विकासन्युज

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको बैठक आज बिहान ११ः०० बजे बैठक बस्दैछ । प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार बैठकमा बजेट तथा बजेटसँग सम्बन्धित विनियोजन विधेयकलगायत प्रस्ताव टेबल गर्ने सम्भावित कार्यसूची छ । यसैगरी महालेखापरीक्षक कार्यालय, लोकसेवा आयोग, थारु आयोग र मधेसी आयोगको वार्षिक प्रतिवेदनसमेत पेस गर्ने कार्यसूची रहेको उनले जानकारी दिए । यही असार १ गते आर्थिक वर्ष २०८३ / ८४ को बजेट प्रस्तुत भएपछि आज पहिलोपटक बैठक बस्न लागेको हो । यहाँ सरकारले प्रस्तुत गरेको बजेटका सम्बन्धमा सत्तासाझेदार दलहरुबीच नै मतभेद भएपछि बाँकी प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

लिची किलोको २०० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २१, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४२, आलु रातो (गोलो) प्रतिकिलो रु ४०, आलु रातो (मुढे) प्रतिकिलो रु ४२, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, सेतो आलु प्रतिकेजी ३२, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १००, गाजर (तराई) प्रतिकिलो रु ९०, बन्दा (लोकल) प्रतिकिलो रु ५५, काउली स्थानीय प्रतिकिलो रु ४०, रातो मूला प्रतिकिलो रु ३५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु २० र भन्टा डल्लो प्रतिकिलो रु ३५ कायम भएको छ । समितिका अनुसार बोडी तने प्रतिकिलो रु ३०, मकै बोडी प्रतिकिलो रु ३५, मटरकोसा प्रतिकिलो रु २००, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५५, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ४५, घिउ सिमी (राजमा) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु ५०, भटमास कोसा प्रतिकिलो रु १००, तीते करेला प्रतिकिलो रु २०, लौका प्रतिकिलो रु ३०, परवर (लोकल) प्रतिकिलो रु ३५, परवर (तराई) प्रतिकिलो रु ४०, चिचिण्डो प्रतिकिलो रु २५, घिरौँला प्रतिकिलो रु ३०, झिगुनी प्रतिकिलो रु ५०, फर्सी पाकेको प्रतिकिलो रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २०, भिन्डी प्रतिकिलो रु ३०, सखरखण्ड प्रतिकिलो रु १२० र पिँडालु प्रतिकिलो रु १००, इस्कुस प्रतिकिलो रु ५० कायम भएको छ । रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो प्रतिकिलो रु ६०, चमसुरको साग प्रतिकिलो रु ६०, तोरीको साग प्रतिकिलो रु ५०, प्याज (हरियो) रु १००, च्याउ (कन्य) प्रतिकिलो रु ३००, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ । कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु ४५, चुकन्दर प्रतिकेजी रु ८०, सजीवन प्रतिकिलो रु ३००, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ९०, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३५०, सौफको साग प्रतिकिलो रु ६०, पुदिना प्रतिकिलो रु २००, गान्टेमूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ । स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन २५०, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु १७०, अनार प्रतिकिलो रु ५००, आँप (मालदह) प्रतिकिलो रु १५०, आँप (दशहरी) प्रतिकिलो रु १६०, तरबुजा (हरियो) प्रतिकिलो रु ७०, जुनार प्रतिकिलो रु ३००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ५५, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ६०, रूखकटहर प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २७०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, लिची (लोकल) रु २००, लिची (भारतीय) रु ३५०, नरिवल (काँचो) प्रतिकिलो रु ७० र नरिवल (हरियो) प्रतिकिलो रु १७० तोकिएको छ । अदुवा प्रतिकिलो रु १८०, सुकेको खुर्सानी प्रतिकिलो रु ५००, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ३०, माछे खुर्सानी प्रतिकिलो रु ६०, खुर्सानी भेडे प्रतिकिलो रु ५०, अकबरे प्रतिकिलो रु २५०, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु ८०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २३०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३५०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु ३२० निर्धारण भएको छ ।

प्राइम बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने आज असार २३ गते अन्तिम दिन रहेको छ । असार १६ गतेदेखि बिक्री खुला गरेको बैंकको ऋणपत्रमा लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । बैंकले १० वर्ष अवधि रहेको वार्षिक ६.२५ प्रतिशत ब्याजदरमा ‘प्राइम बैंक डिबेञ्चर २०९३’ बिक्री खुला गरेको हो । बैंकले ३ अर्ब रुपैयाँको प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य दरका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँको १८ लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरिएको बैंकले जनाएको छ । साथै सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताहरूले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सीआस्बा सेवामा आबद्ध बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।

