हिमालयन रिइन्स्योरेन्सको आईपीओमा आवेदन दिने समय लम्बियो

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओमा आवेदन दिने समय लम्बिएको छ । मंसिर २७ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा अब सर्वसाधारण लगानीकर्ताहरूले पुस ११ गतेसम्म आवेदन दिन सक्ने छन् । साथै, आवश्यक संख्यामा आवेदन प्राप्त भएपश्चात सो सम्बन्धी सार्वजनिक सूचना प्रकाशन गरी निष्काशन खुल्ला भएको ४ कार्यदिनपश्चात कुनै पनि दिन निष्काशन बन्द गरिने कम्पनीले जनाएको छ । कम्पनीले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको अंकित मूल्य १ सय रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँमा ३ करोड कित्ता सेयर बिक्री गरेको हो । दोस्रो चरणमा कम्पनीले २ प्रतिशत अर्थात् ६ लाख कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात् १५ लाख कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी रहेको २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सक्ने छन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत् खरिद आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।

अब एकपटक रेफर गरेका बीमित बिरामीले पुनः रेफर पूर्जी लिनु नपर्ने

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले अब एकपटक प्रेषण (रेफर) भई आएका बीमित बिरामीलाई सोही रोगका लागि फेरि रेफर पूर्जी लिन नपर्ने व्यवस्था गरेको छ । बोर्डका निमित्त कार्यकारी निर्देशक डा मदनकुमार उपाध्यायले कुनै रोगका लागि एकपटक रेफर गरेपछि फलोअपमा अर्को कुनै रोगका लागि फरक अस्पतालमा जानका लागि रेफर लिन नपर्ने निर्णय गरेको हो । ‘यसअघि अस्पताललाई फओअपमा आउँदा पुनः रेफर गरेर आउनु भन्ने गरेको थियो । सो रोगका उपचार गर्न आउने बिरामीलाई सहजीकरण होस् भनेर एकपटक रेफर गरेपछि रोग निर्क्योल नहुँदासम्म फलोअपका लागि आउँदा पुनः रेफर पूर्जी लिई रहन नपर्ने व्यवस्था मिलाउने गरेका छौं’, उनले भने । यसअघि सोही रोगका लागि पुनः उपचार गर्नका लागि रेफर पूर्जी लिएर आउनुपर्ने व्यवस्था थियो । बोर्डले असारसम्मको भुक्तानीलाई शून्यमा झार्नेका लागि विज्ञ समूह बनाएको पनि उनले जानकारी दिए । स्वास्थ्य संस्थाले दाबी गरेका भुक्तानीलाई असारमसान्तसम्म शून्यमा झार्नका लागि पाँच सदस्यीय विज्ञ समूह गठन गरिएको छ । समूहले सेवा प्रदायक स्वास्थ्य संस्थाबाट पेस भएका दाबीलाई पुनरावलोकन गर्नका लागि सातै प्रदेशमा परिचालन भई अनुगमन गर्ने छन् । विज्ञ समूहमा चिकित्साशास्त्रमा स्नातकोत्तर गरेको विशेषज्ञ चिकित्सक, एकजना मेडिकल अधिकृत, एकजना फार्मेसी अधिकृत, बोर्डको दाबी व्यवस्थापन शाखाबाट एकजना र आइटी शाखाबाट एकजना रहन जनाइएको छ । एक महिनाभित्र दाबी पुनरावलोकन गर्ने छन् । यस्तै बोर्डले नियमित औषधि सेवन गरिरहेका दीर्घरोगीले अब तीन-तीन महिनाको औषधि पाउने भएको उनले बताए । यसअघि दीर्घरोगीलाई बीमा कार्यक्रममार्फत एक-एक महिनाका लागि औषधि दिने गरिन्थ्यो । बोर्डले स्वास्थ्य बीमाको सुविधा थैलीअन्तर्गतको औषधिको शूल्क समयानुकूल समायोजन गर्न समिति बनाई एक महिनाभित्र प्रतिवेदन पेस गर्नेसमेत निर्णय गरेको छ । औषधिको शुल्क तीन वर्षमा समायोजन गर्ने भनिए पनि अहिलेसम्म गरिएको थिएन । विसं २०७२ चैत २५ गते गुणस्तरीय स्वास्थ्य सेवालाई जनस्तरसम्म पुर्याउनका लागि स्वास्थ्य बीमा बोर्ड स्थापना गरिएको थियो । बीमाअन्तर्गत हाल रु एक लाखसम्म बीमित परिवारले निःशुल्क उपचार सेवा पाउँछन् । एकदेखि पाँच जनासम्मको परिवारले प्रत्येक वर्ष बीमितवापत रु तीन हजार पाँच सय र पाँच जनाभन्दा बढी भएको खण्डमा प्रत्येक एक जना बराबर थप रु सात सय थप्नुपर्छ । बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलका अनुसार हालसम्म ७४ लाख बीमित भए पनि करिब ४७ लाख मात्रै सक्रिय छन् । रासस

सलिकोले गर्यो दूर्घटना न्युनिकरण तथा बीमा सचेतना कार्यक्रम

काठमाडौं । सगरमाथा लुम्बिनी ईन्स्योरेन्स (सलिको) ले दाङको तुल्सीपुरमा सवारी दूर्घटना न्युनिकरण तथा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनी र ईलाका प्रहरी कार्यालय तुल्सिपुर/ट्राफिक प्रहरी कार्यालय तुल्सिपुरको संयुक्त आयोजनामा विहीबार कार्यक्रम सम्पन्न भएको हो । तुल्सिपुर उपमहानगरपालिकाका उप प्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ईप्रका तुल्सिपुर प्रमुख ठाकुरप्रसाद पोखरेल तथा जिल्ला स्थित बिभिन्न अटोका अध्यक्षहरु, सवारी चालक, पत्रकार तथा स्थानीयहरुको उपस्थिति थियो । कार्यक्रममा सवारी दूर्घटना न्यूनिकरण सम्बन्धमा ट्राफिक प्रहरी कार्यालय तुल्सिपुर प्रमुख ईश्वरी देवकोटाले प्रकाश परेका थिए भने बीमा सचेतना सम्बन्धमा सलिकोका तुल्सिपुर शाखा प्रमुख तुफान सापकोटाले प्रकाश पारेका थिए ।