अभिकर्ता भगवान हुन्

बाबु, आमा र ५ वर्षकी सानी छोरी सहित ३ जनाका एउटा सुन्दर परिवार थियो । बाबु कम्पनीमा जागिर गर्दथे । आमा गृहिणी थिईन् । सानी छोरी भर्खर स्कूल जान थालेकी थिईन् । बाबुको जागिर राम्रै थियो । घर खर्च, छोरीको पढाई खर्च लगायतका अन्य खर्च गरेर पनि राम्रै बचत हुन्थ्यो । एक दिनको कुरा हो बाबु अफिसबाट घर फर्कँदै गर्दा दुर्घटनामा परी उसको मृत्यु भयो । मृत लास घरको आँगनमा राखिएको थियो । अन्तिम दाहसंस्कारको लागि तयारी हुँदै थियो । आमा चिच्याई रोइरहेकी थिईन् । दाहसंस्कारको कार्य सम्पन्न भयो । काजक्रियाको कार्य शुरु भयो । पत्नी सधै जसो रोइरहेकी थिईन् जुन स्वभाविक नै थियो । आफन्त, नातेदार, छरछिमेक आउथे पत्नीलाई सम्झाउथे । नानी, तिम्रो भाग्यमा यस्तै रहेछ, धेरै चिन्ता नगर भगवानले हेर्नुहुन्छ । माईतीतर्फका मान्छेहरु आउँथे । सानी छोरीलाई नियाल्थे, काजमा बसेकी मृतकको पत्नीलाई ढाडस दिन्थे । नानी, नआत्तिनु भगवान छन् । उहाँले तिम्रो दुःख हेर्नुहुन्छ । उपस्थित हुने सबै आफन्त र छिमेकीहरुले यस्तै यस्तै आश्वासन दिँदै गए । तेह्र दिनको काजक्रिया सम्पन्न भयो । तेह्र दिनपछि घरमा आउने क्रम घट्दै गयो । आफन्तहरु पनि आ-आफ्ना घरतर्फ फर्के । केहि दिनपछि गाउँकै एकजना मान्छे उनको घर आयो । उसले आफ्नो परिचय दिँदै भन्यो म बीमा कम्पनीको अभिकर्ता हूँ । मैले तपाईंको श्रीमानलाई पचास लाखको जीवन बीमा गर्न प्रस्ताव गर्दा सहजै स्वीकार गरी उहाँले तपाईंहरुको दम्पतीको बीमा गर्नु भएको थियो । उसले भन्यो- ‘तपाईंको श्रीमानको मृत्यु भएछ, साह्रै दुख लाग्यो, नआत्तिनुस्, हामी छौं, तपाईंको छोरीको पढाईलाई निरन्तरता दिन हामी सहयोग गर्छौं, तपाईंको श्रीमानको मृत्यु दर्ता प्रमाणपत्र, नागरिकता आदि कागजात मलाई दिनुस्, म केही दिन पछि आउँछु ।’ दुई तीनदिन पछि उक्त अभिकर्ता फेरि उनको घरमा आयो । उसले केही कागजातमा उनलाई सहीछाप गर्न लगायो र एउटा एक करोड रूपैयाँको चेक दिँदै भन्यो- ‘यी यो चेक लिनुस् यो तपाईंको श्रीमानले गर्नु भएको बीमाको दाबी रकम, यो बीमालेख दम्पतीको भएको हुनाले तपाईंको पनि पचास लाख रूपैयाँको बीमा बाँकी नै छ, यो परिवर्तित बीमालेख यहाँ छ, लिनुस् ।’ उनले सोधिन्- ‘मैले मेरो बीमाको कति पैसा जम्मा गर्नपर्छ ?’ अभिकर्ताले भन्यो- ‘पर्दैन, यो पोलिसी अनुसार दम्पतीमध्ये एकजनाको मृत्यृ भएमा अर्को बीमितले प्रिमियम तिर्नुपर्दैन ।’ उनले धन्यवाद भन्दै चेक र र बामालेख लिईन् । अभिकर्ताले सबै कागजात बुझाएर फर्कियो । यी सबैकुरा सानी छोरीले नियालिरहेकी थिईन् । छोरीले आमालाई सोधिन्- ‘आमा अघि आएको मान्छे भगवान हो ?’ आमाले भनिन्- ‘होइन, कहाँ भगवान हुनु, उ त बीमा कम्पनीको अभिकर्ता हो ।’ तर छोरीले जिद्दि गर्दै भनिन्- ‘त्यो मान्छे भगवान नै हो, अभिकर्ता केही होइन ।’ आमाले सोधिन्- ‘कसरी नानी ?’ सानी छोरीले भनिन्- ‘अस्ति बाबाको मृत्यु हुँदा हजुरआमाले भन्नु भएको थियो तिमीहरुलाई भगवानले हेर्नुहन्छ । भगवानले सबैलाई हेर्छन् भनेर काकीले पनि भन्नु भएको थियो । हो त्यही भगवान हो त्यो मान्छे ।’ आमाले यसो विचार गरिन्  वास्तवमा उसले मेरा पतिलाई बीमा प्रस्ताव नगरेको भए उहाँले बीमा गर्नुहुने थिएन । बैंकमा २-४ लाख बचत त हुन्थ्यो होला तर यतिको ठूलो रकम त हुँदैन थियो । यी सबै कुरा मनन् गरेर त्यो अभिकर्ता हाम्रो परिवारको लागि भगवान नै सावित भयो । छोरीलाई जवाफ दिँदै भनिन्- ‘हो नानी, तिमीले ठीक भन्यौ त्यो मान्छे हाम्रो लागि भगवान नै हो । ’ (लेखक प्रधान नेपाल पुनर्बीमा कम्पनीका मुख्य प्रबन्धक हुन् ।)

