नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा ईश्वरी प्रसाद अर्याल

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि इन्स्योरेन्स) को अध्यक्षमा ईश्वरी प्रसाद अर्याल नियुक्त भएका छन् । मंसिर १९ गतेको मन्त्रिस्तरिय निर्णय अनुसार अर्याललाई कम्पनीको सञ्चालक समितिको अध्यक्ष तोकिएको हो । सरकारले उनलाई अर्को व्यवस्था नभएसम्मको लागि रिक्त रहेको अध्यक्ष पदको जिम्मेवारी दिएको हो । अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्दै आएका अर्याल यसअघि कम्पनीको सञ्चालक सदस्य थिए । उनी अर्थमन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव समेत हुन् । यसअघि कम्पनीको अध्यक्षमा डा. रविन्द्र घिमिरे थिए । उनले आफ्नो कार्यकाल सकिनुअघि नै राजिनामा दिएपछि कम्पनीको अध्यक्ष पद रिक्त थियो । निवर्तमान अध्यक्ष घिमिरेले गत मंसिर ११ गते राजिनामा दिएका हुन् । कोरोना बीमाको दावी भुक्तानीको विषयमा भएको विवादका कारण घिमिरेले स्वच्छिक रुपमा अध्यक्ष पदबाट राजिनामा दिएका थिए ।

समयमै पारिश्रमिक दिन बीमा सर्भेयरको माग, भन्छन् : हामीलाई सकारात्मक दृष्टिकोणले हेरियोस्

काठमाडौं । बीमा सर्भेयरहरुले बीमा कम्पनीहरुले समयमै पारिश्रमिक नदिएको गुनासो गरेका छन् । नेपाल बीमा प्राधिकरणको बीरगञ्जस्थित प्रदेश कार्यालयको आयोजनामा बीरगञ्जमा बीमा सर्भेयरहरूसँग अन्तरक्रिया कार्यक्रम बोल्दै सर्भेयरहरुले उक्त गुनासो व्यक्त गरेका हुन् । कार्यक्रममा सहभागी बीमा सर्भेयरहरुले बीमा कम्पनीहरुले बीमा गराउँदा बीमितलाई बीमालेखका बारेमा राम्रोसँग जानकारी दिनुपर्ने, सर्भेयरलाई क्षेत्र छुट्याएर काम दिने व्यवस्था गर्नुपर्ने, बीमितलाई समयमै बीमा दाबी भुक्तानी गर्नुपर्ने, क्षति भएको जानकारी पाउनासाथ सर्भेयरलाई खटाउनुपर्ने, सर्भेयरले दिएको अनलाइन रिपोर्टलाई मान्यता दिनुपर्ने, सर्भेयरका लागि तालिमको व्यवस्था गर्नुपर्ने र सर्भेयरलाई समयमा नै पारिश्रमिक दिनुपर्ने लगायतका धारणा राखेका थिए । बीमा सर्भेयर सुनिल जोशीले सर्भेयर पेशालाई मर्यादित र व्यवस्थित तुल्याउनका लागि बीमकले सर्भेयरप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने तथा समयमानै सर्भेयरलाई पारश्रमिक दिनुपर्ने बताए । बीमा प्राधिकरणका सहायक निर्देशक टेकराज पाण्डेले बीमक, बीमा सर्भेयर र बीमितबीचको सुमधुर सम्बन्धबाट नै बीमाप्रतिको विश्वास बढ्दै जाने विचार राखे । नेपाल बीमा प्राधिकरणको बीरगञ्ज प्रदेश कार्यालयकी प्रमुख कुसुम शर्माले बीमा सर्भेयरले आफ्नो पेशालाई मर्यादित र व्यवस्थित बनाउँदै लैजानुपर्ने र क्षति मूल्याङ्कन प्रतिवेदन समयमा नै उपलब्ध गराउनुपर्ने बताइन् । सो कार्यक्रम बीमा सर्भेयरको कामलाई छिटोछरितो बनाउने तथा सर्भेयरका समस्याहरुका बारेमा छलफल गरी समाधानका उपाय पहिचान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक कालीकान्त झा र बीमा सर्भेयरहरुको सहभागिता रहेको थियो ।

मर्जर प्रकृयामा रहेका १३ बीमा कम्पनी : एकीकृत कारोबारको लागि कसको तयारी के ?

