निकोलश पाण्डेको नेतृत्वमा महासंघको नयाँ कार्यसमितिले सम्हाल्यो कार्यभार, निर्माण क्षेत्रको गरिमा उकास्ने अठोट
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले सोमबार औपचारिक रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेको छ । अनामनगरस्थित महासंघको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहका बिच नवनिर्वाचित अध्यक्ष निकोलश पाण्डेसहितका पदाधिकारी तथा सदस्यहरूले आफ्नो कार्यभार सम्हाल्दै शपथ लिएका हुन् । शपथ ग्रहणसँगै नयाँ नेतृत्वले निर्माण क्षेत्रको वर्तमान चुनौतीहरूलाई चिर्दै खस्कँदो गरिमालाई पुनस्र्थापित गर्ने र व्यवसायीहरूको हकहितका लागि दृढतापूर्वक लाग्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेको छ । कार्यक्रममा महासंघका पूर्वअध्यक्षहरू, सातै प्रदेशका प्रतिनिधिहरू र निर्माण क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो । महासंघको आगामी कार्यकालका लागि नेतृत्व चयन भएका पदाधिकारीहरू अध्यक्षमा निकोलश पाण्डे, महासचिवमा शिवहरि घिमिरे, महिला उपाध्यक्षमा गङ्गा पोखरेल, कोषाध्यक्षमा उज्ज्वल गौतम, सहकोषाध्यक्षमा उपेन्द्र घिसिङ, नीतिगत उपमहासचिवमा मंगल शाही, आन्तरिक उपमहासचिवमा सन्तोष साह, प्रादेशिक उपाध्यक्षहरूमा प्रदेश निर्वाचित उपाध्यक्ष कोशी धिरेन्द्र दाहाल, मधेस शम्भु ठाकुर, बागमती बालकृष्ण थापा, गण्डकी खिमप्रकाश मल्ल, लुम्बिनी शहदेव खड्का कर्णाली हिमबहादुर बुढा तथा सुदूरपश्चिम प्रकाशबहादुर शेट्टी रहेका छन् । अधिवेशनले देशभरका निर्माण व्यवसायीहरूमाझ आपसी एकता र सहकार्यको नयाँ ऊर्जा सञ्चार गरेको सहभागीहरूले बताएका छन् । नयाँ टिमले विशेष गरी निर्माण उद्योगमा देखिएका नीतिगत समस्याहरूको समाधान र व्यवसायीहरूको सुरक्षालाई आफ्नो मुख्य प्राथमिकतामा राख्ने विश्वास लिइएको छ ।
जापानमा नेपाल सुरक्षित र वर्षैभरि घुम्न मिल्ने गन्तव्यको रुपमा प्रवर्द्धन
काठमाडौं । नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम र पाटा नेपाल च्याप्टरको संयुक्त आयोजनामा जापानको टोकियो र ओसाकामा नेपाललाई सुरक्षित, अद्वितीय र वर्षैभरि भ्रमणयोग्य गन्तव्यका रूपमा प्रवर्द्धन गरिएको छ । अप्रिल २ देखि ५ मा टोकियो र ओसाकामा सम्पन्न पर्यटन प्रवर्द्धन र बिटुबी कार्यक्रमले नेपाली र जापानी पर्यटन व्यवसायीबीच प्रत्यक्ष संवाद, सहकार्य र व्यापारिक सम्बन्ध विस्तारमा उल्लेखनीय योगदान पुर्याउने नेपाल पर्यटन बोर्डले जनाएको छ । यस कार्यक्रममार्फत नेपाललाई प्रमुख पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्दै जापानी बजारमा नेपालको उपस्थिति मजबुत बनाउने लक्ष्य राखिएको थियो । टोकियोमा आयोजित सत्रलाई सम्बोधन गर्दै नेपाली दूतावासका उपप्रमुख हरिहरकान्त पौडेलले अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धनमा यस किसिमका कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । सो अवसरमा नेपाल पर्यटन बोर्डकी वरिष्ठ प्रबन्धक रानु शाहले नेपालको सांस्कृतिक सम्पदा, चर्चित गन्तव्य, साहसिक पर्यटन र वेलनेस अनुभवबारे प्रस्तुति दिएकी थिइन् । प्रस्तुतिमा