मौसमले धान रोपाइँमा ब्रेक, देशभर रोपाइँ १२.६२ प्रतिशतले घट्यो

काठमाडौं । मौसमको प्रतिकूलताका कारण यसवर्ष देशभर धान रोपाइँ गत वर्षको तुलनामा १२.६२ प्रतिशतले कमी आएको छ । गत वर्ष ४५ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ३२.३८ प्रतिशत रोपाइँ भएको हो । सोमबारसम्म देशभर ४ लाख ४३ हजार ५९५ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले जानकारी दिए । उनका अनुसार रोपाइँ हुने क्षेत्रफल १३ लाख ७० हजार ६२ हेक्टर हो । सुदूरपश्चिम प्रदेशमा ५७.९ प्रतिशत , गण्डकीमा ४१ प्रतिशत , कर्णालीमा ४०.५ प्रतिशत , लुम्बिनीमा ३७.३ प्रतिशत , बागमतीमा ३३.२ प्रतिशत, कोशीमा ३१.५ प्रतिशत र मधेस प्रदेशमा १५.६ प्रतिशत प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ । जलवायु परिवर्तनको असरले समयमा मनसुन सक्रिय नभएकाले रोपाइँमा कमी आएको भए पनि देशका अधिकांश ठाउँमा वर्षा भएपछि रोपाइँमा सुधार आउने महानिर्देशक सञ्जेलले बताए ।  धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र उपयुक्त मानिए पनि मधेस प्रदेशमा १५.६ प्रतिशत मात्र रोपाइँ भएकाले धान उत्पादनमा कमी आउने प्रक्षेपण गरिएको उनको भनाइ छ । सो क्षेत्रबाट धानको उत्पादकत्व वृद्धि भई कुल उत्पादनको ७० प्रतिशत योगदान रहेको छ भने पहाडी क्षेत्रमा ३० प्रतिशत उत्पादन हुने गरेको जनाइएको छ ।

देउवा पुत्र जयविरलाई सम्पत्ति शुद्धीकरण विभागको ७ दिने पुर्जी

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक ललितपुरले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवालाई ७ दिने पुर्जी काटेको छ  विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका क्रममा जयविर सिंह देउवासँग केही कुरा बुझ्नुपर्ने भएकाले सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको हो । विभागका अनुसार जयविर सिंह देउवा डडेलधुरा जिल्ला साविक आसिग्राम गाविस-५ स्थायी वतन भई हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-२ बसोबास गर्दै आएका छन् । विभागले ललितपुरको पुल्चोकस्थित कर्मचारी सञ्चय कोषको केन्द्रीय कार्यालयको बी–ब्लकमा रहेको आफ्नो कार्यालयमा बाटोको म्यादबाहेक ७ दिनभित्र हाजिर हुन आउन भनेका हो । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ४१ बमोजिम सूचना जारी गरिएको र तोकिएको म्यादभित्र हाजिर हुन नआए प्रचलित कानून बमोजिम प्रक्रिया अघि बढाइने पनि विभागले चेतावनी दिएको छ ।   

अमेरिकालाई ४–१ ले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ १६ को रोमाञ्चक भिडन्तमा बेल्जियमले घरेलु टोली अमेरिकामाथि ४–१ को प्रभावशाली जित निकाल्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ ।  सियाटल स्टेडियममा आज बिहान सम्पन्न खेलमा बेल्जियमका चार फरक समयमा आएका गोलले अमेरिकाको यात्रा अन्त्य गरिदियो । खेलको नवौं मिनेटमै चाल्र्स डी केटेलाएरले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि अमेरिकाका मलिक टिलम्यानले ३१औं मिनेटमा बराबरी गोल फर्काउँदै खेललाई १–१ को अवस्थामा पु‍र्याए । तर अमेरिकाको खुसी धेरैबेर टिकेन । केटेलाएरले ३३औं मिनेटमै व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई पुनः अग्रता दिलाए ।  दोस्रो हाफको ५७औं मिनेटमा हान्स भानाकेनले गोल थपेपछि बेल्जियम ३–१ ले अघि बढ्यो । इन्जुरी समयमा रोमेलु लुकाकुले अर्को गोल गर्दै बेल्जियमको शानदार ४–१ को जित पक्का गरे । बेल्जियमले खेलभर आक्रामक प्रदर्शन गर्दै अवसरहरूलाई राम्रोसँग सदुपयोग ग‍र्यो भने अमेरिका निर्णायक क्षणमा रक्षात्मक कमजोरीको सिकार बन्यो । चाल्र्स डी केटेलाएर दुई गोलसहित खेलका उत्कृष्ट खेलाडी बने । यस जितसँगै बेल्जियम विश्वकप २०२६ को अन्तिम आठ (क्वार्टरफाइनल) मा प्रवेश गरेको छ भने सहआयोजक अमेरिका भने नकआउट चरणबाटै बाहिरिएको छ ।

