बैंकको व्याज घट्दा बीमा कम्पनीको नाफामा झट्का, ३ महिनामै गुम्यो सवा २ अर्ब आम्दानी

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण सन्त्रासको कारण सरकारले गरेको लकडाउनले बैंक तथा वित्तीय संस्थाको व्याज घट्दा बीमा कम्पनीहरुले छोटो अवधिमै सवा २ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गुमाएका छन् । बीमा कम्पनीहरुले पछिल्लो ३ महिनामा नै बैंक तथा वित्तीय संस्थामा राखेको मुद्दति निक्षेपबाट प्राप्त हुने २ अर्ब ३० करोड रुपैयाँभन्दा बढी आम्दानी गुमाएका हुन् । गत फागुन महिनासम्ममा बैक तथा वित्तीय संस्थाहरुले मुद्दति निक्षेपमा साढे ९ प्रतिशतको हाराहारीमा व्याज दिदै आएका थिए । तर, यस्तो व्याजदर असार मसान्तसम्म आइपुग्दा साढे ६ प्रतिशतको हाराहारीमा झरेको छ । गत असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा जीवन बीमा कम्पनीहरुको २ खर्ब ५७ अर्ब ३५ करोड तथा निर्जीवन बीमा कम्पनीहरुको ४९ अर्ब ४ करोड रुपैयाँ निक्षेप छ । यो निक्षेपको अवधि पूरा गरेर पुनः बैंक तथा वित्तीय संस्थामा राख्नु परेमा वा नयाँ आएको बीमा शुल्क बैंकमा राख्नु परेमा बीमा कम्पनीहरुको आम्दानी कम हुने देखिएको छ । कुल ३ खर्ब ६ अर्ब ३९ करोड रुपैयाँको ९ प्रतिशतका दरले बीमा कम्पनीहरुले ३ महिनामा ६ अर्ब ८९ करोड रुपैयाँ व्याज पाउँथे । अहिले घटेर ६ प्रतिशत मात्रै व्याज हुँदा सो रकमको ३ महिनामा ४ अर्ब ५९ करोड रुपैयाँ हुन्छ । ९ प्रतिशतको व्याज घटेर ६ प्रतिशतमा झर्दा बीमा कम्पनीहरुले ३ महिनामा नै २ अर्ब ३० करोड रुपैयाँ व्याज आम्दानी गुमाएको देखिएको हो । जीवन बीमक संघका अध्यक्ष शिवनाथ पाण्डे बैंकको व्याज घटेका कारणले मात्रै पनि बीमा कम्पनीहरुको आम्दानीमा निकै असर पर्ने बताउँछन् । ‘बीमा कम्पनीहरुले ३ खर्ब रुपैयाँको हाराहारीमा बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा रकम राखेका छन्, यस्तो रकम धेरै लामो अवधिको लागि लागि मुद्दतिमा राखिएको हुँदैन, सामान्यतः १ वा २ वर्षको हुन्छ, फागुनयता नै व्याजदर साढे ३ प्रतिशतले घटिसक्यो, मुद्दति निक्षेपको अवधी पूरा भएर पुन बैंकमा राख्नुपर्ने अवस्था रहेछ भने बीमा कम्पनीहरुले साढे ३ प्रतिशत व्याज आम्दानी गुमाएको सिधै देखियो,’ सूर्या लाइफ इन्स्यारेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत समेत रहेका अध्यक्ष पाण्डेले भने । उनले यसको असर आगामी वर्ष अझ बढी देखिने बताए । बैंकहरुले व्याजदर घटाए पनि पहिला राखिएको रकमको व्याज नघटेका कारण तत्काल समस्या नदेखिन पनि सक्ने उनको भनाइ छ । तर, मुद्दति निक्षेपको अवधि पूरा भएर पुनः रकम राख्नु पर्ने वा नयाँ बीमा शुल्क आएको रकम राख्नुपर्ने अवस्थामा भने आम्दानीमा गम्भीर असर देखिने उनको भनाइ छ । जीवन बीमा कम्पनीहरुले बीमा शुल्कबाट प्राप्त भएको अधिकांश रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा राख्ने गरेका छन् । सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री पनि बैंकको व्याज घटेका कारण बीमा कम्पनीहरुको आम्दानी प्रभावित हुने बताउँछन् । ‘बीमा कम्पनीहरुको प्रमुख आम्दानी भनेको व्याजबाट प्राप्त हुने रकम नै हो, केही वर्ष अघि १२ प्रतिशत व्याजदर ९ प्रतिशत हुँदै अहिले साढे ६ प्रतिशतमा झरेको छ, यसले बीमा कम्पनीहरुको आम्दानीमा प्रत्यक्ष असर पारेको छ, अब एक वर्षपछि यसको असर गम्भीर रुपमा देखापर्छ,’ बिमक संघका महासचिव समेत रहेका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले भने ।

