कांग्रेसले ‘मिस’ गरिरहेको नोना आमाको ‘मर्निङ मिटिङ’
भर्खरै दोस्रो जनआन्दोलन सकिएको थियो । देश एउटा ऐतिहासिक परिवर्तनको मोडबाट अघि बढ्दै थियो । दश वर्षको सशस्त्र लडाइँ सकेर नेकपा ९माओवादी० राजनीतिको मूलबाटोमा आएको थियो । र त्यसका एउटा मुख्य शूत्रधार नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला हुनुहुन्थ्यो । त्यही बेला कोइराला निवासको एउटा बत्ती निभ्यो । अर्थात् २०६३ साल माघ १४ गते नोना कोइराला यो धरतीबाट बिदा भएर जानुभयो । त्यो बेला गिरिजाप्रसादले कार्यकर्तासँग भन्नुभएको थियो ‘कोइराला निवासको बत्ती निभ्यो ।’ नेपाली कांग्रेस आफैँमा एउटा यस्तो राजनीतिक पार्टी हो, जसले राजनीतिक समावेशीतालाई गर्भदेखि नै बोकिल्यायो । अर्थात् महिला अधिकार वा भनौँ प्रतिनिधित्वलाई नेपाली कांग्रेसले आफ्नो स्थापनाकालदेखि नै प्रमुखता दिँदै आएको छ । नेपाली कांग्रेसभित्र त्यस्ता धेरै महिलाहरूले योगदान गरेका छन् तर बिरलैको नाम पार्टी पङ्क्तिमा आउँछ । नयाँ पुस्ताले त कतिपय नामहरू ‘गुगल’ गर्दा पनि नभेट्ने अवस्था छ । कांग्रेसभित्र आफू जलेर राष्ट्र, राजनीति, जनता, प्रजातन्त्र अनि पार्टी र कार्यकर्ता माझ उज्यालो छरेका त्यस्ता धेरै नारी पात्रमध्ये नोना कोइराला अग्रपङ्तिमा हुनुहुन्छ । उहाँलाई समकालीन कांग्रेस नेता, कार्यकर्ताहरूले ‘नोना आमा’ भनेर पनि चिन्दछन् । यद्यपि, नेपाली कांग्रेसभित्र ‘दाइ-दिदी’ अनि ‘भाउजु’ कल्चर एउटा परम्परा जस्तै मानिन्छ । तर नोना कोइराला त्यस्तो सम्मानीत नारी पात्र हुनुहुन्छ, जसलाई नेपाली कांग्रेसका आम कार्यकर्ताले ‘आमा’ भनेर सम्बोधन गर्थे । यसबाट पनि प्रस्ट हुन्छ, उहाँ कोइराला परिवारले मात्रै होइन, सिङ्गो पार्टी जीवनकै एउटा उज्यालो बत्ती हुनुहुन्थ्यो । नोना आमाको जन्म १८८५ कात्तिक २४ गते भारतको रामनगरमा भएको थियो । नेपालमा राणाविरुद्ध लडिरहेको कोइराला परिवारका एक स्तम्भ कृष्णप्रसाद कोइराला सारा परिवारसहित भारतमा निर्वासित जीवन बिताइरहनु भएको थियो । भारतमै बसेर कोइराला परिवारले नेपालमा क्रान्ति हाँकिरहेको थियो । त्यो बेला राणाको अत्याचारका बीच पनि केशव कोइराला भने नेपालमै रहनुभएको थियो । त्यो बेला भारतमा पनि अङ्ग्रेज विरोधी आन्दोलन चलिरहेको थियो । पञ्चायतको समयमा समेत उहाँले प्रजातन्त्र स्थापना तथा सामाजिक न्यायका लागि साहसिक कार्य गर्नुभयो । उहाँमा सबैलाई मिलाएर अघि बढ्न सक्ने विशिष्ट क्षमता थियो । नोनाको राजनीतिक जीवनको सुरूवात २००३ सालको मजदूर आन्दोलनदेखि भएको हो । त्यतिबेला उनले मजदुर आन्दोलनका घाइतेहरूलाई औषधि उपचार र भोजन व्यवस्थापनको जिम्मा उहाँले नै लिनु भएको थियो । निरकुङ्श राणा शासनविरुद्ध २००७ सालमा कांग्रेसले सञ्चालन गरेको सशस्त्रमुक्ति आन्दोलनमा पनि उहाँले हतियार व्यवस्थापन, सरसफाइ र वितरणको जिम्मेवारी लिनुभएको थियो । यहाँसम्मकी कतिपय हतियार त उहाँले आफ्नो शरीरमा लुकाएर मुक्ति सेनासमक्ष पुर्याउने गर्नुभएको आन्दोलनका होमिएका धेरैलाई थाहा छ । त्यही क्रममा भारतमा रहनुभएका कृष्णप्रसाद कोइराला उतै जेल पर्नुभयो । त्यही बेला २००० असार २५ गते नोना र केशव कोइरालाबीच विवाह भयो । त्यसपछि उहाँ कोइराला परिवारभित्र एक अभिभावकजस्तै बनेर आफ्नो पारिवारिक, सामाजिक र राजनीतिक अभिभारा निभाइरहनुभयो । सारा परिवार भारतमै निर्वासन भएका बेला नेपालमा परिवारको खेतिपातीदेखि घरबार धान्ने र पार्टी अनि कार्यकर्ता परिचालन र व्यवस्थापनको जिम्मेवारी नोना-केशवकै काँधमा थियो । त्यही बेला २००३ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा विराटनगर जुटमिलमा भएको आन्दोलनमा पनि नोना कोइरालको अद्वीतीय भूमिका रह्यो । कोइराला परिवार आफैँमा एउटा अलग्गै राजनीतिक र सामाजिक संस्कारले भरिएको परिवार हो । त्यसमा पनि नोना आमा पनि एउटा शिक्षित र राजनीतिक चेतनाले भरिएको परिवारबाटै आउनुभएको थियो । त्यसबाट पनि उहाँमा राजनीतिक र सामाजिक चेतना थियो । यसले गर्दा उहाँलाई राजनीतिक र पारिवारिक व्यवस्थापनमा अझ निपुण हुनुभयो । क्रान्तिकै बेला बिपी कोइरालाले एकपटक केशव र नोना आमालाई सम्बोधन गरेर लेख्नुभएको चिठी अहिले पनि उत्तिकै महत्वपूर्ण छ । बिपीले त्यो चिठीमा केशव र नोनाले घरबार अनि खेतीपाती धानिदिएकै कारण आफूहरूलाई प्रवासमा सजिलो भएको र नेपालमा पनि कार्यकर्ता परिचालनमा बाधा नआएको भन्दै उहाँहरूप्रति आभार व्यक्त गर्नुभएको थियो । कोइराला परिवारमा मात्रै नभएर ‘नोना आमा’ समकालीन राजनीतिक नेता तथा कार्यकर्ताका लागि अभिभावक नै बनेर उभिनुभयो । कोइराला परिवारको राजनीतिक विरासतमा नोना कोइरालाको अभिभावकीय र नेतृत्वदायी भूमिका अनि क्षमता सिङ्गो नेपाली राजनीतिकै लागि प्रेरणाको अजर स्रोत पनि हो । कांग्रेसमात्रै कोइराला निवास अनि कोइराला परिवार हरेक राजनीतिक दलका कार्यकर्ताका लागि सधैँ खुल्ला हुन्थ्यो । र स्वागतका लागि रातदिन तम्तयार हुन्थ्यो । त्यो सबै नोनाकै योगदान र तत्परताले मात्रै सम्भव थियो । उहाँले कांग्रेस मात्रै होइन, जुनसुकै राजनीतिक दलका कार्यकर्ताका लागि कोइराला निवास सधैंँ खुल्ला गरिदिनुभयो । यसले गर्दा नेपालमा हरेक राजनीतिक कार्यकर्ताका लागि कोइराला निवास र कोइराला परिवार आफैँमा एक उदार अनि खुल्ला संसार जस्तै भएको थियो । परिवारमा मात्रै नभएर सिङ्गो नेपाली कांग्रेस पार्टी पङ्तिमा उहाँको निर्णायक र अभिभावकीय भूमिका रहन्थ्यो । कोइराला परिवारमा हरेक दिन बिहानअर्थात् दिनको पहिलो प्रहरमै हुने बसाई राजनीतिक नै हुन्थ्यो । त्यो भनेको दिनभरिको कार्ययोजना र कार्यदिशा तय गरिन्थ्यो । त्यो सबको चाँजोपाँजो मिलाउने जिम्मेवारी नोनाकै काँधमै थियो । एक प्रकारले परिवारका सदस्यबीच भएको राजनीतिक जिम्मेवारीको बाँडफाँटमा उहाँले यसरी महत्वपूर्ण भूमिका पाउनुभएको थियो । त्यसलाई अन्तिम समयसम्म उत्तिकै सफलताका साथ निर्वाह गर्नुभयो । नोना आमाको त्यो ‘मर्निङ मिटिङ’लाई गिरिजाप्रसाद कोइराला हुँदै सुशील कोइरालासम्मले अन्तिम समयसम्मै निरन्तरता दिनुभयो । ‘मर्निङ मिटिङ’ एक प्रकारले कोइराला परिवारभित्रको आफ्नै मौलिक राजनीतिक संस्कार बनिसकेको थियो । त्यसले सिङ्गो पार्टीलाई नै ऊर्जाशील बनाउँथ्यो । अब कोइराला परिवारको राजनीतिक विरासत थाम्ने जिम्मेवारी डा शेखर कोइरालाको काँधमा छ । डा शेखर केशव–नोनाका कान्छा छोरा हुनुहुन्छ । यो बेला नेपाली कांग्रेसलाई पुनर्जीवन दिनका लागि फेरि एकपटक आम कार्यकर्ताको आशा र भरोसको केन्द्र कोइराला परिवार हुन पुगेको छ । हरेक व्यक्तिको निजी जीवनमा ‘आमा’ नै पहिलो पाठशाला हुन्छिन् । नोना कोइराला मात्रै एक गृहणीका रुपमा समित रहनुभएन । उहाँले त तत्कालीन सिङ्गो राजनीति र प्रजातन्त्रको लडाईंमा होमिएका आम नेपालीलाई आफ्नै सन्तान जसरी ममता र अभिभावकत्वको छहारीमा राख्नुभयो । उहाँले सिकाएर जानु भएको बाटोमा अब डा शेखरका पाइलाहरू अगाडि बढ्न सके र त्यसलाई निरन्तरता दिन सके नेपाली कांग्रेसको त्यो राजनीतिक संस्कारको निरन्तरता आगामी पुस्ताका लागि पनि प्रेरणाको स्रोत हुनसक्छ । उहाँले गरिब, विपन्न एवं पछाडि परेका नागरिकलाई स्वास्थ्य एवं शिक्षा क्षेत्रमा महत्वपूर्ण सहयोग उपलब्ध गराउनुभएको थियो । राजनीतिमा ३३ प्रतिशत महिलाको स्थान रहनुपर्ने माग उहाँले नै उठान गर्नुभएको थियो । जसको परिणाम आज नेपाली महिलाहरूले राजनीति या सामाजिक क्षेत्रमा जुन अवसर प्राप्त गरेका छन् त्यसको मुख्य श्रेय उहाँलाई नै जान्छ । प्रजातन्त्र स्थापनाका लागि महिलालाई जागृत र गोलबद्ध बनाउने कार्यमा उहाँको भूमिका अविस्मरणीय छ । प्रजातन्त्र प्राप्तिपछि उहाँसमेतको अगुवाइमा विराटनगरमा नारी जागृति नामक संस्थाको स्थापना भयो । यही संस्थाबाट नारीहरूलाई पढ्न लेख्न र सामाजिक रुपले अगाडि बढाउने अभियानमा उहाँले धेरै काम गर्नुभएको थियो । आज त्यो संस्था आदर्श बालिका विद्यालयमा परिणत भएको छ । (लेखक राजनीतिक विश्लेषक हुनुहुन्छ)
यस्ता छन् आत्महत्याका कारण
जीवनउपर आफैँले रोक लगाउनु वा आफूले आफैँलाई मार्नु नै आत्महत्या हो । आत्महत्या गर्नु भनेको मानव विकास, पुस्ताको निरन्तरता र सामान्य जीवन प्रक्रियाको पनि विपरीत कार्य हो । पश्चिम अष्ट्रेलिया, स्विजरल्यान्ड र अमेरिकाका केही राज्यमा स्वेच्छिक मृत्युको सुविधा भए तापनि हाम्रो देशमा आत्महत्यालाई गैरकानुनी कार्य मानिएको छ । आत्महत्याका लागि प्रयोग भएका नदीमा हेलिने, पुलबाट हाम्फाल्ने, झुन्डिएर मर्ने, विष सेवन गरेर प्राण त्याग गर्ने जस्ता हर्कतहरुले समाजलाई असीमित पीडा दिएको हुन्छ । जब आफन्तजन वा चिनेका व्यक्ति नै आत्महत्या गर्दछन् तब यी घटनाहरु हुन नदिन के गर्न सकिन्छ भन्ने बहस पनि चल्ने गर्दछ । समाजशास्त्रका अगुवा व्यक्तित्व फ्रेन्च विद्वान इमाइल दुर्खिमले आफ्नो खोजमूलक पुस्तक सुसाइडः ए स्टडी इन सोसियोलजी (१८९७) मा आत्महत्याको खास कारण मनोवैज्ञानिकभन्दा पनि सामाजिक हुने र व्यक्ति रहेको समाजसँगको अन्तरक्रियामा निर्भर गर्ने बताएका छन् । उक्त पुस्तकमा उनले अहङ्कारी, परोपकारी, असामाजिक र भाग्यवादी गरेर चार किसिमका आत्महत्याको सम्बन्धमा चर्चा गरिएको छ । उनले १९औँ शताब्दीको अन्त्यतिर गरेको विश्लेषणमा सामाजिक एकता कमजोर रहेको भनेका थिए । अहिलेको नेपाली समाजलाई नियाल्दा पारिवारिक विखण्डन र सामाजिक विचलन दुवै बढेको छ भने आत्महत्याको दर पनि बढेर गएको छ । विश्वभर वार्षिक करिब आठ लाख मानिस आत्महत्या गर्दछन् । संयुक्त राज्य अमेरिकामा वार्षिक ४५ हजार र नेपालमा वार्षिक सात हजार व्यक्तिले जीवनलाई विश्राम दिनका लागि आत्महत्यालाई रोज्ने गरेको पाइएको छ । अभिलेखमा नआएका कतिपय मामिलाले यो आँकडालाई अझ बढाउने देखिन्छ । जीवनको कुनै न कुनै समयविन्दुमा आत्महत्याको