बीमाको दायरा बढाउन जोखिम पनि बढ्नुपर्छ : सीईओ पन्त

बीमा क्षेत्रमा साढे तीन दशक अनुभव भएका सुनिल बल्लभ पन्त एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन् । एनएलजीमा दोस्रो कार्यकाल सीईओका रुपमा काम गरिरहेका पन्त बीमा क्षेत्रका एक अनुभवी सीईओमध्येमा पर्छन् । बीमा क्षेत्रमा विशेष योगदान गरेबापत सरकारबाट समेत सुकीर्तिमय राष्ट्रदिप पदकबाट सम्मानित भइसकेका सीईओ पन्तसँग वर्तमान बीमा क्षेत्र, यस क्षेत्रका चुनौति र अवसर र आगामी कार्यदिशाका विषयमा विकासन्युजका लागि सीआर भण्डारीले संक्षिप्त कुराकानी गरेका छन् । बीमा कम्पनीहरू बलियो हुँदा खोज तथा अनुसन्धानमा काम गर्छन, नयाँ-नयाँ बीमा पोलिसी ल्याउँछन्, त्यसले बीमा क्षेत्रलाई धेरै अगाडि बढाउँछ भन्ने सोचका साथ कम्पनीहरूबीच मर्ज वा पुँजी वृद्धि गरियो । पुँजी वृद्धिसँगै तपाईको कम्पनीले यसतर्र्फ के-के काम गरिरहेको छ ? एनएलजी इन्स्योरेन्सले मर्जरमा नगई आफैं हकप्रद सेयर मार्फत चुक्ता पुँजी वृद्धि गरिरहेको छ । बीमा प्राधिकरणले दिएको निर्देशन बमोजिमको चुक्ता पुँजी पुर्याउन कम्पनी तयार छ । कम्पनीले रिटेन्सन क्यापासिटी र इनोभेसनका लागि दुईवटा प्रडक्टहरू बजारमा ल्याइसकेको छ । विद्युतीय सवारी साधन र युटिलिटी मार्फत् स्वास्थ्य र दुर्घटना बीमा प्रडक्ट बजार आइसकेका छन् । अर्थतन्त्रमा संकुचन आउँदा बीमा क्षेत्रलाई प्रत्यक्ष असर गर्यो । यो संकटबाट माथि उठ्न त्यस कम्पनीले कस्ता किसिमका नविनतम् अभ्यास गरिरहेको छ ? बीमा क्षेत्र सबैभन्दा भायब्रेन्ट कृषि क्षेत्रमा पोलीसी जारी गरेर हुन्छ । तर, कम्पनीहरू असाध्यै असहज परिस्थितीमा अगाडि बढिरहेका छन् । तथापि नविनतम् प्रडक्टहरूले नयाँ वा अनट्याप्ट क्षेत्रहरू ट्याप भएर बीमा व्यवसाय अभिवृद्धि हुने विश्वास छ । बैंकहरूले नयाँ कर्जा लगानी गर्न सकेका छैनन, त्यसैले बीमा कम्पनीको व्यापार घटेको भनेर बीमकहरूबाट पटक–पटक सुनिन्छ । बीमा कम्पनीहरू किन आफ्नो तरिकाले अगाडि बढ्न सकिरहेका छैनन् ? व्यापार विस्तारमा बैंकप्रतिको निर्भरता कम गर्न बीमा कम्पनीहरूले नयाँ के काम गरिरहेका छन् ? बैंकिङ, यातायात र निर्माण क्षेत्रमा बीमा म्यान्डेटोरी हो । त्यसबाहेक प्रोफेसनल इन्डेम्निटी पोलीसी, विद्यार्थी योजना, लायबिलिटी पोलीसी बजारीकरण गर्न सक्यो भने निर्भरता रहनु पर्ने आवश्यकता देखिँदैन । र, बीमा कम्पनीहरू त्यसतर्फ पनि अगाडि बढिसकेका छन् । वर्तमान समयमा बीमा कम्पनीहरूका