सीईओ श्रेष्ठलाई प्रश्न : कम्पनीले पुँजी वृद्धि कसरी गर्दैछ ?

गत बैशाखमा राष्ट्रिय बीमा कम्पनको प्रमुख कार्यकारी अधिृकत (सीईओ)का रुपमा नियुक्त भएका डा. शिवहरि श्रेष्ठ परिचित नाम हो । यसअघि राष्ट्रिय बीमा संस्थानको प्रशासक समेत भएर काम गरिसकेका डा. श्रेष्ठले नेपाल खाद्य संस्थानमा चार वर्ष महाप्रबन्धकका रुपमा र नेपाल औद्योगिक विकास निगममा पनि नेतृत्व गरिसकेका छन् । सामुदायिक लघुवित्त वित्तीय संस्थाको सीईओ समेत भएर काम गरिसकेका उनले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । उनै सीईओ श्रेष्ठसँग वर्तमान बीमा, व्यसाय, कम्पनीको पुँजी वृद्धिको योजना र आगामी कार्यदिशाका विषयमा विकासन्युजका लागि सीआर भण्डारीले संक्षिप्त कुराकानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले कम्पनीको पुँजी साढे २ अर्ब रुपैयाँ हुनु पर्ने नीति बनाएको छ, राष्ट्रिय बीमा कम्पनीको पुँजी वृद्धिको योजना के–कस्तो छ ? राष्ट्रिय बीमा कम्पनीले सर्वप्रथम प्रथम मापदण्ड अनुसार चुक्ता पुँजी पुर्याउने विषयमा नयाँ क्यापिटल प्लान तयार गरिरहेको छ । केही समयपछि सो मापदण्ड पुर्याइनेछ । हामीले समावधिभित्र पुँजी पुर्याउने तयारी गरिरहेका छौं । कम्पनीले नयाँ-नयाँ पोलिसीहरू अनुसार सेवा प्रदान गरिरहेको छ भने स्वीकृत क्षेत्रहरूमा लगानी गर्नका लागि लगानी नीति तथा कार्य विधि २०८० तयार गरिरहेको छ । अर्थतन्त्रमा संकुचन आउँदा बीमा क्षेत्रलाई प्रत्यक्ष असर पर्यो । यो संकटबाट माथि उठ्न तपाईंको कम्पनीले कस्ता किसिमका अभ्यास गरिरहेको छ ? विश्व अथतन्त्र संकुचन भई सोको असर नेपाली अर्थतन्त्र र बीमा क्षेत्रमा समेत पर्याे । यस कम्पनीको व्यवसायमा पनि केही संकुचन आएको अवस्था छ । तर, केही नयाँ बीमाका प्रडक्टहरू ल्याई बीमा व्यवसायको दायरा र कम्पनीको व्यवसाय वृद्धि नै प्रमुख लक्ष्यका साथ अघि बढिरहेको छ । बैंकहरूले नयाँ कर्जा लगानी गर्न सकेका छैनन, त्यसैले बीमा कम्पनीको व्यापार घटेको भनेर बीमकहरूबाट पटक–पटक सुनिन्छ । बीमा कम्पनीहरू किन आफ्नो तरिकाले अगाडि बढ्न सकिरहेका छैनन् ? व्यापार विस्तारमा बैंकप्रतिको निर्भरता कम गर्न बीमा कम्पनीहरूले नयाँ के काम गरिरहेका छन् ? बैंक र बीमा एक अर्काका परिपूरक हुन् । बैंकले लगानी गरेमा विभिन्न परियोजनाहरू अगाडि बढ्ने हो र त्यसैको बीमा गर्ने हो । तर, बैंकहरूले सोचेअनुसार लगानी गर्न सकिरहेका छैनन् । यो समस्याले प्रत्यक्ष रूपमा बीमा कम्पनीमा असर परेको छ । बैंकप्रति बढी निर्भरता नहुनका लागि बीमा क्षेत्रले स–साना किसिमका माइक्रोइन्स्योरेन्स प्रडक्ट ल्याउनुपर्छ र ग्रामिण क्षेत्रसम्म पुग्नुपर्छ । वर्तमान समयमा बीमा कम्पनीहरूका लागि नयाँ अवसर के-के छन् ? बीमामा अवसर नै अवसर छन् । नयाँ प्रडक्ट ल्याउन सकेमा धेरै व्यवसाय विस्तार गर्न सकिने ठाउँहरू