बीमितलाई दाबी भुक्तानी लिन आईजीआई प्रुडेन्सियलको आग्रह
काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ वैशाख मसान्तसम्मको बीमा दाबी भुक्तानी लिन बीमितलाई आग्रह गरेको छ । कम्पनीमा बीमितहरूले दिएको बीमा दाबीको निवेदनमा कागजात अपुग रहेको र बीमित सम्पर्कमा नआएपछि बीमितलाई आवश्यक कागजातसहित २१ दिनभित्र कम्पनी वा सम्बन्धित सर्भेयरको सम्पर्कमा आउन कम्पनीले आग्रह गरेको हो । कम्पनीका अनुसार तोकिएको समयभित्र सम्पर्क गरी दाबी भुक्तानीको प्रक्रिया अघि नबढाएमा बीमा दाबीको फाइल बन्द गरिने छ ।
नेशनल लाईफ इन्स्योरेन्सको बलथली भ्रमण कार्यक्रम सम्पन्न
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले अभिकर्ताहरुका लागि २ रात ३ दिनको ‘बलथली भ्रमण कार्यक्रम’ सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई नेपालको पर्यटकिय क्षेत्र काभ्रे जिल्लाको बलथली भ्रमण गराउने र नेपालका चर्चित कमेडियन सुमन कार्कीसंग साक्षात्कार गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो । देशैभरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिव २०० जना वरिष्ठ अभिकर्ताहरुलाई बलथली भ्रमण गराइएको थियो । भ्रमणका क्रममा बलथलीको मनोरम दृष्यका साथै तहाँ अवस्थित प्रसिद्ध लड्केश्वर मन्दिर र १०८ फिटे त्रिशुलको अवलोकन गराईएको थियो । साथै, बलथली भ्रमण पश्चात धुलिखेलमा कलाकार सुमन कार्कीको एकल मनोरञ्जानात्क प्रस्तुती रहेको थियो । उनको प्रस्तुतीबाट मनोरञ्जनका साथै आफूहरुको वृत्ति विकासमा समेत योगदान पुर्याउने विश्वास सहभागि अभिकर्ताहरुले व्यक्त गरेका थिए साथै उनीहरुले नेपालका राष्ट्रिय चर्चित कलाकार संग साक्षात्कार गर्ने अवसर जुराइदिएकोमा कम्पनी प्रति आभार समेत व्यक्त गरेका थिए ।
आईएमई लाइफका ग्राहक तथा अभिकर्तालाई ब्लुबर्ड क्लिनिकमा छुट
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सका ग्राहक तथा अभिकर्ताहरुले थापाथली स्थित ब्लुबर्ड मलमा रहेको ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा स्वास्थ्य जाँच गराउँदा विशेष छुट पाउने भएका छन् । दुई संस्थाबीच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता भए पश्चात आईएमई लाइफ इन्स्योरेन्सका अभिकर्ता र ग्राहकहरुले ब्लुबर्ड क्लिनिकमा उपलब्ध सेवाहरुमा एक्सक्लुसिभ डिस्काउन्ट पाउनेछन् । यस सम्झौताबाट इन्स्योरेन्स कम्पनीका ग्राहक तथा अभिकर्ताहरुले विशेष लाभ लिनेमा कम्पनी विश्वस्त रहेको आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका अन्डरराइटिङ प्रमुख सुदिप राणाले सम्झैता आदान–प्रदान कार्यक्रममा बताए ।