सोच आउनेहरु त करोडौँको सङ्ख्यामा होलान् । यसरी हेर्दा आत्महत्या एक साझा सामाजिक समस्याका रुपमा रहेको छ । अमेरिकामा माध्यमिक विद्यालयका विद्यार्थीहरुबीच भएको एक अध्ययनको निष्कर्षअनुसार छजना विद्यार्थीमा एकजनाले आत्महत्याको सोच राख्दछ भने ११ जनामा एकजनाले भने साँच्चै नै आत्महत्या गर्ने गरेको देखाइएको छ । आत्महत्याको कारण आत्महत्याका घटनाहरुको सामाजिक पक्षलाई सर्सर्ति केलाउँदा सानोतिनो असफलतापश्चात् आमाबाबुसँग सामना गर्न नसक्नु, प्रेम सम्बन्ध टुट्नु, उमेर नपुग्दै विवाह गर्नु, प्रेम विवाह गरे पनि बिस्तारै सम्बन्धमा दरार आउनु, अभिभावकबीचको सम्बन्धमा विग्रह आई पारिवारिक वातावरणमा तिक्तता बढ्नु, नवविवाहित जोडीमध्ये कुनै वा दुवै विदेशमा गई भेटघाट लामो समयसम्म नहुनु र सम्बन्ध बिग्रनु, मादकपदार्थ सेवन गरी हिंसाजन्य क्रियाकलाप गर्दा जीवनउपर भरोसा हराउनु, आफ्नै सन्तानबाट हेलामा पर्नुजस्ता कारण देखा पर्दछन् । सामाजिक सञ्जालको स्वच्छन्द प्रयोग पनि सम्बन्धहरु बिगार्ने र अपेक्षा बढाउने कारण भएको छ । तथापि यी कुनै पनि कारण हुँदा मृत्यु नै रोज्नुपर्ने हुँदैन । जुनसुकै अवस्थामा पनि यो अमूल्य जीवन जिउनु नै उत्तम हो । बढ्दो अपेक्षाबीच अधैर्यता बढेको र स्वयम्लाई सन्तुलनमा राख्ने ऊर्जा हराउनेजस्ता कारण भने मुख्य रुपमा जिम्मेवार देखिन्छन् । दुर्लभ छ जीवन हाम्रो जीवन भनेको महासागर जस्तै हो । सागर भनेपछि यसमा फरकफरक अवस्था पटकपटक आइरहन्छन् । तथापि, सागर हुनुको पहिचान कायम हुन्छ । कहिले शक्तिशाली आँधी आउँछ टोर्नेडो चल्दछ, कहिले सामान्य तरङ्गहरु तरङ्गित भइरहेका हुन्छन् भने कहिले सागर पनि शान्त रहन्छ । हुन त जीवनमा देखापर्ने जुनसुकै समस्याको समाधान हुन्छ । जीवनबाटै बाहिर जान खोज्नु कदापि समाधान होइन । यो त भागेजस्तो हो । आत्महत्या एक दुःखद घटना त हुँदै हो तर यो यसबाहेक अपराध पनि हो । मनन गर्नुपर्ने विषय के छभने मानवीय जीवन प्राप्ति नै आफैँमा एउटा दुर्लभ घटना हो । सिद्धार्थ गौतमले सानो उमेरमै बिमारी, बुढो र मृत्यु भएको मानिस देख्दा पीडा भएको र कारण सोधेको प्रसङ्ग छ । उनले मानव जीवनका सम्बन्धमा भनेका छन् कि मानव जीवन भनेको पीडाहरुले भरिएको छ । पीडा र दुःखहरुको कारण हुन्छ र समाधानको उपाय पनि हुन्छ । समाधानतर्फ नलागेर मरेर अर्को जन्म लिन्छु भनेर आत्महत्या गरिहाल्यो भने पनि अर्को जन्म पनि पीडारहित त हुँदैन भन्ने मनन गर्नुपर्दछ । दुःख चिन्ताको सोचाइ नै नआउने त को होला र ? त्यस्तो सोचाइ आउँदा आफूमा देखिएका संवेगहरु लुकाउनु ठीक होइन । ती संवेगलाई आफूले अनुभूत गर्ने र लुकाउनुको सट्टा आफ्नो मिल्ने र विश्वासको साथी वा आफन्त वा परिवारजनलाई सुनाउनु उपयुक्त हो । उक्त व्यक्तिले भन्ला कि मलाई पनि यस्तो भएको थियो आत्तिनु पर्दैन । घुम्न जाउ वा योगध्यान गर वा अध्ययन गर वा यो फिल्म हेर वा खेल हेर्न जाउ वा यस्तै । आत्महत्याको सोचबाट टाढा बस्ने अर्को उपाय भनेको स्वयम्लाई प्रेम गर्नु पनि हो । आफूलाई बलियो बनाउनका लागि अन्तरआत्माले के मागेको छ के कुरामा रुचि छ, जायज माग पूरा गर्ने र राम्रा उपलब्धि भएका बखत आफूलाई पुरस्कृत गर्ने अर्थात् स्वयम्लाई बधाई ज्ञापन गर्ने पनि गर्नु पर्दछ । म भगवान्को असल आत्मा हुँ र मैले मलाई नै प्रेम गर्छु जस्ता भाव जागृत गर्नु पनि असल जीवनका लागि उपयोगी हुन्छ । सद्गुरुले भन्नुभए झैँ हामी हाम्रो शरीरको असली सिर्जनाकार होइनौँ । आफूले सिर्जना नगरेको हुँदा अन्त्य गर्ने अधिकार हामीलाई छैन । हामीले त दीर्घकालसम्म प्राप्त गर्नेगरी जीवनको लक्ष्य निर्धारण गर्न सक्नुपर्दछ । एकपटक विचार गरौँ न आत्महत्या गर्नेले आफूलाई सम्हाल्न नसकेर प्राण त्याग्दछ तर के थाहा ऊ संयमित भएर बाँचेको भए जीवनमा नयाँ मोड पनि आउन सक्थ्यो । समयसँगै राम्रा कुराले पर्खेको हुन सक्छ धैर्यता राख्न सक्नुपर्दछ । जीवन रह्यो मात्रै भने पनि खुसीपूर्वक जिउने र प्रगति गर्दै जाने परिवेश देखापर्न सक्छ । मानव मस्तिष्कमा ‘सेरोटोनिन’ नामक तत्वको कमी भयो भने तनाव बढी हुन्छ भनिन्छ । यस्तो तत्व जागृत गर्नका लागि योगध्यान साधना सहयोगी हुने देखिन्छ । यस्तो खालको ध्यानको उपादेयता थाहा भयो भने व्यक्तिले नियमित रुपमा ध्यान गर्ने सम्भावना हुन्छ । ध्यानका बखत दिमाग सजग र शरीरलाई सहज भयो भने मात्र यसको प्रभाव राम्रो पर्दछ । योगका बेला पनि मन भागिहाल्यो भने त्यसलाई समातेर पुनः योगमा लगाउनुपर्ने हुन्छ । भावनाहरु मनमा आउँदा त्यसलाई हेर्ने तर प्रतिक्रिया नजनाउने गर्नुपर्दछ । फलस्वरुप तनावमा कमी आउने, आपसी सम्बन्धहरुमा सुधार हुने र जीवन जिउन सरल हुन्छ । क्षमा माग्ने र क्षमा दिने कलाको विकासले पनि मानिसको मनको भारी हलुका हुन जान्छ । रिस, घमण्ड, इष्यारुपी संवेगको भारी बोकेर हिँड्दा त्यस्तो व्यक्तिले गर्ने व्यवहार पनि खराब हुन्छ र