कालोमोसो दल्नेविरुद्ध बैंकर्स एकजुट, ‘ऋण तिर्दिन भन्नु अराजक हो’

काठमाडौं । बैंक तथा वित्तीय संस्था र लघुवित्त संस्थाविरुद्ध देशव्यापी आन्दोलन चर्केपछि बैंकिङ्ग क्षेत्रका ४ वटा संघले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् । आर्थिक गतिविधिमा नै नकारात्मक असर पर्ने गरी आन्दोलन गरेको भन्दै बिहीबार प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुको छाता संगठन नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशेसिएसन, वित्तीय संस्था संघ र लघुवित्त बैंकर्स संघले संयुक्त प्रेस वक्तव्य जारी गरेका हुन् । बैंक तथा वित्तीय संस्था र लघुवित्तबाट ऋण लिएर कर्जा तिर्दैन भन्नु अराजक गतिविधि भएको उनीहरुले बताएका छन् । साथै, संस्थाबाट ऋण लिएपछि कर्जा र ब्याज भुक्तानी गर्नुपर्ने ऋणीको दायित्व रहेको उनीहरुको भनाइ छ । ‘ऋण लिएपछि कर्जाको साँवा र किस्ता तिर्नु पहिलो दायित्व हुन्छ, विभिन्न शर्तहरुको अधिनमा रही कर्जा लिएपछि तिर्दैन भन्नु अराजकता हो, यस प्रकारका क्रियाकलापहरु कसैको हितमा नहुने, असहज वातावरण सृजना गर्ने र आर्थिक गतिविधिमा समेत नकरात्मक असर पार्ने हुँदा यसप्रति सजग रहन आग्रह गर्दछौं,’ संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ । पछिल्लो समय केही व्यक्तिहरुले बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुविरुद्ध नकारात्मक टिप्पणी र आन्दोलनको घोषणा गरेका छन् । कर्मचारीहरुलाई हतोत्साही हुनेगरी धम्कीपूर्ण अभिव्यक्ति र अराजक गतिविधि गर्दै आएका छन् । ‘कुनै पनि विरोधको आडमा जबरजस्ती कानून आफ्नो हातमा लिने अराजक घट्नालाई समयमै नियन्त्रण गर्न राज्यको ध्यान जानुपर्छ, नियामक निकायद्वारा जारी गरिएको नीति, निर्देशन तथा ऐनको अधिनमा रही बैंकिङ्ग सेवा प्रदान गर्दै आएका छन्, ग्राहकहरुको हकहिततर्फ सदैव सचेत रही कानून विपरित गतिविधिहरु नगर्न र केही समस्या भए सम्बन्धित संस्थासँग छलफल गरी अघि बढ्नु नै हितकारी हुनेछ,’ प्रेस विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि विरोधको आडमा जबरजस्ती कानून आफ्नो हातमा लिने अराजक घट्नालाई समयमै नियन्त्रण गर्न राज्यको ध्यान जानुपर्छ ।’ बैंक तथा वित्तीय संस्थाहरुले ४ करोड ८३ लाख भन्दा धेरै निक्षेप खाता मार्फत झण्डै ५४ खर्ब निक्षेप संकलन र १८ लाखभन्दा धेरै ऋणीहरुलाई ४८ खर्बभन्दा बढी कर्जा प्रवाह गरेको बताइएको छ । बैंकिङ्ग क्षेत्रले ५३ हजार बढीलाई प्रत्यक्ष रोजगारी दिएको र गत आर्थिक वर्ष ३४ अर्ब कर सरकारलाई तिरको बताइएको छ । साथै, कोरोना महामारीका बेलामा १० अर्ब बढी ब्याज छुट दिएको प्रेस विज्ञप्तिमा भनिएको छ । साथै, देशको दुरदराजमा लघुवित्त संस्थाहरुले झण्डै ६० लाख निक्षेप खाता तथा ३२ लाख भन्दा धेरै ऋणीहरुलाई सेवा प्रदान गर्नुका साथै २३ हजार रोजगारी दिएका छन् ।

धनगढीका व्यवसायीले बैंकको शाखामा झुण्ड्याए ‘नो डिपोजिट’को ब्यानर (फोटो फिचरसहित)

काठमाडौं । कैलालीका उद्योगी व्यवुसायीहरुले बैंक तथा वित्तीय संस्थाविरुद्ध ‘नो डिपोजिट’ अभियान चलाएका छन् । बैंक तथा वित्तीय संस्थाको विरोध गर्दै कैलालीका उद्योगी व्यवसायीहरुले शाखा कार्यालयमा धर्ना दिनुका साथै नो डिपोजिट अभियान चलाएका हुन् । कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष पुस्कर ओझाले बैंक तथा वित्तीय संस्थाको चर्काे ब्याजदर र राष्ट्र बैंकको अव्यवहारिक नीतिका विरुद्ध नो डिपोजिट अभियान चलाएको बताए । ‘बैंकको चर्को ब्याजदर र नेपाल राष्ट्र बैंकको अव्यवहारिक नीतिविरुद्ध उद्योग बाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश, विभिन्न बस्तुगत संघहरु लगायत व्यवसायीहरुको आव्हानमा सांकेतिक बिरोध स्वरूप ‘नो डिपोजिट’को कार्यक्रम आयोजना गरिएको छ,’ उनले भने । धनगढीमा सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाहरुका शाखा कार्यालयमा नो डिपोजिटको ब्यानर टाँसिएको छ भने र नेपाल राष्ट्र बैंकको कार्यालय घेराउ गरिएको उपाध्यक्ष ओझाले बताए । सुदूरपश्चिम प्रदेशका उद्योगी व्यवसायीहरुले आफ्ना उद्योग व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।  