काठमाडौं । बीमा कम्पनीहरुमध्ये हाल १३ वटा कम्पनी मर्जर प्रकृयामा रहेका छन् । जीवन र निर्जीवन गरी कूल १३ कम्पनी प्रारम्भिक सम्झौता गरी मर्जरको अन्तिम चरणमा छन् । नेपाल बीमा प्राधिकरण (साविकको बीमा समिति) ले चुक्ता पुँजी बढाउन निर्देशन दिएसँगै कम्पनीहरुले मर्जरको बाटो रोजेका हुन् । बीमा व्यवसाय गर्दै आएका कम्पनीहरुमध्ये हिमालयन एभरेष्ट (हिमालयन र एभरेष्ट इन्स्योरेन्स) र सानिमा जीआईसी (सानिमा जनरल र जनरल इन्स्योरेन्स) ले भने एकीकृत कारोबार समेत शुरु गरिसकेका छन् । त्यस्तै, सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स, सिद्धार्थ र प्रिमियर, ज्योति लाइफ र सुर्या लाइफ, प्रभु र महालक्ष्मी लाइफ, रिलायन्स र सानिमा लाइफ, प्राइम, गुराँस र युनियन लाइफ एक आपसमा मर्जमा जाँदै छन् । यीमध्ये केहीले एकीकृत कारोबारको लागि मिति तय गरिसकेका छन् भने केही गर्ने तयारीमा छन् । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स एक आपसमा मर्ज हुँदैछन् । हाल यी कम्पनीले मर्जरको प्रकृया लगभग टुङ्ग्याइ एकीकृत कारोबारकोे लागि मिति समेत तय गरिसकेको कम्पनी उच्च श्रोतले बतायो । ‘मर्जरको लागि डीडीएको काम सम्पन्न भइसकेको छ, अब आगामी माघ २ गतेदेखि एकीकृत कारोबार गर्ने योजना छ,’ उक्त श्रोतले विकासन्युजसँग बतायो । मर्जरमा जानको लागि दुबै कम्पनीले गत असार ३० गते नै प्राथमिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । दुबै कम्पनीले १०० बराबरका ८० को अनुपातमा मर्जरमा जान सहमति जनाएका थिए । जसअनुसार मर्जपछि लुम्बिनी जनरलको १०० कित्ता सेयर हुने सेयरधनीले सगरमाथा इन्स्योरेन्सको ८० कित्ता सेयर पाउने छन् । त्यस्तै, मर्जपछि बन्ने कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी हुने छ । हाल सगरमाथा इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ३३ करोड रुपैयाँ छ । त्यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्सको १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । १००ः८० को स्वाप रेसियोमा मर्ज भएपछि बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ३८ करोड रुपैयाँ पुग्ने छ । जुन नेपाल बीमा प्राधिकरणले तोकेको न्युनतम पुँजीभन्दा कम हो । प्राधिकरणले निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी न्यूनतम २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ । सिद्धार्थ र प्रिमियर निर्जीवन बीमा व्यवसाय गर्दै आएका सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सले पनि मर्जरमा जान प्रारम्भिक सम्झौता गरिसकेका छन् । यी कम्पनीले गत असार २७ गते बराबरी हैसियतमा एक आपसमा मर्ज हुने गरी सम्झौता गरेका हुन् । तर हालसम्म पनि यी कम्पनीको मर्जर प्रकृया भने टुङ्गि सकेको छैन । ‘मर्जरको काम सेड्युल अनुसार नै भइरहेको छ, सबै प्रकया सकेर छिट्टै एकीकृत कारोबार गर्ने गरी मर्जर टीम लागिरहेको छ,’ प्रिमियर इन्स्योरेन्सका डीसीईओ सहदेव तिवारीले बताए । हाल सिद्धार्थ इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २८ करोड ८० लाख रुपैयाँ छ । त्यस्तै, प्रिमियर इन्स्योरेन्सको १ अर्ब २२ करोड ७६ लाख रुपैयाँ छ । १ बराबर १ को अनुपातमा मर्ज भएपछि बन्ने इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्ने छ । जुन बीमा समितिले तोकेको न्यूनतम चुक्ता पुँजीभन्दा बढी हो । ज्योति लाइफ र सुर्या लाइफको कहिले ? यता जीवन बीमा तर्फका दुई कम्पनी ज्योति लाइफ इन्स्योरेन्स र सुर्या लाइफ इन्स्योरेन्स पनि मर्जरको अन्तिम चरणमा पुगिसकेका छन् । अब खाली कम्पनी रजिष्ट्रारको काम मात्र बाँकी रहेको ज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्री बताउँछन् । मर्जरमा जान गत असार १२ गते प्रारम्भिक समझदारी गरेका यी दुई कम्पनी एक बराबर ०.