विकासन्युज

गोल्डेन बुटका दाबेदार

काठमाडौं । अनौपचारिक रूपमा फिफा विश्वकप २०२६ लाई ‘सुपरस्टारहरूको विश्वकप’ समेत भनिएको छ । प्रतियोगिताका धेरै ठूला स्टार खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै लगातार गोल गरिरहेका छन् । यसै कारण यसपटकको विश्वकपमा गोल्डेन बुट (सर्वाधिक गोलकर्ता) को दौड इतिहासकै सबैभन्दा प्रतिस्पर्धात्मक र रोमाञ्चकमध्ये एक बनेको छ । यी हुन् प्रमुख दाबेदार ६ गोल   लियोनेल मेसी विश्वकप २०२२ अघि विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा लियोनेल मेसीको गोल गर्ने रेकर्ड त्यति प्रभावशाली थिएन । तर कतार विश्वकपदेखि सुरु भएको उनको उत्कृष्ट लय उत्तर अमेरिकामा जारी छ । समूह चरणका पहिलो दुई खेलमा मेसीका गोलकै बलमा अर्जेन्टिनाले जित निकाल्यो । अल्जेरियाविरुद्ध उनले विश्वकप करिअरकै पहिलो ह्याट्रिक पूरा गर्दै प्रतियोगिताको इतिहासमा एकै खेलमा ह्याट्रिक गर्ने सबैभन्दा पाका खेलाडी बने । त्यसपछि अस्ट्रियाविरुद्ध दुई गोल गर्दै उनले लगातार छवटा विश्वकप सहभागितामा गोल गर्ने इतिहासका तेस्रो खेलाडी बन्न सफल भए । ती दुई गोलसँगै उनले विश्वकपमा आफ्नो कुल गोल संख्या १७ पु‍र्याउँदै जर्मनीका मिरोस्लाभ क्लोजे (१६ गोल) लाई पछि पारेर विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बने । जोर्डनविरुद्ध सुरुआती टोलीमा नराखिए पनि दोस्रो हाफमा मैदान प्रवेश गरेका मेस्सीले फेरि गोल गरे । यससँगै यस संस्करणमा उनको गोल संख्या ६ पुगेको छ । केलियन एम्बाप्पे मेसीलाई सबैभन्दा नजिकबाट पछ्याइरहेका खेलाडी हुन् फ्रान्सका कप्तान केलियन एम्बाप्पे, जो विश्वकपमा सधैं चम्किने खेलाडीका रूपमा चिनिन्छन् । सेनेगलविरुद्ध उनले माइकल ओलिसेको उत्कृष्ट पासलाई सदुपयोग गर्दै पहिलो गोल गरे भने खेलको अन्त्यतिर लामो दूरीबाट अर्को आकर्षक गोल थपे । इराकविरुद्ध पनि उनले लामो दूरीबाट शानदार गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । त्यसपछि विपक्षी रक्षकको ठूलो गल्तीको फाइदा उठाउँदै दोस्रो गोल गरे । नर्वेविरुद्ध गोल गर्न नसके पनि उनले दुई असिस्ट दिएका थिए । अन्तिम ३२ को चरणमा स्विडेनविरुद्ध भने उनी पुनः चम्किए । पहिलो गोल व्यक्तिगत कौशलको उत्कृष्ट नमुना थियो भने दोस्रो गोल गर्दै उनले फ्रान्सको जित सुनिश्चित गरे, जसमा ओलिसेको योगदान पनि उल्लेखनीय रह्यो । ५ गोल अर्लिङ हालान्ड सर्वाधिक गोलकर्ताको सूचीमा अर्लिङ हालान्डको नाम हुनु कुनै आश्चर्यको विषय होइन । यद्यपि यसपटक उनी शीर्ष स्थानमा नभई पछ्याइरहेका खेलाडीमध्ये छन्, तर विश्वकप २०२६ मा उनको प्रदर्शन निकै प्रभावशाली रहेको छ । विश्वकप डेब्यूमै उनले डेभिड मोलर वुल्फेको क्रसलाई गोलमा परिणत गर्दै पहिलो गोल गरे । त्यसपछि इराकका गोलरक्षकको