नेपाललाई सुरक्षित, फरक पहिचान भएको र वर्षैभरि घुम्न मिल्ने गन्तव्यका रूपमा उजागर गरिएको थियो । जसले अन्तर्राष्ट्रिय बजारमा नेपालको सकारात्मक छवि निर्माण गर्न मद्दत पुग्ने विश्वास लिइएको छ । साथै, जापानी पर्यटकलाई लक्षित विशेष पर्यटन प्याकेज विकास गर्न यस्ता कार्यक्रम उपयोगी हुने अपेक्षा गरिएको छ । नेपाल वायुसेवा निगमले जापान-नेपाल उडान सञ्जालबारे अद्यावधिक जानकारी प्रस्तुत गर्दै नेपालसँगको हवाई सम्पर्क विस्तारबारे जानकारी गराएको थियो । कार्यक्रममा जापानका टुर अपरेटर, ट्राभल एजेन्सी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । उनीहरूसँगको अन्तरक्रियाले नेपालका पर्यटन उत्पादन, सेवा र सम्भावनाबारे जानकारी आदान–प्रदान हुनुका साथै नयाँ साझेदारीका अवसरहरू सिर्जना हुने विश्वास व्यक्त गरिएको छ । कार्यक्रममा हेरिटेज टुर्स एण्ड ट्राभल्स, अल्पाइन रेस्क्यु सर्भिसेज, क्लब हिमालय, हिमालयन होलिडेज ट्रेकिङ, हाई ग्राउन्ड एड्भेन्चर, आर्या होटल एण्ड स्पा, रियल एड्भेन्चर नेपाल, होटल जाम्पा, म्याजेस्टिक लेकफ्रन्ट, खुम्बिला होटल, अफ द वाल ट्रेकिङ र चो ओयू ट्रेकिङलगायत नेपाली पर्यटन व्यवसायीहरूको सहभागिता रहेको थियो । यस पहलले नेपालको पर्यटन बजार विस्तार, अन्तर्राष्ट्रिय साझेदारी सुदृढीकरण र जापानी पर्यटकका लागि नेपाललाई प्राथमिक गन्तव्यका रूपमा स्थापित गर्न थप बल पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिनिधिसभा बैठकमा आज एक घण्टाको ‘विशेष समय’ चलाइने
काठमाडौं । सोमबार (आज) बस्ने प्रतिनिधिसभा बैठकमा एक घण्टाको ‘विशेष समय’ चलाउने निर्णय भएको छ ।सभामुख डीपी अर्यालको आह्वानमा आज सिंहदबारमा बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै, बैठकले प्रतिनिधिसभा नियमावलीका निम्ति मस्यौदा समिति बनाउने निर्णय पनि गरेको छ । संसदको कामकारबाहीलाई प्रभावकारी बनाउन नयाँ नियमावली बनाउने निर्णय गरेको हो । बैठकले प्रतिनिधिसभा नियमावली २०७९ लाई संशोधन गर्नका लागि मस्यौदा समिति गठन गर्ने निर्णय गरेको हो । त्यसैगरी, कार्यव्यवस्था परामर्श समिति गठन गर्ने निर्णयसमेत गरिएको छ । आज अपरान्ह १ बजे प्रतिनिधिसभा बैठक बस्ने तय छ । बैठकमा तीनवटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ। संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार, आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन), अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन अध्यादेश), २०८२’ स्वीकृत गरियोस भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ । त्यसैगरी, राष्ट्रियसभाको बैठक आजै अपराह्न १२ः१५ बजे सिंहदरबारमा बस्दैछ । सो बैठकमा ‘राष्ट्रियसभा सदस्य प्रेमप्रसाद दंगालले लिलाकुमारी भण्डारीलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछन् । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय मानवअधिकार आयोगको गत आर्थिक वर्ष २०८०/०८१ को २४औँ वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्नुहुने सम्भावित कार्यसूची तय गरिएको छ ।
