तत्काल एकल बिन्दुमा ब्याजदर कायम गर्न सकिँदैन : अध्यक्ष केसी
काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले तत्काल एकल बिन्दुमा ब्याजदर कायम गर्न नसकिने बताएका छन् । बुधबार नेपाल बैंकर्स संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले आर्थिक सूचकहरुमा देखिएको सुधारले बिस्तारै ब्याजदर घट्ने अवस्था देखिएपनि बैंकहरुले तत्काल एकल बिन्दुमा ब्याजदर कायम गर्नसक्ने अवस्था नदेखिएको बताएका हुन् । उनले पछिल्लो समय अर्थतन्त्रमा केही राम्रो हुने संकेत देखिए पनि बैंकहरु दबाबमा नै रहेको उल्लेख गरे । अध्यक्ष केसीले उद्योगी व्यवसायीहरुबाट बैंकको ब्याजदर बढी भएको भन्दै बैंकको ब्याजदर घटाएर एकल बिन्दुमा ल्याउन मागहरु आएपनि तत्काल ब्याजदर घटाउन सक्ने अवस्था नभएको बताए । उनले बैंकहरुले लिएको नीतिले विस्तारै ब्याजदर घट्दै जाने अवस्था देखिएको पनि उल्लेख गरे । उनले बैंकहरु कर्जाको ब्याजदरलाई स्थिर राख्नुपर्छ भन्ने विषयमा सजक रहेको बताए । अध्यक्ष केसीले संसारभर ब्याजदर बढीरहेको भन्दै नेपालमा पनि त्यसको प्रभाव परेको बताए । उनले चालु आर्थिक वर्षको पछिल्लो सात महिनामा २ सय अर्बको निक्षेप बैंकहरुले संकलन गरेको बताउँदै आर्थिक वर्षको अन्तिम ५ महिनामा २ सय ३० अर्ब जति निक्षेप संकलन गर्ने लक्ष्य रहेको बताए । उनले चालु आर्थिक वर्षमा बैंकको निक्षेप ४५० देखि ५०० अर्ब पुग्ने बताए । उनले बैंकहरुले कर्जा प्रवाह पनि चालु आर्थिक वर्षमा ४०० अर्ब हाराहारीमा गर्ने बताए । अध्यक्ष केसीले बैंकहरुको सिडी रेसियो ८६.३९ प्रतिशत रहेको बताए । ‘चालु आर्थिक वर्षको पछिल्लो सात महिनामा २ सय अर्बको निक्षेप बैंकहरुले संकलन गरेको छ, अघिल्लो आर्थिक वर्षको अन्तिम ५ महिनामा २ सय ३० अर्ब जति निक्षेप संकलन थियो, त्यति नै भयो भने पनि चालु आर्थिक वर्षमा ४३० अर्ब पुग्छौं, पछिल्लो ५ देखि ७ वर्षमा हेर्दा र कोभिड समयलाई छाड्दा अर्को २५० अर्ब बढेर ४५० देखि ५०० अर्ब अबको पाँच महिनामा निक्षेप पुग्छ भन्ने अनुमान हो, कर्जामा पनि ४०० अर्ब जतिको हाराहारीमा पुग्छौं, यस्तै अवस्थामा जाने हो भने बैंकहरुमा तरलताको चाप नहुने अवस्था देख्छौं,’ उनले भने । ‘तर अहिलको अवस्था अलि फरक रहेको छ, बैंकको ब्याजदर घटाएर एकल बिन्दुमा ल्याउनुपर्ने मागहरु रहेका छन्, अहिलेको अवस्थालाई हेर्दा बैंकहरुले कर्जाको ब्याजदर तत्काल घटाउन सक्ने अवस्था देखिँदैन, बैंकहरुले बिस्तारै रुपमा ब्याजदर घटाउँदै अगाडि बढेकाले बिस्तारै घट्दै जाने अवस्था भने देखिरहेका छौं, बैंकहरु पनि