नेपाली बैंकको पुँजी र जगेडा कोष बलियो छ, बढेको खराब कर्जाले फरक पार्दैन : सीईओ राणा

काठमाडौं । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बैंकको खराब कर्जा बढ्दा खासै ठूलो असर नपर्ने बताएका छन् । सोमबार नेपाल बैंकर्स संघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अहिले बैंक तथा वित्तीय संस्थाको खराब कर्जाको अनुपातको विषयमा चौतर्फी चिन्ता व्यक्त भएपनि यसले खासै ठूलो असर नपर्ने बताएका हुन् । उनका अनुसार नेपाली बैंकहरुको पुँजी र जगेडा कोष बलियो भएकोले पनि बढेको खराब कर्जाले खासै असर गर्दैन । उनले ब्याजदर घट्दै गएकाले बजार चलायमान हुने विश्वास व्यक्त गरे । खराब कर्जा बढे पनि नेपालका बैंकहरू बलियो अवस्थामा छन्, हाम्रो पुँजी र जगेडा कोष बलियो छ, बढेको खराब कर्जाले ठूलो समस्या सिर्जना गर्छ भन्ने छैन,’ उनले भने ।

आधा दर्जन बैंक क्यापिटल एडुकेसीको चापमा परे : अध्यक्ष केसी

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले आधा दर्जन बैंक क्यापिटल एडुकेसीको चापमा परेको बताएका छन् । सोमबार नेपाल बैंकर्स संघले गरेको पत्रकार सम्मेलनमा उनले अहिले करिब आधा दर्जन बैंक क्यापिटल एडुकेसीको चापमा परेको बताएका हुन् । उनका अनुसार चार वटा बैंक भने क्यापिटल एडुकेसीको ठूलो मारमा छन् । उनले अहिले औसतमा बेसरेट १०.२७ प्रतिशत रहेको र ब्याजदर अझै घट्ने क्रममा रहेको बताए । असारको अन्तमा ४ प्रतिशत स्प्रेडदर कायम गर्दा कर्जाको ब्याजर पनि घट्ने उनी बताउँछन् । ‘यो वर्ष ३ खर्ब निक्षेप बढेको छ, कर्जाको तुलनामा निक्षेप बढेको छ, तरलता पनि सहज हुँदै गइरहेको छ, अझैं  २ सय अर्ब बढ्न सक्छ, कर्जा पनि बढ्ने अनुमान छ,’ उनले भने । सरकारको खर्च बढ्न सके बैंकिङ उद्योग सहज हुने अध्यक्ष केसी बताउँछन् । यस वर्ष आर्थिक गतिविधि कम भएको कारण केही असर पर्न सक्ने उनको भनाइ छ ।

तरलता सहज हुँदैछ, ब्याजदर अझै घट्छ : बैंकर्स संघ

काठमाडौं । नेपाल बैंकर्स संघले ब्याजदर अझै घट्ने बताएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर संघले ब्याजदर अहिले पनि घट्दो क्रममा रहेको र अझै घट्ने बताएको छ । संघका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शर्माले ब्याजदर अझै घट्ने बताए । ‘अर्थतन्त्रका विभिन्न सूचकहरु सुधारको दिशामा छन्, निक्षेप पनि बढ्दै गइरहेको छ, तरलता सहज हुँदैछ, ब्याजदर अझै घट्छ,’ उनले भने । उनले सरकारको खर्च बढ्दा निक्षेप बढ्ने आशा रहेको बताए । तरलता सहज अवस्थामा रहेको र कर्जाको तुलनामा निक्षेपको दर बढेको उनी बताउँछन् ।