हिमालयन रिइन्स्योरेन्सलाई वैदेशिक रोजगार बीमा पुलको प्रबन्धकको जिम्मेवारी
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडले वैदेशिक रोजगार जीवन बीमा पुलको प्रबन्धकका रूपमा काम गर्ने जिम्मेवारी पाएको छ । नेपाल बीमा प्राधिकरणले सामूहिक बीमा कोष तथा खाता सञ्चालन र व्यवस्थापनको जिम्मेवारी हिमालयन रिलाई दिएको प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीले बताए । गत चैत ४ गते प्राधिकरणमा भएको छलफलपछि दुवै पुनर्बीमकबीच आपसी सहमतिमा वैदेशिक रोजगार बीमालेखबापत प्राप्त रकम जम्मा गर्ने कोष तथा खाता हिमालयन रिलाईले सञ्चालन गर्ने निर्णय भएको उनले जानकारी दिए । वैदेशिक रोजगार म्यादी बीमा पुल सञ्चालनसम्बन्धी निर्देशन २०८१ को दफा ५ अनुसार, प्रत्येक पुनर्बीमक कम्पनीले चार–चार वर्षका लागि पालैपालो कोष प्रबन्धकको रूपमा काम गर्नुपर्ने व्यवस्था रहेको छ । सोही निर्देशिकाअनुसार अबको ४ वर्षका लागि हिमालयन रिइन्स्योरेन्सलाई जिम्मेवारी दिइएको हो । प्राधिकरणले जीवन बीमक र अन्य पुनर्बीमकहरूलाई उक्त निर्णयअनुसार आवश्यक कार्य गर्न निर्देशन समेत दिएको छ । यस कदमले वैदेशिक रोजगारीमा जाने श्रमिकको बीमा प्रणालीलाई अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
सूर्यज्योतिले मनायो १७ औं वार्षिकोत्सव, १५ वर्षभन्दा बढी सेवा गर्ने कर्मचारीहरूलाई सम्मान
काठमाडौं । नेपालमा पहिलोपटक सफल मर्जरको अभ्यास गर्दै इतिहास रचेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १७ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ । उक्त अवसरमा कम्पनीका अध्यक्ष, सञ्चालकहरू, निवर्तमान सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन टिम, विभागीय प्रमुखहरू तथा १५ वर्षभन्दा बढी सेवा गरेका २१ जना कर्मचारीहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले १७ वर्षको सफल यात्रामा कम्पनीले हासिल गरेको वित्तीय बल, विश्वसनीयता तथा उत्कृष्ट सूचकहरूको उपलब्धिका लागि आभार व्यक्त गरे । साथै, कम्पनीले अपनाउँदै आएको नविनतम प्रविधि र समय सापेक्ष ग्राहकमैत्री सेवाप्रति आफ्नो प्रतिबद्धता पुनः दोहोर्‍याए । प्रमुख कार्यकारी अधिकृत खत्रीले आगामी दिनमा कम्पनीलाई अझ बृहत् र विशाल बनाउँदै अगाडि बढ्ने दृढ संकल्प व्यक्त गरे। साथै, कर्मचारीहरूको हकहित, सिप तथा व्यक्तित्व विकास कम्पनीको प्रमुख प्राथमिकता भएको उल्लेख गर्दै उनले सूर्यज्योतिमा कर्मचारीहरूले पारिवारिक वातावरणको अनुभव गर्ने बताए । कम्पनीको आर्थिक प्रगति, दीर्घकालीन योजना, नवीनतम सेवाको विस्तार र सेवा गुणस्तर सुधारमार्फत ग्राहकहरूको जीवनमा सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता समेत उनले जाहेर गरे। यस आर्थिक वर्षको अन्त्यसम्म हालसम्मकै उत्कृष्ट व्यवसाय गरी इतिहास रच्ने लक्ष्य रहेको उनले जानकारी दिए । कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले उपलब्धिमूलक यात्रामा साथ दिने ग्राहक, अभिकर्ता, कर्मचारी, सेयरधनी, नियमनकारी निकाय र साझेदारप्रति आभार प्रकट गर्दै आगामी दिनमा अझ मजबुत साझेदारी गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष भट्टराईले सञ्चालक समिति सधैं संस्थागत सुशासन, स्वच्छ व्यवस्थापन र नीति नियमको परिधिभित्र रही अघि बढेको उल्लेख गर्दै आगामी दिनमा अझै प्रभावकारी रूपमा त्यसको पालना गर्ने बताए। साथै, कर्मचारीको वृत्ति विकासप्रति पनि समिति प्रतिबद्ध रहेको स्पष्ट पारे । कम्पनीले भर्खरै नेपालकै पहिलो अनलाइन जीवन बीमा लोन सुविधा र 'सूर्यज्योति केयर्स' डिजिटल कार्ड सार्वजनिक गर्दै बीमा क्षेत्रको आधुनिकताको सुरुआत गरिसकेको छ ।
सन नेपाल लाइफले वैशाख ३० गतेदेखि हकप्रद सेयर बिक्री गर्ने, कसले आवेदन दिन पाउँछ ?
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बैशाख ३० गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीले हाल कायम चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँको २७ प्रतिशत अर्थात् १ कित्ता बराबर नयाँ ०.२७ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको हो । कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । हकप्रद निष्काशनपश्चात कम्पनीको चुक्ता पुँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ । कम्पनीको हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले बैशाख ५ गते बुकक्लोज गरेको थियो । त्यसैले बैशाख ४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले मात्रै कम्पनीको सेयरमा आवेदन दिन पाउनेछन् । इन्स्योरेन्स कम्पनीको सेयरमा जेठ १९ गतेसम्म आवेदन दिन सकिनेछ । इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ । सेयरधनीहरूले बिक्री प्रबन्धकसँगै सन नेपाल लाइफको केन्द्रीय कार्यालय, क्षेत्रीय कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर एपबाट पनि आवेदन दिन सक्नेछन् । केयर रेटिङ्गस नेपालले इन्स्योरेन्सलाई केयर एनपी ट्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता औषतस्तरको रहेको संकेत गर्दछ ।