नयाँ लाइसेन्सका लागि आवेदन दिनेको संख्या पाँच लाख नाघ्यो

काठमाडाैं । नयाँ चालक अनुमतिपत्र(लाइसेन्स)का लागि आवेदन दिनेको संख्या पाँच लाख नाघेको छ । देशभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा सहभागी हुनका लागि सेवाग्राहीले फारम भरिरहेका छन् । गत वर्ष चैतदेखि कोभिड–१९ का कारण सरकारले नयाँ चालक अनुमतिपत्रका लागि आवेदन लिने काम स्थगित गरेको थियो । झण्डै १० महिनासम्म अनुमतिपत्र बन्द भएर अहिले खुलेकाले चाप बढी भएको विभागका सूचना अधिकारी डा लोकनाथ भुषालले बताए । उनका अनुसार सेवाग्राहीले २४ घण्टा नै र सातामा सात दिन नै अनलाइन फारम भर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । उनले भने, “सेवाग्राहीले अनुकूल समयमा फारम भर्न सक्नुहुन्छ ।” गत पुसमा अनलाइन फारम लिन थाल्दा विभागले निश्चित समयभित्र मात्रै भर्नुपर्ने व्यवस्था गरेको थियो । निश्चित समय मात्रै हुँदै धेरै सेवाग्राहीले एकै पटक भिड भएकाले सेवाग्राहीले फारम भर्न सकेका थिएनन् । अहिले फारम भर्न नसकिने समस्या हटेर गएको प्रवक्ता डा भुषालले जानकारी दिए । “अहिले पनि बिहान र साँझभन्दा दिउँसोको समयमा फारम भर्ने सेवाग्राही धेरै छन्”, उनले भने, “फारम नै भर्न सकिएन भन्ने गुनासो बिस्तारै कम भएको छ ।” विश्वव्यापी माहामारीका रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पनि देखिन थालेको थियो । नेपालमा दोस्रो सङ्क्रमित भेटिएसँगै सरकारले लागु गरेको बन्दाबन्दीका कारण देशभरका सबै सरकारी कार्यालयसँगै यातायात व्यवस्था कार्यालयहरु पनि बन्द भएका थिए । कोभिड–१९ बाट सुरक्षित हुँदै असारदेखि कार्यालय खुलेपनि नयाँ चालक अनुमतिपत्र सेवा अवरुद्ध थियो । कार्यालयले चालक अनुमतिपत्र वितरण र नवीकरण जारी राखेपनि कार्यालयमा भीड हुने भन्दै नयाँ अनुमतिपत्र सेवा अवरुद्ध गरेको थियो । प्रदेश सरकारअन्तर्गत रहेका कार्यालय र सङ्घीय सरकारअन्तर्गतको विभागबीचको समन्वयमा नै गत पुसदेखि नयाँ अनुमतिपत्र खुलाइएको थियो । संविधानअनुसार यातायातसम्बन्धी जिम्मेवारी सङ्घ र प्रदेशमा बाँडिएपछि कार्यालयहरु नेपाल सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो । अहिले विभागले चालक अनुमतिपत्रको सर्भरको काम र छपाइको काम गरिरहेको छ । कार्यालयहरुले अनुमतिपत्रको परीक्षा सञ्चालन, वितरण र नवीकरण गर्दै आएका छन् । काठमाडौं उपत्यकामा वाग्मती प्रदेश सरकारले एकान्तकुनासँगै चावहिल, सानो भर्याङ र जगातीमा रहेका कार्यालय रहेका छन् ।

फोर्ड र गुगलबीच रणनीतिक साझेदारी: २०२३ देखि फोर्ड र लिंकन गाडीमा एन्ड्रोइड एप हुने