चन्द्र ढकाल–हेमराज टीमबाट ४ वटा प्रदेश अध्यक्ष निर्वाचित, अन्य प्रदेशमा पनि पकड जमाउँदै
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेशतर्फ अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा वरिष्ठ उपाध्यक्षका प्रत्यासी हेमराज ढकाल समुहबाट ४ जना प्रदेश अध्यक्षहरू निर्वाचित भएका छन् । महासंघ प्रदेशको सम्पन्न भएको ५ वटा अधिवेशनमध्ये उक्त समुहबाट ४ प्रदेश अध्यक्ष चयन भएका हुन् । जस अनुरुप गण्डकीमा उक्त समुहका नरेश कँडेल सर्वसम्मतीमा अध्यक्ष भएका हुन् । उक्त प्रदेशको शुक्रबार अधिवेशन सम्पन्न भएको थियो । यसैगरी मधेशबाट विजय शाह र कर्णालीबाट धनबहादुर ओली सर्वसम्मतीमा निर्वाचित भएका हुन् । यसैगरी आइतबार सम्पन्न कोशी प्रदेशको निर्वाचनमा पनि चन्द्र–हेमराज ढकाल समुहबाट राजेन्द्र बहादुर राउत भारी मतान्तरले विजयी भएका छन् । उनी खसेको कुल मतमध्ये ७० प्रतिशतभन्दा बढी मत ल्याएर विजयी भएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा जिल्ला नगरतर्फ प्रदेश अध्यक्षहरुको भुमिका महत्वपूर्ण हुन्छ । हालसम्म ५ वटा प्रदेशको अध्यक्ष चयन भएकोमा ३ प्रदेशको अध्यक्ष चन्द्र–हेमराज समुहबाट हुँदा त्यसले आगामी निर्वाचनमा ठूलो महत्व राख्नेछ ।
मध्यपूर्व द्वन्द्वबीच तेल उत्पादनमा वृद्धि
काठमाडौं । तेल निर्यात गर्ने मुलुकहरूको सङ्गठन (ओपेक) र उसका सहयोगी देशहरूले मे महिनामा दैनिक दुई लाख ६ हजार ब्यारेल तेल उत्पादन बढाउने निर्णय गरेका छन् । यो निर्णय ओपेकद्वारा जारी गरिएको आधिकारिक वक्तव्यमा उल्लेख छ । निर्णय भर्चुअल बैठकपछि सार्वजनिक गरिएको थियो, जसमा साउदी अरेबिया, रुस, इराक, संयुक्त अरब इमिरेट्स, कुवेत, काजाकस्तान, अल्जेरिया र ओमान ले सहभागी थिए । बैठकले विश्व बजारको अवस्था र भावी दृष्टिकोणको समीक्षा गरेको थियो । मध्यपूर्वमा जारी सैनिक सङ्घर्षकाबीच, यी आठ ओपेक प्लस देशहरूले ऊर्जा आपूर्ति सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुद्री मार्गको सुरक्षा अत्यन्त महत्वपूर्ण भएको औँल्याएका छन् । साथै, ऊर्जा पूर्वाधारमाथि भएका आक्रमणहरूले आपूर्ति प्रणालीमा नकारात्मक असर पुर्याएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरूले क्षतिग्रस्त ऊर्जा संरचनालाई पूर्ण क्षमतामा पुनःस्थापना गर्न महँगो र समय लाग्ने भएकाले सावधानी अपनाउन आवश्यक भएको बताए । ओपेक प्लसका यी आठ देशहरू अर्को बैठक मे ३ मा आयोजना गर्दै थप निर्णय गर्ने योजना बनाएका छन् । फेब्रुअरी २८ देखि संयुक्त राज्य अमेरिका र इजरायलद्वारा इरानमा गरिएको हवाई आक्रमणपछि मध्यपूर्वमा द्वन्द्वले क्षेत्रीय ऊर्जा आपूर्तिमा गम्भीर अवरोध सिर्जना गरेको छ । यसका कारण कच्चा तेल र परिष्कृत तेल उत्पादन तथा ढुवानीमा उल्लेखनीय गिरावट आएको छ । तेल आपूर्ति वृद्धि गर्ने यो कदमले विश्व ऊर्जा सङ्कटसँग जुध्ने रणनीतिक प्रयासको रुपमा हेरिएको छ ।
कालोसूचीमा रहेका रास्वपाका दुई सांसद विरुद्धको मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा
काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका तर बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेका उम्मेदवारविरुद्ध दायर मुद्दा सोमबार (आज) सर्वाच्च अदालतको संवैधानिक इजलासमा पेशीमा राखिएको छ । उदयपुर, पर्सा, सिन्धुलीलगायत विभिन्न निर्वाचन क्षेत्रबाट निर्वाचित सांसदहरूमाथि कालोसूचीमा रहेको तथ्य लुकाएर उम्मेदवारी दिएको आरोपसहित रिट दायर गरिएको हो । रिट निवेदकहरूको तर्फबाट उम्मेदवारी दर्ता गर्दा अनिवार्य रूपमा खुलाउनुपर्ने विवरण उम्मेदवारहरूले ढाँटेको भन्दै उनीहरूको उम्मेदवारी नै बदर गर्न माग गरिएको छ । यसअघि धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहको उम्मेदवारी निर्वाचन आयोगले मतदान हुन दुई दिनअघि नै खारेज गरेको थियो । बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुष्टि भएपछि आयोगले उक्त निर्णय लिएको थियो । यस्तै, उदयपुर क्षेत्र नम्बर २ बाट निर्वाचित रास्वपा सांसद सूर्यबहादुर तामाङ र सिन्धुली क्षेत्र नम्बर १ का धनेन्द्र कार्कीसमेत कालोसूचीमा रहेको तथ्य लुकाएर उम्मेदवार बनेको आरोपमा मुछिएका छन् । उनीहरू दुवै जना निर्वाचनमा विजयी भइसकेकाले निवेदकले उम्मेदवारीसँगै सांसद पद पनि खारेज गर्न माग गरेका छन् ।
होटल पौवाले ‘स्वाद उत्सव’ आयोजना गर्दै
काठमाडाै। स्वदेशी लगानी, सामूहिक स्वामित्व र नेपाली आतिथ्य संस्कृतिलाई आधार बनाएर अघि बढिरहेको होटल पौवा प्रालीले आफ्नो १०औँ वार्षिकोत्सवको अवसरमा देशभर रहेका सम्पूर्ण शाखाहरूमा ‘स्वाद उत्सव’ कार्यक्रम आयोजना गर्ने भएको छ । कम्पनीका अनुसार आगामी चैत्र २६, २७ र २८ गते तीन दिनसम्म सञ्चालन हुने उक्त उत्सवमा होटल पौवाका सबै शाखाहरूमा विशेष परिकार, नेपाली रैथाने स्वाद तथा विविध आतिथ्य कार्यक्रममार्फत ग्राहकहरूलाई विशिष्ट अनुभव प्रदान गरिनेछ । होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद ज्ञवालीले छोटो अवधिमै नेपाली हस्पिटालिटी क्षेत्रमा पौवाले आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको बताए । “पहिलो दशकलाई हामीले संस्थागत बाल्यकालका रूपमा लिएका छौं। यस अवधिले हामीलाई अनुभव, आत्मविश्वास र स्पष्ट दिशा दिएको छ,” उनले भने । उनका अनुसार आगामी दशकमा देशका प्रमुख पर्यटकीय गन्तव्यहरूमा शाखा विस्तार गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा सक्रिय भूमिका निर्वाह गर्ने योजना कम्पनीले अघि सारेको छ । होटल पौवाका उपाध्यक्ष धुव्रराज न्यौपानेका अनुसार व्यवसायिक दृष्टिले १० वर्ष छोटो समय भए पनि होटल पौवाले यस अवधिमा हासिल गरेको विस्तार र संस्थागत विकास उल्लेखनीय बनेको छ । “सात कोठाबाट सुरु भएको यात्रा आज पाँचतारे होटल तथा रिसोर्ट अवधारणातर्फ अघि बढिरहेको छ,” उनले भने, “सामूहिक लगानीको मोडेलमार्फत विकसित हुँदै गएको पौवा नेपाली चेन होटलको सम्भावना प्रमाणित गर्ने उदाहरण बनेको छ ।” रुपन्देहीको सालझण्डीस्थित सात कोठे सानो घरबाट सुरु भएको होटल पौवाले छोटो अवधिमै नेपाली आतिथ्य क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्दै हाल देशका विभिन्न स्थानमा २० वटा शाखा सञ्चालन गरिरहेको छ । “जहाँबाट नेपाली आतिथ्यको सुरुवात हुन्छ” भन्ने मूल नारासहित अघि बढिरहेको पौवाले नेपाली भाषा, संस्कृति