क्लियरेन्स रोक्दा बल उनकै शरीरमा लागेर गोलमा प्रवेश गर्दै दोस्रो गोल सम्भव भयो । सेनेगलविरुद्ध उनले दुई गोल थपे । पहिलो गोल तीव्र गतिमा गरिएको काउन्टर अट्याकपछि आएको थियो भने दोस्रो गोल पेनाल्टी क्षेत्रभित्रको भिडन्तपछि हावामै आएको बललाईल सिधै प्रहार गर्दै गरेका थिए । फ्रान्सविरुद्ध उनी खेलेनन् । यदि त्यो खेल खेलेका भए सम्भवतः उनी नै गोल्डेन बुट दौडमा शीर्षस्थानमा हुन सक्थे । तर अन्तिम ३२ को चरणमा आइभरी कोस्टविरुद्ध फर्किएर उनले विजयी गोल गर्दै टोलीलाई अन्तिम १६ मा पु‍र्याए । ह्यारी केन के यस विश्वकपका सबैभन्दा कम चर्चा गरिएका उत्कृष्ट खेलाडी ह्यारी केन हुन् ? चार खेलमा पाँच गोल गरेका उनले विश्वकपमा आफ्नो कुल गोल संख्या १३ पु‍र्याएका छन् । यससँगै उनी फ्रान्सका जस्ट फन्टेनसँग संयुक्त रूपमा विश्वकप इतिहासका छैटौं सर्वाधिक गोलकर्ता बनेका छन् । साथै गोल्डेन बुटको दौडमा रहेका मेसी र एम्बाप्पेभन्दा उनी केवल एक गोलले पछाडि छन् । क्रोएसियाविरुद्ध सुरुमा उनले पेनाल्टी मिस गरेका थिए । तर पुनः प्रहार गर्ने अवसर पाएपछि गोल गर्न सफल भए । त्यसपछि डेक्लन राइसको कर्नरमा हेडमार्फत अर्को गोल थपे । घानाविरुद्ध गोल गर्न नसके पनि पानामाविरुद्ध जुड बेलिङ्घमको पासमा हेडमार्फत गोल गर्दै इंग्ल्यान्डलाई २–० को जित दिलाउन योगदान दिए । डीआर कङ्गोविरुद्ध भने उनी टोलीका वास्तविक उद्धारकर्ता बने । टोली पछि परेको अवस्थामा उनले लियोनेल एम्पासीलाई स्तब्ध पार्ने उत्कृष्ट हेडमार्फत बराबरी गोल गरे । त्यसको केही मिनेटपछि उनले ८६औं मिनेटमा गोलको माथिल्लो कुनामा शक्तिशाली प्रहार गर्दै विजयी गोल गरे र इंग्ल्यान्डलाई २–१ को रोमाञ्चक जित दिलाए । ४ गोल उस्मान डेम्बेले हालका बालोन डीओर विजेता उस्मान डेम्बेलेले पनि उत्तर अमेरिकामा उत्कृष्ट विश्वकप बिताइरहेका छन्, यद्यपि उनी आफ्नै टोलीका अन्य स्टार खेलाडीहरूको छायामा परेका छन् । इराकविरुद्ध उनले ठूलो प्रतियोगितामा पहिलो गोल गरे । त्यसपछि समूह चरणको तेस्रो खेलमा नर्वेविरुद्ध फ्रान्सको ४–१ को जितमा निर्णायक भूमिका निभाए । उनले पहिलो हाफमै विपक्षी फुलब्याकलाई निरन्तर दबाबमा राख्दै ३२ मिनेटभित्र ह्याट्रिक पूरा गरेका थिए । भिनिसियस जुनियर रोड्रिगो र राफिन्हा चोटका कारण अनुपस्थित भएपछि ब्राजिलको आक्रमणको जिम्मेवारी भिनिसियस जुनियरले सफलतापूर्वक सम्हालेका छन् । मोरक्कोविरुद्ध उनले बायाँ फ्ल्याङ्कबाट उत्कृष्ट व्यक्तिगत प्रयास गर्दै महत्त्वपूर्ण बराबरी गोल गरे । हाइटीविरुद्ध आफ्नो तीव्र गतिका बलमा रक्षापङ्क्ति पार गर्दै गोल गरे भने स्कटल्यान्डविरुद्ध विपक्षीको गल्तीबाट सहज गोल र कुनै चुनौतीबिनाको हेडमार्फत अर्को गोल गर्दै प्रतियोगितामा आफ्नो गोल संख्या ४ पु‍र्याएका छन् ।