लागि नयाँ अवसर के(के छन् ? सबैभन्दा ठूलो अवसरका रूपमा प्रोफेसनल इन्डेम्निटी पोलिसी र लायबिलीटी पोलिसी नै हो । अहिलेको जोखिमका कारण यी दुइटा आवश्यक छन् । जति जोखिम बढ्यो, त्यति नै बीमाको दायरा बढ्दै जाने हो । यी दईटा पोलिसी र क्षेत्रगत हिसाबले बीमाको क्षेत्र असाध्यै बढी छ । वर्तमान समयमा बीमा व्यवसायमा समस्या, जोखिम र अवरोध के-के छन् ? बीमा बजार नै अभिवृद्धि नै नहुनु बीमा व्यवसायका लागि चुनौति हो । साथै, भइरहेको बजार पनि संकुचन हुनु सबैभन्दा ठूलो चुनौति हो । ठूल्ठूला आयोजना तथा परियोजना, जलविद्युत आयोजनाको पुनर्बीमा राम्रोसँग र समयसीमा भित्र सम्पन्न नहुँदा ठूलो चुनौति र अवरोध श्रृजना भएको छ । सरकारले कृषि बीमा योजना अगाडि सारेको भएपनि अनुदान रकम समयमा प्राप्त नहुँदा रोक्नु पर्दा दुख लागेको छ । यो समस्या चाँडै समाधान भयो भने केही हदसम्म बीमा व्यवसाय सहज रूपमा अगाडि बढ्छ । बीमा कम्पनीहरूको संरक्षण र प्रवर्द्दनमा नेपाल बीमा प्राधिकरणले खेल्नुपर्ने भूमिका के हो ? बीमा प्राधिकरणले जारी गरेका नीति निर्देशनहरूलाई पूर्ण रूपले पालना गर्नुपर्छ । त्यसको लागि जनशक्ति उत्पादन गर्नुपर्छ । जनशक्तिलाई तालिम दिएर योग्य बनाउनुपर्छ । र, प्राधिकरणले बीमा कम्पनीका जनशक्तिलाई पनि योग्य बनाउनुपर्छ । त्यसपछि बीमा प्राधिकरण र बीमा कम्पनीहरूको काम गर्ने शैलीमा गुणात्मक परिवर्तन आउँछ । नियमसंगत काम गर्न सहज रहन्छ । बीमा सम्बन्धि जनचेतनालाई अभिवृद्धि गर्ने, दूरदराजमा बीमाको पहुँच पुर्याउने कार्यलाई निरन्तरता र प्रभावकारीताका साथ अगाडि बढाउनुपर्छ । नयाँ अनट्याप सेक्टरको रिसर्च एण्ड डेभलपमेन्ट गरेर बीमा योग्य जोखिम पहिचान गरि बीमाको दायरा बढाउन सक्यो भने सबै लाभान्वित हुन सक्छन् ।

बीमा प्राधिकरणका कार्यकारी निर्देशक पौडेलले पाए अवकाश

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले अवकाश पाएका छन् । ७ वर्षे कार्यकाल पुरा गरी कार्यकारी निर्देशक पौडेलले प्राधिकरणबाट अवकाश पाएका हुन् । वि.सं २०७६ बैशाखमा प्राधिकरण (साविक बीमा समिति)को कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । पूर्व कार्यकारी निर्देशक श्रीमान् कार्कीले अवकाश पाएपछि पौडेल कार्यकारी निर्देशक बनेका थिए । तीन दशक बीमा क्षेत्रको नियामक बीमा प्राधिकरणमा कार्यरत पौडेलले शनिवारदेखि अवकाश पाउन लागेका हुन् ।

सीईओ पाण्डेलाई ५ प्रश्न : मर्जरपछि कति सिनर्जी आयो ?

