रास्वापाको महाधिवेशन निर्वाचन तालिका संशोधन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन तालिका संशोधन गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले बुधबार (आज) संशोधित तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार महाधिवेशनका प्रतिनिधिको अन्तिम नामावली साँझ ५ः०० बजे पार्टीको वेबसाइट, ह्वाट्स्याप ग्रुप र महाधिवेशनस्थलमा सार्वजनिक गरिएको छ । आयोगका प्रमुख भुवन केसीका उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन आज दिउँसो ३ः३० बजे गरिएको छ । साँझ ५ः०० बजेसम्मका लागि उम्मेदवारविरुद्ध दाबीविरोध गर्ने समय तोकिएको छ । साँझ ५ः३० बजेसम्म दाबीविरोध परेका उम्मेदवारबारे परेको जाँच बुझको समय रहेको छ । साँझ ६ः०० बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने समय रहेको छ । उम्मेदवारको अन्तिम नामावली बेलुका ६ः३० बजेसम्म राखिएको छ । बेलुका ६ः४५ बजेदेखि मौनअवधि छ भने पहिलो चरणको मतदान बेलुका ८ः३० बजे सुरु गर्ने गरी तालिका संशोधन गरिएको आयोगले जनाएको छ । पहिलो चरणमा सार्वजनिक गरिएको उम्मेदवारको सङ्ख्या ३८४ रहेको छ । जसबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित हुने छन् ।
चन्द्रागिरीबाट नक्कली डाक्टर पक्राउ
काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा डाक्टरको नक्कली उपाधि खडा गरी गैरकानूनी रूपमा बिरामीको उपचारमा संलग्न एक व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं साविक मातातीर्थ गाविस वडा नंम्बर ७ ठेगाना भएका ४७ वर्षीय चेतना ए.एम. (पौडेल) रहेकी छन् । नेपाल मेडिकल काउन्सिल (एनएमसी) बाँसबारीको नियमित अनुगमनका क्रममा चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ मा सञ्चालित स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्टमा पाैडेलले कानुनविपरीत चिकित्सा अभ्यास गरिरहेको फेला पारेको थियो । पौडेलले आफूले प्राप्त नगरेको चिकित्सकको उपाधि (डाक्टर) प्रयोग गर्नुका साथै नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (एनएमसी नम्बर) बिना नै आधुनिक चिकित्सा निदान र उपचार गरिरहेको पाइएको हो । अनुगमनका क्रममा उनले बिरामीलाई विभिन्न औषधिहरू सिफारिस गरेको प्रेस्क्रिप्सनसहित फेला पारिएपछि मेडिकल काउन्सिलले ब्यूरोमा छानविन प्रतिवेदनसहित उजुरी दर्ता गरेको थियो । उजुरी प्राप्त भएलगत्तै प्रारम्भिक अनुसन्धान गरी ब्यूरोको टोलीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो । प्रहरी टोलीले पौडेललाई असार ९ गते चन्द्रागिरीबाट नियन्त्रणमा लिएको हो । केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराका अनुसार पक्राउ परेका पौडेलमाथि मुलुकी अपराध संहिता, २०७४ को ‘इलाज सम्बन्धी कसूर’ अन्तर्गत अदालतबाट म्याद थप अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।
महिलाको अश्लील तस्बिर तथा भिडियो पोस्ट गर्ने तिमिल्सिना पक्राउ
