गण्डकी प्रदेशमा स्वास्थ्य बिमितको सङ्ख्या ४९ प्रतिशत
काठमाडौं । गण्डकी प्रदेशमा स्वास्थ्य बीमा कार्यक्रममार्फत बिमितको सङ्ख्या ४९ प्रतिशत पुगेको छ । नवौँ स्वास्थ्य बीमा दिवसका अवसरमा स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेश कार्यालयद्वारा सोमबार पोखरामा आयोजित कार्यक्रममा प्रदेशको कूल जनसङ्ख्या २४ लाख ६६ हजार ४२७ रहेकामा चैत २५ गतेसम्म बिमितको सङ्ख्या १२ लाख ७ हजार १७२ पुगेको जानकारी दिइएको हो । कार्यक्रममा स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेशका संयोजक जीवलाल खेरलले प्रदेशमा बिमित हुनेको सङ्ख्या सकारात्मक रूपमा अघि बढिरहेको बताउँदै आमसर्वसाधारणलाई बीमामा समेट्ने गरी प्रयास भइरहेको उल्लेख गरे । विश्वव्यापी रूपमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै अघि बढेको उल्लेख गर्दै उनले नेपालमा पनि यसलाई समयसापेक्ष सुधार गर्दै लगिएको जानकारी दिए । नेपालमा स्वास्थ्य बीमाप्रति सकारात्मकभन्दा पनि नकारात्मक प्रचार गर्ने प्रवृत्ति कायम रहेको बताउँदै संयोजक खेरलले सकारात्मक सूचना प्रवाह गर्दै सबै नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गर्नुपर्ने आवश्यकता औँल्याए । गण्डकी प्रदेश, स्वास्थ्य मन्त्रालयका स्वास्थ्य प्रशासक एवं गण्डकी प्रदेश स्वास्थ्य बीमा संयोजन समितिका सदस्य–सचिव डा रमेश केसीले विश्वमा १४२ वर्षअघिदेखि सुरु भएको स्वास्थ्य बीमा नेपालमा नौ वर्षयता सञ्चालनमा रहेको जानकारी दिए । शिशु अवस्थामा रहेको यस कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । सेवाग्राही, सेवा प्रदायक अस्पताल र स्वास्थ्य बीमा बोर्डको त्रिकोणात्मक समन्वय आवश्यक रहेको बताउँदै उनले यस कार्यक्रमको प्रभावकारितासँगै गुणस्तरीयता अभिवृद्धिमा जोड दिनुपर्ने बताए । उपचारमा आमसर्वसाधारणको सहज पहुँच पुर्याउन स्वास्थ्य बीमा कार्यक्रममा सबैलाई समेट्दै यसलाई अझै प्रभावकारी बनाउनु आवश्यक भएको उनको भनाइ छ । कार्यक्रममा मणिपाल शिक्षण अस्पतालका रविन्द्र ठाकुर, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका विद्या बास्तोला, दृष्टि आई अस्पतालका शिव पोख्रेल, मातृ शिशु अस्पतालका ओम थापा, दर्ता अधिकारीहरू गोमादेवी अधिकारी, प्रमिला पौडेल, तेजबहादुर दर्लामी, गौतमसिंह धामीलगायतले स्वास्थ्य बीमाको विद्यमान अवस्था, चुनौतीलगायत विषयमा आ–आफ्ना धारणा राखेका थिए ।
बीमामै पहिलो पटक सूर्यज्योति लाइफले ल्यायो केयर्स कार्ड र ई-कर्जा सुविधा
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले सूर्यज्योति केयर्स कार्ड र सूर्यज्योति ई-कर्जा सार्वजनिक गरेको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले सूर्यज्योति केयर्स कार्ड र सूर्यज्योति ई-कर्जा सार्वजनिक गरे । यी दुवै नेपालमा पहिलोपटक लन्च भएको हो । जीवन बीमा कम्पनीहरूबाट जारी हुने बीमा लेखको सर्त तथा सुविधाअनुसार बीमा जारी मितिबाट ३ वर्ष पुरा भई ३ वर्षको बीमा शुल्क प्राप्त भएपश्चात् बीमा लेख अन्तर्गत ई-कर्जा रकम दिइने कम्पनीले जनाएकाे छ । ३ वर्षपश्चात बीमा लेखमा जम्मा हुने नगद मूल्य रकमबाट बीमितको आवश्यकता अनुसार उक्त रकमको अधिकतम ९० प्रतिशतसम्म कर्जा लिन सकिनेछ । कर्जा प्राप्त गर्नको लागि हाल कम्पनीहरूमा विद्यमान रहेको प्रकृया अनुसार बीमितले नजिकको शाखा कार्यालय गई कम्पनीले तोकेको फारामहरू भरी आवश्यक कागजातसहित कर्जाको लागि आवेदन दिनु पर्ने र आवेदन दिएको मितिबाट १ वा २ दिनभित्र बीमा कम्पनीद्वारा बीमितको बैंक खातामा कर्जा रकम जम्मा गरिदिने गरेको छ । बीमा लेख बापत कर्जा प्राप्त गर्ने प्रकृयालाई सरल, सहज र छिटो बनाउनका लागि सूर्यज्योति लाइफ इन्स्योरेन्सले हालै मोबाइल वालेट खल्तीसँग सहकार्य गरी नवीन प्रविधिको अवलम्बन गरेको छ । यस प्रविधिअनुसार अब बीमितहरूलाई आफ्नो बीमा