बीमा तथा बैंकिङ क्षेत्रमा परिचित नाम हो शिवनाथ पाण्डे । सानिमा रिलायन्स लाइफ इन्स्याेरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा कार्यरत पाण्डेसँग बैंक तथा बीमा क्षेत्रमा तीन दशकभन्दा बढी समय काम गरेको अनुभव छ । सानिमा र रिलायन्स लाइफको मर्जरपछि कम्पनीको सीईओ बनेका उनी त्यसअघि साविकको सूर्या लाइफ इन्स्योरेन्सको सीईओ थिए । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक भएर अवकाश पाएका उनी त्यसपछि बीमा क्षेत्रमा प्रवेश गरेका थिए । जीवन बीमक संघको अध्यक्ष समेत बनिसकेका उनी चार्टर्ड एकाउन्टेन्ट (सीए) पनि हुन् । उनै सीईओ पाण्डेसँग वर्तमान बीमा क्षेत्र र मर्जरपछिको कम्पनीको अवस्थाका विषयमा विकासन्युजका लागि सीआर भण्डारीले संक्षिप्त  कुराकानी गरेका छन् । बीमा कम्पनीहरू बलिया हुँदा खोज तथा अनुसन्धानमा काम गर्छन, नयाँ-नयाँ बीमा पोलिसी ल्याउँछन्, त्यसले बीमा क्षेत्रलाई धेरै अगाडि बढाउँछ भन्ने सोचका साथ कम्पनीहरूबीच मर्जर तथा पुँजी वृद्धि गरियो । पुँजी वृद्धिपछि तपाईंको कम्पनीले यसतर्फ कत्तिको ध्यान दिइरहेको छ ? सिनर्जी कत्तिको सिर्जना भइरहेको छ ? मर्जर आफैंमा चुनौति हो । वित्तीय विवरण डाउनलोड गरेर जोड्ने र मान्छेलाई एक ठाउँमा राखेजस्तो होइन । सबै विषय भावनात्मक हिसाबमा व्यवस्थापन हुनुपर्छ । मुख्यगरी कर्मचारी एकीकृत गर्नुपर्छ । दुई फरक संस्कृति र प्रणालीबाट आएका हुन्छन् । जसमा आ-आफ्ना सेवा सुविधा, काम गर्ने तरिका हुन्छन् । यी सबै विषय गाँसेर एउटै सुत्रमा बाध्नु पर्ने हुन्छ । त्यसपछि सिनर्जी इफेक्ट हुने, व्यवसाय वृद्धि हुने र नयाँ प्रडक्टहरू ल्याउने हो । विभिन्न किसिमका प्रडक्टहरू नाफायोग्य र दीर्घकालीन छन् कि छैनन् भनेर परीक्षण गर्नुपर्छ । अहिले कायम प्रडक्टहरूलाई बजारको आवश्यकता अनुसार र समय परिस्थिती बनाएर नयाँ प्रडक्ट ल्याउने हो । नयाँ पुस्ताको चाहनाअनुसार प्रडक्ट ल्याउन यस कम्पनीले काम गरिरहेको छ । कस्ट इफेक्टिभ हुने गरी प्रडक्टमा इनोभेसन गरिरहेको छ । सबैलाई बीमाको सुत्रमा बाँध्न र भविष्यमा समस्या नआउने गरी काम गरिरहेका छौं । अर्थतन्त्रमा संकुचन आउँदा बीमा क्षेत्रलाई प्रत्यक्ष असर पर्याे । यो समस्याबाट माथि उठ्न  तपाईंको कम्पनीले कस्ता किसिमका नविनतम अभ्यास गरिरहेको छ ? बीमा क्षेत्र पनि अर्थतन्त्रको एउटा पार्ट हो । जसले अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याइरहेको छ । तर, राज्यले बीमा क्षेत्रलाई त्यो नजरले हेरेको छैन । हो, अहिले अर्थतन्त्रमा व्यापक संकुचन आएको छ । घरजग्गा कारोबार