छन् । अहिले जलवायु पविर्तनले गर्दा चुनौतीहरु थपिएका छन् र अवसरहरू पनि थपिएका छन् । जस्तै, साइबर सेक्युरिटी, स्वास्थ्य बीमा, माइक्रोइन्स्योरेन्स तथा क्रप्स एण्ड क्याटल इन्स्योरेन्स आदि रहेका छन् । अहिले बीमा व्यवसायमा समस्या, जोखिम र अवरोध के-के छन् ? बीमाका समस्याहरू धेरै छन् । सर्वसाधारणामा बीमाको चेतनाको स्तर कमी हुनु, दाबी भुक्तानी सरल नहुनु, बीमा गर्दा प्रिमियमलाई बढी बयान गरिनु । तर, दाबी लिनपर्छ भन्ने विषय कम महत्वमा रहनु हो । बीमा कम्पनीहरूको संरक्षण र प्रवद्र्धनमा नेपाल बीमा प्राधिकरणले खेल्नुपर्ने भूमिका के हो ? नेपाल बीमा प्राधिकरण त बीमाको अभिवावक नै हो । प्राधिकरणले अभिवावकत्व निभाउँदै आएको छ र खेल्नुपर्ने भूमिका निभाएको पनि छ ।

प्राधिकरणको ईडी बन्न तीन जनाबीच रस्साकस्सी, कमलराज र पुजनको प्रतिस्पर्धामा सुशीलको इन्ट्री

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशक (ईडी) बन्नका लागि तीन जना निर्देशकबीच प्रतिस्पर्धा देखिएको छ । जेठ ११ गते कार्यकारी निर्देशक पदबाट राजुरमण पौडेल अवकाश भएसँगै हाल तीन जना निर्देशकबीच कार्यकारी निर्देशक बन्ने प्रतिस्पर्धा चलेको हो । बीमा प्राधिकणमा अध्यक्षपछि दोस्रो वरियतामा कार्यकारी निर्देशक पद हुन्छ । प्राधिकरणको कर्मचारी विनियमावली, २०६८ अनुसार हाल निर्देशक रहेका व्यक्तिहरूबाटै कार्यकारी निर्देशक छनोट गर्नुपर्ने व्यवस्था छ । प्राधिकरणमा हाल ४ जना निर्देशकहरू कार्यरत छन् । प्राधिकरणको व्यवस्थाअनुसार निर्देशकहरू कमलप्रसाद रेग्मी, सुशील देव सुवेदी, पुजन ढुङ्गेल अधिकारी र दिनेश कुमार लालमध्ये एक जना कार्यकारी निर्देशक बन्नु पर्ने हो । तर, कर्मचारी विनियमावली अनुसार प्राधिकरणको कार्यकारी निर्देशक बन्न कम्तिमा पाँच वर्ष निर्देशक पदमा काम गरेको अनुभव हुनुपर्छ । महिला र समावेशीको हकमा भने चार वर्ष काम गरेको भए पुग्छ । कलम प्रसाद रेग्मी २०७२ सालमा प्राधिकरणको निर्देशकमा नियुक्त भएका हुन् । सो आधारमा उनी निर्देशक बनेको ८ वर्ष पुरा भइसकेको छ । यस्तै, सुशील देव सुवेदी, पुजन ढुङ्गेल अधिकारी र दिनेश कुमार लाल २०७६ साउनमा निर्देशकमा बढुवा भएका हुन् । त्यसैले रेग्मी बाहेक अन्य निर्देशकहरूको ४ वर्ष अवधि मात्रै पुगेको छ । कानुनी व्यवस्था अनुसार निर्देशक पदमा ५ वर्षभन्दा बढी अवधि भएकाले कार्यकारी निर्देशक बन्न रेग्मी नै बलियो दाबेदार हुन् । तर, महिला र समावेशीको हकमा ४ वर्ष निर्देशक पदमा काम गरेको भएपनि योग्य हुने भएकाले कार्यकारी निर्देशक बन्न रेग्मीसँगै पुजन ढुङ्गेल र दिनेशकुमार लाल पनि प्रतिस्पर्धामा देखिन्छन् । तर, निर्देशक दिनेश कुमार लाल जेठ ३२ गते ३० वर्षे सेवा अवधि पुरा गरी अवकाश हुँदैछन् । त्यसैले उनी कार्यकारी निर्देशक बन्ने लाइनबाट बाहिर छन् । यस्तै, सुवेदीको पनि निर्देशक भएर चार