१२३ विद्यालयका एक लाखभन्दा बढी विद्यार्थीलाई खानेपानी उपलब्ध गराउँदै नबिल बैंक

काठमाडौं । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल स्वच्छ खानेपानी अभियान’को शुभारम्भ गरेको छ । बैंकका अध्यक्ष निर्वाण चौधरीले १२३ वटा विद्यालयहरूमा आइतबार डिजिटल माध्यमबाट अभियान शुभारम्भ गरेका हुन् ।  चौधरीले उक्त अभियानले विद्यालयमा अध्ययनरत बालबालिकामा शुद्ध खानेपानी उपलब्ध गराउँदै बालबालिकालाई स्वस्थ तथा सुरक्षित वातावरण प्रदान गरेको उल्लेख गरे । 'नबिल बैंकले सुरु गरेको अभियानमार्फत हालसम्म १२३ विद्यालयमार्फत एक लाखभन्दा बढी विद्यार्थीलाई शुद्ध खानेपानी प्रदान गर्न सफल भएका छौं', अध्यक्ष चौधरीले भने, 'यो परियोजना सञ्चालन गर्न पाउँदा हामीलाई गर्व छ, आगामी दिनमा यस अभियानलाई अझ प्रभावकारी रुपमा सञ्चालन र विस्तार गरिनेछ ।' बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुरु भएको उक्त अभियान विद्यार्थीको स्वास्थ सुधार, सरसफाइ प्रवद्र्धन र खानेपानीको दिगो पहुँच सुनिश्चित गर्नमा केन्द्रित छ । बैंकले सरकारी र सामुदायिक विद्यालयमा शुद्ध खानेपानीको व्यवस्थापन गर्ने उद्देश्यले उक्त अभियान सञ्चालन गर्दै आएको जनाएको छ ।  यो अभियान मुलुकका सात वटै प्रदेशमा सञ्चालन गरिएको छ । बैंकका अनुसार अभियानअन्तर्गत हालसम्म कोशी प्रदेशका आठ, मधेश प्रदेशका १६, बागमती प्रदेशका नौ, गण्डकी प्रदेशका १०, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशका १५ र सुदुरपश्चिम प्रदेशका २९ वटा विद्यालयमा शुद्ध खानेपानीको व्यवस्था गरिएको छ । यो अभियानमा स्मार्ट पानीको प्राविधिक सहयोग रहेको जनाइएको छ ।  नेपालका विद्यालयहरुमा स्वच्छ र सुरक्षित पिउने पानीको पहुँच अझै पनि एक प्रमुख चुनौतीका रुपमा रहेको छ । नेपाल सरकारको तथ्यांकअनुसार करिब ९८ प्रतिशत विद्यालयमा पिउने पानीको पहुँच छ, त्यसमध्ये करिब ६८ प्रतिशत विद्यालयमा पानी शुद्धीकरण गर्ने प्रणाली नै छैन । उक्त समस्यालाई सम्बोधन गर्नका लागि नबिल बैंकले विद्यालय सरसफाइ र स्वच्छता कार्यक्रम प्रमुख प्राथमिकताका साथ सञ्चालन गरेको जनाएको छ ।  अव्यवस्थित जल व्यवस्थापन, कृषिजन्य बहाव र घरायसी ढलको निकासका कारण पानीका स्रोतहरुमा प्रायः आर्सेनिक, फलाम र हानिकारक किटाणुको संक्रमण हुन्छ । जसले गर्दा बालबालिकाहरु असुरक्षित पेय पदार्थसँग सम्बन्धित बढ्दो स्वास्थ्य जोखिमहरुको सामना गर्न बाध्य हुन्छन् ।     

राष्ट्र बैंकले सार्वजनिक गर्यो २०८३ सालका लागि बैंक बिदाको सूची, कुन-कुन दिन बिदा हुनेछ ?