८२४५ को अनुपातको रेसियोमा मर्ज हुने भएका हुन् । मर्जपश्चात बन्ने कम्पनीको नाम सुर्यज्योति लाइफ इन्स्योरेन्स हुनेछ । त्यसैगरी, मर्जरपछि बन्ने कम्पनीको सञ्चालक समितिको अध्यक्ष केशब प्रसाद भट्टराई हुनेछन् । प्रमुख कार्यकारी अधिकृत (सीईओ) भने ज्योति लाइफका प्रकाश बिक्रम खत्री हुने सहमति भइसकेको छ भने सुर्याका सीईओ पवन कुमार खड्का वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत हुनेछन् । हाल ज्योति लाइफ इन्स्योरेन्सको २ अर्ब ४२ करोड रुपैयाँ र सुर्या लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ५५ करोड रुपैयाँ छ । १ बराबर ०.८२४५ को अनुपातमा मर्ज भएपश्चात बन्ने सुर्यज्योति लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी करिब ४ अर्ब ५१ करोड रुपैयाँ पुग्ने छ । प्राइम, गुराँस र युनियन लाइफ जीवन बीमा कम्पनीमध्ये प्राइम, गुराँस र युनियन लाइफले सबैभन्दा पहिले मर्जर सम्झौता गरेका हुन् । यी कम्पनीले गत बैशाख २९ गते नै एक आपसमा गाभिने सम्झौता गरेका थिए । तर हालसम्म पनि यी कम्पनीले मर्जरको प्रकृया टुङ्गाउन सकेका छैनन् । भ्यालुएसनको कामले नै मर्जरको काम सक्न ढिलाई भइरहेको एक कम्पनीको उच्च श्रोतले बतायो । ‘मर्जरको प्रकृया अगाडि बढी रहेको छ, गुराँस लाइफको आर्थिक वर्ष २०७७/७८ को भ्यालुएसन हुन बाँकी छ, त्यो स्वीकृत हुने बित्तिकै भइहाल्छ,’ ती श्रोतले विकासन्युजसँग भन्यो । उनका अनुसार प्राइम लाइफ र युनियन लाइफको भने उक्त आवको भ्यालुएसनको काम सम्पन्न भइसकेको छ । कम्पनीहरुको चालु आर्थिक वर्षको वित्तीय विवरण अनुसार प्राइम लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ७७ करोड रुपैयाँ, युनियन लाइफको २ अर्ब १५ करोड र गुँरास लाइफको २ अर्ब २३ करोड रुपैयाँ छ । तीन वटै बीमा कम्पनी १ बराबर १ को अनुपातमा गाभिए चुक्ता पुँजी कूल ७ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ । त्यस्तै, मर्जरपछि बन्ने कम्पनीको नाम, अध्यक्ष, सीईओ लगायतको विषयहरुको पनि टुङ्गो लागिसकेको छैन । प्रभु र महालक्ष्मी प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स पनि मर्जर प्रकृयामा छन् । मर्जरमा जान गत असार ३० गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका यी दुबै कम्पनीले मर्जर प्रकृया अघि बढाइरहेका छन् । ‘दुबै कम्पनीको एक्चुरीको भ्याल्युएसन पास भइसकेको छैन, यो पास भइसकेपछि मर्जर प्रकृया अघि बढ्छ, अन्य आन्तरिक काम त भइरहेको छ,’ प्रभु लाइफका सीईओ सन्तोष पर्साईंले बताए । यी दुबै कम्पनी बराबरी हैसियत (स्वाप रेसियो १ः१) मा मर्ज हुन लागेका हुन् । मर्जरपछि बन्ने कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स हुनेछ । मर्जपछि बन्ने कम्पनीमा अध्यक्ष प्रभु लाइफका सुभाव अमात्य रहेन छन् भने सीईओमा महालक्ष्मी लाइफका सीईओ रमेश कुमार भट्टराईले निरन्तरता पाउने भएका छन् । त्यस्तै, मर्जर पछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्नेछ । रिलायन्स र सानिमा लाइफ रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स पनि मर्जरको अन्तिम चरणमा छन् । यी दुई कम्पनी समान हैसियत अर्थात स्वाप रेसियो १ बराबर १ को अनुपातमा मर्ज हुन लागेका हुन् । सो सम्बन्धमा दुई कम्पनीबीच गत असार २९ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । यद्दपि, मर्जर प्रकृयामा रहेका सबै कम्पनीहरुले नेपाल बीमा प्राधिकरणले दिएको समय भित्रमा काम सक्ने गरी अघि बढीरहेका छन् । प्राधिकरणले २०७८ चैतभित्रमा तोकिएको पुँजी पुर्याउन जीवन र निर्जीवन बीमा दुबैलाई निर्देशन दिएको छ । जसअनुसार जीवन बीमाले न्यूनतम पुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीले न्यूनतम साढे २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनु पर्ने छ । उक्त पुँजी पुर्याउनको लागि नै अधिकांश कम्पनीले मर्जरको बाटो रोजेका हुन् ।