जनरल इन्स्योरेन्सको आईपीओमा नयाँ रेकर्ड, पाैने ७ लाख बढीले भरे सेयर

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको आईपीओ नयाँ रेकर्ड कायम भएको छ । कम्पनीको आईपीओमा हालसम्मकै उच्च आवेदन परेर नयाँ रेकर्ड बन्न सफल भएको हो । कम्पनीले सेयर निष्काशन भएको आज तेश्रो दिनसम्ममा करिब ७ लाखले आवेदन दिएका छन् । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार मंगलबार साँझ ५ बजेसम्ममा ६ लाख ८२ हजार ७ सय ७२ जना आवेदकले एक करोड ९१ लाख ९४ हजार ८ सय ३० कित्ता सेयरको लागि आवेदन दिएका छन् । जुन कम्पनीको मागभन्दा ७.०३ गुणा बढी आवेदन हो । कम्पनीले आइतबार (असोज ११ गते) बाट ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ बिक्रीमा राखेको हो । कूल ३० लाख कित्ता साधारण सेयर मध्ये ५ प्रतिशत अर्थात एक लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत अर्थात एक लाख २० हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जनाएको छ । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । उक्त सेयरमा आवेदन दिन पिन कोड अनिवार्य चाहिने भएको छ । आईपीओको निश्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा असोज १४ गते बैंकिङ समय पश्चात हुने छ । उक्त सेयर निष्काशनको लागि इन्स्योरेन्सले केयर रेटिङ नेपालबाट केयर एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको बुझाउँछ । कम्पनीको लेखा परिक्षण हुन बाँकी रहेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०७६/२०७७ मा कम्पनीको प्रतिसेयर नेटवर्थ १०४.०२ रुपैयाँ र प्रतिसेयर आम्दानी २.२५ रुपैयाँ रहेको छ । जुन चालु आव २०७७/२०७८ मा बढाएर क्रमशः ११५.९ रुपैयाँ र १७.३८ रुपैयाँ पुर्याउने कम्पनीको प्रक्षेपण रहेको छ ।

मोटर बीमाको तेश्रो पक्ष बीमा पुल सञ्चालनमा, सीईओ अर्यालले उद्घाटन गरे भक्तपुरकाे उपशाखा

काठमाडाैं । नेपाल बीमक संघले मोटर बीमाको तेश्रो पक्ष बीमा पुल सञ्चालनमा ल्याएको छ । मोटर बीमा अन्तर्गत तेश्रो पक्ष बीमालेख जारी गर्दा देखिएका विसंगति तथा विकृतिलाई व्यवस्थित तथा बीमा व्यवसायलाई मर्यादित बनाउने अभिप्रायले संघले उक्त बीमा पुल सञ्चालनमा ल्याएकाे हाे । नेपालमा कार्यरत २० वटै निर्जीवन बीमा कम्पनीहरु मार्फत समानुपातिक तवरबाट व्यवसाय गर्ने निर्णय भएबमोजिम यस कम्पनीलाई भक्तपुर, विरगञ्ज र पाल्पा स्थित यातायात कार्यालय नजिक विस्तारित काउण्टर/उप शाखामार्फत तेश्रो पक्ष बीमालेख जारी गर्ने जिम्मेवारी रहेको छ । यसै सन्दर्भमा आश्विन ११ गते भक्तपुरमा उप शाखा कार्यालय संचालनमा ल्याइएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले उक्त उपशाखाको उद्घाटन गर्दै सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनी मार्फत यातायात कार्यालयमा तेश्रोपक्ष बीमा गर्न आउने सेवाग्राहीहरुको लागि चुस्त, दुरुस्त, छिटो र उच्च स्तरको सेवा प्रवाह हुने बताए । साथै, उक्त कार्यक्रममा कम्पनीको उक्त उपशाखाबाट तेश्रोपक्ष बीमालेख खरिद गर्ने पहिलो ग्राहकलाई प्रमुख कार्यकारी अधिकृतको हस्तक्षरित बीमालेख समेत हस्तान्तरण गरिएको थियो । कोभिड १९ का कारण कम्पनीले औपचारिक कार्यक्रम आयोजना गर्न नसकेतापनी उक्त कार्यक्रममा कम्पनीका उच्च पदस्त कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।