कर्जाको ब्याजदरलाई स्थिर र सहज अवस्थामा राख्ने विषयमा सहजक छौं, त्यसको प्रभावकारीता कसरी बढाउने विषयमा बैंकहरु लागिरहेका छौं,’ उनले थपे । अध्यक्ष केसीले बैंक वित्तीय संस्थामा खाता खोलेका ४ करोड खातावालालाई संरक्षण दिन खोज्दा बैंक वित्तीय संस्थाबाट ऋृण लिएका १८ लाख ऋणीले दबाब सिर्जना गरेको बताए । उनले अहिले नेपालमा मात्रै ब्याजदर बढेको नभएर भारतको केन्द्रिय बैंकले केही दिनअघि मात्रै ०.२५ प्रतिशतले नीतिगत दर बढाएको बताए । उनले बैंक वित्तीय संस्थाले आफ्नो पुँजीभन्दा कैयौं गुणा रकम सर्वसाधारणबाट लिएर कारोबार गरिरहेकाले ऋणीभन्दा पनि निक्षेपकर्तालाई प्राथमिकतामा राख्नुपर्ने अवस्था रहेको बताए । उनले बजारमा ऋणीको धेरै कुरा आएको तर निक्षेपकर्ताको विषयमा कुनै कुरा नआएको बताए । उनले बैंकहरुले निक्षेपकर्ताको संरक्षणको विषयमा पनि सोच्नुपर्ने भएकाले अहिले बैंकिङ क्षेत्र पनि दबाबमा रहेको बताए । अध्यक्ष केसीले पछिल्लो समय अर्थतन्त्रमा केही सकारात्मक संकेत देखिए पनि अझै अर्थतन्त्र पूरै लयमा नभएको बताए । उनले अझै सजक हुनुपर्ने अवस्था रहेको भन्दै केन्द्रिय बैंकले मौद्रिक नीतिको समीक्षामा कुनैपनि दर संशोधन नभएको उल्लेख गरे । अध्यक्ष केसीले ऋणीहरुले बैंक बिरुद्ध आन्दोलन गर्दा भविष्यमा बैंकिङ उद्योगलाई अफ्ठ्यारो पार्ने अवस्था आएको बताए । उनले बैंकहरुले कोभिड महामारीको अवस्थामा पनि ९३ सय अर्ब निक्षेप राख्ने निक्षेपकर्ताहरुको हरेक दिनको ब्याज भनेको समयमा दिइरहेको पनि बताए । उनले ऋणीहरुले बैंकबाट कर्जा लिएर उद्योग खोल्दा पनि उद्योगमा बैंकहरुको बढी पुँजी रहेको बताए । उनले बैंकहरुको आग्रहमा राष्ट्र बैंकले साना तथा घरेलु व्यवसायीहरुलाई कर्जा बुझाउने समय थप गरेकाले केही सहजता ल्याउने बताए । बैंकिङ क्षेत्रमा कोभिडको समयमा प्रवाह गरेको कर्जा समेत उठ्न नसकेकाले खराब कर्जाको अवस्था वृद्धि हुँदै गएको बताउँदै उनले बैंकहरुको खराब कर्जाको अवस्था २.२४ प्रतिशत रहेको बताए ।
‘ब्याजदर सडकबाट निर्धारण हुनु हुँदैन, १२ सय प्रतिशत लाभांश दिने कम्पनी पनि नेपालमा छन्’
अहिले बैंकिङ क्षेत्रको विषयमा नकारात्मक टिप्पणीहरु भइरहेका छन् । जुन दुखदायी विषय हो । विश्वव्यापी रुपमा नै अर्थतन्त्र सकसमा छ । स्थिति सुधार हुन सकेको छैन । अझै ब्याजदर बढ्ने क्रम जारी छ । अमेरिकामा समेत ४.५ प्रतिशत पुगेको छ । अमेरिकामा ब्याजदर एक वर्ष अगाडि एक प्रतिशतको हाराहारीमा थियो । अमेरिका एउटा शक्तिशाली अर्थतन्त्र भएको देश भएकोले पनि यसको असर संसार भर नै पर्छ । भारतमा पनि ०.