महिलाको अश्लील तस्बिर तथा भिडियो पोस्ट गर्ने तिमिल्सिना पक्राउ काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थायी ठेगाना भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ त्रिभुवन पार्क बस्ने १९ वर्षीय विज्ञान शर्मा तिमल्सिना रहेका छन् । ब्यूरोका अनुसार पीडित महिलाको अश्लील तस्बिर तथा भिडियो दुरुपयोग गरी सामाजिक सञ्जाल डिस्कोर्ड र टेलिग्राममा समेतमा पोस्ट गरिएको थियो । आफ्नो चरित्र हत्या हुने गरी सामग्रीहरू पोस्ट भएपछि पीडित महिलाले कसुरमा संलग्न व्यक्तिलाई पक्राउ गरी कानुन बमोजिम कारबाहीका लागि साइबर ब्यूरोमा निवेदन दिएकी थिइन् । पीडितको निवेदनका आधारमा साइबर ब्यूरोबाट खटिएको टोलीले प्राविधिक अनुसन्धान तथा विश्लेषण गरेको थियो । सोही अनुसन्धानका आधारमा तिमल्सिनाको संलग्नता पुष्टि भएपछि ब्यूरोको टोलीले उनलाई असार १० गते पक्राउ गरेको हो। पक्राउ परेका तिमल्सिनामाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा कारबाही प्रक्रिया अगाडि बढाइएको छ । थप अनुसन्धानका लागि सम्मानित काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको साइबर ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिए ।
मार्जिन लेण्डिङका लागि भिजन सेक्युरिटिजले जुटायो १.५० अर्ब ऋण, दोस्रो ठूलो ब्रोकर
काठमाडौं । भिजन सेक्युरिटिज प्रालिले मार्जिन लेण्डिङ (मार्जिन ट्रेडिङ) सेवा सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले उक्त सेवा सञ्चालनका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ५० करोड रुपैयाँ ऋणको व्यवस्था गरिसकेको जनाएको छ । कम्पनीका अध्यक्ष राजकुमार तिमल्सिनाका अनुसार मार्जिन कारोबार सञ्चालनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । बैंकसँगको प्रक्रिया समयमै पूरा भए चालु आर्थिक वर्षकै असार मसान्तभित्र सेवा सुरु गरिने र केही ढिलाइ भए पनि साउनदेखि सेवा सञ्चालनमा ल्याइने उनले बताए । ‘मार्जिन लेण्डिङ सेवा सञ्चालनको प्रक्रिया अगाडि बढाइरहेका छौं। यसका लागि बैंकबाट ऋण लिइसकेका छौं । सेवा सुरु भएपछि कारोबार थप बढ्ने अपेक्षा गरेका छौं,’ उनले भने । उनका अनुसार नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जारी गरेको कार्यविधिका आधारमा कम्पनीले आफ्नै आन्तरिक कार्यविधि तयार गरिरहेको छ । ग्राहकलाई कति रकमसम्म कर्जा दिने, ब्याजदर कसरी निर्धारण गर्ने तथा जोखिम व्यवस्थापनसम्बन्धी विषय कम्पनीको आन्तरिक नीतिअनुसार तय गरिनेछ । तिमल्सिनाले बैंकबाट प्राप्त कर्जामा न्यून प्रिमियम थपेर ग्राहकलाई मार्जिन कर्जा उपलब्ध गराइने बताए । ‘ठूलो परिमाणमा कर्जा लिँदा बैंकले कम ब्याजदरमा ऋण उपलब्ध गराउँछ । त्यसमा सञ्चालन खर्च, आवश्यक जनशक्ति तथा अन्य व्यवस्थापन खर्च जोडेर न्यून प्रिमियमसहित ग्राहकलाई कर्जा प्रवाह गर्ने योजना छ,’ उनले भने । मार्जिन लेण्डिङ सेवा सञ्चालनमा आएपछि लगानीकर्ताले एउटै स्थानबाट धितोपत्र कारोबारसँगै कर्जा सुविधा पनि प्राप्त गर्नेछन् । यसले सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउने कम्पनीको विश्वास छ । तिमल्सिनाका अनुसार आगामी आर्थिक वर्षमा कम्पनीको ऋणभार केही बढ्ने भए पनि मार्जिन कारोबारबाट ब्याज आम्दानी थपिने भएकाले व्यवसायको आम्दानी आधार अझ विविध र सुदृढ बन्ने अपेक्षा गरिएको छ । हाल कम्पनीको कुल आम्दानीमध्ये करिब ९८ प्रतिशत हिस्सा सेयर खरिद-बिक्रीबाट प्राप्त हुने ब्रोकर कमिसनबाट आउँछ भने बाँकी आम्दानी निक्षेप सदस्य सेवाबाट प्राप्त हुने शुल्कलगायत अन्य स्रोतबाट हुने गरेको छ । १४० प्रतिशत बढ्यो आम्दानी भिजन सेक्युरिटिजले गत आर्थिक वर्ष २०८१/८२ मा ४१ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा १४०.२२ प्रतिशत अर्थात् २४ करोड ४० लाख रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले १७ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । सेयर बजारमा कारोबार बढेसँगै सेयर खरिद-बिक्रीबाट प्राप्त हुने ब्रोकर शुल्क वृद्धि भएकाले आम्दानी पनि बढेको कम्पनीले जनाएको छ । साथै गत वर्ष कम्पनीको कुल कारोबार रकम १६७ प्रतिशतले बढेर १ खर्ब ५८ अर्ब ३९ करोड ६० लाख रुपैयाँ पुगेको थियो । गत वर्ष आम्दानी बढेसँगै खुद नाफा २२ करोड १० लाख रुपैयाँ आर्जन गरेको जनाएको छ कम्पनीका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा २६ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । साथै यस अवधिमा कुल कारोबार रकम ९२ अर्ब ९९ करोड ७० लाख रुपैयाँ पुगेको छ । दोस्रो ठूलो ब्रोकर बन्न सफल वि.सं २०६४ पुस स्थापना भएको भिजन सेक्युरिटिजको मुख्य व्यवसाय नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत लगानीकर्तालाई सेयर खरि-बिक्री सेवा उपलब्ध गराउने र सोबाट कमिसन आम्दानी गर्ने हो । साथै नेप्सेको ट्रेडिङ सदस्य तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को निक्षेप सदस्यका रूपमा समेत कार्यरत छ । कम्पनीले हाल देशभर १२ वटा शाखा मार्फत आफ्ना सेवाहरू प्रदान गर्दै आएको छ । कम्पनीको नेतृत्व अध्यक्ष तिमल्सिनाले गरिरहेका छन् । उनीसँग एलएलबी र एमबीएस शैक्षिक योग्यता रहेको छ । उनी आरएमडीसी लघुवित्त वित्तीय संस्था र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका पूर्वसञ्चालकसमेत हुन् । साथै उनी नेपाल इन्भेस्टमेन्ट फोरमका पूर्वअध्यक्ष पनि हुन् । त्यसैगरी कम्पनीका सञ्चालक कुशल न्यौपानेसँग वित्तीय तथा पुँजीबजार क्षेत्रमा एक दशक बढीको अनुभव रहेको छ । गत वर्ष ९२ वटा धितोपत्र दलाल (ब्रोकर)कम्पनीमध्ये भिजन सेक्युरिटिज तेस्रो स्थानमा थियो । चालु आर्थिक वर्षको १० महिनामा कम्पनीले आफ्नो स्थान सुधार गर्दै दोस्रो स्थान हासिल गरेको दाबी गरेको छ । यद्यपि कम्पनीको बजार हिस्सा गत वर्ष ३.७३ प्रतिशत रहेकोमा चालु आवको १० महिनामा घटेर ३.४८ प्रतिशतमा झरेको छ । कम्पनीका अनुसार सक्रिय ग्राहक संख्या झण्डै १ लाख ३८ हजार पुगेका छन् । जसमा खुद्रा (रिटेल) र संस्थागत दुवै प्रकारका लगानीकर्ता रहेका छन् । चालु आवको ९ महिनासम्म कम्पनीको खुद सम्पत्ति ५४ करोड ८० लाख रुपैयाँ पुगेको छ भने कुल दायित्व (गैर-नगद सुविधासहित) ३९ करोड ६० लाख रुपैयाँ रहेको छ ।
