प्रभु बैंकको सीईओ नियुक्तीमा अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौं । उच्च अदालतले प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)को नियुक्त विरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सोमबार उच्च अदालतले प्रभु बैंकका सीईओ अशोक शेरचनको नियुक्त खारेज हुनुपर्ने माग गर्दै दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । शेरचनलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको प्रावधान विपरित सीइओ नियुक्त गरिएको भन्दै अधिवक्ता अनिता थापाले माघ १३ गते सञ्चालक समितिको निर्णय खारेज हुनु पर्ने मागसहित उच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन् । शेरचन माघ १२ गते पुनः प्रभु बैंकको सीईओ नियुक्त भएका थिए ।
२५५ बैंक वित्तीय संस्था मर्जरमा, १८३ को लाइसेन्स खारेज
काठमाडौं । नेपाल राष्ट्र बैंकले पुस मसान्तसम्म २५५ बैंक तथा वित्तीय संस्था मर्ज तथा प्राप्तिमा सामेल भएको जनाएको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्यांक सार्वजनिक गर्दै पुस मसान्तसम्म कुल २५५ बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएको बताएको हो । वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०७९ पुस मसान्तसम्म कुल २५५ बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएको राष्ट्र बैंकले उल्लेख गरेको छ । यसमध्ये १८३ संस्थाहरुको इजाजत खारेज हुन गई ७२ संस्था कायम भएका छन् ।
शोधान्तर स्थितिमा सुधार, ९७ अर्ब १० करोड रुपैयाँले बचतमा
काठमाडौं । शोधारन्तर स्थितिमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्यांक अनुसार शोधनान्तर स्थिति ९७ अर्ब १० करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२४१ अर्ब २३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २ करोडले घाटामा रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति ७३ करोड ४४ लाखले बचतमा रहेको छ । समीक्षा अवधिमा चालु खाता रु.२९ अर्ब ४७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.३५२ अर्ब १६ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ९५ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २३ करोड ३३ लाखले घाटामा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १९.१ प्रतिशतले कमी आई रु.४ अर्ब ४३ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.७४ करोड ९४ लाख पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.५ अर्ब ४८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.११ अर्ब ३४ करोड रहेको थियो ।