पछि पछुताउनुपर्ने हुन्छ । मनको स्वस्थता आवश्यक चेतनशील प्राणी भएको हुँदा मानवमा संवेग उत्पन्न हुनु स्वाभाविक नै हो । मानिस मेसिन वा रोबोट हैन । चिन्तनशील प्राणी भएको हुँदा थरीथरिका संवेगहरु आइरहन्छन् तर कुन संवेगलाई कतिबेला प्रयोग गर्ने र कसरी गर्ने भनी छनोट गर्ने भने सम्बन्धित व्यक्तिले नै हो । मनमा उठ्ने विचारले व्यक्तिमा भावनाहरु तरङ्गित हुन्छन् । भावनाको किसिमअनुसार शरीरमा पनि छटपटी वा ऐँठन जस्ता असर देखा पर्दछन् भने व्यवहारमा पनि नकारात्मक असर देखापर्दछ । तर एउटा विषय के पेचिलो छभने एउटै घटनामा परेका दुई फरक व्यक्तिलाई फरक खालका भावना आउन सक्छ । कुनैमा प्रतिशोधको भावना त अर्कोमा सहयोगको भावना । मनोविश्लेषक डा करुणा कुँवरका अनुसार आत्महत्या गर्ने सोचाइ राखेका ९९ प्रतिशत व्यक्तिले आत्महत्या गर्ने अभिव्यक्ति दिन्छन् । व्यक्तिमा केही गर्न सक्छु भन्ने आशा जब कमजोर हुँदै जान्छ, तब उसले जीवन जिउनुको अर्थ देख्दैन । त्यति नै बेला उसले परिवारको सदस्य वा साथीसमक्ष खुलेर कुरा गर्नुपर्दछ र सुन्नेले सो कुरालाई गम्भीरतापूर्वक लिएर किन आत्तिएको म तिम्रो साथमा छु नि सबै ठीक भएर जान्छ भनेर उसलाई एक्लै हुने अवसर नदिएमा समस्या हटेर जान्छ । आत्महत्याको विचार पनि अरू विचार जस्तै अनित्य वा अस्थायी हुन्छ । यदि कुरा अरूलाई भन्दैन तर उसको आनीबानी हेर्दा चिन्तित छ, काममा जान पनि जाँगर गर्दैन, खाना खानसमेत मान्दैन, उसको रुचिका विषयहरुमा समेत रमाउँदैन भने मनोविद्समक्ष लगेर नियमित परामर्श लिने अवस्थाको सिर्जना गर्न सकिन्छ । शरीर मात्र हैन, मन पनि बिमारी हुन सक्छ भन्ने जागरण बढ्दै गएको छ । मानसिक रोग लाग्दा लाञ्छना लगाउने कि उसलाई उपचारको उचित प्रबन्ध गर्ने हामी परिवार, समाज र साथीभाइको बुझाइमा निर्भर गर्दछ । परिवारभित्रकै अभिभावक र अन्य सदस्य पनि संवेदनशील हुन जरुरी छ । परिवारले स्वीकार गरेन भने समुदायले समेत अस्वीकार गर्ने सम्भावना बढेर जान्छ । सुरक्षित यौन व्यवहारका विषयमा समेत खुला छलफल र संवाद हुन जरुरी छ । शारीरिक सुख भावनात्मक सुखभन्दा फरक अर्थ राख्दछ । अब्राहम मास्लोले आधारभूत आवश्यकता शरीरको आवश्यकतासँग सम्बन्धित रहेको र ती आवश्यकता पूरा भएपश्चात् क्रमशः मन र आत्मासँग सम्बन्धित आवश्यकता जागृत हुने बताएका छन् । यद्यपि, आफ्नो शरीर र मनमा उत्पन्न भएको संवेगउपर नियन्त्रण गर्नसक्ने, जिम्मेवारी लिनसक्ने हुनुपर्नेमा अरूमा निर्भर वा अरूलाई दोष थुपार्ने प्रवृत्ति हुँदा समस्या उत्पन्न भएको हुन्छ । असफल हुँदा के कस्तो सुधार आवश्यक छ भन्नेतर्फ त्यही असफल प्रयत्नबाट पाठ सिकेर आशावादी हुँदै अगाडि बढ्न सकिन्छ । मानवीय जीवनका भौतिक, बौद्धिक, भावनात्मक र आध्यात्मिक आयाममध्ये पछिल्ला दुई आयामहरुलाई समेत महत्व दिन सकेमा जीवन सन्तुलित बन्दछ । नियमित साधनाबाट कतिबेला मौन रहने, के कसरी अभिव्यक्ति दिने र सार्वजनिक रुपमा अभिव्यक्ति दिँदा विषयमा ख्याल गर्ने भन्ने समेत सिक्न सकिन्छ । संस्कार र साधना व्यक्तिमा कहीँ जान वा कसैसँग बोल्न डराउने सानो कुरामा प्रतिक्रिया जनाउने बानी छभने बुझ्नुपर्दछ कि उक्त व्यक्तिसँग ऊर्जा कम छ । शक्ति बढाउनका लागि नयाँ ढङ्गले जिउन र साधना गर्न आवश्यक छ । प्रवचन वा सङ्गीतमार्फत ऊर्जायुक्त भावनाको तरङ्ग प्रवाह गर्दा पनि सत्सङ्गमा रहनेहरुमा ऊर्जा वृद्धि हुन्छ । त्यस्तै, प्रकृतिसँग रमाउने क्रियाकलापमा सरिक हुनु उपयुक्त हुन्छ । करेसाबारीमा काम गर्ने, खेतीपाती, पशुपालन, फलफूल खेती लगायतका विकल्पहरु पनि हामीसँग छन् । फुर्सदको समयमा कौसीखेती गरेरै पनि सहरका बासिन्दाले ताजा चीजबीज जुटाएका मात्र हुन्नन् कि आफूलाई समेत चुस्त राख्ने प्रयास गरेका हुन्छन् । वास्तवमा अल्छी गर्नु भनेको सुख पाउनु कदापि हैन र मेहनत गर्नु दुःख पनि होइन । संस्कृतमा भनिएको छ– आलस्यं हि मनुष्याणां शरीरस्थो महान् रिपुः । नास्त्युधमसमो बन्धुः कृत्वा यं नावसीरति । यसको अर्थ हुन्छ ‘आलस्य नै मनुष्यको महान् शत्रु हो । उद्यम बराबरको अरू मित्र छैन । मेहनत गरेर कसैले दुःख पाउँदैन ।’ त्यस्तै छिटोभन्दा छिटो धन कमाउने सबैलाई खुसी राख्ने र जुनसुकै माध्यमबाट भए पनि धनसम्पत्ति कमाउने इच्छा राख्नु उपयुक्त होइन । लोभ र मोहले राम्रो गर्न खोज्दा अप्ठेरोमा पार्न सक्छ । अर्को एउटा श्लोक छ : लोभात् क्रोधः प्रभवति लोभात् कामः प्रजायते । लोभान् मोहश्च नाशश्च लोभः पापस्य कारणम् । यसको अर्थ हुन्छ कि ‘लोभबाट क्रोध उत्पन्न हुन्छ लोभबाट पञ्चन्द्रीय सिर्जित विषय वासना जाग्दछ र मोहले नाश हुन थाल्दछ र लोभ नै पापको कारण बन्दछ ।’ त्यसैले पनि नागरिक तहसम्म नै असल जीवन प्रणाली र साधनाको सामूहिक वातावरण सिर्जना गर्नका लागि सबैको सहयोग र सहकार्य आवश्यक पर्ने देखिन्छ । (लेखक बाग्लुङका प्रमुख जिल्ला अधिकारी हुन्)