स्वास्थ्य बीमा बोर्डले भन्यो : अनावश्यक स्वास्थ्य परीक्षण नगराउनू

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमित अनावश्यक स्वास्थ्य परीक्षण नगर्न आग्रह गरेको छ । बोर्डले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो ।  बोर्डले बीमित नागरिकलाई स्वास्थ्य बीमा सेवाको जिम्मेवार र सदुपयोग गर्न, अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न तथा चिकित्सक र स्वास्थ्यकर्मीलाई आवश्यकताभन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन पनि अनुरोध गरेको हो । । बोर्डले सीमित स्रोतसाधन तथा संरचनागत चुनौतीका बाबजुद स्वास्थ्य बीमा कार्यक्रममार्फत दैनिक हजारौं बीमित नागरिकले स्वास्थ्य सेवा प्राप्त गरिरहेको जनाएको छ ।  साथै, उपचारका क्रममा नागरिकले आफ्नै खल्तीबाट व्यहोर्नुपर्ने खर्च न्यूनीकरण गर्दै वित्तीय जोखिमबाट संरक्षण गर्न स्वास्थ्य बीमा कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याइरहेको उल्लेख गरेको छ । बोर्डका अनुसार स्वास्थ्य बीमा कार्यक्रमको दिगो वित्तीय स्रोत तथा संयन्त्र पूर्ण रूपमा स्थापित हुन नसक्दा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दाबी भुक्तानी समयमै गर्न कठिनाइ भएको छ । यसबाट सेवा प्रदायक संस्था र बीमित सेवाग्राही दुवै प्रभावित भएको विषयमा बोर्ड जानकार रहेको जनाएको छ । विज्ञप्तिअनुसार चालु आर्थिक वर्षका विभिन्न मितिमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई कुल २३ अर्ब ४८ करोड २१ लाख ८८ हजार १६ रुपैयाँ भुक्तानी गरिसकिएको छ । साथै, २०८२ साल मंसिर मसान्तसम्म स्वास्थ्य बीमा बोर्डमा आबद्ध सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दाबी भुक्तानी फछ्र्योट भइसकेको बोर्डले जनाएको छ । बोर्डले २०८२ मंसिरपछि परेको दाबी भुक्तानीका लागि आवश्यक बजेट व्यवस्थापन तथा दिगो वित्तीय स्रोत सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय र पहल भइरहेको पनि जनाएको छ । यसैबीच, बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई बीमित सेवाग्राहीको उपचारमा कुनै पनि प्रकारको अवरोध वा कठिनाइ सिर्जना नगरी स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत निर्धारित मापदण्डअनुसार निरन्तर गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आग्रह गरेको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रमको दिगोपन र प्रभावकारिता कायम राख्न सेवा प्रदायक स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी तथा बीमित नागरिक सबै पक्षको जिम्मेवार भूमिका आवश्यक रहेको उल्लेख गरेको छ ।   

