राष्ट्रिय वाणिज्य बैंकको नाफा ४.५५ अर्ब, लाभांश क्षमता ६.८९ प्रतिशत

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा ६०.६८ प्रतिशत बढेर ४ अर्ब ५५ करोड ६८ लाख ९१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले २ अर्ब ८३ करोड ६० लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  गत असारसम्म बैंकको खुद ब्याज आम्दानी १७.८५ प्रतिशत बढेर ११ अर्ब ९६ करोड ६१ लाख ५३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १० अर्ब १५ करोड ३९ लाख ७८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ६३ करोड ४२ लाख ४२ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १५ अर्ब ५ करोड ६६ लाख ५७ हजार रुपैयाँ र सञ्चालन नाफा ६ अर्ब ४७ करोड ५३ लाख १८ हजार रुपैयाँ रहेको छ ।  अघिल्लो वर्ष बैंकले खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ५० करोड ८४ लाख १९ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १३ अर्ब १८ करोड ५५ लाख ८७ हजार रुपैयाँ र सञ्चालन नाफा ३ अर्ब ९४ करोड २० लाख २४ हजार रुपैयाँ रहेको छ ।  गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब ७ करोड ६९ लाख ५७ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता ६.८९ प्रतिशत रहेको छ ।  १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३९ अर्ब ३७ करोड ३५ लाख २२ हजार रुपैयाँ रहेको छ । गत असारसम्म बैंकको निक्षेप संकलन ३७.११ प्रतिशत बढेर ६खर्ब ८६ अर्ब १३ करोड ५६लाख रुपैयाँ र कर्जा लगानी १३.५९ प्रतिशत बढेर ३ खर्ब ३२ अर्ब ८ करोड ३४ लाख रुपैयाँ प्रवाह गरेको छ ।  अघिल्लो वर्षको असारसम्म बैंकले ५ खर्ब ४१ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ९२ अर्ब ३३ करोड ७१ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।  अघिल्लो वर्ष १०.२७ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष बढेर २९.१४ रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा ३.७९ प्रतिशतबाट बढेर ३.९५ प्रतिशत पुगेको छ ।

कुमारी बैंकद्वारा दुर्घटनामा ज्यान गुमाएका ग्राहकका परिवारलाई १० लाख बीमा रकम हस्तान्तरण

काठमाडौं । कुमारी बैंक लिमिटेडको गढवा शाखाले परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा सुविधाबापत लाभग्राहीलाई १० लाख रुपैयाँ बीमा दाबी रकम हस्तान्तरण गरेको छ । श्रीमती खुमा पौडेलका श्रीमानको दुर्घटनामा परी निधन भएपछि बैंकमा बीमा दाबी प्रक्रिया अघि बढाइएको थियो । प्रक्रिया पूरा भएपछि कुमारी बैंकको गढवा शाखाले पौडेललाई १० लाख रुपैयाँ बराबरको बीमा दाबी रकम हस्तान्तरण गरेको हो । बैंकले उक्त रकमले शोकाकुल परिवारलाई कठिन परिस्थितिमा आर्थिक सहारा पुग्ने विश्वास व्यक्त गरेको छ । कुमारी बैंकले ग्राहकको वित्तीय सुरक्षा तथा परिवारको आर्थिक संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न बचत योजनासँग बीमा सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ । परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा सुविधाले अप्रत्याशित घटनाबाट प्रभावित परिवारलाई आर्थिक राहत उपलब्ध गराउने बैंकको भनाइ छ । बैंकका अनुसार यस्ता सुविधाले विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई वित्तीय सेवा र बीमा सुरक्षाको पहुँच विस्तार गर्न सहयोग पुर्‍याउनेछ । साथै, यसले आर्थिक समावेशीकरणलाई थप सुदृढ बनाउँदै ग्राहक तथा परिवारलाई आवश्यक समयमा वित्तीय सहयोग उपलब्ध गराउने अपेक्षा गरिएको छ । विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर २८५ शाखा, ४१ विस्तारित काउन्टर, ३०२ एटीएम तथा ४० शाखारहित बैंकिङ बिन्दुमार्फत सेवा दिइरहेको जनाएको छ । बैंकले शहरी, अर्ध–शहरी तथा ग्रामीण क्षेत्रसम्म बैंकिङ पहुँच विस्तार गर्दै विभिन्न निक्षेप, बीमा तथा अन्य बैंकिङ सेवा सञ्चालन गर्दै आएको छ  ।

नेपाल एसबीआई बैंकको अध्यक्षमा मुनिश कुमार चान्दना नियुक्त

काठमाडौं । नेपाल एसबीआई बैंकको सञ्चालक समितिको अध्यक्षमा मुनिश कुमार चान्दना नियुक्त भएका छन् । भारतीय स्टेट बैंक (एसबीआई) को प्रतिनिधिका रूपमा बैंकको सञ्चालक समितिमा रहेका वेंकट वंसीधर कुंचाको स्थानमा चान्दनालाई मनोनयन गरिएको हो । भारतीय स्टेट बैंकले चान्दनालाई सञ्चालकका रूपमा मनोनयन गरी पठाएको बैंकले जनाएको छ । यसैअनुसार बैंकको सञ्चालक समितिको साउन २७ गते बसेको बैठकले चान्दनालाई सञ्चालकमा नियुक्त गरेको हो । सोही बैठकले उनलाई सञ्चालक समितिको अध्यक्षमा समेत चयन गरेको बैंकले जनाएको छ । यसअघि बैंकको सञ्चालक समितिमा भारतीय स्टेट बैंकका प्रतिनिधिका रूपमा वेंकट वंसीधर कुंचा रहेका थिए । अब उनको स्थानमा चान्दनाले जिम्मेवारी सम्हाल्ने भएका छन् ।