२५ प्रतिशतले ब्याजदर बढाइयो । अहिले तेलको मूल्य पनि बढिरहेको छ । आइएमएफ र विश्व बैंकले पनि अर्थतन्त्र तत्कालै सुधार हुने स्थिति नभएको रिपोर्टहरु प्रकाशन गरिरहेका छन् । यसले पनि हाम्रो अर्थतन्त्र अहिले नै सुधार हुन्छ भन्ने अवस्था देखिँदैन । विश्वव्यापी अवस्थाबाट नेपाल पनि छुट्टै बस्न सक्दैन । अहिले बैंकको ब्याजदर एकल अंकमा झार्नु पर्छ भन्ने मागहरु पनि उठिरहेका छन् । जुन माग नाजायज हो । यो आफैमा गाह्रो पर्ने विषय हो । नेपालको अर्थतन्त्रको मुख्य सूचक रेमिट्यान्स हो । अहिले रेमिट्यान्स बढिरहेको छ । विगतमा एक महिनामा ७६ अर्बको हाराहारीमा रेम्टियान्स आउँथ्यो । पछिल्लो समय ९८ अर्बको हाराहारीमा पुगेको छ । गत महिना मात्रै १०४ अर्ब पुगेको छ । मासिक रुपमा रेमिट्यान्सको ग्रोथ बढिरहेको छ । आयात पनि विगतका महिनाहरुको तुलनामा घटिरहेको छ । पहिले प्रत्येक महिना १६७ अर्बको आयात हुन्थ्यो । अहिले घटेर १३० अर्बसम्ममा झरेको छ । यसले हामीलाई केही सुधारको संकेत देखिएको छ । करेन्ट एकाउन्ट डेफिसेट पनि घटिरेहेको छ । अहिले निक्षेप पनि २०० अर्ब बढेको छ । अबको पाँच महिनामा ५ सय अर्बको हाराहारीमा निक्षेप पुग्ने हामीले अनुमान गरेका छौं । निक्षेप यही हारहारीमा बढ्यो भने कर्जा लगानी पनि ४ सय अर्बसम्म गर्न सकिन्छ । यसले पनि तरलता सहज हुने अवस्थाको अनुमान गर्न सकिन्छ । अहिले ८६.३९ प्रतिशत सीडी रेसियो छ । बाह्य र आन्तरिक परिस्थिति पनि केलाउनु पर्ने हुन्छ । अझै हेर र पर्खको अवस्थामा छौं । यसअघि हामीले एकदमै नियालेर ब्याजदर केही घटायौं । अब आत्रिक ट्रेजरी जारी गरेर मनि सप्लाई बढाउनु पर्छ । बाहिरबाट ऋण ल्याउँदा समय लाग्छ । सरकारको फोकस पनि यसमा हुनु पर्छ । तरलतामा अझै चाप आउने देखिन्छ । केही राम्रो हुने संकेत देखिँदा पनि केही सजगता भने अपनाउनै पर्छ । सोही ढंगले हामीले अगाडि बढ्नु पर्छ । अहिले ब्याजदर बढी भयो भनेर कम गर्नु पर्ने माग छ । अहिलेको परिस्थितिले ब्याज घटाउने अवस्था देखिँदैन । तर, विस्तारै घट्न सक्छ भन्ने हाम्रो अनुमान छ । आजको दिनमा बैंक तथा वित्तीय संस्थाको कुल ५३ खर्ब निक्षेप छ । वाणिज्य बैंककै ४७ खर्ब छ । ४ करोड ४७ लाख निक्षेप खाता छन् । हरेक मानिसहरु बैंकसँग जोडिएका छन् । उनीहरुसँगको हाम्रो उत्तरदायित्व बढी छ । हामीले ४ करोड ४७ लाख खाताको पैसा १८ लाख ऋणाीलाई दिएका छौंं । हाम्रो आजको बुझाइ भनेको निक्षेपकर्ताको भलो चाहनु पर्छ । कसैले ५ हजार कसैले १० हजार जम्मा गरेर छोराछोरीको पढाइ खर्च, घर खर्च भनेर जम्मा