वर्ष मात्रै काम गरेको कारण उनको तत्काल पाँच वर्ष अनुभव पुग्दैन । अहिले नै प्राधिकरणको ईडी नियुक्त गरेमा रेग्मी र ढुङ्गेलबीच प्रतिस्पर्धा हुने देखिन्छ । तर, प्राधिकरणमा माहोल अर्कै बनिसकेको प्राधिकरण स्रोतको दाबी छ । …त्यसपछि सुवेदीको इन्ट्री प्राधिकरणको कार्यकारी निर्देशकका लागि कमलराज रेग्मी र पुजन ढुङ्गेलबीच प्रतिस्पर्धा देखिन्छ । तर, कार्यकारी निर्देशक नियुक्तीमा ढिलाइ हुँदा अब निर्देशक सुवेदी पनि प्रतिस्पर्धाको लाइनमा आउने देखिन्छन् । किनकी आगागी साउन महिनामा सुवेदीको पाँच वर्ष निर्देशकका रूपमा कार्यानुभव पुग्दैछ । हाललाई कायममुकायम कार्यकारी निर्देशक नियुक्त गरेर साउनपछि मात्रै पूर्णरुपमा नियुक्त गर्ने योजनामा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल रहेको स्रोतको भनाइ छ । प्राधिकरण स्रोतका अनुसार रेग्मी र ढुङ्गेलले प्राधिकरणका अध्यक्ष सिलवाललाई फकाउन प्रयास गरिरहेका छन् । उनीहरू हाल अध्यक्ष सिलवाल निकट व्यक्तिहरूलाई भेटेर लविङ गरिदिन आग्रह गरिरहेका छन् । ‘दुवै जनाको लाइन फरक-फरक भएपनि आफूलाई कार्यकारी निर्देशक बनाइदिनु पर्याे भनेर शक्ति केन्द्र धाइराख्नु भएको छ,’ प्राधिकरण स्रोतले भन्यो । अध्यक्ष सिलवाल निर्देशक रेग्मीलाई कार्यकारी निर्देशकमा बढुवा गर्ने मुडमा नरहेको स्रोतको दाबी छ । ‘यदि अध्यक्ष सिलवालको नजरमा रेग्मी परेको भए प्राधिकरणले हालसम्म कार्यकारी निर्देशक पाइसक्थ्यो, किनकी रेग्मी नै अहिलेका प्रमुख दावेबार हुन्, सिलवालले रेग्मीलाई नचाहेकै कारण अहिलेसम्म रोकिएको हो,’ स्रोतले भन्यो । योग्यताका हिसाबले रेग्मी बलिया भएपनि अध्यक्षको नजरमा भने कमजोर छन् । रेग्मीको पफर्मेन्सप्रति अध्यक्ष सिलवाल असन्तुष्ट रहेको स्रोतको दाबी छ । कार्यकारी निर्देशकको लागि अर्को दाबेदार पुजन ढुङ्गेल शक्ति संघर्षमा सक्रिय बनेकी छन् । स्रोतका अनुसार पछिल्लो समय उनले कार्यकारी निर्देशक बन्नकै लागि ‘हाइप्रोफाइल’ व्यक्तिहरूसँग भेटघाट गरिसकेकी छन् । तर, प्राधिकरणका अध्यक्षको चाहाना भने सुशील देव सुवेदीलाई कार्यकारी निर्देशक बनाउने रहेको स्रोतको भनाइ छ । त्यसकारण पनि सिलवालले हालसम्म नयाँ नियुक्ती रोकेका हुन् । ‘यदि असारभित्र कार्यसम्पदान फाइल खुल्यो भने रेग्मी र ढुङ्गेलमध्ये एक जना कार्यकारी निर्देशक बन्नुहुन्छ, उहाँहरूमध्ये ढुङ्गेलको सम्भावना बलियो छ,’ स्रोतले भन्यो, ‘यदि असारभित्र फाइल खुलेन भने अध्यक्षज्यूले आफैंले कार्यकारी निर्देशक पद ओगटेर कामु कार्यकारी निर्देशक तोक्नुहुन्छ । त्यसपछि प्राधिकरणको कार्यकारी निर्देशक सुशील देव सुवेदी बन्ने सम्भावना रहन सक्छ,’ प्राधिकरण स्रोतले भन्यो । कार्यकारी निर्देशकको रुपमा सात वर्षे कार्यकाल पुरा गरेर राजुरमण पौडेल बाहिरिएको १५ दिन बढी बितिसक्दा पनि हालसम्म प्राधिकरणले नयाँ ईडी नपाउनु