डल्लु र सीतापाइला क्षेत्रका कपडा कारखानामा काम गर्ने २४ जना बंगलादेशी पक्राउ
काठमाडौं । कपडा कारखानामा काम गर्ने २४ जना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेर अध्यागमन विभागमा बुझाएको छ। मंगलबार (हिजो) पासपोर्ट नभएका तथा पर्यटक भिसाको अवधि सकिएपछि नेपालमै बसोबास गरिरहेका २४ जना बंगलादेशीलाई विभागमा बुझाइएको काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ। काठमाडौं महानगरपालिका १५ डल्लु र सीतापाइला लगायतका क्षेत्रमा रहेका कपडा कारखानामा काम गर्दै गरेको अवस्थामा बंगलादेशीलाई नियन्त्रणमा लिएर अध्यागमन विभाग, कालीकास्थान पठाइएको परिसरका प्रवक्ता पवन कुमार भट्टराईले बताए । उनीहरू नेपाल प्रवेश गरेका स्थायी परिचय खुल्ने कागजात, पासपोर्ट नरहेका तथा म्याद सकिएको पर्यटक भिसा लिएर गैरकानुनी रूपमा बस्दै आएको भट्टराईले जानकारी दिए ।
चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा उम्मेदवारले प्रचारका क्रममा गरेको फोहर सरसफाइ गरिएको छ । रास्वपाका उम्मेदवारहरूले अन्य नेता कार्यकर्ताको सहकार्यमा सरसफाइ गरेका हुन् । प्रतिनिधिसभा सदस्य एवं रास्वपाका केन्द्रीय सदस्यका उम्मेदवार केपी खनाल, अर्का उम्मेदवार एवं प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाह र अर्का उम्मेदवार प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालसहितका उम्मेदवार एवं प्रतिनिधिले सरसफाइ गरेका हुन् । रास्वपाको बन्दसत्र गरिएको उद्योग सङ्घको गेट बाहिरको फोहर तीन जना उम्मेदवारसहितका रास्वपा नेता कार्यकर्ताले सरसफाइ गरेका हुन् । सो क्षेत्रमा छरिएका उम्मेदवारका ‘भिजिटिङ कार्ड’, पर्चा पम्प्लेट, पानीका बोटललगायत फोहर उनीहरूले सफा गरेका हुन् । खनालले राजनीतिक फोहर मात्रै होइन हामीले गरेका अन्य फोहर पनि सफा गर्नुपर्ने भन्दै सरसफाइमा जुटेको बताए । उनले भने, 'हामीलाई भोट हालेका जनताले हामीले फोहर गरेको देख्न चाहँदैनन् । चितवन महाधिवेशनमा अत्यधिक फोहर देखेर हामीले सफा गरेका हौँ ।' हरेक नेपालीको घरघरसम्म रास्वपाले फोहर गर्दैन भन्ने सन्देश प्रवाहका लागि उम्मेदवार अशिम साह, सुदीप ढकालसहित आफूहरूले सरसफाइ गरेको बताए । उनले भने, 'हामी फोहर गर्ने होइन सफा गर्ने मान्छे हो ।'
‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा
काठमाडौं । सरकारले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम देशभरिका एक हजार ५४६ सामुदायिक विद्यालयमा सञ्चालन गरेको छ । स्वास्थ्य सेवा विभागका महाशाखाका निर्देशक हीरादेवी निरौलाका अनुसार बालबालिकाको उपचारको व्यवस्था गर्न नर्स राखिएको बताइन् । तीमध्ये ३२७ सङ्घीय सरकार र बाँकी प्रदेश तथा स्थानीय तहको सरकारको समन्वयमा नर्स राखिएको छ । ‘विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम’ मार्फत ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम सञ्चालन गरेर बालबालिकालाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेको उनले बताइन् । 