तथा रैथाने खानाको संरक्षण र प्रवद्र्धनमा विशेष जोड दिँदै आएको छ । वार्षिकोत्सवकै अवसरमा कम्पनीले आफ्ना लगानीकर्ता तथा सहयात्रीहरूसँग भावी रणनीति र विस्तार योजनाबारे छलफल गर्ने उद्देश्यले ‘बितायौं बालापन’ अवधारणामा भैरहवा शाखामा लगानी सम्मेलन आयोजना गर्ने जनाएको छ । उक्त सम्मेलन कम्पनीको दीर्घकालीन विस्तार रणनीति “मिसन १००” लाई सफल बनाउन केन्द्रित रहने उपाध्यक्ष न्यौपानेले जानकारी दिए । कम्पनीका ब्रान्डिङ विभाग प्रमुख विष्णुप्रसाद भण्डारीका अनुसार “मिसन १००” केवल संख्यात्मक विस्तारको लक्ष्य मात्र नभई व्यवस्थापन क्षमता, ब्रान्ड विश्वसनीयता र संस्थागत परिपक्वताको दीर्घकालीन रणनीति हो । हाल होटल पौवा सञ्जालमा झण्डै १००० भन्दा बढी कर्मचारी कार्यरत छन् भने २५० भन्दा बढी लगानीकर्ता रहेको कम्पनीले जनाएको छ । स्वदेशमै रोजगारी सिर्जना गर्दै नेपाली आतिथ्यलाई संस्थागत रूपमा सुदृढ बनाउने लक्ष्यसहित पौवा आफ्नो विस्तार यात्रालाई निरन्तर अघि बढाइरहेको छ ।
गोर्खा ब्रुअरीको १५ प्रतिशत सेयर राजबहादुरले किने, प्रिमियम मूल्यमा कारोबार
काठमाडौं । बियर उत्पादक कम्पनी गोर्खा ब्रुअरीको १५ प्रतिशत सेयर उद्योगी राजबहादुर शाहले खरिद गरेका छन् । गोर्खा ब्रुअरी र जावलाखेल ग्रुप अफ इन्डस्ट्रीजका सञ्चालक शाहबीच १५ प्रतिशत सेयर खरिद बिक्रीको सहमति भएको हो । गोर्खा ब्रुअरीमा हाल करिव एक अर्ब ३० करोड रुपैयाँ सेयर पुँजी रहेको छ । त्यसको शाहले १५ प्रतिशतसम्म सेयर खरिद गर्ने सहमति भएको हो । सो सेयर प्रिमियम मूल्यमा खरिदबिक्री गर्ने सहमति भएको उच्च स्रोतले बतायो । तर कति प्रिमियम मूल्य थपेको भन्ने विषय स्रोतले खुलाएन । बहुराष्ट्रिय कम्पनी काल्सवर्ग समूहको हाल सतप्रतिशत लगानी रहेको गोर्खा ब्रुअरीमा अब नेपाली व्यवसायी शाह पनि संलग्न भएका छन् । ‘गोर्खा ब्रुअरी आफैमा ब्राण्डेड छ । नेपाली उद्योगमा स्थापित जावलाखेल ग्रुप पनि त्यसमा आवद्ध भएपछि अब एकअर्काको परिपूरकका हिसाबले कम्पनी अगाडि बढ्नेछ,’ स्रोतले भन्यो । गोर्खा ब्रुअरीले बियर मात्र उत्पादन गर्दछ । यसका उत्पादन काल्सवर्ग र टुर्बाेग नेपालमा सर्वाधिक रूचाइने वियर हुन् । जाउलाखेल ग्रुप अफ इन्डस्ट्रीजका विस्की, भोड्कासहित विभिन्न ब्राण्ड नेपाली बजारमा अग्रणी स्थानमा छन् । राजबहादुर शाह परिवारको लगानीमा सञ्चालित जाउलाखेल ग्रुप अफ डिस्ट्रिलरी अन्तर्गत हाल विभिन्न २१ ब्राण्डमा मदिरा उत्पादन हुँदै आएको कम्पनीले जनाएको छ । व्यक्तिगत तर्फबाट सबैभन्दा बढी आय कर तिरेका जनाउँदै उनी र उनको बुबा विजय बहादुर शाहलाई नेपाल सरकारले पटक पटक उच्च करदाता सम्मान दिएको छ । गोर्खा ब्रुअरीको स्थापना काल्सवर्ग र खेतान समूहको संयुक्त लगानीमा भएको थियो । सुरुमा यस कम्पनीको व्यस्थापन खेतान समूहकै नेतृत्वमा थियो । पछि खेतान समूहले यसको सेयर बेचेर घटाउँदै लगेको थियो । २०८१ साउनमा खेतान ग्रुपको स्वामित्वमा बाँकी रहेको ९.९४ प्रतिशत सेयर पनि कार्लसबर्ग ग्रुपले खरिद गरेको थियो । खेतान समूहले सो सेयर काल्सवर्गलाई नै बिक्री गरेपछि सतप्रतिशत स्वामित्व काल्सवर्गको रहेको थियो ।