स्वास्थ्य र बीमा सेवाको पहुँच विस्तारका लागि प्रभु महालक्ष्मी लाइफ र चिरायु हस्पिटलबीच साझेदारी

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युटबीच सुलभ, गुणस्तरीय स्वास्थ्य सेवा तथा जीवन बीमा सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले साझेदारी भएको छ ।  यो साझेदारीका लागि सम्झौतापत्रमा प्रभु महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं र चिरायु हस्पिटलका अपरेसन निर्देशक चन्द्रेश्वर एनआर वैद्यले हस्ताक्षर गरेका छन् । हस्ताक्षर समारोहमा प्रभु महालक्ष्मी लाइफका नायब प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछाने तथा चिरायु हस्पिटलका व्यवसाय विकास अधिकारी बसन्त खनालको उपस्थिति थियो । यो १ वर्ष समयावधिको सम्झौताले नेपालको स्वास्थ्य सेवाको आपूर्ति र वित्तीय सुरक्षाबीचको अन्तरलाई कम गर्दै कर्मचारी, अभिकर्ता, सेयरधनी तथा सर्वसाधारण समुदायलाई व्यापक लाभ पुर्याउने विश्वास र प्रतिबद्धता दुवै कम्पनीले जनाएका छन् । सम्झौताअनुसार चिरायु हस्पिटलले प्रभु महालक्ष्मी लाइफका कर्मचारी, अभिकर्ता, सेयरधनी तथा तिनका आश्रित परिवार सदस्यलाई छुट सुविधा प्रदान गर्नेछ ।  चिरायु हस्पिटलले बेड चार्जमा १५ प्रतिशत, हस्पिटलभित्रको परीक्षण सेवामा १० प्रतिशत तथा औषधि खरिदमा ५ प्रतिशत छुट दिनेछ । साथै, काठमाडौं उपत्यकाभित्र निःशुल्क एम्बुलेन्स सेवा र सिफारिस भएका बिरामीलाई सेवाअनुसार १० प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट पनि प्रदान गरिने हस्पिटलले जनाएको छ ।  सम्झौताबमोजिम चिरायु हस्पिटलमा कार्यरत कर्मचारीलाई प्रभु महालक्ष्मी लाइफले विभिन्न बीमा योजना प्रदान गर्नेछ। बीमाको प्रिमियम चिरायु हस्पिटलले भुक्तान गर्नेछ । यस पहलले चिरायु हस्पिटलका कर्मचारीको वित्तीय सुरक्षा र सर्वाङ्गीण कल्याण सुनिश्चित गर्ने लक्ष्य राखेको छ । गुणस्तरीय तथा सुलभ सेवा प्रदान गर्ने साझा उद्देश्यसहित स्थापित यस साझेदारीले स्वास्थ्य तथा बीमा क्षेत्रबीचको सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत हुने विश्वास गरिएको छ ।  