काठमाडौं । नेपाल राष्ट्र बैंक ले आगामी वर्ष २०८३ का लागि बैंक बिदाको सूची सार्वजनिक गरेको छ । बैंकको मानव संसाधन व्यवस्थापन विभागले सार्वजनिक, धार्मिक तथा विभिन्न समुदायका पर्व बिदासहित बैंकिङ कारोबार समयसम्बन्धी जानकारी सार्वजनिक गरेको हो । राष्ट्र बैंकका अनुसार वैशाख १ गते नयाँ वर्षका अवसरमा बैंक बिदा रहनेछ । त्यसैगरी वैशाख १८ गते बुद्ध जयन्ती तथा किराँत समुदायको उभौली पर्व, जेठ १५ गते गणतन्त्र दिवस, भदौ १२ गते रक्षाबन्धन र भदौ १३ गते गाईजात्राका अवसरमा बिदा दिइनेछ । गाईजात्रा भने काठमाडौं उपत्यका र नेवार समुदायका लागि मात्र लागू हुनेछ । यस्तै, भदौ १९ गते श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्व, भदौ २९ गते हरितालिका (तीज) व्रतका अवसरमा महिला कर्मचारीलाई मात्र बिदा दिइनेछ भने असोज ३ गते संविधान दिवसका अवसरमा देशभर बैंक बिदा रहनेछ । असोज ९ गते इन्द्रजात्रा (काठमाडौं उपत्यकामा मात्र) र असोज १८ गते जितिया पर्व (सम्बन्धित महिला कर्मचारीका लागि मात्र) का दिन पनि बिदा रहनेछ । असोज २५ गते घटस्थापनादेखि सुरु हुने बडा दशैंको बिदा असोज ३१ गते (फूलपाती) देखि कात्तिक ६ गते (द्वादशी) सम्म कूल ७ दिन रहनेछ । त्यसैगरी तिहार बिदा कात्तिक २२ गते (लक्ष्मीपूजा) देखि कात्तिक २६ गते (भाइटीकाको भोलिपल्ट) सम्म कूल ५ दिन हुनेछ । कात्तिक २५ गते फाल्गुनन्द जयन्ती (किराँत धर्मावलम्बीका लागि मात्र), कात्तिक २९ गते छठ पर्व, मंसिर १७ गते अन्तर्राष्ट्रिय अपाङ्गता दिवस (अपाङ्गता भएका कर्मचारीका लागि मात्र), पुस ९ गते धान्य पूर्णिमा, उधौली पर्व, योमरी पुन्हि तथा ज्यापु दिवसका अवसरमा बिदा दिइनेछ । पुस १० गते क्रिसमस डे, पुस १५ गते तमू ल्होसार र दुरा समुदायको पर्व, तथा पुस २८ गते पृथ्वी जयन्तीका अवसरमा पनि बैंक बिदा रहनेछ  त्यसैगरी माघ १ गते माघे सङ्क्रान्ति, माघ १६ गते सहिद दिवस, माघ २४ गते सोनम ल्होसार, फागुन ७ गते प्रजातन्त्र दिवस, फागुन २२ गते महाशिवरात्रि, फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवस, फागुन २५ गते ग्याल्पो ल्होसार, चैत १ गते पहाडी तथा हिमाली होली र चैत २ गते तराई होलीका अवसरमा पनि बैंक बिदा रहनेछ । राष्ट्र बैंकले कार्यालय समयलाई दुई भागमा विभाजन गरेको छ । वैशाख १ देखि कात्तिक १५ र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म र बैंकिङ कारोबार समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ ।  कात्तिक १६ देखि माघ १५ सम्मको हिउँदे समयमा भने कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म र बैंकिङ कारोबार समय बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म रहनेछ । प्रत्येक शनिबार बैंक पूर्ण रूपमा बन्द रहनेछ । साथै, नेपाल सरकारले आकस्मिक रूपमा सार्वजनिक बिदा घोषणा गरेको अवस्थामा पनि नगद भुक्तानी, ईसीसी, आरटीजीएस तथा मौद्रिक व्यवस्थापनजस्ता अत्यावश्यक सेवाहरू सीमित कर्मचारीको उपस्थितिमा बिहान १० बजेदेखि अपराह्न १ः३० बजेसम्म सञ्चालनमा रहने राष्ट्र बैंकले जनाएको छ । 

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ १२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८१ पैसा, युके पाउण्ड स्ट्रलिड एकको खरिददर २०० रुपैयाँ ३८ पैसा र बिक्रीदर १०१ रुपैयाँ १९ पैसा, स्वीस फ्रयाइक एकको खरिददर १९० रुपैयाँ १ पैसा र बिक्रीदर १९० रुपैयाँ ७७ पैसा कायम गरिएको छ । यस्तै अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ १ पैसा र बिक्रीदर ११७ रुपैयाँ ४८ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ७३ पैसा र बिक्रीदर २१ रुपैयाँ ८२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४० रुपैयाँ १ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ४० पैसा र बिक्रीवर ४१ रुपैयाँ ११ पैसा कायम भएको छ । केन्द्रीय बैङ्ककका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, यूएई दिराम एकको खरिददर ४० रुपैयाँ ७४ पैसा र बिक्रीदर ४० रुपैयाँ ९१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३८ रुपैयाँ १४ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर नो रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैया ७ पैसा र बिक्रीदर १६ रुपैयाँ १४ पैसा र डेनिस कोनर एकको खरिददर २३ रुपैयाँ १७ पैसा र बिक्रीदर २३ रुपैयाँ २६ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हडकड डलर एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १७ पैसा, कुवेती दिनार एकको खरिददर ४८८ रुपैयाँ ६ पैसा र बिक्रीदर ४९० रुपैयाँ २ पैसा, बहराइन दिनार एकको खरिददर ३९६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ९३ पैसा, ओमनी रियाल एकको खरिददर ३८८ रुपैयाँ ६८ पैसा र विक्रिदर ३९० रुपैयाँ २३ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि सशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैडकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्ककको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।