जिओे अटोमोवाइल्सले ल्यायो नयाँ फोर्ड मस्ताङ्ग गाडी, यस्ता छन् विशेषता (फोटोफिचर सहित)
काठमाडौं । नेपालका लागि फोर्ड गाडीका आधिकारीक विक्रेता जि.ओ अटोमोवाइल्सले शुक्रबार(आज) एक समारोहबीच नयाँ ‘फोर्ड मस्ताङ्ग’को अनावरण गरेको छ । गत वर्ष नाडा अटो शोमा फोर्ड मस्ताङ्ग प्रदर्शन गर्दा गाडीका पारखीहरुद्धारा उत्साहजनक प्रतिक्रिया प्राप्त गरेपछि उक्त गाडी नेपाल भित्र्याएको हो । कम्पनीका अनुसार यस फोर्ड मस्ताङ्ग ५.० लिटर, भी८ ईन्जिन जडान गरिएको छ जसले ४५० पीएस पावरको शक्ति प्रदान गर्दछ । ६ स्पिड म्यानुल ट्रान्समिसनयुक्त फोर्ड मस्ताङ्ग हेर्दैमा अति आकर्षक र शक्तिको अनुभुति प्रदान गर्ने खालको डिजाइन छ । फोर्डका उत्कृष्ट प्रविधिबाट सु–सजित यस फोर्ड मस्ताङ्गमा भ्वाइस कमान्ड/स्टाइलिस एलईडी लाइट रहेको छ । बजारमा आएको नयाँ मस्ताङ्गले अझै राम्रो प्याकेज ल्याएका छन् । एप्पल कारप्ले र एण्ड्रोइड अटोसँग कम्पाइटिवल हुने सिस्टम राखेको नयाँ फोर्ड मस्ताङ्गमा फोर्ड एसवाईएनसी थ्री कम्युनिकेशन मार्फत भ्वाइस कमान्डद्धारा विभिन्न कन्ट्रोलहरु चलाउन सकिन्छ । विश्वमा नै आफ्नो स्टाइल, कार्यकौशलता, शक्तिशाली ईन्जिनको लागि प्रख्यात रहेको यस गाडीको मूल्य भने तोकिएको छैन । यो मोडललाई अमेरिकन आईकनको रुपमा लिइन्छ । जेम्स वण्डको फिल्म देखि धेरै हलिउड फिल्महरुमा यो मोडलको व्यापक प्रयोग गरेको देखिन्छ ।
रेनोको नयाँ बर्ष अफर, ५ वर्ष निशुल्क सर्भिसदेखि ५ लाखसम्म छुट
काठमाडौं । रेनोको नेपालको लागि आधिकारिक वितरक एड्भान्स अटोमोवाइल्स प्रालि (बिशाल ग्रुप अन्र्तगतको कम्पनी) ले ‘रेनो रेनोत्सव’ योजना सार्वजनिक गरेको छ । नयाँ बर्ष २०७५ लाई मध्येनजर गरेर अफर सार्वजनिक गरिएको हो । उक्त क्याम्पेनको ट्यागलाईन ‘खुसीयाली नयाँ बर्ष २०७५ को’ जुराइएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार यस योजनामा रेनोको कार खरिद गर्ने सोच बनाएर बस्नु भएको ग्राहकहरुलाई लक्षित गरेर बिभिन्न छुटका योजना र आर्कषक सुविधाहरु ल्याएको हो । जहाँ रेनोका कार खरिदकर्ताले प्रशस्त फाइदा लिन सक्ने छन् । कम्पनीले कारको खरिदमा लोड्जी मोडलमा ५ लाखसम्मको छुटको योजना ल्याएको हो । साथै, डस्टरको खरिदमा ३ लाख १० हजार, क्विडको खरिदमा १ लाख ८० हजारसम्म नगद छुट योजना राखेको छ त्यस्तै अन्य योजनाहरुमा ५ बर्षसम्म निशुल्क सर्भिस सुविधा, ३ बर्षको निशुल्क सवारी साधन कर, फाईनान्स सुबिधा र आर्कषक मुल्यसहितको एक्स्चेन्ज सुबिधा उपलब्ध गराउने कम्पनीको भनाइ छ ।
मिस नेपाल प्रतियोगीलाई यामाहाले दियो सडक सुरक्षाबारे चेतना, ‘फेस अफ फेसिनो’ को भोटिङ खुला
