चिनियाँ अटो कम्पनी ‘च्याङ्गन’ का कारहरू नेपाली बजार भित्रिँदै

काठमाडौं । विश्वप्रसिद्ध चिनियाँ अटो निर्माता कम्पनी ‘च्याङ्गन’ अब छिट्टै नेपाली बजारमा आउने भएको छ । औपचारिक रुपमै नेपालका लागि अफिसियल वेबसाईट, फेसबुक पेज, इन्स्टाग्राम तथा युट्युब च्यानल सार्वजनिक गर्दै कम्पनीले चाँडै नै नेपाली बजारमा आफ्नो उपस्थिति रहने जानकारी दिएको हो । नेपालका लागि च्याङ्गनको आधिकारिक वितरक एमएडव्लु वृद्धि अटोकर्पले ग्राहकहरुसँग सुमधुर सम्बन्ध स्थापना गर्न तथा सजिलो र भरपर्दो तरिकाले सम्पर्कमा रहन उक्त डिजिटल प्लेटफर्महरुको सुरुवात गरेको जानकारी दिएको छ । ‘च्याङ्गन नेपाल’ ले ब्रान्ड तथा उत्पादनका जानकारीहरु तथा प्रचारसामग्रीहरु उक्त डिजिटल तथा सोसल मिडिया प्लेटफर्महरुमा प्रकाशन तथा प्रसारण गर्नेछ । कम्पनीले उपलब्ध उत्पादनहरुको छोटो र सटिक जानकारी वेबसाईट, फेसबुक र इन्स्टाग्राममा राख्नेछ र ग्राहकहरुलाई उक्त प्लेटफर्महरुमार्फत नै नयाँ जानकारीहरु प्राप्त गर्न उत्प्रेरित गर्नेछ । ग्राहक तथा इच्छुक व्यक्तिहरुले उक्त च्यानलहरुमार्फत नै सम्पर्क गर्न र आफ्ना जिज्ञासाहरुको जवाफ प्राप्त गर्न सक्नेछन् । अटोमोबाईल उत्पादक र ब्रान्डहरुको कुरा गर्दा ‘च्याङ्गन’ विश्वमै सर्वाधिक विश्वासिलो र उत्कृष्ट कम्पनीहरु मध्येको एउटा नामको रुपमा चिनिन्छ । विगत १५८ वर्षमा कम्पनीले ‘स्थायीसुरक्षा’ को नाराका साथ निरन्तर रुपमा आफूलाई भरपर्दो अटोमोबाईल ब्रान्डको रुपमा स्थापित गरेको छ । विश्वका विभिन्न सातवटा स्थानमा अवस्थित खोज तथा अनुसन्धान केन्द्रहरु, तीनवटा विकासकेन्द्रहरु, तथा अठारभन्दा धेरै मुलुकका विज्ञहरु अनुसन्धान र उत्पादन विकासमा संलग्न भएको तथ्यबाटै च्याङ्गन एक उत्कृष्ट अटोमोबाईल निर्माता कम्पनी हो भन्ने दाबी कम्पनीले गरेकाे छ । साथै, कम्पनीले नेपालमा आधिकारिक रुपमै डिजिटल प्लेटफर्महरुमार्फत आफ्नो उपस्थिति सुरुवात गरेको अवसर पारेर एउटा सानो प्रतियोगिता पनि संचालन गरेको छ । जसअन्तर्गत कम्पनीले पहिलो १०० जना फलोअरमध्येबाट भाग्यशाली १० विजेता छानेर आकर्षक पुरस्कार प्रदान गर्नेछ । ‘भविष्यउन्मुख, सदैव’ भन्ने नाराका साथ कम्पनीले नेपाली अटो बजारमा आफ्नो उपस्थिति जनाउने निर्णय गरेको छ ।

नयाँ जेनेरेसनकाे तीन चक्के अतुल रिक अब नेपालमा

काठमाडाैं । अतुल अटाेकाे नेपालकाे लागि आधिकारीक विक्रेता भिजि अटाेमाेबाइल्सले आज अटाे रिक नेपालमा लन्च गरेकाे छ । तीन चक्के सवारी निर्माणमा अतुल अटाे भारतकाे प्रसिद्ध कम्पनी हाे जसले राजकाेट र अहंदावादस्थित कारखानाबाट अतुल रिक उत्पादन गरी विश्वकाे २२ वटाभन्दा राष्ट्रहरुमा डिलर नेटवर्कबाट बिक्री गर्दछ । एड्भान्स फिचरहरुले बनेकाे अतुल रिक स्टाइलिस र कम्फर्टेबल रहेकाे कम्पनी दावी गर्दछ ।यसले आफ्नाे ग्राहकहरुकाे सुरुक्षा, स्टाइल, स्पेस, वचत र मजबुतिमा ग्यारेन्टी दिने कम्पनीले जनाएकाे छ ।

मौद्रिक नीति: अटोमोवाइल व्यवसायीलाई राहत

काठमाडाैं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले नेपाल राष्ट्र बैंककाे आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सकारात्मक रहेको प्रतिक्रिया दिएको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले एक विज्ञप्ति जारी गर्दै मौद्रिक नीति सकारात्मक रहेको प्रतिक्रिया दिए हुन् । उनले मौद्रिक नीतिमा विद्युतिय सवारीसाधन खरिदको लागि कायम गरिएको कर्जा धितो अनुपात र आवश्यक चार्जिङ्क स्टेशन स्थापनाको लागि प्रवाह हुने कर्जामा पुनरकर्जा उपलब्ध हुने व्यवस्थाले अटोमोवाइल व्यवसायीहरुलाई केही राहत पुग्ने देखिएको बताए । त्यस्तै माैद्रिक नीतिमा कोभिड-१९ महामारीबाट अति प्रभावित क्षेत्र मध्ये सार्वजनिक यातायात व्यवसायका ऋणीले २०७८ पुससम्म भुक्तान गर्नुपर्ने साँवा तथा व्याज दायित्वको समयावधि एक वर्षसम्म थप गरी कम्तिमा चार किस्तामा भुक्तानी गर्न सक्ने व्यवस्था गरिने भनिएको छ । यसका साथै कोभिड-१९ बाट अति प्रभावित सार्वजनिक यातायात सञ्चालन/मर्मत सम्भारको लागि बैंक तथा वित्तीय संस्थाले प्रति सवारीसाधन २ लाखसम्म थप कर्जा प्रदान गर्नसक्ने व्यवस्था मिलाइने र ऋणी स्वयं रोजगार हुने उद्देश्यले सवारी साधन खरिद गर्न प्रवाह हुने २५ लाखसम्मको कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्न सक्ने व्यवस्था मिलाइने माैद्रिक नीतिमा उल्लेख छ । उनले यसबाट विपन्न वर्गलाई सवारीसाधन खरिद गरी व्यवसाय सञ्चालन गर्न र सार्वजनिक यातायातको व्यवसायमा संलग्न व्यवसायीहरूलाई केही राहत पुग्ने बताएका छन् । मौद्रिक नीतिमा कोभिड १९ को कारण वित्तीय अवस्था तथा नगद प्रवाहमा नकारात्मक असर परेका ऋणीहरूलाई बैङ्क तथा वित्तीय संस्था स्वयम्ले विश्लेषण गरी किस्ता रकम घटाई भुक्तानी अवधि थप गर्न सकिने व्यवस्थाले महामारीका कारण सङ्कटग्रस्त उद्योग लगायत यातायात क्षेत्रले पनि राहत पाउने देखिएकाे दुलालले बताएका छन् ।