महँगी भत्ता नपाएपछि प्रेस काउन्सिलका कर्मचारी आन्दोलित

काठमाडौं । विगत ६ महिनादेखि महँगी भत्ता नपाएको भन्दै प्रेस काउन्सिल नेपालका स्थायी कर्मचारीहरूले धर्ना सुरु गरेका छन् । सरकारद्वारा निर्धारित अनिवार्य दायित्वअन्तर्गत पर्ने महँगी भत्ता गत माघ महिनादेखि उपलब्ध नगराइएको भन्दै कर्मचारीहरूले बिहीबारदेखि ‘पेन डाउन’ गरी कामकाज ठप्प पारेका हुन् । काउन्सिलका सूचना अधिकारी रामशरण बोहराका अनुसार कर्मचारीहरूले लामो समयदेखि व्यवस्थापनसमक्ष भत्ता उपलब्ध गराउन माग गर्दै आएका थिए । बोर्ड सदस्यहरूको कार्यकाल समाप्त भई बोर्ड रिक्त रहेको अवस्थामा कर्मचारीहरूको जायज मागलाई बेवास्ता गरिएको उनको गुनासो  छ । ‘आज सबै स्थायी कर्मचारी साथीहरू दबाब सिर्जना गर्ने उद्देश्यले हिजोदेखि काउन्सिल सचिवालयको बाहिरी प्राङ्गणमा बसेका छौं । यो हाम्रो शान्तिपूर्ण दबाबमूलक कार्यक्रम हो, कुनै उग्र आन्दोलन होइन । असार महिनाको अन्तिमतिर आइपुगेका छौं । आज असार १९ गते भइसक्यो । ६ महिनादेखि पाउनुपर्ने महँगी भत्ता नपाएको कारण हामीले व्यवस्थापनसँग उक्त भत्ता उपलब्ध गराउन आग्रह गर्दै दबाब सिर्जना गरिरहेका छौं,’ उनले भने । कर्मचारीहरूले बिहीबारबाट काउन्सिलको कामकाज रोकेर धर्ना दिइरहेका छन् । भत्ता पाउने ठोस सुनिश्चितता नभएसम्म आन्दोलन र कामकाज बहिष्कारको कार्यक्रम निरन्तर जारी रहने सूचना अधिकारी बोहराको चेतावनी छ । ‘काउन्सिल सचिवालयका स्थायी कर्मचारीहरूले माघ महिनादेखि सरकारको अनिवार्य दायित्वअन्तर्गत पर्ने महँगी भत्ता हालसम्म पनि पाएका छैनौँ । यस विषयमा हामीले पटकपटक व्यवस्थापनसँग अनुरोध गर्दै आएका छौँ । बोर्ड रहेको अवस्थादेखि नै हामीले महँगी भत्ता रोकिएको विषय उठाउँदै आएका थियौँ । तर हाल बोर्डसमेत नभएको अवस्था छ र हाम्रो माग अझै सम्बोधन भएको छैन,’ उनले भने । सूचना अधिकारी बोहराले विरोध कार्यक्रम अधिकार प्राप्तिका लागि गरिएको मर्यादित दबाबमूलक रहेको उनले बताए ।  

निफ्राको सञ्चालक समितिमा महेश आचार्य नियुक्त

काठमाडौं ।  नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को सञ्चालक समितिमा महेश आचार्य नियुक्त भएका छन् ।  बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले आचार्यलाई सञ्चालक समितिमा अर्थ मन्त्रालयको प्रतिनिधिका रूपमा रहेका अमृत लम्सालको स्थानमा नियुक्त गरेका हुन् । आचार्य अर्थ मन्त्रालयका प्रतिनिधिका रूपमा सञ्चालक समितिमा रहनेछन् ।

हिमालयन बैंकको सञ्चालक सदस्य समितिमा पौडेल नियुक्त

काठमाडौं । हिमालयन बैंककको सञ्चालक समितिसदस्यमा सञ्चयकोषको तर्फबाट विरेन्द्र पौडेल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बुधबार बसेको बैठकले असार २३ गतेदेखि लागू हुने गरेर पौडेललाई सञ्चालक समितिमा नियुक्त गरेको हो । पौडेल कोषका मूख्य प्रबन्धक हुन् । 

बिपी कोइराला अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह

काठमाडौं । सरकारले चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदमा वरिष्ठ चिकित्सक डा. योगेन्द्रप्रसाद सिंहलाई नियुक्त गरेको छ । नियुक्तिपछि उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।      अध्यक्ष पदका लागि प्राप्त आवेदनमध्येबाट छनोट समितिले डा. योगेन्द्रप्रसाद सिंह, डा. अजयकुमार झा र डा. विजयचन्द्र आचार्यको नाम सिफारिस गरेको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ४६ वर्ष लामो सेवा गरी अवकाश प्राप्त डा. सिंह स्वास्थ्य क्षेत्रका वरिष्ठ चिकित्सक हुन् । 

