हिमालयन–सिभिल बैंक मर्जरमा कर्मचारीको असन्तुष्टि, एक तह पद घट्ने भएपछि देशभरका शाखा ठप्प
काठमाडौं । हिमालयन–सिभिल बैंकको मर्जर प्रक्रियामा सिभिल बैंकका कर्मचारीले असन्तुष्टि जनाएका छन् । मर्जरमा कर्मचारी समायोजनमा सिभिल बैंकका कर्मचारीकाे एक तह पद घट्ने भएपछि कर्मचारीहरुले असन्तुष्टि जनाएका हुन् । उनीहरुले असन्तुष्टि जनाउँदै आन्दोलन सुरु गरेका छन् । सिभिल बैंकका कर्मचारी युनियनका महासचिव निराजन केसीले एक तह घटुवा हुने गरी कर्मचारी समायोजन गर्न लागिएको विरोधमा २ घण्टा पेन डाउन गरिएको बताए । ‘व्यवस्थापनबाट एक तहब पद घट्ने इमेल आयो, सुरुमा समान हैसियतमा हुने कुरा थियो, अहिले एक्कासी आएर पद घटाउन मिल्दैन, हामी यसको विरोध गर्छौं,’ उनले भने । उनका अनुसार बिहान १० बजेदेखि १२ बजेसम्म देशभरका शाखा कार्यालयमा पेन डाउन सुरू भएको हो । उनले लामो समयदेखि काम गर्दै आएका कर्मचारीहरुलाई पनि यसले मर्कामा पार्ने भन्दै विरोध जनाएको बताए । हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार यसअघि नै हुने भनिएपनि हालसम्म हुन सकेको छैन । यसअघि माघ १८ गते एकीकृत कारोबार गर्ने तयारी भएपनि पुनः सारेको हो । उनको अनुसार अब फागुन १० गतेभित्र एकीकृत कारोबार गर्ने दुवै बैंकको तयारी छ । राष्ट्र बैंकमा अन्तिम स्वीकृतिका लागि पुस २८ गते वार्षिक साधारण सभा सम्पन्न भएको दिन नै पत्र पठाए पनि स्वीकृति नपाएर ढिला भएको सञ्चालक बोगटीले बताए । ‘राष्ट्र बैंकमा अन्तिम स्वीकृति पाइसकेका छौं, स्वीकृति पाएको १ महिनाभित्र एकीकृत कारोबार गर्नुपर्छ, ढिलोमा फागनु दोस्रो साता सातामा एकीकृत कारोबार हुन्छ,’ उनले भने । हिमालयन बैंक र सिभिल बैंकबीच गत असार २९ गते प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।
नबिल बैंकले खातामा पठायो साढे ११ प्रतिशत नगद लाभांश, बोनस कहिले आउँछ ?
काठमाडौं । नबिल बैंकले गत वर्षको नाफाबाट वितरण गरेको लाभांश सेयरधनीहरूको बैंक खातामा जम्मा गरेको छ । सेयरधनीहरुले डिम्याट खातामा अद्यावधिक गराएको बैंक खाता नम्बरमा लाभांश जम्मा गरेको बैंकले जनाएको छ । बैंकको पुस २९ गते सम्पन्न ३८ औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बैंकले पुस २९ गतेदेखि नगद लाभांश नै सेयरधनीहरूको खातामा पठाएको जनाएको छ । बोनस सेयर भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएपश्चात् सेयरधनीहरुको खातामा जम्मा गरिने बैंकले जनाएको छ । हालसम्म अभौतिकीकरण नगराएका सेयरधनीहरुलाई यथाशीघ्र अभौतिकीकरण गराई हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गराउन बैंकले आग्रह गरेको छ । बैंकले साधारण सभा प्रयोजनका लागि पुस १८ गते बुक क्लोज गरेको गरेको थियो । त्यसैले अघिल्लो दिनसम्ममा कायम सेयरधनीहरुले मात्रै उक्त लाभांश प्राप्त गर्नेछन् ।
नबिल बैंकले गर्याे ३ वटा ऋणपत्रको ब्याज भुक्तानी, तपाईकोमा आयो ?
काठमाडौं । नबिल बैंकले ३ वटा ऋणपत्रको ब्याजदर भुक्तानी गरेको छ । बैंकले ‘१० प्रतिशत नबिल डिबेन्चर २०८२’, ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ र ‘१०.२५ प्रतिशत एनबीबी डिबेन्चर २०८५’ को ब्याज भुक्तानी गरिएको जनाएको छ । नबिल बैंकले जारी गरेको १० प्रतिशत नबिल डिबेन्चर २०८२, ८ प्रतिशत नबिल डिबेन्चर २०८५ र १०.२५ प्रतिशत एनबीबी डिबेन्चर २०८५ को अर्धवार्षिक ब्याज भुक्तानी गर्नुपर्ने रकम पुस मसान्तसम्म कायम लगानीकर्ताहरुको बैंक खातामा पठाईएको बैंकले बताएको छ । विविध कारणले ब्याज रकम हालसम्म पनि खातामा प्राप्त नभएका लगानीकर्ताहरुले हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गराउन आग्रह गरेको छ । बैंकको डिबेन्चर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ्गमा सम्पर्क गरी ऋणपत्रको ब्याज बापतको रकम प्राप्त गर्न बैंकले भनेको छ । साथै, हितग्राही खातामा बैंक खाता नम्बर बैंकहरुको मर्जर वा एक्विजिशनको कारणले परिवर्तन भएको भए द्यावधिक गराउन समेत बैंकले अनुरोध गरेको छ । साथै, ईटिडिएस प्रयोजनको लागि सम्पूर्ण लगानीकर्ताहरुले हितग्राही खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गराउनुपर्नेछ । आफ्नो ऋणपत्र धितो राखेका ऋणपत्रधनीले हकमा ब्याज रकम प्राप्त गर्न बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र अनिवार्य रुपमा पेश गर्नु पर्नेछ ।