दुःखद रहेको प्राधिकरणका कर्मचारीहरू बताउँछन् । नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष सम्भुप्रसाद मिश्रले हालसम्म कार्यकारी निर्देशक नियुक्त हुन नसक्नु विडम्बना रहेको धारणा राखे । उनले कुनै व्यक्ति चाहना वा नजिक टाढाको भन्दा पनि योग्य व्यक्तिलाई प्राधिरकणको ईडी बनाउनु पर्ने तर्क दिए । ‘अहिलेसम्म ईडी नियुक्त नहुनु दुःखद हो, कुनै व्यक्तिको व्यक्तिगत लहडले संस्था चल्दैन, हामीलाई योग्य व्यक्ति चाहिएको हो, योग्यलाई नै प्राधिकरणको ईडी बनाउनुपर्छ,’ उनले भने ।

बीमामा अग्लिँदै मल्लको कद, ५० लाखको सेयरमा ४३ करोडको ‘पोर्टफोलियो’

काठमाडौं । साढे दुई दशकअघि बीमा क्षेत्रमा सेयर सम्बन्धी कारोबार खासै हुन्थेन । त्यसमाथि बीमा कम्पनीको सेयरमा लगानी गर्नु भनेको एकखालको जोखिम मोल्नु नै मानिन्थ्यो । तर, उनले जोखिम मोलेरै बीमा कम्पनीमा लगानी गरे । अहिले मिठो फल पाइरहेका छन् राजेन्द्र मल्लले । प्रसंग २०५६ सालको हो । प्रभु इन्स्योरेन्स (तत्कालीन एलाइन्स इन्स्योरेन्स) ले सेयर लगानी खुला गर्यो । त्यतिबेला संस्थापक र साधारण सेयर दुवैमा लगानीको अवसर थियो । मल्लले साधारण सेयर किन्न आवेदन दिए । त्यतिबेला धेरै मानिसलाई सेयरमा लगानीबारे चासो थिएन । बीमा कम्पनीको सेयर भनेपछि झनै कम चासो थियो । मल्लले ५० हजार कित्ता सेयरको लागि आवेदन दिए । जति मागे, त्यति नै पाए । ‘त्यतिबेला मलाई पनि सेयर कारोबारबारे राम्रो ज्ञान थिएन, अग्रजहरूको सुझावसँगै संस्थापक सेयर छोडेर साधारण सेयरमा लगानी गरेको थिएँ,’ उनी सम्झन्छन् । त्यतिबेला कम्पनीको चुक्ता पुँजी ५ करोड रुपैयाँ थियो । अहिले कम्पनीको पुँजी करिब २९ गुणाले बढेर १ अर्ब ४४ करोड रुपैयाँ भएको छ । मल्लले ५० हजार कित्ता सेयर किन्दा ५० लाख लगानी गरेका थिए । मल्लसँग अहिले कम्पनीको करिब ५ लाख ३९ हजार २०० कित्ता सेयर छ । हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता करिब ८०० रुपैयाँ छ । यस आधारमा उनको सेयर पोर्टफोलियो ५ लाख रुपैयाँबाट बढेर ४३ करोड १३ लाख रुपैयाँ नाघेको छ । अर्थात सुरुवाती लगानीको ८६ गुणा ठूलो पोर्टफोलियो भएको छ । ‘५० लाख मात्र लगानी होइन, नियामकले पुँजी बढाउन भनेको भन्यै छ, पटक पटक हकप्रद सेयरमा लगानी थप्नुपरेको छ, बोनस सेयर थपिँदै गएको छ,’ उनले भने, ‘अहिलेसम्म यस कम्पनीको एक कित्ता पनि सेयर बेचेको छैन, पैसा थपेको थप्यै छु ।’ बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीका लागि साढे २ अर्ब चुक्ता पुँजी तोकेको छ । तोकेअनुसार पुँजीवृद्धिका लागि कम्पनीले प्रक्रिया अगाडि बढाएको छ । ठूला लगानीकर्ताको ठूलै समस्या । पुँजीवृद्धि गर्दा कसरी पैसा जुटाउने भन्ने चिन्ता उनीमा पनि देखियो । ‘हकप्रद सेयर निष्कासन गरेर चुक्ता पुँजी साढे २ अर्ब बनाउँदैछौं । बजारमा मन्दी छ, यस व्यवसायमा