधनीले आवेदन दिन सक्नेछन् । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ५ करोड रुपैयाँ रहेको छ । ३० प्रतिशत हकप्रद सेयर जारी पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ३६ करोड रुपैयाँ नाघ्ने छ । यसअघि कम्पनीले चैत १३ गतेदेखि १ बराबर ०.३ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । तर सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि चैत ११ गतेदेखि लकडाउन गरेसँगै इन्स्योरेन्सको हकप्रद सेयर निष्काशन स्थिगित भएको थियो ।