नेपाल संवतको गरिमामय इतिहास र वर्तमान अवस्था
नेपाल संवत् अन्तर्राष्ट्रिय जगत्मै आफ्नो देशको पहिचान बोकेको एकमात्र संवत् हो । नेपाल संवत् नामैले देशको पहिचान दिन समर्थ छ । विश्वमा अरु कुनै पनि त्यस्तो सवत् प्रचलनमा भएको देखिँदैन, जसले देशको नामबाटै आफ्नो संवत्लाई चिनाएको होस् । त्यसैले, नेपाल संवतले सिङ्गो नेपालको राष्ट्रिय स्वाधीनता, एकता र राष्ट्रियतालाई आफूभित्र समेटेको छ भन्दा अत्युक्ति हुँदैन । नेपालमा धेरै संवत् प्रचलनमा आएका भेटिन्छन् । इस्वी (गे्रगोरियन), शक, मानदेव, विक्रम, हेब्रु, हिजरी, चिनियाँ, कलिगतलगायत अरु थुपै सम्वत् हामीकहाँ चलनचल्तीमा देखिन्छन् । नेपालभित्र प्रचलनमा रहेका जति पनि संवत्हरू हामी देख्छौं, नेपाल संवत्ले ती संवत्हरूभन्दा भिन्न इतिहास र भावना बोकेको पाउँछौं । नेपाल संवत् जति जनस्तरमा व्याप्त छ, चर्चित छ र राष्ट्रिय संस्कतिसँग अभिन्न रूपमा गाँसिएको छ, अरु संवत् त्यस्तो देखिँदैन । नेपाल संवत् नेपालको चाडपर्व लगायत जन्मदेखि मृत्युसम्मका सम्पूणे संस्कारहरूको मुख्य आधार हो । यस संवत्मा तिथिमितिदेखि यावत् कुराहरू व्यवस्थित छन् । कतिपय यस्ता संवत्को चर्चा पनि हुने गर्छ, जसको वर्ष गणना भए पनि तिथिमिति देखिँदैन । बुद्ध संवत्, यले संवत् यसका उदाहरण हुन् । यसमा तिथिमिति देखिँदैन । नेपाल संवत् नै एक मात्र यस्तो संवत् हो जुन जनस्तरमा आजपर्यन्त सर्वस्वीकार्य भई प्रचलनमा रहिआएको छ । इतिहास केलाएर हेर्दा विसं १८२५ (नेपाल संवत् ८८८) मा गोरखाका राजा पृथ्वीनारायण शाहले आफ्नो राज्य विस्तार गरी तत्कालीन नेपालमण्डल, जसभित्र कान्तिपुर, ललितपुर, भक्तपुर र द्वाल्खा चारवटा स्वायत्त राज्य थिए, त्यसमध्ये कान्तिपुर विजयपश्चात् क्रमशः अरु राज्यहरू पनि आफ्नो नियन्त्रणमा लिए । लिच्छविकालमा नेपाल उपत्यका र वरिपरिको भूभागलाई नेपालमण्डलको नामले पुकारिन्थ्यो । नेपालमण्डल शब्दको प्रयोग नेपालमा तत्कालीन दक्षिण एसियामा प्रचलित महाजनपद राज्यहरूजस्तै सङ्घीय नेपाल भन्ने अर्थमा प्रयोग भएको देखिन्छ । त्यतिबेला नेपालमण्डल पाँचवटा राज्यहरूको सङ्घराज्य थियो । तत्कालीन कान्तिपुर, ललितपुर, भक्तपुर, बनेपा र द्वाल्खा विभिन्न कालखण्डमा अस्तित्वमा आए र यसको सङ्घीय स्वरूप नेपालमण्डल थियो । बनेपा राज्य भक्तपुरमा गाँभिएपछि त्यो चारवटा राज्यको सङ्घ थियो । नेपाल संवत् नेपालमण्डलभरि प्रयोगमा थियो । गोर्खा राज्य विस्तारको माध्यमबाट आजको आधुनिक नेपालको स्थापना गरेपछि नेपाल संवत्लाई हटाएर शक संवत् प्रयोगमा ल्याउने काम भयो । नेपालमा शक संवत् दुईपटक प्रयोगमा आए । पहिलोपटक लिच्छवि कालमा शक संवत् प्रयोग भयो, पछि फेरि शक संवत् हटेर मानदेव संवत् र त्यसपछि नेपाल संवत् प्रयोगमा ल्याइएको देखिन्छ । दोस्रोपटक वर्तमान आधुनिक नेपाल निर्माणपश्चात् पृथ्वीनारायण शाहले पुनः शक संवत् प्रयोगमा ल्यायो । वर्तमान भारतको स्थापनापूर्व त्यहाँ झन्डै ५६५ वटा रजौटा राज्यहरू थिए । त्यसमध्येका विभिन्न राज्यहरू वज्जी, लिच्छवि, गुजरात, मेवाड, चितौड आदिमा शक संवत् चल्दथ्यो । यसरी पुनः शक संवत् प्रयोगमा आउनाका कारण केलाउँदा पृथ्वीनारायण शाहले आफ्नो पुख्र्यौली राज्यमा प्रचलित संवत् भित्र्याएको देखिन्छ । त्यतिबेला नेपालको आफ्नै नेपाल संवत् अस्तित्वमा आइसकेको थियो । नेपाल सवत् फेरि शक संवत्कै परिमार्जित र विकसित रूप पनि हो । किनकि नेपालको तिथिमिति र चाडपर्वलाई निरन्तरता दिने मात्र हैन त्यसलाई क्रमबद्ध रूपमा मनाउने पद्धति यसमै निहीत छ । जस्तै नेवाः समुदायले मनाउने मोहनी अरु समुदायले मनाउने दशैं वा दशहराभन्दा अलि भिन्न छ । नेवारहरूले कुछि भ्वय्, स्याक्वःत्याक्वः, चालँ (अर्थात् अष्टमी, नवमी र दशमी) मनाउँछ, जुन आदि कालदेखि नै क्रमवद्धरूपमा मनाउने चलन थियो र छ । स्वन्ति दीपावली (त्रिहार) भनेर लगातार तीन दिन तीन वटा तिथिमा लगातार मनाउने चलन चलिरहेको छ । नेपाल संवत् अनुसार नेवाः समुदायले लक्ष्मी पूजा वर्षको अन्तिम दिनका रूपमा मनाउँछन् । त्यस दिन विशेष गरी वर्षभरिकै हिसावकिताबको फरफारक गर्ने काम हुन्छ । लक्ष्मी पूजा गरेर धनको देवता मानेर धनधान्यले पूर्ण होस् भनेर आराधना गर्ने गरिन्छ । भोलिपल्ट नेवाः समुदायले म्ह पूजा (आत्म पूजा) गर्छन् । यसमा मन्द बनाएर आफ्नो शरीरलाई पूजा गर्ने गरिन्छ । मन्दःमा धान (वा), लावा (ताय्), आखे, गेडा मास (ग्वमाय्) कालो भट्मास (हाकुमुस्या) लगायतका खाद्यवस्तुलाई समेत राखी पूजा गरेर सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने गरिन्छ । त्यसरी नै बिमिरा, ओखर, बदाम आदिलाई पनि पूजा गर्ने चलन छ । नेपाल संवत्को प्रारम्भपछि दोस्रो दिन किजापूजा (भाइटीका) मनाइन्छ । त्यस दिन वसुधैव कुटुम्बकमको मान्यताअनुसार भातृत्वभाव प्रदर्शन गर्दै दिदीबहिनी दाजुभाइ एक आपसमा मायाँ र खुसी साट्छन् । यस्तो परम्परा नेपाल संवत् प्रारम्भ हुनुभन्दा अगाडि नै भए पनि यसलाई पछि नेपाल संवत् प्रारम्भ गर्दा म्ह पूजाकै दिनबाट नयाँ वर्ष सुरुआत गरिंदा सुनमाथि सुगन्ध भनेजस्तै भयो । पृथ्वीनारायण शाहबाट आधुनिक नेपाल निर्माण भएपछि जुन कारणले हटाइ सकेको शक सम्वत् नेपालमा पुनः चलाएपछि राणाहरूले सत्ता हातमा लिएपछि त्यसैको हुबहु नक्कल गरेर शक संवत् हटाए र वि.