काठमाडाैं । फोर्ड र गुगलबीच रणनीति साझेदारी सम्झौता भएको छ । एक कार्यक्रमकाबीच दुई कम्पनीले सन् २०२३ देखि फोर्ड तथा लिंकनका गाडीमा एन्ड्रोइड अपरेटिङ सिस्टम जडान गर्ने गरी सम्झौता गरेका हुन् । गुगलसँगको ६ वर्षीय सहकार्यपछि फोर्डले आफ्नो डेटा, आर्टिसियल इन्टेलिजेन्सलगायतका तथ्यांकका लागि गुगल क्लाउड नै आफ्नो उपयुक्त क्लाउड भएको बताउँदै एन्ड्रोइड सिस्टम जडानका लागि गुगलसँग सहकार्य गरेको हो । यसका लागि यी दुई कम्पनीले ‘टिम अपसिफ्ट’ नामको आफ्नो छुट्टै संयुक्त समूह पनि बनाएका छन् जसमा दुवै कम्पनीका प्रतिभाको प्रवर्धन, फोर्डको रुपान्तरणमा सहयोग, व्यक्तिगत उपभोक्ता सेवा, परिवर्तनका लागि उत्प्रेरकको भूमिका खेल्ने, तथ्यांक सहजीकरण लगायतको आपसी सहयोग हुने विश्वास गरिएको छ । सवारीसाधन खरिद गर्दा र स्वामित्व हस्तान्तरणमा यसमा भएको तथ्यांकले सहयोग गर्नेछ । ‘विद्युतीकरण, कनेक्टिभिटी र सेल्फ ड्राइभिङमा फोर्डले आमुल रुपान्तरण गरिरहेको अवस्थामा गुगल र फोर्डसँगै आउनुले ग्राहकलाई विशिष्ट अनुभूति दिनुका साथै उद्यमलाई पनि आधुनिकीकरण गर्नेछ,’ फोर्डका सीईओ जिम फार्लीले बताए । ‘एसेम्बिलिङ उद्योगको सञ्चालनदेखि ड्राइभ एसिस्ट टेक्नोलोजीसम्म आइपुग्दा फोर्डले १२० वर्षको अटोमोबाइल क्षेत्रमा नयाँ अन्वेषणको जग बसालेको छ,’ अल्फाबेटको सञ्चालकसमेत रहेका गुगलका सीईओ सुन्दर पिचाईले बताए । उनका अनुसार फोर्डको व्यापार र अटोमोटिभ टेक्नोलोजीमा गुगलको एआई, तथ्यांक विश्लेषण र क्लाउड प्लेटफर्मले सेवाग्राहीलाई सुरक्षित बनाउनेछ । डिजिटल यातायात, आधुनिकीकरण तथा सवारीसाधनमा टेक्नोलोजीको प्रयोगका लागि कम्पनीलाई गुगलले गुगल क्लाउड, एआई, एमएल तथा तथ्यांक विश्लेषण लगायतका क्षेत्रमा सहयोग पु-याउने उनको विश्वास छ । फोर्ड विश्वमा अटोमोबाइल क्षेत्रमा प्रसिद्ध कम्पनी हो । यसले कार, ट्रक, एसयूभी, विद्युतीय सवारी र लिंकन ‘लक्जरी’ सवारीसाधनको उत्पादन गर्दछ । यसले विश्वमा १ लाख ८७ हजार बढीलाई रोजगारी दिएको छ  

एमजीको स्टाइलिस एसयूभी ‘एचएस’ नेपाल आउँदै, अग्रिम बुकिङ खुल्ला

काठमाडौं । नेपालको लागि एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले एमजी एचएस प्रिमियम एसयूभीको अग्रिम बुकिङ खुल्ला गरेको छ । अल न्यू स्टाइलिस एसयूभीको रुपमा बजारमा आउन लागेको एमजी एचएस निकै सुरक्षित एसयूभी हुने कम्पनी बताउँछ । एसयूभीलाई विशेषत सुरक्षाको लागि आवश्यक सबै मापदण्ड पुरा गरेको एचएसमा अगाडि ड्यूल र साइड कटन एयरव्याग दिइएको छ । कारलाई चालकमैत्री बनाउन लेड डिपार्चर वार्निङ सिस्टम, ब्लाइन्ड स्पाट डिटेक्सन, ३६० डिग्री क्यामेरा, अटो होल्ड, इलेक्ट्रीक पार्किङ ब्रेक, अगाडि र पछाडि चारै चक्कामा डिस्क ब्रेक, एन्टी ट्रायाप सहितको पानारोमिक सनरुफ, ६ तरिकाबाट आफु अनुकुल बनाउन सकिने ड्राइभिङ सिट, ४ तरिकाले मिलाउन मिल्ने यात्रु सिट, अगाडिका दुबै सिट तातो बनाउन मिल्ने, अटोमेटिक फोल्ड हुने र चिसोमा तातो बनाउन मिल्ने आउट साइड रियर भ्यू मिरर जस्ता फिचर यसमा उपलब्ध रहेका छन् । साथै, १०.१ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम यसमा रहेको छ जसमा एप्पलका र प्ले र एन्ड्रोइड अटो सपोर्ट हुनेछ । यसमा रहेको १८ इन्चको अलोय ह्वील र पूर्णत लेदर सिटले गाडीको इन्टेरियर र एक्सटेरियर दुवैलाई प्रिमियम बनाएको छ । एमजीएचएसमा १.५ लिटर टर्बो इन्जिन उपलब्ध रहेको छ । उक्त इन्जिनले अधिकतम ५६०० आरपीएममा १५२ पीएस पावर र १७०० देखि ४४०० आरपीएममा २५० एनएमपिक टर्क प्रदान गर्छ । यसमा ७ स्पीड डिसिटी गियरबक्स उपलब्ध रहेको छ । यसलाई नेपाल ल्याएको अवसर पारेर केहि समयको लागि कम्पनीले ७९ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर विक्री सुरु गर्न लागेको हो । विभिन्न तीन कलर भेरियन्टमा यसलाई ग्राहकले किन्न सक्ने कम्पनीले जनाएकाे छ जसमा कालो, सेतो र रातो कलर भेरियन्ट रहेका छन् ।