लेख बापत कर्जा लिन चाहेमा अनलाइनमार्फत जुनसुकै समयमा र जुनसुकै ठाउँबाट सहज र सरल किसिमले कर्जाको लागि आवेदन दिन सकिने र एक क्लीकमा रियल टाइममा नै आफ्नो खल्ती वालेटमा कर्जा रकम प्राप्त गर्न सकिने छ । खल्ती एपमा इन्स्योरेन्स एन्ड सुरक्षाभित्र सूर्यज्योति ई-कर्जामा गई आफ्नो बीमा लेखको विवरण दिई प्राप्त गर्न सकिने कर्जा रकम र कर्जाको लागि अपनाउनु पर्ने सर्त तथा नियमको बारेमा जानकारी प्राप्त गर्न सकिनेछ । यस अनलाइन प्रक्रियामार्फत हाललाई कर्जा रकम अधिकतम ५० हजार रुपैयाँसम्म मात्र प्राप्त गर्न सकिने छ । उक्त प्रक्रिया अपनाई अनलाइनमार्फत कर्जा प्राप्त भएपश्चात् बीमितको बीमा लेख कम्पनीमा धितो रहेको मानिने छ र सो अवस्थामा उल्लिखित बीमा लेख अन्य कुनै व्यक्तिलाई हस्तान्तरण र नामसारी वा कुनै संस्थालाई अख्तियारी दिन पाइने छैन । यस नवीनतम् सुविधा अन्तर्गत कम्पनीले तोकेका केही मापदण्ड पूरा गरेका बीमित तथा अभिकर्ताहरूलाई सूर्यज्योति मोबाइल एप मार्फत सूर्यज्योति डिजिटल केयर्स कार्ड प्रदान गरिने छ र सो डिजिटल कार्डको माध्यमबाट कम्पनीसँग सम्झौता भएको विभिन्न सेवा प्रदायक संस्थाहरूबाट आफूले उपभोग गर्ने सेवामा विशेष छुट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । यसको लागि कम्पनीद्वारा विभिन्न क्षेत्रका संस्थाहरू जस्तै अस्पताल, स्वास्थ्य परीक्षण प्रयोगशाला, होटल, शैक्षिक संस्था आदिसँग सम्झौता गरिएको छ । केयर्स कार्ड सूर्यज्योति डिजिटल केयर्स कार्ड अन्तर्गत सुविधाको लागि बीमित तथा अभिकर्ताद्वारा कम्पनीले तोकेको अनुसार मापदण्ड पूरा गरेको र सूर्यज्योति मोबाइल एपमा रजिस्टर्ड भएको हुनु पर्दछ । सूर्यज्योति केयर्सको सुविधा, त्यसको प्रयोग, साझेदार संस्थाहरूको नाम र सो संस्थाहरूबाट पाइने सहुलियत तथा छुटबारे सम्पूर्ण जानकारी सूर्यज्योति मोबाइल एप वा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आधिकारिक वेबसाइटबाट लिन सकिने छ। सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सेवा गुणस्तरलाई थप परिष्कृत र सुदृढ गर्दै ग्राहकहरूको जीवनमा सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता गर्दै समय सापेक्ष आफ्ना सेवाहरूमा बिस्तार गर्दै आएको छ । हाल सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हाल चुक्ता पूँजी ५ अर्ब १ करोड, कुल लगानी ४३ अर्ब, जीवन बीमा कोष ३८ अर्ब ३ करोड, जारी बीमा लेख संख्या ३२ लाख २३ हजार ९६१, प्रशिक्षित अभिकर्ता संख्या १ लाख २ हजार १०० रहेको छ ।
संखुवासभा र भोजपुरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गर्यो कृषि बीमा सचेतना कार्यक्रम
काठमाडौं । संखुवासभा र भोजपुर जिल्लामा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी सचेतना कार्यक्रमहरू सम्पन्न भएका छन् । चैत्र १७, १८ र १९ गते सम्पन्न कार्यक्रमहरू क्रमशः पौवादुङमा गाउँपालिका वडा नं. १, कृषि ज्ञान केन्द्र भोजपुर, र पाँचखपन नगरपालिकामा आयोजित गरिएका थिए । कार्यक्रमहरूको उद्देश्य कृषकहरूलाई कृषि तथा पशुपंक्षी बीमा, दाबी प्रक्रिया, बीमा सफ्टवेयर प्रणाली र अभिकर्ता तथा प्रविधिकहरूको भूमिकाबारे जानकारी प्रदान गर्नु थियो । संखुवासभाको कार्यक्रम कोशी प्रदेश प्रमुख नारायण गौतमको अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा कृषि विभाग प्रमुख उमेश ढकालले बीमाको प्रक्रिया, क्षतिपूर्ति र नयाँ सफ्टवेयर प्रणालीबारे विस्तृत जानकारी दिएका थिए । यस्तै, भोजपुरको कार्यक्रममा वडा अध्यक्ष राजेन्द्र कुमार तामाङ र कृषि ज्ञान केन्द्र प्रमुख मुकेश कुमार यादवको अध्यक्षता रह्यो । तीनै कार्यक्रमहरूमा १५० भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले बीमा आवश्यक रहेको भन्दै यस्तो कार्यक्रमले बीमा प्रणालीप्रति विश्वास बढाएको प्रतिक्रिया दिएका थिए ।