स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्रमा आवेदन दिने समय थप
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्रमा आवेदन दिने समय थप गरिएको छ । बैंकले माघ २६ गतेदेखि निष्काशन गरेको २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्रमा फागुन ८ गतेसम्म आवेदन दिन पाइनेछ । बैंकले वार्षिक १०.३० प्रतिशत ब्याजदर भएको ‘१०.३० स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल ऋणपत्र’ बिक्री गरेको हो । बैंकको उक्त ऋणपत्रको अवधि ५ वर्ष हुनेछ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्य दरका २४ लाख कित्ता ऋणपत्र बिक्री गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १४ लाख ४० हजार किता ब्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात् २ लाख ६० हजार कित्ता सर्वसाधारण लगानीकर्तालाई निष्काशन गरिएको छ । सर्वसाधारणलाई निष्काशन गरेकोबाट ५ प्रतिशत अर्था् ४८ हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएर बाँडफाँट गरिसकेको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । बैंकले ऋणपत्र निष्काशन तथा ब्रिकी प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सक्नेछन् । आइसिआरए नेपालले इक्राएनपी आइआर त्रिपल ए रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्वहरु प्रदान गर्ने सुरक्षित बैंकको रुपमा संकेत गर्दछ ।
जनयु्द्ध दिवसका दिन बैंकिङ सेवा सुचारु गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं । सरकारले फागुन १ गते जनयुद्ध दिवस मनाउने भन्दै सार्वजनिक विदा दिने निणर्य गरेपनि बैकिङ सेवा सूचारु गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । फागुन १ गते सरकारले सार्वजनिक विदा घोषणा गरेको भए पनि उक्त दिन नगद कारोबार, चेक क्लियरिङ, आटीजीए लगायत अत्यावश्यक बैकिङ सेवा प्रदान गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो । यस्तो सेवा विहान १० बजेदेखि साढे १ बजेसम्म सुचारु गर्न केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हाे। यी सेवा दिनको लागि बैंक तथा वित्तीय संस्थाका आवश्यक शाखा तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउन भनिएको छ । नगद कारोबार, चेक क्लियरिङ लगायत अत्यावश्यक सेवा दिन बैंक तथा वित्तीय संस्थाहरुले सीमित शाखा खुला गर्नुपर्ने हुन्छ । माघ २९ गतेको मिति राखेर फागुन १ गते विहानै जारी गरेको नेपाल राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो । नेकपा माओवादीले २०५२ साल फागुन १ देखि जनयुद्ध थालेको थियो । संघीय गणतन्त्र स्थापनाको मुल आधार जनयुद्ध भन्दै माओवादी नेतृत्वको सरकारले पहिलो पटक फागुन १ गते सार्वजनिक विदा दिने निणर्य गरेको हो । यस निणर्यमा सत्ताधारी दलहरुकै असहमति रहेको छ भने जनस्तरमा सरकारी निणर्य विवादित बनेको छ ।
ग्लोबल आइएमई बैंकको ५ अर्बको ऋणपत्र बिक्री खुला, ११.२५ प्रतिशत ब्याज पाइने
काठमाडौं । ग्लोबल आइएमई बैंकले आज (माघ २९ गते, आइतबार)देखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले वार्षिक ११.२५ प्रतिशत ब्याजदरमा ५ वर्ष अवधिको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४÷८५’ निष्काशन गरेको हो । बैंकले प्रति कित्ता १ हजार रुपैयाँ अंकित मूल्य दरका ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ । जसमध्ये ६० प्रतिशत अर्थात् ३० लाख कित्ता ब्यक्तिगत र ४० प्रतिशत अर्थात् २० लाख कित्ता सर्वसाधारणका लागि बिक्री गरिनेछ । सर्वसाधारणलाई छुट्याएको २० लाख कित्तामध्ये सामूहिक लगानी कोषका लागि ३० हजार कित्ता र बाँकी १९ लाख ३० हजार कित्ता सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्। बैंकको उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रमा छिटोमा फागुन ३ गते र ढिलोमा फागुन १४ गतेसम्म आवेदन दिन पाइनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सिआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै, सिडिएस एण्ड क्लिरिङ्गले निर्माण गरेको मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ । इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग ए रेटिङ प्रदान गरेको छ । यसले न्यून कर्जा जोखिम रहेको संकेत गर्दछ ।