नेपाल रिबाट बाहिरिए विशाल ग्रुप र नेपाल इन्स्योरेन्स, एक अर्बको कारोबार

काठमाडौं । दोस्रो बजारमा नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कम्पनीको पौने १ अर्ब रुपैयाँबराबरको संस्थापक सेयर कारोबार भएको हो । नेप्सेका अनुसार बिहीबार कम्पनीको २९ लाख ७९ हजार ४२४ कित्ता सेयर खरिद बिक्री हुँदा ८६ करोड ५९ लाख ५३ हजार २ सय रुपैयाँबराबरको कारोबार भएको हो । स्रोतका अनुसार नेपाल इन्स्योरेन्स र विशाल ग्रुपले बिक्रीमा राखेको नेपाल रिइन्स्योरेन्सको संस्थापक सेयर नै बिहीबार नेप्सेमा कारोबार भएको हो । पछिल्लो समय विभिन्न तीन वटा कम्पनीले नेपाल रिइन्स्योरेन्सको सेयर बिक्री गरिरहेका छन् । नेपाल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र विशाल ग्रुपले कम्पनीको संस्थापक सेयर बिक्री गरेर बाहिरिने निर्णय गरेका थिए । जसमध्ये नेपाल इन्स्योरेन्स र विशाल ग्रुपको सेयर पूर्ण रुपमा बिक्री भएको बुझिएको छ । स्रोतका अनुसार नेपाल इन्स्योरेन्सले बिक्रीमा राखेको सेयर हिमालयन लाइफले खरिद गरेको हो । हिमालयन लाइफले कम्पनीको १९ लाख ७९ हजार २४२ कित्ता सेयर खरिद गरेको हो । उक्त सेयर प्रतिकित्ता ३ सय रुपैयाँका दरले खरिद गरेको हिमालयन लाइफ स्रोतले जनाएको छ । स्रोतका अनुसार उक्त सेयर कम्पनीले ५९ करोड ३८ लाख २७ हजार २ सय रुपैयाँमा खरिद गरेको हो । विशाल ग्रुपले भने प्रतिकित्ता ३० रुपैयाँसम्म कम मूल्यमा सेयर बिक्री गरेको छ । विशाल ग्रुपले बिक्रीमा राखेको सेयर एशियन लाइफ इन्स्योरेन्सले खरिद गरेको स्रोतले बताएको छ । विशाल ग्रुपले १० लाख कित्ता सेयर बिक्रीमा राखेको थियो । विशाल ग्रुपले बिक्रीमा राखेको संस्थापक सेयर छुट्टाछुट्टै मूल्यमा बिक्री भएको छ । नेप्सेका अनुसार प्रतिकित्ता २८० रुपैयाँका दरले २ लाख ७५ हजार ४५० कित्ता, प्रतिकित्ता २७८ रुपैयाँमा ५ लाख कित्ता र प्रतिकित्ता २७० रुपैयाँमा २ लाख २४ हजार ५५० कित्ता सेयर खरिद बिक्री भएको हो । विशाल ग्रुपले प्रतिकित्ता २८० रुपैयाँका दरले बिक्री गर्दा ७ करोड ७१ लाख २६ हजार रुपैयाँ, प्रतिकित्ता २७८ रुपैयाँमा बिक्री गर्दा १३ करोड ३९ लाख ९० लाख रुपैयाँ र प्रतिकित्ता २७० रुपैयाँमा बिक्री गर्दा ६ करोड ६ लाख २८ हजार ५ सय रुपैयाँ असुल गरेको छ । यस आधारमा ग्रुपले कम्पनीको सेयर बिक्रीबापत् २७ करोड ६७ लाख ५४ हजार ५ सय रुपैयाँ संकलन गरेको हो । विशाल ग्रुपले पहिलो पटक प्रतिकित्ता ३३५ रुपैयाँमा १० लाख कित्ता सेयर बिक्रीमा राखेको थियो । तर, सो मूल्यमा कुनै पनि लगानीकर्ताले सेयर खरिद गर्न तयार नभएपछि प्रतिकित्ता २७० रुपैयाँका दरले सेयर बिक्रीमा राखेको थियो ।

मंसिर २७ गतेदेखि आईपीओ बिक्री गर्दै हिमालयन रिइन्स्योरेन्स

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले मंसिर २७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर बिक्री गरि बाँडफाँटपश्चात् सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री खुला गर्ने भएको हो । कम्पनीले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको अंकित मूल्य १ सय रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँमा ३ करोड कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० प्रतिशत अर्थात् ३० लाख कित्ता सेयर बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले २ प्रतिशत अर्थात् ६ लाख कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात् १५ लाख कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी रहेको २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्नेछ । कम्पनीको आईपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सक्ने छन् । कम्पनीको आईपीओ छिटोमा पुस १ गते र ढिलोमा पुस ११ गतेसम्म लगानीकर्ताहरूले खरिद गर्न सक्ने छन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत् खरिद आवेदन दिन सक्नेछन् ।

एनसेलको सेयर प्रतिस्पर्धाबाटै किनेको हो, तिर्नुपर्ने कर कानुन अनुसार नै तिर्छौं : सेयरधनी आचार्य

काठमाडौं । एनसेलको ८० प्रतिशत स्वामित्व नेपाली लगानीकर्ताले लिने सम्झौता भएसँगै अब एनसेलले नेपाली उपभोक्तालाई आधुनिक र उच्च गुणस्तरको सेवा प्रदान गर्ने छ । नेपाल सरकारले अंगिकार गरेको डिजिटल नेपाल भिजनका लक्ष्यहरु हासिल गर्नको लागि एनसेल सरकारलाई योगदान पुर्याउँन प्रतिवद्ध रहेको हो । स्पेक्ट्रलाइट यूकेका नेपाली मुलका सेयरधनी सतिशलाल आचार्यले भने आजियाटाले रेनोल्ड्स होल्डिङ्स (सेन्ट किट्समा रहको कम्पनी) मा रहेको आफ्नो सेयर बिक्रीको लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको बताए । ‘आजियाटाले रेनोल्ड्स होल्डिङ्समा रहेको आफ्नो सेयर बिक्रीको लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको थियो र स्पेक्ट्रलाइट थुप्रै प्रतिस्पिर्धीहरु मध्येबाट पहिलो भई छानिएको हो । सेयर कारोबारको मूल्य र संरचना इच्छुक क्रेता र विक्रेता मार्फत निर्धारण गरिएको हो । सहमति भएको सम्झौता ढाँचा अनुसार, आजियाटाले बेस पेमेन्ट बाहेक पाँच वर्ष अर्थात सन् २०२९ सम्म थप लाभहरु नाफा बाँडफाँडको रूपमा प्राप्त गर्नेछ,’ सेयरधनी सतिशलाल आचार्यले भने । सेयरधनी आचार्यका अनुसार एनसेल सेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको छ । जुन कम्पनीको कार्यसम्पादनको आधारमा विक्रेता कम्पनीेले निश्चित समयावधीभित्र प्राप्त गर्ने उनले बताए । यस बाहेक, यो परिवर्तनकारी सम्झौताले एनसेललाई नेपाली मूलको बृहत्तर स्वामित्व सहित कम्पनी र व्यवस्थापनतर्फ एनसेलको विकासलाई डोर्याउने आचार्यको विश्वास छ । आजियाटाले पारदर्शिता सुनिश्चित गर्दै एनसेलले आजको दिनसम्मको सबै कर दायित्वहरु सम्पुर्ण रुपमा पालना गरेको छ र यसको प्रमाणिकरण कर कार्यालयबाट भएको बताएको छ । साथै यो कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भएमा नेपालको कानुन अनुसार यसको पालना गरिने र यस प्रक्रियामा एनसेल कर कानुनको पालना गर्न प्रतिवद्ध रहेको उसको भनाई छ । अन्य आवश्यक सहमतिहरुका लागि एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणसँग छलफल गरिरहेको बताएको छ । एनसेलमा केही परिवर्तनहरु भईरहेको बेला ग्राहकलाई प्रदान गरिने सेवाको गुणस्तरमा कुनै किसिमको बाधा अवरोध नपर्ने एनसेलले बताएको छ । र, एक जिम्मेवार कम्पनीको रुपमा आफ्ना सबै ग्राहकलाई उच्च गुणस्तरको सेवा प्रदान गर्न एनसेल प्रतिवद्ध छ । त्यस्तै, एनसेलले मोवाइल कनेक्टिभिटी सेवामा मात्र सीमित नभई विभिन्न सेवाहरु प्रदान गर्न नेटवर्कको पुर्वाधार विकासलाई निरन्तरता दिने बताएको छ । जसले देशमा प्रविधिले ल्याउने महत्वपूर्ण अवसरहरुको पनि सिर्जना गर्ने छ ।