सं. १९६२ (नेपाल संवत् १०२६) मा तिनीहरूले पनि आफ्नै पुर्खासँग जोडेर विक्रम संवत् भित्र्याए । नेपालमा राणा शासन सुरु भएपछि जनताका राजनीतिक र आर्थिक अधिकार मात्रै होइन, सांस्कृतिक अधिकारहरू पनि थप हनन भए । नेपालको इतिहासका जानकार सबैलाइ थाहा छ, जंगबहादुर राणा नभई कुँवर थरका थिए । राजकूलका भारदार रहेका उनले कोत पर्व गरी सत्ता हातमा लिएपछि आफ्ना पुर्खाहरू तत्कालीन उज्जैन राज्यको राणाखलक भएको बताउँदै त्यहाँका राजखलकसँग नाता जोडेर कुँवरबाट राणा बने । चन्द्र शमशेरको पालामा आएर तत्कालीन उज्जैन राज्यमा प्रचलित विक्रम संवत्लाई नेपालमा प्रचलनमा ल्याउने घोषणा गरे । यदि राणाहरूमा राष्ट्रियताको भावना भएको भए नेपाल संवतलाई नै पूर्ण प्रयोगमा ल्याउन सक्थे । नेपालमा विक्रम संवत् चलाउनुपर्ने पक्षमा तर्क दिँदा अघि सार्ने एउटा मुख्य तर्क त्यतिबेलासम्म नेपालमा प्रचलनमा रहेका संवतहरू तिथिमा आधारित भएकाले प्रत्येक ४ वर्षमा १२ महिनाको सट्टा १३ महिना हुने हुँदा अतिरिक्त एक महिनाको तलब भत्ता बढी खुवाउन पर्ने बाध्यता हो भन्ने गरेको छ । तर विक्रम संवत् भित्राएको बखत त्यस संवत्मा पनि त्यहि समस्या थिए । त्यसैले त्यसमा कुनै सत्यता देखिंदैन । किनभने तत्कालिन समयमा उज्जैनमा प्रचलित विक्रम संवत् पनि तिथि सम्वत्लु (नार क्यालेन्डर) अर्थात चन्द्रमासमै आधारित थिए । नेपालमा भित्रयाइएका बेला श्री ३ चन्द्र शम्शेरले संवत् मात्रै भित्र्याएको नभई केही ब्राह्मण र ज्योतिष पनि भित्र्याए र त्यसमा गते थप्न निर्देशन दिए । अहिले पनि भारतको राजस्थान राज्यका केही भागहरूमा चन्द्रमासमै आधारित विक्रम संवत् प्रचलनमा छ । अहिले पनि कृष्ण पक्ष, शुक्लपक्ष भन्ने गरिन्छ त्यहाँ । नेपालमा गते थप्ने कामको निर्णय चन्द्र शमसेरको पालामा भए पनि गते थपेर सरकारी कामकाजमा प्रयोगमा ल्याउने काम भने भीम शमसेरको पालामा भएको कुरा प्रो। माणिक लाल श्रेष्ठले उल्लेख गर्नुभएको छ । यसरी विक्रम संवत् चलाउनुको पछाडि कुनै राष्ट्रिय भावना देखिँदैन । साँच्चै नै राष्ट्रिय भावना वा एकतालाई महत्व दिन चाहेको भए नेपाल संवत्मै पनि गते थप्न सकिन्थ्यो । नेपालमा नेपाल संवत् प्रयोगमा ल्याउनु पर्छ भनिरहँदा सबैको मनमा उब्जने प्रश्न भनेको कसरी प्रयोगमा ल्याउने भन्ने हो । त्यसका बारेमा अहिले विभिन्न चर्चा परिचर्चा हुने गरेको छ । पहिलो कुरा नेपालमा यो स्तरीय छैन, वैज्ञानिक छैन भनेर प्रश्नहरू उठाउने गरिएको छ । नेपाल संवत्को ऐतिहासिकता, वैज्ञानिकता र व्यावहारिकताका बारेमा संवत्माथि उठ्ने उठाइने यी सवाललाई हामीले हल गर्न जरुरी छ । हामीले बुझ्नुपर्ने कुरा के हो भने नेपाल संवत् प्रयोगको इतिहास गरिमामय छ । यो वैज्ञानिक पनि छ । तर स्तरीय छ कि छैन भन्ने सवालमा वहस हुन सक्दछ । सौर्यमासमा आधारित इस्वी सम्वत् पनि कतिपय देशमा पछि सुधारिएकै हो । रुसमा अक्टोवर क्रान्ति जुलियस सिजरले विकास गरेको संवत् अनुसार अक्टोबर २५ मा भएको थियो । पछि पोप ग्रेगोरीले परिमार्जित गरेका सौर्यमासमा आधारित पात्रोमा मिलाउँदा अक्टोबर क्रान्ति नोभेम्बर ७ मा पर्न गयो । सौर्यमासको क्यालेण्डरको सैद्धान्तिक अवधारणा भनेको मेष राशिदेखि १२ राशिको सूर्यको भोगावधि हो, जसको अवधि ३६५.२५ दिन हुन्छ । अर्को भाषामा भन्दा पृथ्वीलाई सूर्यको परिक्रमा पूरा गर्न लाग्ने समय ३६५ दिन र ६ घण्टा हो । त्यसैले सौर्यमासको क्यालण्डर भनेको वर्षमा ३६५.२५ दिनको व्यवस्थापन हो । सौर्यमास पात्रो नै भए पनि विक्रम संवत्मा पनि धेरै खोटहरू छन् । कुन सालमा असारमा ३२ दिन हुन्छ भन्ने कुरा निक्र्योल नहुने मात्र होइन, यसमा अधिक वर्ष कहिले पर्छ भन्ने पनि थाहा हुँदैन । यसको गणना नमिल्दा असोजमा मनाउनुपर्ने चाडपर्वहरू समेत कार्तिकमा पर्न थालि सक्यो । असारे गीत जेठमा गाउनुपर्ने भइसक्यो । त्यसैले विक्रम संवत् सुधारका अभियन्ताहरूले अव चाड पर्वहरू १ महिना अगाडी सार्नुपर्ने बताउन थालेका छन् । उहाँहरूको तर्कअनुसार विक्रम संवत् २४ दिन ढीला भइसकेका छ । यसरी हेर्दा सौर्यमासको क्यालेण्डरमा पनि सुधार आवश्यक छ । अर्को कुरा चन्द्रमासको तिथि संवतमा सौर्यमासको गते थप्दा आउने समस्याहरू पनि ज्युँका त्युँ छन् । विक्रम संवत्मा चन्द्रमासको तिथिसँगै सौर्यामासको गते थपेर प्रयोग गर्दा यस संवत्मा कुनै वर्ष चैत दसैँ नै नहुने, कुनै वर्ष २ पटक चैत दसैँ पर्ने समस्या पनि छ । त्यहि भएर होला सायद भारतले सरकारी कामकाजमा इश्वी संवत् प्रयोग गर्ने गरेको छ । चीनले पनि आफ्नो राष्ट्रिय संवतमा सौर्यमासको तरिख वा गते नथपी इश्वी संवत् नै प्रयोग गर्ने गरेको छ । प्रत्येक ४ वर्षमा १२ महिनाको सट्टा १३ महिना हुने अधिक मासको समस्या त कुनै पनि चन्द्रमासको क्यालेण्डरमा हुन्छ नै । यसको कुनै हल निकाल्न सकिँदैन । किनकि चन्द्रमासको क्यालण्डरको सैद्धान्तिक अवधारण सौर्यमासको भन्दा फरक छ । चन्द्रमा पृथ्वीको एक मात्र उपग्रह हो । यसले सूर्यको विपरीत पृथ्वीको फन्को मार्दछ । यसले हरेक २७.