यूनाइटेड इन्स्योरेन्सको लाभांश नलिए ३० दिनपछि लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले लाभांश नलिएका सेयरधनीहरुलाई लिन आउन आग्रह गरेको छ । कम्पनीले विभिन्न आर्थिक वर्षमा सेयरधनीहरुलाई प्रदान गरेको नगद लाभांश रकम बुझिलिन आग्रह गरेको हो । बुझिलिन बाँकी रहेको नगद लाभांश कम्पनीको सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङमा आवश्यक कागजपत्र सहित ३० दिनभित्र सम्पर्क गर्नुपर्नेछ । यदि सो अवधिमा लाभांश लिन नआएमा लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ ।

यसरी जन्मियो नेपाल बीमा प्राधिकरण

हामी (बीमा समिति) ले २०६६ सालमा बीमा ऐन ड्राफ्ट गर्यौं । तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डे बीमामा केही गरौं भन्ने विचारकै हुनुहुन्थ्यो । म बीमाको विकास विस्तारको लागि कुरा गर्थें, उहाँ कन्भिस हुनुहुन्थ्यो । मैले बीमा एकेडेमी अर्थात बीमा कलेज बनाउने प्रस्ताव गरें । उहाँ सकारात्मक देखिनु भयो । त्यसपछि २०६६ मंसिरमा हामीले बीमा क्षेत्रको विकासको लागि एउटा खाका तयार पार्यौं । त्यसमा तीन वटा विषय (तालिम, एकेडेमी र रिसर्च) लाई फोकस गरिएको थियो । यसमा त्रिभूवन विश्वविद्यालयको तत्कालिन डीन सापले हाम्रो सल्लाहमा एमओयू ड्राफ्ट गर्नु भएको थियो । बीमक संघ, बीमा समिति र त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायबीचको एमओयू तयार गरेर बीमा कलेजको रुपमा त्यसलाई सञ्चालन गर्ने भन्ने लगभग फाइनल भएको थियो । तर बिडम्बना, त्यो अहिलेसम्म पनि सञ्चालनमा आउन सकेको छैन । २०६६ सालमै बीमा ऐनलाई परिमार्जन गरी नयाँ बीमा ऐन सञ्चालनमा ल्याउनु पर्यो भन्ने विषय उठ्यो । र, कामहरु पनि धेरै भए । अहिले म त्यतिबेलाका बीमा समितिका सञ्चालक समिति र अन्य साथीहरुलाई सम्झिन्छु । यसमा उहाँहरुले धेरै गृहकार्य गर्नुभएको थियो । र, नाम के राख्ने ? यो विषयमा पनि धेरै छलफल भयो । विभिन्न अन्तर्राष्ट्रिय अभ्यासहरु हेर्यौं । धेरै लामो छलफलपछि बीमा समितिभन्दा नेपाल बीमा प्राधिकरण नै राखौं भन्ने निष्कर्ष निस्कियो । र, उक्त नाम राखेर हामीले नयाँ बीमा ऐन अर्थ मन्त्रालयमा पेश गर्यौं । त्यहाँको सिष्टम त्यस्तै हो । अर्थमन्त्रालयबाट कानुन मन्त्रालयमा र कानुन मन्त्रालयबाट फेरि अर्थमन्त्रालय आउनु पर्ने । समय निकै लाग्ने । बल्लबल्ल २०६८ कार्त्तिकमा उक्त ऐन अर्थमन्त्रालयबाट सदर भयो । त्यतिबेला अर्थमन्त्री पदमा वर्षमान पुनः हुनुहुन्थ्यो । बीमा समिति मलाई आफ्नै घर जस्तो लाग्छ । जसको छाहारीमा मैले ८ वर्ष बिताए । अब बीमा प्राधिकरणमा रुपान्तरण हुँदै छ । जुन नाम एकदमै जुरेको नाम हो । बीमा प्राधिकरणले सफलता प्राप्त