अबैध रकमको बाटो बन्द गर्नुपर्ने समय आएको छ : अध्यक्ष ओझा

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले सम्पत्ति शुद्धीकरण विरूद्ध नीति, रणनीति, प्रणाली र मापदण्ड तयार गरी कार्यान्वयन गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा बीमकका एएमएल/सीएफटी कार्यान्वयन अधिकारीहरूसँग आज काठमाडौंमा आयोजित दक्षता अभिवृद्धि कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओझाले सम्पत्ति शुद्धीकरण विरूद्ध प्राधिकरणले जारी गरेका निर्देशिका र निर्देशनहरू बमोजिम आन्तरिक नीति तथा रणनीति तयार एवम् परिमार्जन गरी कार्यान्वयन गर्न निर्देशन दिए । अध्यक्ष ओझाले भने, 'बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरण हुन नदिन रोकथामका उपायहरूलाई बलियो बनाउनुपर्छ, प्रतिवद्ध भएर लाग्नुपर्छ, बीमा, लघुबीमा र पुनर्बीमाका जोखिम फरक फरक हुनसक्छन्, जोखिमको सही मूल्याङ्कन गर्नुपर्छ, ठीक हो होइन निर्क्यौल गर्नुपर्छ, त्रुटी पत्तालगाएर रोक्नुपर्छ, जोखिम विश्लेषणको दक्षता अभिवृद्धि गर्नुपर्छ ।' बीमा गर्ने व्यक्तिको आम्दानीको स्रोत ठीक हो होइन, बीमा गर्न वित्तीय क्षमता राख्छ राख्दैन भन्ने कुरा बीमा कम्पनीले पहिले नै निर्क्यौल गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष ओझाले भने, 'बीमा कम्पनीहरूको वित्तीय जोखिमाङ्कनमा समस्या छ, वित्तीय जोखिमाङ्कनलाई बलियो बनाउनुपर्छ, बीमा गर्ने व्यक्तिको आर्थिक स्रोत ठीक हो होइन, वित्तीय क्षमता राख्छ राख्दैन, बीमा गरेको सम्पत्ति बैध हो होइन लगायत सबै विषयमा जोखिमाङ्कनै क्रममा हेर्नुपर्छ, अबैध रकम आउने बाटो बन्द गर्नुपर्छ, यसो गर्न सकेमा हामी सुरक्षित हुन्छौं ।'  सम्पत्ति शुद्धीकरण विरूद्धको कार्य राज्यको प्राथमिकता भएको र राज्यको प्राथमिकता प्राधिकरणको पनि प्राथमिकता भएकाले सोही अनुरूप बीमा क्षेत्रमा पनि सम्पत्ति शुद्धीकरण विरूद्ध एकजूट भएर काम गर्नुपर्छ भन्नुहुँदै अध्यक्ष ओझाले सम्पत्ति शुद्धीकरणको विषयलाई लिएर कारवाहीको अवस्था आउन नदिने गरी कानून बमोजिम संरचनामा सुधार गरी रोकथामका उपायहरू अवलम्बन गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिए । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरण विरूद्ध बीमकहरूलाई सबल बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । वित्तीय जानकारी इकाईका प्रमुख वासुदेव भट्टराईले बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरण निवारणका लागि बीमा कम्पनीहरूले विषयगत जोखिमका आधारमा जोखिमका क्षेत्र पहिचान गरी नियन्त्रण संयन्त्रलाई प्रभावकारी बनाउनुपर्ने जानकारी दिए । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल बीमा प्राधिकरणका नियमन महाशाखाका निर्देशक शाम्भ राज लामिछानेले बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरण निवारणका लागि पालना गर्नुपर्ने प्रावधान, रोकथामका उपाय र सुधारका क्षेत्रहरू लगायतका विषयमा बीमकका सम्बन्धित अधिकारीहरूलाई विस्तृत रूपमा जानकारी दिन कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघु जीवन बीमा कम्पनी, लघु निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका एएमएल/सीएफटी कार्यान्वयन अधिकारीहरूको सहभागिता रहेको थियो ।    

२ वर्षको वार्षिक प्रतिवेदन पारित गर्न राष्ट्रिय बीमा कम्पनीले डाक्यो तेस्रो साधारण सभा

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले २ वर्षको वार्षिक साधारण सभा बोलाएको छ । सञ्चालक समितिको असार ५ गते बसेको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा असार २९ गते बिहान ११ बजे काठमाडौंमा बोलाएको छ । कम्पनीको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, सोही वर्षको लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ ।  साधारण सभा प्रयोजनका लागि कम्पनीले असार २३ गतेदेखि असरा २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असार २२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको सभामा सहभागीता जनाउन पाउने छन् ।  कम्पनीका अनुसार आर्थिक वर्ष २०७५/७६ मा ९२ करोड ५२ लाख ६७ हजार रुपैयाँ र आर्थिक वर्ष २०७६/७७ मा ६१ करोड २१ लाख ९४ हजार रुपैयाँ खुद नाफा गरेको देखिन्छ ।