राष्ट्रिय वाणिज्य बैंकले ब्याज भुक्तानी गर्दा ५ % छुट दिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले असार महिना भित्र ब्याज भुक्तानी गर्दा ५% छुट दिने भएको छ । बैंकले राष्ट्रको व्यवसायीक क्षेत्रमा भएको असहज परिस्थितिलाई मध्यनजर गर्दै मिति असार १ गतेदेखि ३१ गतेसम्म सबै प्रकारको कर्जाको ब्याज भुक्तानी गर्दा भुक्तानी गरिएको रकमको ५ प्रतिशत रकम सम्पूर्ण ऋणिहरुलाई छुट दिने जनाएको छ । ब्याज जुनसुकै प्रकारको कर्जाको वर्गीकरण (असल, सुक्ष्म निगरानी, कमशल, शंकास्पद, खराब), जतिसुकै अवधिको ओभरडिउ, नर्मल तथा पेनल ब्याजको आंशिक वा पूरा भुक्तानीमा समेत छुट प्रदान गरिने बैंकले जनाएको छ । ब्याज छुट रकम सम्बन्धित ऋणिको खातामा फिर्ता/जम्मा गरिनेछ । बैंक यो अवसरको लाभ लिन सम्बन्धित सम्पूर्ण ऋणिहरुलाई अनुरोध गरेको जनाएको छ ।

२४ गते एकीकृत कारोबार गर्दै लक्ष्मी सनराइज बैंक, कर्मचारीका लागि भिआरएस सुविधा

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकको एकीकृत कारोबारको मिति असार २४ गते तय भएको छ । लक्ष्मी बैंकका सञ्चालक दिनेश पौड्यालले दुई बैंकबीच असार २४ गते एकीकृत कारोबार हुने बताए । लक्ष्मी बैंकको आइतबार सम्पन्न विशेष साधारण सभाले सनराइज बैंकसँग मर्ज गर्ने विशेष प्रस्ताव पारित गरेसँगै एकीकृत कारोबारका लागि प्रक्रिया अघि बढाएको उनले बताए । मर्जरपश्चात् लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । कसैलाई पनि अफ्ठ्यारो नपर्ने गरी कर्मचारी व्यवस्थापन भइरहेको उनले बताए । ‘साधारणसभाले पारित गरेको पत्र आजभोलि राष्ट्र बैंकमा पठाउँछौं, राष्ट्र बैंकले पनि चाँडै स्वीकृति दिने अपेक्षा छ, त्यसपछि असार २४ गते एकीकृत कारोबार गर्ने तयारी छ,’ उनले भने, ‘सञ्चालक समितिको टुंगो लागिसकेको छ, अध्यक्ष र सीईओ लक्ष्मी बैंकले नै पाउँछ, आन्तरिक कामहरु तीव्र गतिमा भइरहेका छन्, कर्मचारी समायोजनको काम भइरहेको छ, दुवै बैंकको सिस्टम एउटै सफ्टवेयरमा प्रयोग भएकाले सहज हुन्छ ।’ सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई दोस्रो वरियता दिने सहमति भएको उनले बताए । यदि कुनै कर्मचारीलाई चित्त नबुझे संयुक्त मर्जर कमिटिले भिआरएस सुविधा ल्याउने उनको भनाइ छ । कर्मचारी समायोजन भने बराबरी हैसियतमा हुने सहमति भएको छ । दुवै बैंक समान हैसियतमा मर्जरमा जान लागेका हुन् । मर्जपश्चात् बैंकको सञ्चालक समिति अध्यक्ष लक्ष्मी बैंकबाट रमण नेपाल बन्ने छन् । यद्यपी सञ्चालक समितिको पहिलो बैठकले अध्यक्ष नियुक्त गर्नेछ । साथै, लक्ष्मी बैंकका सीईओ अजय बहादुर शाह मर्जरपश्चात् बन्ने बैंकको सीईओ नियुक्त हुने छन् । मर्जरपश्चात् पहिलो साधारणसभासम्मको लागि लक्ष्मीबाट ४ जना र सनराइजबाट तर्फबाट ३ जना गरी ७ सदस्यीय सञ्चालक समिति बन्नेछ । लक्ष्मी बैंकबाट हालका अध्यक्ष रमण नेपाल, सञ्चालकहरु डा. मनीष थापा, स्वाती रुङ्गटा र विद्या बस्नेत सञ्चालक बन्ने छन् । यस्तै, सनराइज बैंकबाट हालका अध्यक्ष मोतीलाल दुगड, इन्जिनियर बच्छराज तातेड र मालचन्द दुगड सञ्चालक बन्ने छन् । पहिलो साधारण सभा सम्पन्नपछि बन्ने सञ्चालक समिति ५ सदस्यीय हुने बैंकले जनाएको छ । जसमा २ जना संस्थापक, २ जना सर्वसाधाण र १ जना स्वतन्त्र सञ्चालक रहने लक्ष्मी बैंकले बताएको छ । मर्जर पश्चात् चुनौति बढिरहेको भएपनि त्यसलाई सामना गरेर अघि बढ्ने अध्यक्ष रमण नेपालको भनाइ छ । ‘समान हैसियतमा कर्मचारी समायोजन गर्ने भनेर सम्झौता गरेको हो, मर्जरपछि पनि कर्मचारीमा असमान व्यवहार हुँदैन,’ उनले भने, ‘साथीहरुले अध्यक्ष भनेर बधाइ तथा शुभकामना दिनु भएको छ, मर्जरपछि नै अध्यक्ष टुंगो लाग्नेछ, अहिले शुभकामना मात्रै स्वीकार गर्छु ।’ दुवै बैंकबीच मर्जरमा जानका लागि गत जेठ ७ गते अन्तिम सम्झौता भएको थियो । लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले गत पुस २५ गते मर्जरका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए । मर्जर प्रक्रियामा झण्डै २ करोड रुपैयाँ खर्च हुने बैंकले जनाएको छ । सनराइज बैंकले पनि आइतबार वार्षिक साधारणसभा गरेको छ । सनराइज बैंकका सेयरधनीले पनि लक्ष्मीसँग मर्जरमा जानका लागि अनुमोदन गरेका हुन् । मर्जरपश्चात् बैंकको चुुक्ता पूँजी २१ अर्ब ६७ करोड रुपैयाँ बढी हुनेछ । लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड १३ लाख र सनराइज बैंकको १० अर्ब ११ करोड ८८ लाख रुपैयाँ रहेको छ । यस्तै, बैंकको जगेडा कोष १२ अर्ब ८२ करोड रुपैयाँ पुग्नेछ । मर्जरपछि लक्ष्मी सनराइज बैंकको निक्षेप २ खर्ब ८१ अर्ब रुपैयाँ र कर्जा प्रवाह २ खर्ब ५० अर्ब रुपैयाँ पुग्नेछ । साथै, बैंकको शाखा सञ्जाल २७२ वटा पुग्ने छन् भने कर्मचारी संख्या ३ हजार १७० जना पुग्ने छन् ।