गरोस् । नेपालको बीमा क्षेत्रलाई उचाईमा पुर्याउन सफल रहोस् । र, नियमन र अनुगमनमा अत्यन्त चनाखो भएर कार्य गर्न सकोस् । किनभने वर्तमान बीमा ऐनले धेरै प्रोभिजनहरु गरेको छ । त्यसैले समग्र बीमा क्षेत्रलाई अत्यन्त मर्यादित रुपले विकसित गर्न भोलि बीमा प्राधिकरण सफल हुनेछ भन्ने मेरो विश्वास छ । नेपालको बीमा ७५ वर्ष पार गरेर ७६ वर्षमा पुगेको छ । जुन कमजोर इतिहास होइन । यसले इतिहासको विभिन्न चरणहरु पार गरेर आइसकेको छ । जस्तो पहिलाको फेजलाई म फाउण्डेसन फेज भन्छु । २००४ साल, राणाकालिन समय । प्रजातन्त्र आउनुभन्दा अघि नै नेपालमा बीमा कम्पनीको स्थापना भइसकेको थियो । यो लगायत राष्ट्रिय बीमा संस्थानसम्मको एउटा फाउन्डेसन फेज थियो । त्यसपछि चालिसको दशकमा आर्थिक उदारीकरणको प्रकृयाहरु शुरु भएपछि बीमामा केही विकासहरु भए । यो फेजमा नीजि क्षेत्रहरुलाई बीमा संस्थानको विरुद्धमा आउने अवसर प्राप्त भयो । जसलाई डाइजेसनको उचित फेज भन्ने गरेको छु । त्यसपछि रिफर्म एण्ड रिभोलुसन (सुधार र क्रान्ति) फेजको शुरुवात भयो । यो फेजमा बीमा ऐन २०४९ बन्यो । र, निजी क्षेत्रका विभिन्न बीमा कम्पनीहरुको स्थापना भयो । त्यसपछि २०६० सालदेखि एक्स्पान्सन फेजको सुरुवात भयो । जसमा आकस्मिक बीमा कोष लगायत केही बीमा कम्पनीहरुको स्थापना भयो । बीमा ऐनको मस्यौदादेखि लिएर अन्य कामहरु यो फेजमा भयो । यसका साथ साथै २०७१ सालबाट पुनर्बीमा कम्पनी पनि स्थापना भयो । त्यो बेलामा कम्पनीहरुको कूल प्रिमियम ११ अर्ब रुपैयाँ थियो । निर्जीवन बीमा कम्पनीको ४ अर्ब बढी र जीवन बीमा कम्पनीको ६ अर्ब बढी थियो । नेपालमा बीमा व्यवसायको शुरुवात भएको ७५ वर्ष नाघिसकेको छ । यो अवधिमा विभिन्न कम्पनीहरुको स्थापना भई सञ्चालनमा आइसकेका छन् । तर पनि नेपालको बीमा क्षेत्र डिपेन्डिेन्सी क्षेत्रबाट मुक्त हुन सकेको छैन । अहिले कम्पनी आफु स्थापना गर्ने, बिजनेस सरकारले म्याण्डेटरी गर्ने भइरहेको छ । चाहे त्यो जीवन बीमालाई होस् या त निर्जीवन बीमा कम्पनीलाई नै । आफ्नो बलबुतामा उभ्भिन, आफ्नो क्षमता विकास गर्न र आफ्नो कम्पिटेटिभ स्ट्रेन्थलाई बढाउन कसैले सकेका छैनन् । यो नभई कम्पनीको बिजनेस बढ्दैन । ‘नयाँ कम्पनी आयो भने मेरो बिजनेस जान्छ’ अर्को, बिजनेसको फेयर साइकोलोजी यस्तो छ की, ‘नयाँ कम्पनी आयो भने मेरो बिजनेस जान्छ’ । यो भनेको आफ्नो कमजोरी हो । यो रोगबाट मुक्त नभएसम्म नेपालमा अझै पनि बीमा क्षेत्र एउटा गरिमामय र आत्मविश्वासका साथ अगाडि बढ्न नसक्ने देखिन्छ । मैले बीमा समितिमा हुँदै भन्ने गरेको थिएँ । र, अहिले पनि भन्छु की यो २१औं शताब्दी भनेको बीमाको हो । यो शताब्दी बीमाकै हो भनेर देखाउनलाई नियामक निकाय लगायत कम्पनीहरुले गृहकार्य गर्न आवश्यक छ । यसको लागि कम्पनी मात्रै लागि परेर पनि हुँदैन । सबै स्टेकहोल्डरहरु समान रुपमा मिलेर लागियो भने मात्र त्यो लक्ष्य हामीले प्राप्त गरी निश्चित गन्तब्यमा पुग्न सक्छौं । होइन भने यसले गर्देला, उसले गर्देला भनेर एक अर्काको मुख ताकेर बस्यौं भने हामी जहाँको त्यही हुन्छौं । (प्रा. डा. केसीले काठमाडौंमा आयोजित एक कार्यक्रममा राखेका मन्तब्य)