सूर्यज्योति लाइफ इन्स्योरेन्स एनसीएचएलमा आबद्ध, डिजिटल भुक्तानी प्रणाली लागू
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को डिजिटल भुक्तानी प्रणालीमार्फत आफ्ना भुक्तानी कारोबार सञ्चालन गर्ने व्यवस्था लागू गरेको छ। यस सम्बन्धी सम्झौतापत्रमा सूर्यज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौतापछि सूर्यज्योति इन्स्योरेन्सको आन्तरिक प्रणाली एनसीएचएलको ‘नेशनल पेमेन्ट इन्टरफेससँग जोडिनेछ। यसमार्फत कम्पनीले विभिन्न डिजिटल भुक्तानी उपकरण प्रयोग गरेर सेवा प्रदान गर्न सक्नेछन् । अब सूर्यज्योतिले प्रिमियम संकलन, एजेन्ट कमिशन, कर्मचारी तलब, सेवा प्रदायक भुक्तानी, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष लगायतका कारोबार सोझै लाभग्राहीको बैंक खातामा गर्न सक्नेछ। भविष्यमा अन्य भुक्तानी सुविधा पनि क्रमिक रूपमा थपिने जनाइएको छ । यस प्रणालीमार्फत सदस्य संस्थाहरूले एनसीएचएल–आइपिएस र आरपिएस प्रणालीको प्रयोग गरी सजिलो, सुरक्षित र डिजिटल माध्यमबाट भुक्तानी कारोबार गर्न सक्नेछन् । नेपाल क्लियरिङ्ग हाउससँगको यो सहकार्यले सूर्यज्योति लाइफ इन्स्योरेन्सको डिजिटल रूपान्तरण अभियानमा उल्लेखनीय टेवा पुग्ने विश्वास गरिएको छ ।
मेटलाइफको ‘डबल प्रोटेक्सन प्लस’ सार्वजनिक, एक घण्टामै १०० भन्दा बढी पोलिसी बुक
काठमाडौं । मेटलाइफ नेपालले शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा नयाँ बीमा योजना ‘डबल प्रोटेक्सन प्लस सार्वजनिक गरेको छ । कार्यक्रम सार्वजनिक भएको एक घण्टाभित्रै १०० भन्दा बढी पोलिसी बुक हुँदै यस योजनाले नेपाली बीमा बजारमा उत्साहजनक सुरुवात गरेको छ । ‘डबल प्रोटेक्सन प्लस’ योजनालाई नेपालमा पहिलो पटक उच्च बीमा सुरक्षा र दीर्घकालीन बचत सुविधा एउटै योजनामा समेटिएको नवप्रवर्तित बीमा योजना भनिएको छ । ग्राहकलाई डबल बीमाङ्क रकमको लाभ, लचिलो प्रिमियम भुक्तानी, तथा बुस्टर फन्ड र लयाल्टी रिवार्डजस्ता थप सुविधाहरू यस योजनामा उपलब्ध छन् । यस योजनामा ग्राहकले एकमुष्ट प्रिमियम भुक्तानी गर्न सक्ने वा ५ वा १० वर्ष अवधिका लागि सीमित प्रिमियम भुक्तानी विकल्प रोज्न सक्नेछन् । बीमा सुरक्षा भने ७५ वर्षसम्म सुनिश्चित हुनेछ । यो योजना १८ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिहरूका लागि उपलब्ध छ । मेटलाइफका अनुसार, दुर्घटना, रोग वा पूर्ण स्थायी अपाङ्गता वा मृत्युका अवस्थामा बीमाङ्क रकमको दोब्बर लाभ प्रदान गरिनेछ । साथै, मेटलाइफको सेग्रेगेटेड फन्डको प्रतिफलको आधारमा प्रत्येक वर्ष ‘बुस्टर फन्ड लाभ’ र हरेक पाँच वर्षको अन्तरालमा ‘लयाल्टी रिवार्ड’ पनि प्रदान गरिने उल्लेख गरिएको छ । मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले कार्यक्रममा भने, 'डबल प्रोटेक्सन प्लस योजनाले नेपालीहरूलाई केवल बीमा सुरक्षामात्र होइन, मानसिक शान्ति र वित्तीय स्थायित्वको अनुभूति दिलाउनेछ । भविष्यप्रति विश्वास र सुरक्षाको अनुभूति दिलाउनु नै हाम्रो उद्देश्य हो ।' सुरुवाती सफलताका साथ यो योजना मेटलाइफको एक महत्वपूर्ण उपलब्धि मात्र नभई, नेपाली बीमा बजारको आधुनिक र भरपर्दो विकल्पका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।
६६ प्रतिशतले बढे बीमा सर्भेयर, कति छन् सक्रिय ?
