स्वास्थ्य बीमा बोर्डले भन्यो : अनावश्यक स्वास्थ्य परीक्षण नगराउनू

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमित अनावश्यक स्वास्थ्य परीक्षण नगर्न आग्रह गरेको छ । बोर्डले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो । 

बोर्डले बीमित नागरिकलाई स्वास्थ्य बीमा सेवाको जिम्मेवार र सदुपयोग गर्न, अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न तथा चिकित्सक र स्वास्थ्यकर्मीलाई आवश्यकताभन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन पनि अनुरोध गरेको हो । ।

बोर्डले सीमित स्रोतसाधन तथा संरचनागत चुनौतीका बाबजुद स्वास्थ्य बीमा कार्यक्रममार्फत दैनिक हजारौं बीमित नागरिकले स्वास्थ्य सेवा प्राप्त गरिरहेको जनाएको छ । 

साथै, उपचारका क्रममा नागरिकले आफ्नै खल्तीबाट व्यहोर्नुपर्ने खर्च न्यूनीकरण गर्दै वित्तीय जोखिमबाट संरक्षण गर्न स्वास्थ्य बीमा कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याइरहेको उल्लेख गरेको छ ।

बोर्डका अनुसार स्वास्थ्य बीमा कार्यक्रमको दिगो वित्तीय स्रोत तथा संयन्त्र पूर्ण रूपमा स्थापित हुन नसक्दा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दाबी भुक्तानी समयमै गर्न कठिनाइ भएको छ । यसबाट सेवा प्रदायक संस्था र बीमित सेवाग्राही दुवै प्रभावित भएको विषयमा बोर्ड जानकार रहेको जनाएको छ ।

विज्ञप्तिअनुसार चालु आर्थिक वर्षका विभिन्न मितिमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई कुल २३ अर्ब ४८ करोड २१ लाख ८८ हजार १६ रुपैयाँ भुक्तानी गरिसकिएको छ । साथै, २०८२ साल मंसिर मसान्तसम्म स्वास्थ्य बीमा बोर्डमा आबद्ध सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दाबी भुक्तानी फछ्र्योट भइसकेको बोर्डले जनाएको छ ।

बोर्डले २०८२ मंसिरपछि परेको दाबी भुक्तानीका लागि आवश्यक बजेट व्यवस्थापन तथा दिगो वित्तीय स्रोत सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय र पहल भइरहेको पनि जनाएको छ ।

यसैबीच, बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई बीमित सेवाग्राहीको उपचारमा कुनै पनि प्रकारको अवरोध वा कठिनाइ सिर्जना नगरी स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत निर्धारित मापदण्डअनुसार निरन्तर गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आग्रह गरेको छ ।

बोर्डले स्वास्थ्य बीमा कार्यक्रमको दिगोपन र प्रभावकारिता कायम राख्न सेवा प्रदायक स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी तथा बीमित नागरिक सबै पक्षको जिम्मेवार भूमिका आवश्यक रहेको उल्लेख गरेको छ । 
 

Share News