एनएमबी बैंकको महोत्तरी शाखामा लुटपाट

काठमाडौं ।  महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिका(३ मा रहेको एनएमबी बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ । मंगलबार मध्याह्न १२:२८ मिनेटमा क्यास काउन्टरबाट रकम लुटपाट भएपनि कति रकम लुटपाट भयो भन्ने नखुलेको प्रहरीले जनाएको छ । प्रहरीले लुटेराको खोजी भइरहेको जानकारी दिएको छ ।

एम बैंकबाट आइएमई पेमा पैसा लोड गर्ने ग्राहकलाई १ हजारको क्यासब्याक

काठमाडौं । आइएमई डिजिटल सोलुसनको ‘आइएमई पे’ ले एम बैंक मार्फत आइएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकलाई १ हजार क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ । सहकारी संस्थाका ग्राहकलाई विद्युतीय भुक्तानी तर्फ प्रेरित गर्न आइएमई पेले एम बैंक मार्फत आइएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकलाई १ हजार क्यासब्याक दिने भएको हो । सो क्यासब्याक अफर अन्तर्गत प्रत्येक हप्ता एक जना प्रयोगकर्ताले १ हजार क्यासब्याक जित्न सक्नेछन् । क्यासब्याकको रकम विजेतालाई वालेटमा प्रदान गरिने छ । यो क्यासब्याक अफर केही समयावधिका लागि मात्र लागु हुनेछ । केही समय यता आइएमई पे र एम बैंक बिच सहकारी संस्थालाई डिजिटल भुक्तानीसँग जोड्ने उदेश्यका साथ यो सम्झौता भएको थियो । सो सम्झौता पत्र आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम बैंकका प्रमुख कार्यकारी अधिकृत बिष्णु महर्जनले हस्ताक्षर गरेका थिए ।

कुमारी बैंकले १२१ रुपैयाँमा साढे ७ लाख कित्ता सेयर बेच्दै

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले ७ लाख ५७ हजार ६९९ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । बैंकले संस्थापक समूहको सेयर जेठ १६ गतेदेखि जेठ २२ गतेसम्म बिक्री खुला गरेको हो । बैंकले बिक्रीमा राखेको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता १२१ रुपैयाँ तोकेको छ । आवेदन दिँदा सो वा सो मूल्यभन्दा बढी कबोल गरी पेश गर्नुपर्नेछ । खरिद गर्न इच्छुक लगानीकर्ताहरुले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । प्राप्त शिलबन्दी बोलपत्रहरु जेठ २३ गते खोलिने बैंकले जनाएको छ । बैंकको सेयर बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।