सिटिजन्स बैंकले श्री गलेश्वर आश्रमलाई दियो ५ लाख रुपैयाँ

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल, नारायणगढ शाखाले श्री गलेश्वर आश्रम, देवघाटधाम लाई रकम हस्तान्तरण गरेको छ । तनहुँको देवघाट स्थित संस्कृत गुरुकुल मार्फत देशभरिका विद्यार्थीहरुलाई निःशुल्क संस्कृत शिक्षा प्रदान गर्दै आएको श्री गलेश्वर आश्रम, देवघाटधाम लाई सिटिजन्स बैंकले दुई चरणमा गरि जम्मा ५ लाख रकम हस्तान्तरण गरेको हो । संस्कृत गुरुकुल भवन निर्माणको सहयोगार्थ यस अघि नगद ३ लाख रुपैयाँ रकम प्रदान गरिसकेको र हाल भवन निर्माणको कार्य प्रगतिको निरिक्षण पश्चात बाकी रकम २ लाख रुपैयाँ उपलब्ध गराएको हो । गुरुकुल शिक्षा मार्फत संस्कृतिको जगेर्नामा महत्वपूर्ण योगदान पु¥याउदै निःशुल्क संस्कृत शिक्षा प्रदान गर्दै आएको संस्थालाई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको हो । साथै, सिटिजन्स बैंक सम्सी शाखाले श्री जनता माध्यमिक विद्यालय, सम्सी प्रवाह महोत्तरीका कक्षा एकका करिब १०० विद्यार्थीलाई सामाजिक उत्तरदायित्व अन्तर्गत झोला वितरण गरेको छ । उक्त विद्यालयमा अधिकांश विद्यार्थीहरू मुस्लिम र दलित समुदायबाट र कमजोर आर्थिक अवस्था भएका छन् । यस कार्यले उनीहरूको शैक्षिक कार्यलाई थोरै भएपनि मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको कुरा जानकारी गराएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४५ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

उद्यमहरूलाई ऋण प्रदान गर्न कुमारी बैंकले विदेशी संस्थाबाट ल्यायो सवा अर्ब रुपैयाँ

काठमाडौं । कुमारी बैंकले लक्जमबर्गको ग्रान्ड डचीको कानूनअन्तर्गत दर्ता भएको माइक्रोफाइनान्स एन्हान्समेन्ट फेसीलिटी (एमइएफ) सँग व्यावसायिक ऋण सम्झौता गरेको छ । सम्झौताअनुसार कुमारी बैंकले माइक्रोफाइनान्स एन्हान्समेन्ट फेसीलिटीबाट एक करोड अमेरिकी डलर (एक अर्ब ३२ करोड रुपैयाँ) ऋण लिने भएको हो । विपन्न वर्ग कर्जाको माग पूर्ति गर्नुका साथै महिला उद्यमीहरूसँग सम्बन्धित साना तथा मझौला उद्यमहरूलाई ऋण प्रदान गरी सशक्तिकरण गर्नका लागि यो कर्जा प्रयोग हुनेछ । विगत २२ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४९ एक्सटेन्सन काउन्टर, ३०८ एटीएम तथा ६३ शाखा रहित बैंकिङ्ग ईकाई सहितका सञ्जालहरुमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ । आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको एकैपटक ११ वटा शाखा विस्तार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले देशको विभिन्न स्थानमा एघार वटा शाखा कार्यालय विस्तार गरेको छ । बैंकले सिरहा जिल्ला स्थित शाखा कार्यालय गोलबजार, बैतडी जिल्ला स्थित शाखा कार्यालय पाटन, दार्चुला जिल्ला स्थित शाखा कार्यालय गोकुलेश्वर , मोरङ्ग जिल्ला स्थित शाखा कार्यालय बिराटचोक, मकवानपुर जिल्ला स्थित शाखा कार्यालय सानोपोखरा, ललितपुर जिल्ला स्थित शाखा कार्यालय ग्वार्को तथा मंगलबजार, सुर्खेत जिल्ला स्थित शाखा कार्यालय छिन्चु, कालिकोट जिल्ला स्थित शाखा कार्यालय रास्कोट, दैलेख जिल्ला स्थित शाखा कार्यालय राकम कर्णाली र स्याङजा जिल्ला स्थित शाखा कार्यालय वालिङ्ग को कारोबार शुभारम्भ गरिएको छ । यस पश्चात बैंकको देशभर २८२ वटा शाखा कार्यालय सञ्चालनमा आएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंंकले कर्णाली प्रदेशमा मात्र ३ वटा शाखा कार्यालय सहित शहरी क्षेत्रमा शाखा सञ्चालन गरी प्राथमिकताका साथ आम नागरिकमा बैंकिङ्ग सेवा प्रवाह गरिरहेको बताए ।