नेपाल इन्स्योरेन्सको सञ्चालकमा सजल मास्के नियुक्त, पुस १३ गते बोलायो एजीएम
काठमाडौं । नेपाल इन्स्योरेन्सको सञ्चालकमा सजल मास्के नियुक्त भएकी छिन् । मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले मास्केलाई सञ्चालक पदमा नियुक्त गरेको हो । नेपाल इन्स्योरेन्सको सञ्चालक समितिमा आइएमई इन्स्योरेन्सबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक दिवाकर पौडेल बिदा भएसँगै कम्पनीले उक्त पदमा मास्केलाई नियुक्त गरेको हो । मास्के यसअघि एशियन लाइफ इन्स्योरेन्सको सञ्चालक थिइन् । उनले हालै मात्रै उक्त पदबाट राजीनामा दिएकी हुन् । नेपाल इन्स्योरेन्स कम्पनीबाट आईएमई समूह बाहिरिएसँगै उक्त समूहबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक बाहिरिएका हुन् । गत साउनमा मात्रै नेपाल इन्स्योरेन्समा रहेको आईएमई समूहको २१ लाख ५७ हजार ६१५ कित्ता अर्थात १५ प्रतिशत संस्थापक सेयर एशियन लाइफ इन्स्योरेन्स कम्पनीले किनेको थियो । साथै, मंगलबार बसेको सोही बैठकले आगामी पुस १३ गते वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको छ ।
सिद्धार्थ प्रिमियर र आइशरबीच क्यासलेस इन्स्योरेन्स सम्झौता
काठमाडौं । नेपालका लागि आइशर कमर्सियल भेहिकल्सको एक मात्र आधिकारिक वितरक बतास एम. ए. डब्लु. कमार्सिअल भेईकलले सिद्धार्थ प्रिमियर इन्स्योरेन्ससँग क्यासलेस इन्स्योरेन्ससम्बन्धी सम्झौता गरेको छ । मंगलबार काठमाडौंस्थित बतास एम. ए. डब्लु.को मुख्य कार्यालयमा आयोजित एक समारोहमा दुबै कम्पनीका प्रमुखले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । क्यासलेस योजना मार्फत् दुर्घटना भएको खण्डमा आइशर मोटर्स गाडीका खरिदकर्ताहरू बतास एम.ए.डब्लुका आधिकारिक सर्भिस सेन्टरहरूमा सिधै गई गाडी मर्मत वा बीमा रकम दाबी गर्न सक्नेछन् । क्यासलेस इन्स्योरेन्स अन्तर्गत ग्राहकले सवारीसाधन दुर्घटनामा परेको खण्डमा सोझै आइशरको आधिकारिक वर्कसपमा गई मर्मत गराउन सक्नेछन् र ग्राहकले बीमा रकम बाहेकको रकम मात्र तिर्नुपर्ने हुन्छ । बाँकी रकम बीमा कम्पनी र बतास एम.ए.डब्लु.बीच कारोबार हुने बताइएको छ । दुर्घटना कुनै पनि बेला हुन सक्ने र दुर्घटना भएपछि हुने पीर, चिन्ता र तनावलाई केहि हदसम्म घटाउनलाई यो क्यासलेस इन्स्यारेन्सले मद्दत गर्नेछ । यसका साथै ग्राहकले दुर्घटनापछि दाबी रकम इन्स्योरेन्स कम्पनीहरुले दिँदैनन् कि भन्ने मानसिक तनावबाट पनि मुक्त हुने र ग्राहकहरुले आफूले पाउने पैसा बिना झन्झट छिट्टै पाउने कम्पनीले जानकारी गराएको छ । योसँगै सुरक्षाको दृष्टिकोणले आधिकारिक सर्भिस सेन्टरमा बनाउँदा दक्ष मेकानिकको निगरानीमा मर्मत हुने हुँदा सुरक्षित हुने जानकारी कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले बताए । यसअघि आइशरले आफ्ना ग्राहकहरूलाई लक्षित गरी प्रत्येक गाडीको खरिदमा चालकलाई २५ लाख रुपैयाँको आकस्मिक बीमा उपलब्ध गराउँदै आइरहेको छ । उक्त समारोहमा टंगालस्थित बतास एम.ए.डब्लुका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवाल, बतास एम.ए.डब्लु. कम्पनीका प्रमुख प्रबन्ध निर्देशक शान्तराज बतास र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका तर्फबाट मार्केटिंग हेड रामजी ढकाल, उपप्रमुख कार्यकारी अधिकृत योगेशकृष्ण श्रेष्ठ, कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीको उपस्थिति थियो ।