राष्ट्रिय बीमा कम्पनीमा रोजगारीको अवसर, विभिन्न पदमा १७ कर्मचारी माग

काठमाडौं । सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनीले विभिन्न पदमा कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ । कम्पनीले विभिन्न पदमा १७ कर्मचारी माग गरेको हो ।  कम्पनीले प्रशासन, सह व्यवस्थापक १ जना, प्रशासन चार्टड एकाउन्टेन्ट १ जना, प्रशासन नायव व्यवस्थापक १ जना, प्रशासन कानून अधिकृत १ जना, प्रशासन, सहायक व्यवस्थापक ३ जना माग गरेको छ । त्यस्तै प्रशासन, सहायक ‘क’ पदमा १ जना, स्वास्थ्य सहायक १ जना, सूचना प्रविधि सहायक १ जना, प्रशासन, सहायक ‘ख’ ६ जना र कृषि प्राविधिक पदमा १ जना माग गरेको छ ।  विभिन्न पदका लागि सम्बन्धित विषयमा स्नातकोत्तर, स्नातक, प्रवीणता प्रमाणपत्र तह (१०+२) वा एसएलसी÷एसईई उत्तीर्ण गरेका नागरिकहरूले आवेदन दिन सक्नेछन् ।  उमेरको हकमा अधिकृत स्तरका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र सहायक स्तरका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ ।  महिला तथा अपाङ्गता भएका उम्मेदवारहरूको हकमा माथिल्लो उमेरको हद ४० वर्ष सम्म तोकिएको छ । सम्बन्धित पदहरुमा योग्यता पुगेका नेपाली इच्छुक नागरिकले साउन ७ गतेसम्म र दोब्बर दस्तुर तिरी साउन १४ गतेसम्म अनलाइन माध्यमबाट आवेदन दिनु पर्ने कम्पनीले जनाएको छ । परीक्षा दस्तुर र छनोट प्रक्रिया परीक्षा दस्तुर तह ६ देखि ९ का लागि १ हजार २ सय रुपैयाँ र तह ४ तथा ५ का लागि ८०० रुपैयाँ तोकिएको छ ।

विश्वकपबाट लुका मोड्रिकलाई बिदाइ

काठमाडौं । क्रोएसियाका महान् मिडफिल्डर लुका मोड्रिकको विश्वकप यात्रा लगभग अन्त्यतिर पुगेको मानिँदै गर्दा उनीप्रति आफ्नै टोलीका प्रशिक्षक ज्लाटको डालिच र पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले उच्च सम्मान व्यक्त गरेका छन् । पोर्चुगलसँग २–१ ले पराजित भएपछि ४० वर्षीय मोड्रिकले सम्भवतः आफ्नो अन्तिम विश्वकप खेल खेलेका मानिएको छ ।      खेलपछि मोड्रिक र ४१ वर्षीय क्रिस्टियानो रोनाल्डोबीच लामो आत्मीय संवाद भएको थियो । रियल म्याड्रिडमा छ सिजन सँगै बिताउँदै चार पटक च्याम्पियन्स लिग जितेका यी दुई महान् खेलाडी अन्तर्राष्ट्रिय फुटबल यात्राको अन्तिम चरणमा पुगेका मानिन्छन् ।      क्रोएसियाका प्रशिक्षक डालिचले मोड्रिकको बिदाइ यसरी हुनुपरेकोमा दुःख व्यक्त गर्दै उनले अन्तिम क्षणसम्म पनि आफ्नो नेतृत्व, चरित्र र उत्कृष्ट खेल प्रदर्शन कायम राखेको बताए । उनका अनुसार मोड्रिक सधैँ क्रोएसियाका प्रमुख खेलाडीमध्ये एक रहेका छन् ।      पोर्चुगलका प्रशिक्षक मार्टिनेजले मोड्रिकले लाखौँ बालबालिकालाई प्रेरणा दिएको उल्लेख गर्दै उहाँको खेल्ने शैली फुटबल इतिहासमा सधैँ सम्झिने खालको रहेको बताए । बल आफ्नो नियन्त्रणमा लिएपछि सही निर्णय गर्ने क्षमता, खेलको गति बुझ्ने शैली र खाली स्थान सिर्जना गर्ने कौशलका कारण मोड्रिक अझै पनि युवा खेलाडीजस्तै प्रभावशाली देखिएको उनको भनाइ थियो ।      सन् २०१८ को विश्वकपमा क्रोएसियालाई उपविजेता तथा २०२२ मा तेस्रो स्थानसम्म पुर्‍याउने यात्रामा मोड्रिकले निर्णायक भूमिका खेलेका थिए । हाल एसी मिलानबाट खेलिरहेका उनले गत महिना आफ्नो २००औँ अन्तर्राष्ट्रिय खेल पूरा गरेका थिए । जुन २३ मा पानामामाथिको जितपछि टोलीका खेलाडीहरूले उनलाई सम्मानस्वरूप काँधमा उचालेर बिदाइको सङ्केत दिएका थिए ।      यता समूह चरणमा आलोचना खेपेका रोनाल्डोले पोर्चुगलको यस जितमा महत्त्वपूर्ण योगदान दिँदै दोस्रो हाफमा पेनाल्टीमार्फत बराबरी गोल गरेका थिए । रासस