काठमाडौं । बीमा व्यवसायमा क्षति मूल्यांकनकर्ताको रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका बीमा सर्भेयरको संख्या पछिल्लो सात आर्थिक वर्षमा उल्लेखनीय वृद्धि भएको देखिन्छ । सात आवमा बीमा कम्पनीहरूमा सर्भेयरको संख्या ६६.६६ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार आव २०७४/७५ मा बीमा सर्भेयरको संख्या ४१६ थियो । उक्त संख्या आव २०८०/८१ मा वृद्धि भएर १ हजार २४८ पुगेको छ । तथ्यांकअनुसार आव २०७४/७५ देखि आव २०७७/७८ सम्म बीमा सर्भेयरको संख्या ४ सय को हाराहारीमा थियो भने आव २०७८/७९ मा आइपुग्दा सो संख्यामा वृद्धि भएर १ हजार २ सयको हाराहारीमा पुगेको देखिन्छ । त्यसपछिका वर्षमा भने बीमा कम्पनीहरूमा त्यही संख्याकै हाराहारीमा सर्भेयरको संख्या रहेको तथ्यांक छ । आव २०७५/७६ मा ४३५ बीमा सर्भेयरको संख्या रहेकोमा आव २०७६/७७ मा सो संख्यामा केही कमी आएको देखिन्छ । उक्त आवमा ३५६ जना सर्भेयर बीमा कम्पनीमा संलग्न छन् । आव २०७९/८० मा १२ सय ४० जना सर्भेयरको संख्या पुगेको छ । उक्त आवमा साविकको बीमा समितिले धेरै सर्भेयरहरुको तालिम र अनुमतिपत्र प्रदान गरेकाले सर्भेयरको संख्यामा उल्लेखनीय वृद्धि हुन गएको नेपाल बीमा प्राधिकरणले जनाएको छ । सक्रिय बीमा सर्भेयर नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयरलाई इजाजतपत्र (लाइसेन्स) दिने र नवीकरण गर्दै आएको छ । हाल बीमा कम्पनीमा आवद्ध १ हजार २४८ बीमा सर्भेयर प्राधिकरणमा नवीकरण भएका सर्भेयरको संख्या हो । तीमध्ये कतिजना नियमित रूपमा सक्रिय भएर काम गरिरहेका छन् भन्ने यकिन तथ्यांक नभएको प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीले बताए । बीमा सर्भेयरको लागि अहिले बीमा ऐन २०८१ मा वार्षिक रूपमा नवीकरण गर्नुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था लागू भएसँगै सक्रिय सर्भेयरको संख्यामा वृद्धि हुने उनको भनाइ छ । सर्भेयरको आवश्यक योग्यता बीमा व्यवसायमा क्षति मूल्यांकनकर्ताको रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति बीमा सर्भेयर हुन् ।सर्भेयरले क्षति भएको घटनास्थलमा गएर क्षतिको मूल्यांकन गरेपछि त्यसको आधारमा दाबी भुक्तानी दिने गर्छ । बीमितले आफ्नो सम्पति क्षति भएको कुरा बीमकलाई जानकारी गराएपछि सम्बन्धित कम्पनीले क्षतिको मूल्यांकनको लागि सर्भेयरलाई खटाउन गर्दछ । बीमा सर्भेयर बन्नको लागि बीमा प्राधिकरणले बीमा नियमालीमार्फत निश्चित मापदण्ड तोकेको छ । बीमा नियमावली २०८१ को दफा ४६ अनुसार बीमा सर्भेयर बन्नको लागि इन्जिनियरिङ विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने छ । त्यसबाहेक चार्टर्ड एकाउन्टेन्टेन्सी परीक्षा उत्तीर्ण हुनुपर्ने, स्नातक उपाधि हासिल गर्नुका साथै कुनै पनि जीवन बीमा कम्पनीमा वा प्राधिकरणमा १० वर्ष अधिकृतस्तरको पदमा काम गरेको हुनुपर्ने छ । इन्टर्नसीप गर्नुपर्ने बीमा सर्भेयरको इजाजतपत्र (लाइसेन्स) प्राप्त गर्नुअघि निवेदकले कम्तीमा तीन महिना सम्बन्धित विषयको सर्भेयर वा बीमकमा इन्टर्नसीप गर्नुपर्ने हुन्छ । लाइसेन्स नवीकरण बीमा सर्भेयरले लाइसेन्स नवीकरणको लागि लाइसेन्सको अवधि समाप्ति हुनु अगावै बीमा सर्भेयर भई कार्य गरेको विवरण तथा कागजात संलग्न गरी प्राधिकरणमा निवेदन दिनुपर्ने हुन्छ । बीमा सर्भेयरको ऐनको दफा ९४ को उपदफा (१) बमोजिमको अवधिभित्र नवीकरणको लागि निवेदन नदिएमा विलम्ब शुल्क तिरी नवीकरणको लागि निवेदन दिन पाइने व्यवस्थासमेत नियमावलीमा छ । कार्य अनुभवका आधारमा बीमा सर्भेयरहरूलाई तहगत आधारमा वर्गीकरण गरिएको हुन्छ । बीमा सर्भेयरको लाइसेन्स नवीकरणको लागि सर्भेयरले इजाजतपत्रको अवधि समाप्त हुनु अगावै बीमा सर्भेयर भई कार्य गरेको विवरण तथा कागजात संलग्न गरी प्राधिकरणमा निवेदन गर्नुपर्ने छ । संस्थागत सर्भेयरको हकमा लाइसेन्स प्राप्त गर्नको लागि सो कम्पनीको सञ्चालक, कार्यकारी प्रमुख वा उच्च व्यवस्थापकमध्ये कम्तीमा एक जनाले बीमा सर्भेयरको सम्बन्धित विषयको तालिम लिई परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने छ । संस्थागत सर्भेयरले आफूले गर्ने सर्भेसँग सम्बन्धित विषयमा सर्भेयरको लाइसेन्सप्राप्त व्यक्तिलाई काममा लगाउन सक्ने प्रावधान छ । सर्भेयरले गर्न पाउने सर्भेको सीमा प्राधिकरणले निर्धारण गरे बमोजिम हुने नियामवलीमा उल्लेख छ । त्यस्तै, सर्भेयरको पारिश्रमिक पनि प्राधिकरणले निर्धारण गरेको मापदण्डको आधारमा बीमकले तोक्न सक्ने व्यवस्था नियमावलीमा छ । नियमावलीअनुसार प्राधिकरणले सर्भेयरलाई तीन प्रकारमा वर्गीकरण गरेको छ । प्राधिकरणले तोकेको न्यूनतम रकम र संख्या बराबरको सर्भे गरी कम्तीमा १५ वर्ष काम गरेको सर्भेयरलाई ‘क’ वर्गमा वर्गीकरण गरेको छ । प्राधिकरणले तोकेको न्यूनतम रकम र संख्या बराबरको सर्भे गरी कम्तीमा ७ वर्ष काम गरेको सर्भेयरलाई ‘ख’ वर्गमा र प्राधिकरणबाट लाइसेन्स लिई ‘क’ र ‘ख’ बमोजिमको योग्यता पूरा नभएको सर्भेयरलाई ‘ग’ वर्गमा वर्गीकरण गरेको छ । संस्थागत सर्भेयरको भने वर्गीकरण गरिएको छैन ।