मर्जरपश्चात् सिभिलका ग्राहकलाई हिमालयन बैंकमा सास्ती

काठमाडौं । मर्जरपश्चात् हिमालयन बैंकको डिजिटल कारोबारमा अभ्यस्त नहुँदा साविक सिभिल बैंकका ग्राहकले सास्ति खेप्नु परेको छ । हिमालयन बैंकसँग गाभिएपछि सिभिल बैंकका ग्राहकहरुलाई डिजिटल कारोबारमा सकस परेको हो । साविक सिभिल बैंकका एक कर्मचारीले हिमालयन बैंकको डिजिटल कारोबार प्रयोग गर्न सकस परेको बताए । साविकको सिभिल बैंकको मोबाइल एप मर्जर पश्चात् बन्द भइसकेको छ । उक्त एप प्रयोग गरिरहेका ग्राहकहरुलाई हिमालयन बैंकको मोबाइल एप प्रयोग गर्न भने सकस परेको बैंकका एक कर्मचारीले विकासन्युसँग बताए । ‘सिभिल बैंकको एप बन्द भएपछि ग्राहकहरुले हिमालयन बैंकको एप चलाउनुपर्छ, सिभिल बैंकका ग्राहकलाई हिमालयन मोबाइल बैंकिङ्ग एप चलाउन सकस भयो, फरक सफ्टवेयर भएपछि ग्राहकलाइ चलाउन सकस पर्याे,’ उनले भने । साविक सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले डिजिटल बैंकिङ्गमा जोड दिएका थिए । उनले डिजिटल बैंकिङ्गमा जोडबल गरेका कारण मोबाइल एप प्रयोगकर्ता १ लाख भन्दा बढी थिए । जसका कारण उनले १ वर्षको अवधिमा ५० अर्बको निक्षेपलाइ ९० अर्ब पुर्याउन सफल भएका थिए । तर, अहिले हिमालयन बैंकको एप प्रयोग गर्न भने झण्झट रहेको एक कर्मचारीले बताए । ‘सिभिल बैंकका कर्मचारीदेखि ग्राहकहरु डिजिटल बैंकमा अभ्यस्त थिए, बैंकले डिजिटल बैंकिङ्गलाई जोड दिएपछि ५० अर्बको निक्षेप ९० अर्ब पुगेको थियो, ११ सय जना कर्मचारीबाट ९ सयमा झारेको थियो, डिजिटल बैंकिङ्गको अभ्यासले सम्भव भएको हो,’ उनले भने । हिमालयन बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) उज्जव राजभण्डारी मर्जरपश्चात् समस्या आएको भएपनि सुधार गरिरहेको बताउँछन् । सुरुमा सिस्टम व्यवस्थापन गर्नुपर्ने भएकाले ग्राहकलाई समस्या परेको हुन सक्ने उनको भनाइ छ । ‘साविक सिभिल बैंकको वेवसाइट सर्च गर्दा स्वतः हिमालयन बैंकको वेभसाइट खुल्छ, सिस्टम मिलाउँदा एक/दुई दिन गाह्रो परेको हुन सक्छ, चेक क्लियरिङमा समस्या समाधान भइसक्यो, सिस्टम फरक हुँदा समस्या परेको हो,’ उनले भने । हिमालयन बैंकको मोबाइल बैंकिङ्ग एपमा इमेल र फोन नम्बर अनिवार्य राख्नुपर्ने भएकाले साविक सिभिल बैंकका ग्राहकहरुलाई समस्या आएको उनको भनाइ छ । मोबाइल बैंकिङ्गमा देखिएको समस्या आजदेखि समाधान हुने उनले बताए । ‘हाम्रो मोबाइल बैंकिङ्ग एपमा फोन नम्बर र इमेल अनिवार्य चाहिन्छ, इन्टरनेट बैंक पनि माइग्रेट गरिरसक्यो, पहिला पनि ३/४ हजार एकाउन्टको मोबाइल बैंकिङ्ग चलेको थियो तर, नमिलेकोहरुको आजदेखि मोबाइल बैंकिङ्ग समस्या समाधान हुन्छ,’ उनले भने । साविक सिभिल बैंक र हिमालयन बैंकमा काम गर्ने सिस्टम फरक भएकाले शाखा कार्यालयमा ग्राहकहरुलाई सहज ढंगबाट सेवा दिने गरी निर्देशन पठाइसकेको उनले जानकारी दिए । ‘नयाँ आएका हिमालयन बैंकको शाखा कार्यालयलाई पूर्ण अधिकार दिइएको छ, एकदुई दिन समस्या आएको हो, आइतबारदेखि कुनै पनि समस्या आउँदैन,’ उनले भने । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरी फागुन १२ गतेदेखि एकीकृत कारोबार गरेको थियो । हिमालयन बैंकले सिभिललाई प्राप्ति गरेर हिमालयन बैंकको नामबाट एकीकृत कारोबार गरेको हो । बैंकले आफैले विकास गरेको हिमालयन मोबाइल बैंकिङ्ग (एचएमबि) एप मार्फत् ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।