ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा भट्ट, बैंकिङ र बीमा क्षेत्रमा २२ वर्षको अनुभव

काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले कार्यकाल बाँकी छदै पदबाट राजीनामा गरेपछि भट्टलाई ४ वर्षे कार्यकालका लागि नियुक्त गरिएको हो । सन् १९९८ देखि नेपाल इन्भेष्टमेन्ट बैंकबाट बैंकिङ करिअर सुरु गरेका भट्टसँग सो बैंकको सहायक महाप्रबन्धकको कार्य अनुभव पनि छ । इन्भेष्टमेन्ट बैंक छोडेर उनी नायब प्रमुख कार्यकारी अधिकृत भएर मेगा बैंक गएका थिए । मेगा बैंकमा उनले सो पदमा रहेर ६ महिना काम गरेका थिए । त्यसपछि उनी विभिन्न बैंक तथा बीमा कम्पनीहरुमा आवद्ध थिए । त्यसपछि भट्ट आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएका थिए । उनलाई २०७५ भदौ तेस्रो साता आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको थियो । सो कम्पनीमा उनको कार्यकाल आगामी भदौमा २ वर्ष पुग्दैछ । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएपछि उनले आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदबाट आज (असार २४ गते) राजीनामा गरेका छन् । उनको राजीनामा आजै स्वीकृत भएको कम्पनी स्रोतले जानकारी दिएको छ । यद्यपि भट्टलाई ज्योति विकास बैंकले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय भएपनि सम्झौता भने भैसकेको छैन । भट्टसँग रेमिट टु नेपाल प्रालिको प्रमुख कार्यकारी अधिकृतको कार्य अनुभव पनि छ ।

लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस सेयर पारित, हकप्रद लिएकाले पनि पाउने

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको प्रस्तावित ८.१२५ प्रतिशत बोनस सेयर पारित भएको छ । कम्पनीको आज(असार २४ गते) सम्पन्न १५औं वार्षिक साधारण सभाले सञ्चालक समितकाे उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोड ६० लाख रुपैयाँको ८.१२५ प्रतिशतले हुन आउने खुद ८ करोड ५८ लाख रुपैयाँ बराबरको बोनस सेयर पारित गरेको हो । उक्त बोनस आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट बिगतमा कम्पनीले जारी गरेको २० प्रतिशत हकप्रद सेयर लिनेले समेत पाउने कम्पनीले जनाएको छ । साथै, सभाले कर प्रयोजनको लागि ४२ लाख ९० हजार रुपैयाँ बराबर नगद लाभांश प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा अघिल्लो वर्षको तुलनामा बीमाशुल्क ८ प्रतिशतले वृद्धि भई १ अर्ब ३६ करोड रुपैयाँ बीमाशुल्क आर्जन भएको कम्पनीले जानकारी गराएको छ । साथै, सभाले सर्वसाधारण सेयरधनीहरुको समूहबाट गणेश राज रेग्मी र कमल भटृराईलाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ । यससँगै उनीहरुले आगामी चार वर्षसम्म आफ्नो कार्यभार सम्हाल्ने छन् ।

कोरोना बीमामा ८ लाख रुपैयाँसम्म क्षतिपूर्ति दिने कम्पनीको प्रस्ताव बीमा समितिले रोक्यो

काठमाडौं । कोरोना बीमामा ८ लाख रुपैयाँसम्म क्षतिपूर्ति दिने गरी एक बीमा कम्पनीले गरेको तयारी बीमा समितिले रोकेको छ । कम्पनीले ८ लाख, ५ लाख, ३ लाख, १ लाख र ५० हजार रुपैयाँ बिमांकको बीमा गर्ने तयारी थालेको थियो । बीमा समितिले बैशाख पहिलाे सातादेखि कोरोना बीमा सुरु गरेको थियो । सो बीमाको बिमांक रकम १ लाख रुपैयाँ र ५० हजार रुपैयाँ हुने तय भएको थियो । समितिले ल्याएको कोरोना बीमाको बिमांक बढाउनु पर्छ भन्ने आवाज उठिरहेको अवस्थामा एक कम्पनीले ८ लाख रुपैयाँसम्म बिमांक हुने गरी आफ्नै प्रकारको बीमा योजनाको तयारी गरेको थियो । कम्पनीले गरेको तयारी अनुसार कोरोना बीमामा दाबी भुक्तानी दिन नसकिने अवस्था भएकोले रोकिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । कोरोना बीमाको पुनर्बीमा भएको छैन । यसबाट प्राप्त भएको बीमा शुल्क रकमको एउटा कोष बनाइएको छ भने सो कोषको रकमबाट नपुगेको अवस्थामा नेपाल पुनर्बीमा कम्पनी, सबै निर्जीवन बीमा कम्पनी, सरकार र बीमा समितिले तोकिए अनुसार दाबी भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ । ‘बीमा शुल्कबाट प्राप्त रकमको एउटा कोष बनाइएको छ, दाबी भुक्तानीको लागि नपुग रकम निर्जीवन बीमा कम्पनी, पुनर्बीमा कम्पनी, बीमा समिति र नेपाल सरकारले तिर्ने भनिएको छ, अन्तराष्ट्रिय बीमा कम्पनीहरुले पुनर्बीमा नगरेको र स्रोत व्यवस्थापन गरेर दाबी भुक्तानी गर्नुपर्ने बीमामा यसरी आफूखुसी बिमांक रकम राखेर बीमा गर्न पाइदैन, त्यसैले रोकेका हौं,’ कार्यकारी निर्देशक पौडेलले भने । सो बीमा कम्पनीले भने घातक रोग बीमालाई पनि कोरोना बीमामा समायोजन गरेर मृत्यूपछि मात्रै दाबी भुक्तानी हुने गरी बिमांक तोकेको थियो । समितिले भने १ लाख रुपैयाँ र ५० हजार रुपैयाँ मात्रै बिमांक हुने व्यवस्था मिलाएको छ ।