मात्र होइन, अन्यत्र पनि मेरो लगानी छ, बजारको अवस्था भने पुँजी थपेको थप्यै गर्नुपर्ने तर नाफा आउने कहिले हो कहिले,’ मल्लले व्यथा सुनाए । २०७२ सालको भूकम्प, २०७७/७८को कोरोना महामारी जस्ता विपद्का बेला बीमा कम्पनीको नाफामा ठूलै धक्का लाग्यो । कोरोना बीमा, कृषि बीमामा सरकारको प्रतिबद्धता कार्यान्वयन नहुँदा पनि बीमा कम्पनी पीडित भएका छन् । यसले लगानीकर्ता बढी सशंकित बनाएको छ । कहिले नयाँ कम्पनीलाई लाइसेन्स दिने, कहिले मर्जमा जाउँ भन्ने सरकारको नीतिमा लगानीकर्ताले अस्थीरता अनुभव गरेका छन् । कम्पनीहरूको पुँजीवृद्धि ज्यादा हुनु तर बीमा बजारको विस्तार सुस्त हुनुले पनि लगानीकर्तामा केही चिन्ता छ । मल्ल यी सबै घटनाक्रमका साक्षी छन् । उनको चिन्तामा इतिहास साक्षी छ । एलाइन्स इन्स्योरेन्स कम्पनी स्थापना भएको एक दशकसम्म लगानीकर्ताले कुनै प्रतिफल पाएनन् । २०७२ सालको भूकम्प, २०७७/७८को कोरोना महामारी जस्ता विपद्का बेलामा बीमा कम्पनीको नाफामा ठूलै धक्का लाग्यो । कोरोना बीमा, कृषि बीमामा सरकारको प्रतिबद्धता कार्यान्वयन नहुँदा पनि बीमा कम्पनी पीडित भएका छन् । यसले लगानीकर्ता बढी सशंकित बनाएको छ । कहिले नयाँ कम्पनीलाई लाइसेन्स दिने, कहिले मर्जमा जाउँ भन्ने सरकारको नीतिमा लगानीकर्ताले अस्थीरता अनुभव गरेका छन् । कम्पनीहरूको पुँजी वृद्धि ज्यादा हुनु तर बीमा बजारको विस्तार सुस्त हुनुले पनि लगानीकर्तामा केही चिन्ता छ । मल्ल यी सबै घट्नाक्रमका साक्षी छन् । भन्छन्, ‘लगानीकर्तालाई पुँजी जुटाउन जति गाह्रो छ, भविष्यमा लगानीको प्रतिफलबारे पनि त्यत्तिकै गम्भीर भएर सोच्नुपर्ने अवस्था छ ।’ पछिल्लो समय बीमा बजार सही दिशामा अगाडि बढेको तर सरकारको नीतिमा स्थीरता जरुरी रहेको उनी बताउँछन् । ‘पहिला मानिसलाई बीमाबारे बुझाउनै हम्मे परेको थियो, त्यसैले गर्दा कम्पनीले पनि लामो समयसम्म उचित प्रतिफल दिन सकेन, जब सन् २०१५ मा भूकम्पको महामारीमा देश फस्यो, त्यसपछि मात्रै मानिसहरूले बीमाबारे बुझ्न थाले, भविष्यका लागि बीमा गर्नुपर्छ भन्ने बुझे, बीमाको फाइदाबारे बुझ्न थाले, बजार विस्तार हुँदैछ, बीमा कम्पनीहरू पनि प्रतिफल दिन सक्ने अवस्थामा पुगेका छन्, मुलुकको अर्थतन्त्रमा कुल गार्हस्थ उत्पादन (जीडीपी) मा पनि बीमाले राम्रो योगदान गरेको छ, सरकारको राजस्वमा पनि धेरै ठूलो योगदान छ, यस क्षेत्रको महत्वलाई बुझेर सरकारले पनि सकारात्मक नीति लिनुपर्छ,’ मल्लले आफ्नो मत राखे । अग्ला पात्र पब्लिक सेयरधनीको तर्फबाट कम्पनीमा सुरुदेखि नै सञ्चालक समिति सदस्य बने मल्ल । करिब २५ वर्ष निरन्तर सञ्चालक बनेका मल्ल गत वैशाखमा सम्पन्न २८औं वार्षिक साधारणसभापछि कम्पनीको अध्यक्ष भए । बीमासहित बैंक, जलविद्युत, स्वास्थ्य, शिक्षा, उद्योग, उड्डयन, होटल लगायत धेरै क्षेत्रमा उनको लगानी छ । उनी नेपाल चेम्बर