र पुँजी बजार घटेको छ । लगानीकर्ताहरूको मनोबलमा गिरावट आएको छ । बैंकमा प्रयाप्त पैसा भएपनि लगानीकर्ताहरूले कर्जा पाएका छैनन् । उत्पादन र खपत गर्ने मान्छे विदेश पलायन भएका छन् । यस्तो परिस्थितिमा बीमा गर्न असहज हुन्छ । बीमा भनेको आफ्नो सुरक्षाका लागि फोर्सफूल बचत गर्नु हो । बचत गर्न व्यक्तिसँग केही न केही त हुनुपर्छ । अर्थतन्त्र चलायमान भएर आम्दानी भएपछि मात्रै बीमा गर्ने हुन् । अहिले बैंकहरूको ब्याजदर निरन्तर घटिरहेको छ । ब्याजदर घट्दा लागत कम गई कर्जा प्रवाह वृद्धि हुने हो । बैंकका लागि बीमा कम्पनी लगानीकर्ता हुन् । बीमा कम्पनीले बैंकमा रकम जम्मा गर्दा व्यक्तिलेभन्दा १ प्रतिशत ब्याज कम पाउँछन् । एकातिर अर्थतन्त्र संकुचन हुँदा व्यापार व्यवसाय कम हुने र बैंकमा रकम जम्मा गर्दा कम ब्याज पाउँदा व्यवसाय घटेको छ । त्यसैले अहिले कम्पनीलाई सस्टेन गर्ने हो । टिकाउको सिद्धान्त लागु गरेर लगानीका नयाँ क्षेत्रहरू बीमा प्राधिकरणले खोज्नुपर्छ । बीमा प्राधिकरणले तोकेका क्षेत्रमा जोखिम कम, नाफा बढी, उपयुक्त प्रतिफल आउने गरि लगानी गर्नुपर्छ । बैंकहरूले नयाँ कर्जा लगानी गर्न सकेका छैनन्, त्यसैले बीमा कम्पनीको व्यापार घटेको भनेर बीमकहरूबाट पटक-पटक सुनिन्छ । बीमा कम्पनीहरू किन आफ्नो तरिकाले अगाडि बढ्न सकिरहेका छैनन् ? व्यापार विस्तारमा बैंकप्रतिको निर्भरता कम गर्न बीमा कम्पनीहरूले नयाँ के काम गरिरहेका छन् ? बैंकले उद्योगी व्यापारीलाई लगानी गर्ने हो । उद्योगी व्यापारीहरूले व्यापार व्यवसाय गर्ने, निर्यात गर्ने, स्थानीय बजारमा खपत गरेर बचत रकम लगानी गर्छ । साथै, अहिले सहकारी संस्थाहरूमा समस्या आएको छ । सहकारी संस्थामा बचत गर्ने, आवश्यक परेका बेला ऋण लिन्थे । अहिले सहकारी संस्थाहरूमा समस्या आउँदा पैसा पाउने ठाउँ पनि रहेन । त्यसबाट पनि मनोबल खस्कियो । यदि बैंकमा पैसा नराखी लगानी गर्ने हो भने बीमा कम्पनीका लागि १५/२० वर्ष (दीर्घकालीन) बण्ड चाहियो । उक्त बण्डबाट अन्यले भन्दा बीमा कम्पनीले एक÷दई प्रतिशत बढी रिटर्न पाउनुपर्छ । त्यसपछि मात्रै एसेट र लायबिलिटिजको म्याचिङ हुन्छ । बीमा कम्पनीले २०÷२५ वर्षका लागि प्रिमियम संकलन गरेका छन् । तर, त्यो रकम एक वर्ष, ५ वर्ष, ६ वर्षको लागि मात्रै जम्मा गरिरहेका छन् । बीमा कम्पनीहरूका लागि नयाँ अवसर के-के छन् ? बीमा कम्पनीहरूका लागि अवसर नै अवसर हुनु पर्ने हो । बैंकमा राखेको पैसा झिकेर अन्य क्षेत्रमा लगानी गर्दा फाइदा हुन्छ । नयाँ क्षेत्र जहाँ बीमा कम्पनी पुगेका छैनन् । त्यो क्षेत्र पनि खोल्नुपर्छ । राष्ट्रिय मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरमा पनि व्यवसाय विस्तारका लागि सोच्नुपर्ने बेला आइसकेको छ । राज्यले पनि कर छुट नीति ल्याउनुपर्छ । बीमा लगानी गर्दा छुट दिन्छु भनेर सरकारले घोषणा गर्नुपर्छ । राज्यले पुर्वाधार विकास, सडक बाटो बनाउन बीमा बण्ड ल्याउनुपर्छ । २०-३० वर्षको बण्ड किन्न बीमा कम्पनीहरू तयार छन् । जीवन बीमा सबैलाई आवश्यकता हो, यसलाई बाध्यता बनाइदिनुपर्याे । वर्तमान समयमा बीमा व्यवसायमा समस्या, जोखिम र अवरोध के-के छन् ? बीमा गर्नुपर्छ भन्ने चेतनाको कमी छ । सबैलाई कन्भिन्स गर्न सकिएको छैन । बीमा क्षेत्र पनि सो अनुसार विकास हुन सकेका छैनन् । बीमाको दायरा बढ्दै छ, विस्तारै बुझाउँदैछौं । अहिले अर्थतन्त्रमा संकुचन आउँदा सुस्ताएको हो । बीमा सकारात्मक पक्ष हो, अफ्ठ्यारो पर्दा सहयोगी साथी हो, जीवनमा कुनै असहज परिस्थिती आयो भने परिवारको सुरक्षा हो, बच्चाबच्चीलाई पढाउन सहयोग गर्ने, बुढेसकालको साहारा हो । यी सबै विषयलाई हामीले कन्भिन्स गरेर व्यवसाय गर्नु चुनौति छ । कसैलाई सामान बेचे जस्तो सजिलो छैन । बीमा पोलिसी बिक्री गर्नु भनेको एउटा कागजमा विश्वास बेच्नु हो । २०/३० वर्षमा यति रकम पाइन्छ भनेर कमिटमेन्ट गरिएको हुन्छ । त्यो कमिटमेन्ट अनुसार विश्वास दिलाउन सहज छैन । कहिलेकाहीँ एक/दुई जनामा समस्या आएर झुटको खेती गर्ने, बिरामी मान्छेको बीमा गर्ने लगायतका विषय बीमा कम्पनीका लागि जोखिम छ । बीमा कम्पनीहरूको संरक्षण र प्रवर्द्दनमा नेपाल बीमा प्राधिकरणले खेल्नु पर्ने भूमिका के हो ? बीमकको अभिभावक तथा नियमनकारी निकायको रूपमा बीमा प्राधिकरण छ । प्राधिकरणले बीमा कम्पनीको लगानी संरक्षण गर्नुपर्छ । व्यवसाय गर्दा भोग्नु परेका समस्याहरूलाई सहजीकरण गर्ने र व्यवसायलाई विस्तारमा जोड दिने हो । बीमालाई प्रत्येक नेपालीको घरघरमा पुर्याउनुपर्छ । गरिब, विपन्न वर्गलाई बीमा बारे सचेतना गराउने र व्यवसायलाई राष्ट्र निर्माणमा प्रयोग गर्नुपर्छ । कहिलेकाहीँ कानुनभन्दा बाहिर गएर अस्वस्थ प्रतिस्पर्धा गर्याे भने सही ट्रयाक तथा कारवाहीको दायरामा ल्याउनुपर्छ । प्राधिकरणले सबै कम्पनीलाई समान व्यवहार गर्नुपर्छ । बीमा कम्पनीको निरिक्षण गर्ने, जानकारी लिने र आइपरेका समस्या समाधान गर्ने, व्यवसाय वृद्धि गर्न आवश्यक नीति नियम बनाउने, निर्देशन जारी गर्ने, नीति निर्देशनभन्दा बाहिर गएर काम गर्ने कम्पनीलाई सही बाटोमा ल्याउने काम गर्नुपर्छ । बीमा व्यवसायलाई अर्थतन्त्रको मेरूदण्डका रूपमा स्थापित गराउने भूमिका प्राधिकरण खेल्नुपर्छ ।