गर्नु भएको छ । उहाँहरुकै पैसा चलाएर हामीले १८ लाख ऋणाीलाई कर्जा दिने हो । अहिले हामीलाई दबाब भनेको १८ लाख ऋणीबाट छ । किनकी उनीहरुको आवाज बढी सुनिन्छ । उनीहरुको हरेक क्षेत्रमा पहुँच हुन्छ । हामीले सन्तुलित व्यवहार गर्नु पर्ने हुन्छ । सबैको पैसा सुरक्षित रुपमा फिर्ता गर्नु पर्ने हाम्रो दायित्व रहन्छ । हामीले ६ सय अर्ब बढीको पुँजी चलाइरहेका छौं । यो सबै पैसा जनताको नै हो । जहिले पनि निक्षेपकर्ताको इन्ट्रेष्टको कुरा कम आउने र ऋणीको कुरा बढी आउने भइरहेको छ । त्यसमा पनि जसले तिर्न सकिरहेका छैनन्, उनीहरुले अनेक बाहना खोज्ने काम भइरहेको छ । उनीहरुले नेपालको बैंकिङ क्षेत्रलाई समस्यामा पार्न खोजिरहेका छन् । त्यसले गर्दा हामीले साढे चार करोड खातालाई अन्याय गरेर १८ लाख ऋणाीको न्याय गर्नु कत्तिको जायज हो ? जुनसुकै अवस्थामा पनि हामीले ग्राहकलाई हरेक दिनको ब्याज दिइरहेका छौं । तर, ऋणीले अनेकन बाहना खोजिरहेका छन् । बैंकिङ क्षेत्रका ऋणाीहरुमा पनि हाम्रो दायित्व छ । ऋणीहरुलाई ८० प्रतिशतसम्मको कर्जा हामीले लगानी गरेका छौं । २० प्रतिशत उनीहरुको जोखिम हुन्छ । व्यवसायीहरुको लगानीमा हाम्रो पनि लगानी हुन्छ । त्यसमा हामीले पनि साथ दिनु पर्छ । उनीहरु समस्यामा परे भने हामी पनि समस्यामा पर्छौं भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ । तर, कुरा बुझ्नु पर्छ । केही दिन अगाडि मात्रै हामीले राष्ट्र बैंकलाई आग्रह गरेर साना ऋणाीलाई केही सहज नीति आयो । उहाँहरुलाई सपोर्ट गर्नु पर्छ भन्ने माग हाम्रो पनि हो । त्यसले केही राहत पुग्ला । अहिले बैंकहरुको नाफाको विषयमा पनि अनेकन चर्चा हुन्छन् । अहिले बैंकहरुसँग करिब ७ सय अर्बको पुँजी छ । आजको दिनमा बैंकहरुको नाफा ३० अर्ब छ । अब केही सुधार भयो भने ६० अर्ब पुग्ला । ७ सय अर्बले ६० अर्बलाई भाग गर्यो भने ११ प्रतिशत मात्रै हुन्छ । अहिले बैंकको औसत रिर्टन ११ प्रतिशत मात्रै छ । यो भनेको कसरी बढी नाफा भयो ? अहिले केही व्यवसायको नाफा ७०÷८० प्रतिशतले बढेको छ । लाभांशदर कतिको शतप्रतिशत छ भने कतिपयको १२ सय प्रतिशतसम्मको लाभांशदर छ । ती व्यवसायहरुको आरओई एकदमै बढी छ । तर, बैंकहरुको आरओई ११ प्रतिशत मात्रै छ । बैंकहरुको आरओई प्रत्येक वर्ष घटिरहेको छ । कति लगानीमा कति नाफा भयो भनेर बुझ्नु पर्छ । अहिले बैंकिङ क्षेत्र एउटा प्रेसरमा काम गरिरहेको छ । त्यो प्रेसर कोभिडको समयदेखि सुरु भएको हो । अहिले फेरि बाह्य र आन्तरिक कारणले समस्या भएको हो । यसमा हामीले कसरी जाने भनेर काम गरिहरेका छौं । खराब कर्जा २.