३ दिनमा पृथ्वीको परिक्रमा पुरा गर्छपैथ्वीको गिुरुत्वाकर्षण शक्तिले चन्द्रमालाइ प्रभाव पारिरहेको हुन्छ । प्रत्येक २९.५ दिनमा चन्द्रमा पुनः यथास्थितिमा फर्किन्छ । चन्द्रमासको संवत् चन्द्रमाको यहि घुम्ने चालमा आधारित हुन्छ । यसरी हेर्दा १ वर्षमा २९.५ गुणा १२ बराबर ३५४ दिन हुन्छ । त्यसैले प्रत्येक ४ वर्षमा अधिक मास हुन्छ । यो कुरा विज्ञानसंगत कुरा नै हो । यहि कारणले प्रायजसो देशहरूमा सरकारी कामकाजमा चन्द्रमासको संवतभन्दा सौर्यमासको संवत् प्रयोग हुन थालेको हो । चीनमा आफ्नो चिनियाँ क्यालेण्डर भएपनि उनीहरूले आफ्नो चाडपर्वमा मात्र प्रयोग गर्ने गरेका छन् र सरकारी कामकाजमा इस्वी संवत् नै प्रयोग गर्छन् । भारतमा शक संवत्, विक्रम संवत्लगायत थुप्रै संवतहरू छन् । भारतले शक संवत्लाइृ आफ्नो राष्ट्रिय संवत्को मान्यता दिएको छ तर सरकारी कामकाजमा इस्वी संवत् नै प्रयोग गर्ने गरेको छ । नेपालमा सौर्यमास थपेर विक्रम संवत् चलाए, तर यो वैज्ञानिक र स्तरीय देखिंदैन । आजभोली नेपाल संवत्मा पनि सौर्यमास क्यालेन्डर निकाल्न थालिएको छ । त्यसमा ग्रेगोरियन क्यालेन्डर जस्तै प्रत्येक ४ वर्षमा छैठौं महिना अर्थात चउला (महिना) मा १ दिन थपी अधिक वर्ष मिलाइएको छ । त्यसअनुसार नेपाल संवत्को पहिलो पाँच महिना अर्थात् कछला, थिंला गर्दै चिल्ला सम्मको पाँच महिना ३० दिन हुने, छैंठौं महिना अर्थात् चउलामा प्रत्येक वर्ष २९ दिन र ४ ले भाग जाने प्रत्येक वर्ष ३० दिन हुने र सातौं महिना बछला, तछला गर्दै कौलासम्म ३१ दिन हुने प्रबन्ध गरेको छ । यसरी पहिलो ५ महिनाको १५० दिन, छैठौँ महिनाको २९ दिन र पछिल्लो ६ महिनाको १८६ दिन गरेर ३६५ दिन हुन्छ । अब ४ वर्षमा एकचोटि चौला महिनाको २९ लाई ३० गरिन्छ, त्यसो गर्दा ३६६ दिन हुन्छ । यस हिसाबले प्रत्येक चार वर्षमा त्यसलाई व्यवस्थित गरेर जान्छ । यो गर्नुपर्नाको कारण सूर्यलाई पृथ्वीले परिक्रमा गर्दा लाग्ने ३६५.२५ को जुन पद्धति छ, त्यो अधिक ०.२५ लाई मिलाउन चौथो वर्ष एकदिन बढाइएको हो । यसरी नेपाल संवत्लाई सौर्य मासमा आधारित बनाएर लाने प्रयत्न भएको छ । नेपाल संवतको सौर्यमास प्रणाली पछिल्लो विज्ञान र प्रविधिको प्रयोग गरी विकास गरेकाले विक्रम संवत्भन्दा वैज्ञानिक र स्तरीय देखिन्छ । यसलाई कतिपय व्यवसायीहरूले आफ्नो आन्तरिक कामकाजमा प्रयोग गर्न पनि सुरु गरेका छन् । नेपाल संवत्को वैज्ञानिकताको जुन सवाल छ, त्यसमा नेपाल संवत्मा वैज्ञानिकता छैन भनेर कसैले पनि भन्न सकिने आधार छैन । विज्ञानले कारण र परिणामको माग गर्छ । चन्द्रमास पद्धतिअनुसार यसका तिथि तय हुन्छ । नेपाल संवत्को पात्रो निर्धारण गर्ने विज्ञहरूद्वारा जुन दिन सूर्यग्रहण हुन्छ भनेका हुन्छन्, त्यो दिन सूर्यग्रहण भएकै छ, जुन दिन चन्द्रग्रहण हुन्छ भनेका हुन्छन्, त्यो दिन चन्द्रग्रहण भएकै छ । त्यस्तै पूर्णिमाको दिनमा झलमल्ल जुन लागेकै हुन्छ र औंशीको दिन रात अन्धकार भएकै छ । नेपाल संवत्मा तिथिमितिहरू प्रयोग गर्दा हाम्रो देशको संस्कृति, रितिथिति र परम्पराअनुसार चाडपर्वहरूमा तिथि टुट (तुथ) नहुने गरी क्रमशः मनाउने, घडी पला नहेरी दिनभरी एउटै तिथि प्रयोग गर्ने जस्ता सौर्यमासका विशेषताहरूलाई चन्द्रमासकै तिथिमा समायोजन गरी नेपाल संवतको तिथि प्रयोग गर्ने प्रचलन छ । यस्तो प्रवन्ध विक्रम संवतमा छैन । त्यसैले आजभोली स्वन्ति (त्रिहार वा तिहार. लगातार तीन दिन) हुनुपर्ने कहिले एउटै तथि दुई दिन पारी निन्ति (दुईहार) कहिले घडी पला हेरी तिथि टुट भन्दै चार दिन पारी प्यन्ति (चारहार) हुन थाल्यो । यसपटक त सुरु र अन्त्य हिसाव गरी स्वन्ति (तिहार) ५ दिन हुन गयो । नेपाल संवत् प्रयोग गर्दा यस्तो समस्या नहोस भन्नाका लागि नै शक संवतको तिथिमितिहरूमा आवश्यक स्तरीयकरणसहित यसलाई प्रयोग गरिएको हो भन्ने यसका विज्ञहरूको दावा रहेको स्पष्ट छ । नेपाल संवत् प्रारम्भ हुनुको पछाडि राष्ट्रियताको भावना, लोकतान्त्रिक आन्दोलनसँग जोडिएका इतिहास र सामाजिक परिवर्तनका सन्दर्भहरू पनि छन् । नेपालमा अरु संवत्हरूको प्रयोगमा यस्तो देखिँदैन । हामीले पञ्चायतकालमा शुभकामना आदानप्रदानको कार्यक्रम राख्दा दमन गरी धरपकड र राज्य आतंक सृजना गरेपछि हामी पञ्चायत व्यवस्थाविरुद्ध जानैपर्ने स्थिति बन्यो । हामीले लोकतान्त्रिक आन्दोलनसँग जोडेर यसलाई अगाडि