'विद्यालय तहमा बालबालिकाको स्वास्थ्य उपचार गर्न नर्सको दरबन्दी सिर्जना गरेर राख्न थालेका छौँ', निर्देशक निरौलाले भनिन्, 'ती नर्सले विद्यालय तहका बालबालिकाको आवश्यकताअनुसार समग्र स्वास्थ्य परीक्षण गर्दछन् ।' नर्सले विद्यार्थीको पोषणको अवस्था, विद्यालय आए/नआएको जानकारी, रक्तअल्पताको परीक्षणलगायत काम गर्छन् । यस्तै रक्तअल्पता कम भएको अवस्थामा आइरन चक्की खान सुझाव दिने गर्दछन् । यसैगरी ती नर्सले विद्यार्थी विद्यालय नआए किन आएन भनेर अभिभावकसँग पनि जानकारी लिने छन् । यस्तै नर्सले आवश्यकताअनुसार विद्यार्थीलाई स्वास्थ्य शिक्षा प्रदान गर्ने छन् । सरकारले आव २०७६/७७ मा विद्यालयमा स्वास्थ्य समस्या समाधान गर्न र विद्यार्थीका माध्यमबाट अभिभावकलाई स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम बागमती प्रदेशबाट पाइटल कार्यक्रको रूपमा सुरु सञ्चालन गरेको थियो । निर्देशक निरौलाले देशभरिका सबै विद्यालयमा ‘एक विद्यालय, एक नर्स’ लागू गर्ने भने पनि आगामी वर्ष बजेट विनियोजन नभएकाले थप विद्यालयमा कार्यक्रम लागू गर्न नसकिने बताइन् । ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमअन्तर्गत नर्सले विद्यालयका एक छात्रा र छात्रलाई स्वास्थ्य राजदूत बनाएर स्वास्थ्य जनचेतना जगाउने कार्यक्रम पनि सञ्चालन गर्ने गर्दछन् ।
बसेरासहित ३ कम्पनीलाई २.१५ लाख जरिवाना, १६ लाई सुधारको निर्देशन
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन कम्पनीलाई जरिवाना तिराएको छ । बुधबार काठमाडौं र ललितपुरका विभिन्न उद्योग तथा व्यावसायिक फर्ममा गरिएको अनुगमनका क्रममा कैफियत भेटिएपछि बसेरा बुटिक होटल प्रालि (केशर क्याफे), के.ए.बि.स्टोर र मर्मेडलाई २ लाख १५ हजार रुपैयाँ जरिवाना तिराएको हो । विभागका अनुसार काठमाडौं महानगरपालिका-२६, त्रिदेवी मार्गस्थित बसेरा बुटिक होटललाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६(२)(क) विपरीत कार्य गरेको ठहर गर्दै दफा ३९(१) (ख) बमोजिम २ लाख रुपैयाँ जरिवाना गरिएको हो । यस्तै, खरिद बिल नराखेको पाइएपछि काठमाडौं महानगर-३१, पुरानो बानेश्वरस्थित के.ए.बि. स्टोरलाई १० हजार रुपैयाँ र ललितपुर महानगर-३, पुल्चोकस्थित मर्मेडलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ । यसैगरी बाटिका क्रियसन, श्याम कृष्ण स्टोर, आर.बि. इन्टरप्राइजेज, सुपा देउराली लुम्बिनी खाद्य स्टोर, डा.रोसा झम्सिखेल प्रालि, गराज एण्ड त्रिशूल कम्पनी प्रालि, अन्नपूर्ण पेट्स होम, टि.एफ.टि. पुल्चोक, सुरज किराना खाद्य स्टोर, ए.एम.एन. ट्रेडर्स, ऋदम खाद्य स्टोर्स, हारती मेशिनरी एण्ड पाट्र्स, श्रीराज स्टील हाउस, संस्कार इन्टरप्राइजेज प्रालि, एम.एस. माही स्टील तथा एस सप्लाईज एण्ड ट्रेडिङ प्रालिलाई भने आवश्यक सुधारका लागि निर्देशन दिएको विभागले जनाएको छ ।