अफ कमर्शको निवर्तमान अध्यक्ष पनि हुन् । व्यावसायिक र सामाजिक क्षेत्रमा उनको अलग्गै छवि छ । साथै, बीमा क्षेत्रमा उनको अलग्गै छवि बनेको छ । मल्ल बीमा क्षेत्रको लगानीकर्ता एक लगानीकर्ता मात्र छैनन्, प्रभु इन्स्योरेन्सको अध्यक्ष मात्र पनि होइनन्, निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष समेत हुन्, बीमा क्षेत्रको लामो अनुभव बोकेका एक अग्ला पात्र पनि हुन् । मल्लले इन्स्योरेन्स कम्पनीको सञ्चालक बनेर संस्थाको लागि नीति निर्माण गर्ने काम मात्र गरेनन्, संस्थाभित्र सुशासन कायम गर्न दरिलो भएर उभिए । व्यापार विस्तार गर्न आफ्नो नेटवर्क र क्षमतालाई कम्पनीको व्याकअप बनाए । आममानिसलाई बीमाको महत्व बुझाउन गाउँ-गाउँ, टोल-टोल पनि पुगे । ‘खासगरी, मैले नेपाल चेम्बर अफ कमर्समा २०६२ सालमा इन्ट्री गरेँ, त्यहाँ मलाई मोटामोटी १८ वर्ष सेवा गर्ने मौका मिल्यो,’ उनी भन्छन्, ‘चेम्बरको काममा देशभर घुम्ने मौका पनि मिल्यो, जहाँ म पुगेँ, त्यहाँ बीमा व्यवसायको कुरा गरेँ, बीमा सचेतनाका कुरा गरेँ, बीमाको लाभबारे कुरा गरेँ, धेरै व्यवसायी साथीहरुलाई प्रभु इन्स्योरेन्समा जोड्ने काम पनि गरेँ ।’ उनले संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लगायतलाई जिल्ला बाहिर पनि शाखा खोल्नुपर्छ भनेर एउटा गाइडलाइन प्रदान गरे । प्रभु इन्स्योरेन्सको ६१ स्थानमा शाखा हुनु र सबै शाखा व्यावसायिक दृष्टिकोणले अत्यन्त राम्रो स्थानमा हुनुमा आफ्नो भूमिका रहेको उनी गर्वका साथ सुनाउँछन्। कम्पनीको मुख्यालय रहेका तीनकुनेको जग्गा किन्ने बेलामा कम्पनीले उनकै संयोजकत्वमा एक समिति बनायो । त्यतिबेला आनाको १२ लाख रुपैयाँमा जग्गा किनेर भवन निर्माण भयो । त्यतिबेलाको निणर्य कम्पनीका लागि दीर्घकालीन रूपमा धेरै राम्रो सावित भयो । अहिले अन्य प्रदेशमा पनि आफ्नै भवनमा शाखा खोलेर सेवा प्रवाह गर्नुपर्छ भन्नेतर्फ कम्पनी अगाडि बढेको मल्ल बताउँछन् । मल्ल कम्पनीमा धेरैजसो ‘दाबी भुक्तानी समिति’ मा बसे । दाबी भुक्तानीलाई सहज बनाउनेदेखि झुटो विवरण पेस गरेर बीमा दाबी रोक्नेसम्मका कार्यमा उनको निणर्यक भूमिका रहँदै आएको छ । ‘फेक क्लेम गर्नेको पहिचाहन गर्ने र त्यस्ता समूहबाट कम्पनीलाई जोगाउन मैले धेरै मिहेनत गरेको छु,’ उनी भन्छन्, ‘बजारमा फेक क्लेमको धन्धा चालाउनेहरू पनि छन्, यस विषयमा म कसैलाई पनि दोष दिन्नँ, त्यस्तो गलत मनसायले कुनै कम्पनी आउँदा त्यस्ता कम्पनीलाई बीमा सेवा नदिन मैले निर्देशन पनि दिएको छु ।’ उधारो बीमा हटाउन पनि उनले प्रभावकारी भूमिका खेलेको सुनाए । ‘कुनै बेला बीमा पनि उधारो हुने चलन थियो, उधारो बीमा गर्ने अवस्थाको अन्त्य हुनुपर्छ भनेर मैले धेरै काम गरेँ, बीमा प्राधिकरणको नेतृत्वसँग निरन्तर कुरा गरेँ, प्रभुले उधारोमा गरेको बीमा लागू हुने छैन भनेर संस्थाको छाप नै बनाएर काम गर्याैं । हाम्रो माग धेरै पछि नियामकबाट पनि सुनुवाइ भयो, अहिले उधारो बीमा बन्द भयो, यसमा मलाई खुसी लाग्छ,’ उनको छाती गर्वले फुरुंग भयो । संस्थाभित्रै संघर्ष २७ वर्षे इतिहासमा प्रभु इन्स्योरेन्समा धेरै सञ्चालक र अध्यक्ष भए, काम गरे, गए । उनीहरू सबैका साक्षी छन् राजेन्द्र मल्ल । बोर्डबाट होस् वा व्यवस्थापनबाट, गलत काम भए भने निर्भिकतासाथ औला उठाउने सञ्चालकको छवि बनाएका छन् मल्लले । पूर्व सहकर्मीहरू नै भन्छन्, ‘मल्ल सधैं कम्पनीको हितमा उभिए, व्यक्तिगत स्वार्थ व्यक्त गरेनन् ।’ ‘सुशानका लागि म यो कम्पनीको स्थापनाकालदेखि नै कटिबद्ध र प्रतिबद्ध छु,’ उनी भन्छन्, ‘यो कम्पनीलाई सही ट्र्याकमा हिँडाउनुपर्छ भन्ने विचारधारा बोकेर हिँडिरहेको छु ।’ सुशासनको विषयमा कुनै बेला कम्पनीको अध्यक्षसँग समेत संघर्ष परेको उनले स्मरण गरे । ‘जब प्रभु ग्रुपले लगानी गर्यो र एलाइन्स इन्स्योरेन्स प्रभु इन्स्योरेन्समा परिणत भयो, त्यसपछि यस कम्पनीमा कहिल्यै विवाद आएन,’ उनी सुनाउँछन्, ‘सबैले बिजनेस ग्रोथ कसरी गर्ने भन्नेतिर टिमवर्कका रूपमा काम गरियो, मैले जानेका कुरा अध्यक्षज्यूलाई सुझाव दिएर अगाडि बढियो ।’ ‘म कुनै पनि क्षेत्रमा एकेक खुड्किला पार गरेर सफलतामा पुग्न रुचाउने मान्छे, एकै पटक लिफ्ट चढेर माथि पुग्नेमा विश्वास गर्दिनँ,’ उनी भन्छन्, ‘संस्थामा जुन किसिमको सुशासन कायम हुनुपर्ने हो त्यो चाहिँ हुनैपर्छ भन्नेमा म अडिग छु ।’ दीर्घकालीन लगानी बैंकिङ क्षेत्र तथा बीमा क्षेत्रलाई दीर्घकालीन लगानीका रूपमा लिने गरिन्छ । त्यसैले बीमा क्षेत्रबाट छिट्टै प्रतिफल पाइँदैन भन्ने लगानीकर्ताको बुझाइ छ । २०५४ सालबाट सञ्चालन आएको प्रभु इन्स्योरेन्स अहिले २७ वर्षमा कुदिरहेको छ । पहिलो एक दशक शुन्य लाभांश दिएको यस कम्पनीले पछिल्लो दशक नियमित सेयरधनीलाई लाभांश दिन सफल भएको छ । ‘बीमा व्यवसायमा एकैपटक धेरै नाफा हुँदैन । यो भनेको एउटा सुन्तलाको बिरुवा रोपेको जस्तै हो,’ मल्ल थप्छन्, ‘त्यसलाई रोप्नुपर्‍यो, मलजल गर्नुपर्‍यो, हुर्काउनुपर्‍यो अनि न बल्ल फल दिन्छ त्यसले । पहिला बीमा क्षेत्रमा जसरी मलजल दिएर लगानीकर्ताले बिरुवा हुर्काउनुभएको छ, त्यसले केही न केही फल दिन थालेको छ ।’ यो क्षेत्रमा लगानी गर्नु भनेको रिटायर भएपछिको समयमा प्रतिफल सुनिश्चित गर्नु भएको उनको बुझाइ छ । अबको प्रभु इन्स्योरेन्स मल्ल अध्यक्षका रूपमा प्रभु इन्स्योरेन्समा केही समयअघि चार वर्षका लागि प्रवेश गरेका छन् । संस्था चलाउन एकजनाले मात्रै सम्भव नहुने र टिमवर्कले नै संस्थाको हित हुन सक्ने उनी बताउँछन् । एकअर्काको सुखदुःख बाँडेर नै कम्पनीलाई अगाडि बढाउँदै लैजाने उनी बताउँछन् । प्रभु इन्स्योरेन्सको व्यावसायिक क्षमता अभिवृद्धिका लागि आफ्नो कार्यकालमा थप योजना अघि बढाउने मल्लले बताए । निर्जीवन बीमा क्षेत्रमा जनचेतना अभिवृद्धि एवं व्यावसायिक हितका लागि आफूले पहल गर्ने उनी बताउँछन् । उनी आफ्नो कार्यकालमा कम्पनीको सम्पत्ति सातै प्रदेशमा पुर्‍याउनुपर्छ भनेर लागिरहेका छन् । ‘सातै प्रदेशमा एकैपटक पुर्‍याउन नसकिएला, एकपछि अर्को गर्दै जाने योजना छ,’ उनी भन्छन्, ‘बीमितहरूलाई छिटो छरितो सेवा प्रदान गर्नुपर्छ भन्ने पक्षमा म छु ।’ संस्थाका कर्मचारीलाई राम्रो गाइडलाइन दिँदै अगाडि बढ्ने उनी बताउँछन् । ‘मेरो काम संस्थाको नीतिगत निणर्य राम्रो गर्नेमा हुन्छ, व्यवस्थापनलाई उचित निर्देशन दिने भयो,’ उनी भन्छन्, ‘हाम्रो संस्थाको म्यानेजमेन्ट टिम चुस्त दुरुस्त छ, कतिपय संस्था मर्जर भएर गए, हामी भने आफ्नै ठाउँमा बसेर स्वपुँजी थपेर एक्लै कम्पनीलाई ठूलो संस्था बनाउँदैछौं, सबैभन्दा धेरै नाफा कमाउने कम्पनी पनि यही छ, यसमा हामी अझै मिहिनेत गर्नेछौं ।’ कति वर्ष काम गर्ने ? पब्लिक कम्पनीमा लामो समय सञ्चालक वा अध्यक्ष भएर कम्पनीलाई निजी स्वार्थअनुकुल चलाउने गरेको आरोप पनि लाग्दै आएको छ । यसै विषयलाई जोडेर नियामकहरुले व्यवसायिक सञ्चालक मात्र बोर्डमा जाने वा ठूला लगानीकर्तालाई सञ्चालक बन्न रोक लगाउने जस्तो नीतिगत विषयमा पनि वहस हुने गरेको छ बेलावखत । तर, लगानीकर्तालाई बोर्डमा बस्न दिनुहुन्न वा लामो समय एउटै व्यक्ति बोर्डमा रहनुहुन्न भन्ने मतको विपक्षमा छन् मल्ल । ‘विगतमा बीमा कम्पनी सञ्चालकले गल्ती पनि गरेका थिए, आफ्नो बीमा आफैं लिने पनि गर्थे, क्लेम बढी गर्थे भन्ने गुनासा सुन्नमा नआएका पनि होइनन्,’ उनी सुनाउँछन्, ‘अहिले त्यस्तो छैन, नियमन गर्न बीमा प्राधिकरण छँदैछ, केही त्रुटि भए सरकारले नियमनकारी भूमिका खेल्छ, यदि क्यापासिटी छ, अनुभव छ र लगानी छ भने आफ्नो कम्पनीमा कन्ट्रिब्युसन गर्न पाउनुपर्छ ।’ व्यावहारिक नीतिको खाँचो सरकारले नियम लाद्ने तर व्यवहारमा लागू नगर्ने परम्पराबाट उनी निराश छन् । कोभिड-१९ को समय सम्झिँदै मल्ल भन्छन्, ‘कोभिडको समयमा सरकारले महामारी बीमा गर्ने भनेर भन्यो, त्यो चाहिँ जबर्जस्ती बीमा कम्पनीहरूले मान्नैपर्ने भयो तर महामारीमा बीमा गर्ने भन्ने संसारमा कहीँ पनि अभ्यास छैन, त्यतिबेला अपुग रकम सरकारले पनि बेहोर्ने भन्ने सहमति भएको थियो, त्यहीअनुसार आश्वासन पनि दिइयो, काम पनि गराइयो तर सरकारले दिनुपर्ने कोभिड बीमाको रकम हालसम्म पाइएको छैन ।’ कोरोना बीमामा सरकारले भुक्तानी नदिँदा आमसर्वसाधारणमा बीमा क्षेत्रप्रति नराम्रो प्रभाव परेको अनुभव उनले सुनाए । ‘यो समस्यालाई बीमा कम्पनी र प्राधिकरण मिलेर चिर्न जरुरी छ,’ उनले भने, ‘सरकारले नीति नियम बनाउने, अंकुश लगाउने मात्र गर्ने होइन, सहजीकरण पनि गर्नुपर्यो । आर्थिक स्थायित्वका लागि नियामकहरूले पनि हितकारी नियमहरू बनाउनुपर्यो ।’ सम्बन्धित समाचार ‘व्यापारले हात्ती पाल्छ, जागिरले श्रीमती पनि पाल्न सकिदैन’