दाबी भुक्तानीमा ढिलाइ गर्ने बीमा कम्पनीलाई कारबाही गर्न मुख्यमन्त्री चौधरीको आग्रह
काठमाडौं । नेपाल बीमा प्राधिकरणले आज राप्ती उपत्यका (देउखुरी)स्थित लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभाहलमा लुम्बिनी प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तर्क्रिया एवं छलफल कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बीमा दाबी भुक्तानी समयमै नदिई ढिलाई गर्ने बीमा कम्पनीहरुलाई कारबाही गर्न नेपाल बीमा प्राधिकरणसँग आग्रह गरेका छन् । उनले बीमा दाबी भुक्तानी सजिलै गर्ने वातावरण तयार गरी बीमा क्षेत्रलाई बद्नाम हुन नदिन आग्रहसमेत गरे । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रदेशमा बीमा क्षेत्रको समग्र विकास एवं विस्तारका लागि प्रदेश बीमा नीति ल्याउनु आवश्यक भएको औंल्याउँदै बीमा नीति निर्माणमा सहयोग गर्न प्राधिकरण तयार रहेको बताए । उनले भने, ‘बीमा सम्बन्धमा आउने गुनासा कम गर्न प्राधिकरणले नीतिगत र व्यवहारिक रूपमा कार्य गर्दै आएको छ, आम नागरिकलाई सहज रूपमा बीमा सेवा पुर्याउन जोड दिइएको छ।’ कार्यक्रममा उठेका प्रश्नहरुको जबाफ दिँदै अध्यक्ष सिलवालले बीमा दाबी शीघ्र भुक्तानी गर्ने व्यवस्था मिलाउन कार्य भइरहेको जानकारी दिए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमाको महत्व, बीमा बजारको विद्यमान अवस्था, बीमा क्षेत्रको विकास एवं विस्तारमा प्रदेश सरकारको भूमिका लगायत बीमा सम्बन्धी समग्र विषयमा प्रस्तुति दिएका थिए । कार्यक्रममा सहभागीहरुले बीमा गर्न बीमा अभिकर्ता घर घरमा जाने तर दाबी भुक्तानी गर्न भने बीमा कम्पनीहरुले ढिलाइ गर्ने वा नदिने गरेको गुनासो आउने गरको, कृषि प्राविधिक र बीमा अभिकर्ताले पर्याप्त पारिश्रमिक नपाएका कारण कुषिबीमा विस्तार नभएको, हरेक स्थानीय तहसम्म बीमकका शाखा विस्तार गर्नु आवश्यक देखिएको उल्लेख गरे। यसैगरी, बीमा कम्पनीहरुले कम्पलसरी बीमाबाहेक अन्य बीमा गर्न नमानेको, लम्पीस्किन रोगका कारण क्षति भएका गाई, भैंसीको बीमा दाबी भुक्तानी नगरेको, कोरोना बीमाको दाबी भुक्तानी नपाएको, दाबी भुक्तानी समयमा नपाउँदा बीमाप्रतिको विश्वसनीयतामा कमी आएकोलगायतका धारणा सहभागीहरुले राखेका थिए । कार्यक्रममा लुम्बिनी प्रदेशका मन्त्री, प्रमुख सचिव र प्रदेश मन्त्रालयका सचिवहरु, नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक र प्रदेशस्थित विभिन्न सरकारी निकायका पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयका प्रमुख पूर्णबहादुर थापाले गरेका थिए।