२४ प्रतिशत छ । यो अझै बढ्न सक्ने जोखिम देखिन्छ । हाम्रो खराब कर्जा दक्षिण एसियाको अन्य देशको तुलनामा कम हो । अहिले परिस्थितिले हामीलाई निरुत्साहित गरिरहेको छ । कोभिडको समयमा हामीले ब्याज घटाएका थियौं । सडकबाट ब्याजदरको विषय खोजिन्छ भने सबै कुरा सिधिन्छ । हामीले पनि सिमेन्टको मूल्य यति रुपमा पाइनु पर्छ भनेर विरोध गर्यो भने परिस्थिति कस्तो बन्छ ? यस्तो अवस्था आउनु राम्रो होइन । (नेपाल बैंकर्स संघका अध्यक्ष समेत रहेका केसीले बुधबार पत्रकार सम्मेलनमा राखेको विचार ।)
एक वर्षपछि १२ प्रतिशत मूल्यवृद्धि हुने राष्ट्र बैंकको प्रक्षेपण
काठमाडौं । नेपाल राष्ट्र बैंकले, आर्थिक वर्ष २०७९/८० (२०२२/२३) को दोश्रो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षण नतिजा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले २०७९ पौष २४ देखि पौष ३० सम्म ६० बजार क्षेत्रका व्यक्तिहरुसँग अन्तरवार्तामार्फत् गरेको मुद्रास्फीति सर्वेक्षण नतिजा सार्वजनिक गरेको हो । राष्ट्र बैंकले २ हजार बढी उत्तरदाताहरुसँग गरिएकोसर्वेक्षणमा आधारित भएर सर्वेक्षण सार्वजनिक गरेको हो । ८४.६ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन् । त्यसैगरी, ९२.३ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन्। अबकोतीन महिनामा र एक वर्षमा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोज, २०७९ को तुलनामा घटेको छ । यस्तै, खाद्यका साथै खाद्य उपसमूह अन्तर्गतको माछा, मासु, दूध, घ्यू तथा तेल र होटल तथा रेस्टुरेन्टबाहेकका सबै खाद्य उपसमूहमा अबकोतीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोज, २०७९ को तुलनामा बढेको छ । गैर–खाद्य वस्तु तथा सेवा र घरजग्गा (आवास) समूहमा अबको तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोज, २०७९ को तुलनामा केही घटेको छ । खाद्यका साथै खाद्य उपसमूह अन्तर्गतको माछा, मासु, दूध तथा घ्यू; पेय पद्घार्थ तथा सूर्ती र होटल तथा रेस्टुरेन्टबाहेकका सबै खाद्य उपसमूह, गैर–खाद्य तथा सेवा र घरजग्गा (आवास) समूहमा अबको एक वर्षमा मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरूका हिस्सा असोज, २०७९ को तुलनामा घटेको छ । तीन महिना पछि र एक वर्ष पछिको मध्यक अपेक्षित मुद्रास्फीति २०७९ असोजकोतुलनामा समान रहेको छ भने तीन महिना पछिको औसत र एक वर्ष पछिको औसत अपेक्षित मुद्रास्फीति घटेको छ । तीन महिना र एक वर्ष पछिको मध्यक अपेक्षित मुद्रास्फीति क्रमशः १० प्रतिशत र १२ प्रतिशत रहेको छ ।