काठमाडौं । यामाहाले मिस नेपाल २०१८ का प्रतियोगीहरुका लागि सडक सुरक्षासम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ । नेपाल ट्राफिक प्रहरी र यामाहाका तालिमप्राप्त प्रशिक्षकले उनीहरुलाई सडक दुर्घटनाको कारण, यसको न्यूनीकरण र रोकथामबारे जानकारी गराएका थिए । मिस नेपाल प्रतियोगीहरुलाई ट्राफिक प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनी र यामाहाका सर्टिफाइड प्रशिक्षक सन्तोष श्रेष्ठले सवारी हाँक्दा र यात्रा गर्दा अपनाउनुपर्ने सावधानी र दुर्घटनाबाट बच्ने उपायहरुबारे जानकारी दिएका थिए । प्रहरी नायब उपरीक्षक मरासिनीले पूर्वाधारको अभावमा ट्राफिक व्यवस्थापन राम्रो नभएको भन्ने भनाइको खण्डन गरे । ‘सडक दुर्घटना र अव्यवस्था सडक फराकिलो नभएर होइन । सडक खराब भएर पनि होइन । वा फ्लाइओभर नभएर मात्र पनि होइन । यी समस्या सडक संस्कृति नभएर हो । काठमाडौंमा भन्दा पनि धेरै गुणा गाडी भएका सहरमा पनि राम्रो ट्राफिक व्यवस्थापन छ,’ उनले भने । उनले नेपालमा हरेक वर्ष सडक दुर्घटनामा दुई हजार जनाको मृत्यु भइरहेको र अघिकांश दुर्घटना सवारी नियमको उल्लंघनबाट हुने पनि बताए । कार्यशालापछि मिस नेपाल प्रतियोगीलाई यामाहा सेफ राइडिङ साइन्स (वाइएसआरएस) कार्यक्रमको प्रयोगात्मक अभ्याससमेत गराइएको थियो । मिस नेपाल प्रतियोगीले बाँडे मास्क मिस नेपालका प्रतियोगीहरु शनिबार नै यामाहाको सामाजिक अभियानमा सहभागिता जनाए । उनीहरुले काठमाडौंका त्रिपुरेश्वर, थापाथली, जमल र बानेश्वरमा सवारीचालक र पैदलयात्रीलाई सडक सुरक्षा र ट्राफिक नियमबारे सन्देश दिएका थिए । साथै, उनीहरुले पैदलयात्रीलाई वायु प्रदुषणको प्रभावबाट बच्न मास्क वितरण गरेका थिए । त्यसअघि मिस नेपाल प्रतियोगीहरुलाई मिस नेपाल २०११ मलिना जोशीले मिस नेपाल प्रतियोगीसँग आफ्नो मिस वल्र्ड यात्राबारे अनुभव साटेकी थिइन् । ‘कुनै पनि प्रतियोगितामा भाग लिनु जित्नका लागि भए पनि अरुलाई हराउनका लागि पक्कै होइन,’ उनले भनिन् । उनले उपाधि जिते वा हारे पनि मानिसहरुले आलोचना गर्ने परिपाटी भएको र त्यसबाट आफू विचल्लित हुन नहुने बताइन् । ‘मानिसहरुले जे पनि भन्छन् । तर आफू भित्रैदेखि बलियो हुनु पर्छ । आफ्नो मनको शान्ति सबैभन्दा महत्वपूर्ण कुरा हो,’ उनले भनिन् । ‘फेस अफ फेसिनो’ कन्टेस्टको सुरुवात शनिबार नै ‘फेस अफ फेसिनो’ कन्टेस्टको औपचारिक सुरुवात गरिएको छ । मिस नेपालका २५ प्रतियोगीमध्ये एक जनालाई ‘फेस अफ फेसिनो’ टाइटल प्रदान गरिनेछ । यो टाइटलको विजेताको छनोट मिस नेपाल २०११ मलिना जोशी, प्रख्यात फेसन डिजाइनर मनिष राई र एमएडब्लुकी डाइरेक्टर तुलिका अग्रवालको निर्णायक टोली र फेसबुक तथा देशभरका यामाहा सोरुमबाट हुने पब्लिक भोटिङमार्फत् हुनेछ । पब्लिक भोटिङ २७ चैतको अपरान्ह ३ बजेसम्म खुल्ला रहनेछ । साथै, ‘फेस अफ फेसिनो’को लागि भोटिङ गर्नेमध्ये एक जना भाग्यशाली भोटरले सामसुङको लेटेस्ट मोडेल एस९ मोबाइल जित्न सक्नेछन् । यामाहाले मिस नेपाल २०१८ का विजेता र ‘फेस अफ फेसिनो’ का विजेतालाई एउटा–एउटा फेसिनो स्कुटर उपहारमा दिनेछ ।