बढायौँ । राष्ट्रियताका भावना त यो संवत्सँग जोडिएकै छ । यसको नामले त्यसलाई प्रतिविम्बित गर्छ र अन्तर्राष्ट्रिय समुदायमाझ पनि चिनिएकै छ । संयुक्त राष्ट्र संघमा नेपालले सदस्यता प्राप्त भएको बखत भामरतको भन्ला फरक नेपालको मौलिकता झल्काउने माध्यमको रूपमा यहाँको मौलिक संस्कृति, लिपि, संवत् आदि प्रस्तुत गर्नुपर्ने परिस्थिति सृजना भएको थियो । त्यसको एउटा साधन संवत् पनि थियो । नेपालमा लोकतन्त्र बहाली भई २०१५ सालको पहिलो आम निर्वाचपश्चात २०१६ सालमा विश्वेश्वर प्रसाद कोइराला प्रधानमन्त्री भए । त्यसपश्चातको लोकतान्त्रिक वातावरणमा संयुक्त राष्ट्र संघका साथै विभिन्न कूटनीतिक नियोगहरूमा नेपाली प्रतिनिधिहरूको पहलमा नेपाल संवतको पहिलो दिन ‘नेपाल डे’ भनेर मनाउन सुरु भएको थियो । वास्तवमा नेपाल संवतले नेपालको पहिचान स्थापित गर्न मद्दत गरेको पनि थियो । तर नेपालमा जब नेपाल भाषा मंकाः खलःको स्थापना गरी २०३६ सालबाट नेपाल संवत्को शुभकामना आदानप्रदानको भिंतुना जुलुश कार्यक्रम अगाडि बढाइएपछि त्यसमा केही पूर्वाग्रह साँधियो र विविध बहाना बनाएर २०३८ साल (नेपाल संवत् ११०२) तिर आएर संयुक्त राष्ट्र संघ लगायतका कुटनीतिक नियोगहरूमा ‘नेपाल डे’ मनाउने परम्परा तत्कालीन पञ्चायती सरकारले गर्याे । नेपाल संवत्मा राष्ट्रियताको भावना साथै सामाजिक परिवर्तनको भावना पनि प्रचुर मात्रामा छ । जस्तो कि ऋणमोचन जस्तो लोक कल्याण, सामाजिक न्याय र परोपकारी भावना । आफूले कमाएको सम्पत्तिलाई प्रयोग गरेर सम्पूर्ण जनतालाई ऋण मुक्त बनाएर शंखधर साख्वाःले नेपाल संवत् सुरु गर्याे । साख्वाः भन्ने शब्द संस्कृतको साखवालबाट आएको देखिन्छ । इतिहासकार भूवनलाल प्रधानका अनुसार साखवाल भनेको ऋण लिने दिने एउटा आर्थिक कारोवार गर्ने समुदाय हो । यसलाई अंग्रेजी भाषामा क्रेडिटर भन्न सकिन्छ । आधुनिक बैंकिंग प्रणाली सुरु नभएको बेला लेनदेन गर्ने सबै कामहरू यिनीहरूबाटै हुने गथ्र्यो । एकजना परोपकारी भावना भएका र व्यापार विनियममा लाग्ने व्यक्तित्वले आफूले कमाएको धनसम्पत्तिबाट ऋणमोचन गरी सम्पूर्ण जनताको ऋणमोचन गरी आर्थिक दासताबाट मुक्त गरेर यो नयाँ संवत् शुरु गरेको हो । त्यसैले नेपालमण्डालका तत्कालीन मूल राजा राघवदेवले आफ्ना जनताको भलो हुने देखी इस्वी संवत् ८७९ अक्टोवर २० का दिनदेखि सम्पूर्ण तिथिहरू शक संवत् र मानदेव संवत्कै प्रयोग हुने गरी त्यसलाई यथावत नै राखेर कछलाथ्व पारुदेखि यो संवत् सुरु गरिएको देखिन्छ । यी तथ्यहरूले यो संवत्को गरिमामय इतिहास पुष्ट्याइँ गर्छ । नेपाल संवतको गरिमामय इतिहासलाई फेरी पनि पुनरस्थापित गर्नु पर्छ र शंखध साख्वाःको लोककल्याणकारी भावनालाई अन्तराष्ट्रिय क्षेत्रमा पनि प्रचार प्रसार गर्नु पर्दछ । नेपालमा पनि सबै तहको सरकार र जनस्तरमा यसको प्रयोग गर्नु पर्दछ । यस सन्दर्भमा २०४६ सालको परिवर्तन र २०६२/६३ सालको जनक्रान्तिपश्चात गरिएका निर्णयहरू उल्लेखनीय छन् । तर ती निर्णयहरूको पछाडी नेपाल संवत् आन्दोलन को महत्त्वपूर्ण भूमिका रहेको छ भन्ने कुरा भुल्नु हुँदैन । खासगरी २०५६ (नेपाल संवत् ११२०) सालमा तत्कालिन कृष्णप्रसाद भट्टराईको सरकारबाट शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नु, २०६५ साल (ने.सं. ११२८ मा निर्णय गरी ११२९ को न्हूदँको दिन घोषणा० मा तत्कालिन प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डद्वारा राष्ट्रिय मान्यताको घोषणा गर्नु र २०४४ साल (ने.सं. ११४४) मा सरकारी कामकाजमा प्रयोग गर्ने निर्णय भई कार्यान्वयनमा लानु महत्त्वपूर्ण निर्णय हो । त्यसरी नै बागमती प्रदेश सरकार र काठमाडौँ, ललितपुर लगायतका केही स्थानीय सरकारहरूले पनि नेपाल संवतलाई प्रयोगमा ल्याइसकेको छ । त्यसैले प्रत्येक नेपालीहरू, जो न्याय, स्वतन्त्रता, समानता र परिवर्तनका हिमायती छन्, सबैले यसमा गर्व गर्नु पर्छ । यसको मुख्य कारणहरूमाः पहिलो, नेपाल संवत् मौलिक संवत् हो । दोस्रो, यो कुनै देवी देवता, धर्मगुरु वा राजा महाराजाको नाममा स्थापित संवत् होइन । तेस्रो, यो संवत्सँग जनतालाई आर्थिक दासताबाट मुक्त गराएको गौरवमय जनश्रुति गाँसिएको छ । चौथो, यो संवत् स्थापना भएको बेलाका राजा राघवदेव स्वयं पनि यस संवत्का संस्थापक शंखधर साख्वाःको देशप्रेम, परोपकारी भावना र ऋणमोचनजस्तो पवित्र कार्यबाट प्रभावित भएर यो संवत् प्रचलनमा ल्याउन स्वीकृति प्रदान गरिनु आदि । अन्तमा नेपाल संवत्का प्रवर्तक हाम्रा राष्ट्रिय विभूति शंखधर साख्वाःप्रति हार्दिक सम्मान प्रकट गर्दछु । नेपाल संवत्को नयाँ वर्ष ११४५ भव्य रूपले मनाऔं, राष्ट्रिय एकता प्रकट गरौं । देशभित्र र विदेशमा फैलिएर रहेका सबै नेपालीहरूलाई म हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । (लेखक नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति २०४५ को अध्यक्ष हुनुहुन्छ)