लक्ष्मी बैंकको विशेष साधारण सभा सम्पन्न, सनराइजसँगको मर्जर प्रस्ताव पारित

काठमाडौं । लक्ष्मी बैंकको विशेष साधारण सभाले सनराइज बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गरेको छ । आइतबार सम्पन्न भएको बैंकको विशेष सधारण सभामा सेयरधनीहरुले सनराइज बैंकसँग मर्जर जाने विशेष प्रस्ताव अनुमोदन गरेका हुन् । बैंकको सभाले लक्ष्मी बैंक र सनराइज बैंक एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धी संचालक समितिलाई अख्तियारी प्रदान गरेको छ । साथै, मर्जर प्रयोजनको लागि मुल्याङनकर्ताले तयार गरेको बैंकको चल अचल सम्पत्ति तथा दायित्व मुल्याङ्गन (डीडीए) प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको सेयर आदान प्रदान अनुपात र अन्तिम सम्झौता पत्र पारित गरेको छ । ड्यु डिलिजेन्स अडिटरको प्रतिवेदनका आधारमा दुवै बैंक १ः१ को स्वाप रेसियोमा मर्ज हुने, मर्ज भएपछि बन्ने संस्थाको नाम लक्ष्मी सनराइज बैंक लिमिटेड हुने छ । लक्ष्मी बैंकका हालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय विक्रम शाह मर्जरपछि बन्ने बैंकको सीईओ बन्नेछन् । गाभिएपछि बन्ने बैंकको सञ्चालक समितिको प्रथम बैठकले सञ्चालक समितिको अध्यक्षको चयन गर्नेछ ।