घरमा ताल्चा, एक्ला बूढापाका

काठमाडौं । गाउँका अधिकांश घरमा अहिले ताल्चा झुन्डिएका छन् । रोजगारी, अध्ययन र पेसा व्यवसायको खोजीमा युवापुस्ता सहर तथा विदेशतिर जान थालेपछि पाल्पाका कतिपय गाउँका बस्ती सुनसान जस्तै देखिन्छन् । एक समय खेतबारीको चहलपहल र मेलापातले गुन्जिने गाउँ अहिले वृद्धवृद्धाको सहारामा मात्र टिकेको छ । गाउँमा रहेका अधिकांश बूढापाका छोराछोरी र नातिनातिनीको प्रतीक्षामा दिन बिताइरहेका छन् । चाडपर्व वा विशेष अवसरमा मात्र परिवारका सदस्य घर फर्कने भएकाले वर्षको अधिकांश समय बूढापाका एक्लोपनसँग जुध्न बाध्य छन् । पाल्पाको तिनाउ गाउँपालिकाकी ७९ वर्षीया धनकला बगालेलाई हिजोआज दिन बिताउन निकै गाह्रो छ । बुढेसकाल लागेपछि गाह्रो काम गर्न सक्दिनन् । घरको सामान्य काम गरेर दिन बित्दैन । दुःख सुखका कुरा गर्ने वरपरका छरछिमेकीका घर सुनसान बन्दै गएका छन् । छिमेकी धमाधम बसाइँसराइ गरी बजार झर्न थालेपछि धनकलाले एक्लो महसुस गर्दै छिन् । तानसेन अर्चलेका रामबहादुर बस्याललाई पनि हिजोआज पुरानो गाउँले दिनको सम्झनाले हुरुक्कै बनाउँछ । नबनाओस् पनि किन, ५०-६० घरधुरी थियो, गाउँमा उर्वरभूमि थियो । हरेकले आफूलाई पुग्ने खाद्यान्न र तरकारी फलाउँथे । सबैजसोको बारीमा फलफूल थिए । बस्तुभाउ पाल्नका लागि दुःख थिएन तर समयको त्यो चक्र हेर्दा हेर्दै परिवर्तन भएको छ । एक दशक यता एकपछि अर्को गर्दै छिमेकीहरू बसाइँसराइ गरी तराई र सहरतिर गएपछि उनी एक्लिए । उनका जवानीमा सँगसँगै मेलापात र घाँस दाउरा गरेका दौँतरी अधिकांश गाउँ छोडेर बसाइँ सरेका छन् । यो अवस्था कचल र तानसेनका ग्रामीण क्षेत्रको मात्र होइन सिङ्गो पाल्पाका अधिकांश ग्रामीण क्षेत्र यतिबेला खाली छन् । सुविधा र अवसरको खोजीमा सहर वा तराईमा बसाइँसराइ गर्ने बढेपछि यहाँका घर खाली भएका हुन् । गाउँमा तीव्र गतिमा विकास हुन थाले पनि यहाँका ग्रामीण बस्ती रित्तिँदै गएका छन् । वैदेशिक रोजगारी र सहरमुखी बसाइँसराइका कारण गाउँका धेरै घर वर्षोंदेखि बन्द छन् । कतिपय घर जीर्ण बन्दै गएका छन् भने केही घरका आँगनमा झारपात उम्रिएका छन् । खेतीयोग्य जमिनसमेत बाँझो हुन थालेपछि गाउँको उत्पादन र आर्थिक गतिविधिमा पनि असर परेको छ । वृद्धवृद्धाले स्वास्थ्य सेवा, नियमित हेरचाह र आकस्मिक अवस्थामा सहयोग पाउन कठिनाइ हुने गरेको गुनासो गर्छन् ।  हरेक गाउँमा यातायात, बिजुली, खानेपानी, शिक्षा र स्वास्थ्य र सञ्चारमा सुविधा बढ्दै गएको छ तर गाउँबाट सहर झर्नेहरू घटेका छैनन् । गाउँघरमै सिंहदरबार र दैलोमा स्थानीय सरकारको नारा चलिरहे पनि पहाडी जिल्लामा स्थानीय सरकारलाई पुरानो थातथलो छोडेर सहर र तराईमा बसाइँसराइ गरेर जाने प्रवृत्ति रोक्न चुनौती बनेको छ । केही स्थानीय तहले युवालाई रोक्न प्रयास गरे पनि त्यसो हुन सकेको छैन । युवाको पलायन रोक्न नीति तथा कार्यक्रममा केही कार्यक्रम ल्याइएको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए । कृषि क्षेत्रको विकासमार्फत युवा रोजगारी बढ्ने उनले विश्वास लिए । उनले भने, ‘अब जसरी हुन्छ, बसाइँसराइ रोक्नुपर्नेछ ।’ मान्छेहरू अलिअलि पैसा कमाउन थाले भने बजार नै झर्ने गरेका छन्, बसाइँसराइ रोक्न स्थानीयलाई आयआर्जनसँग जोड्ने, पर्यटन प्रवर्द्धन गर्ने, उद्योगधन्दा सञ्चालन गर्ने, स्रोतसाधनको पहिचान गरेर उपयोग गरी स्वरोजगार बनाउने कामतर्फ स्थानीय सरकारले ध्यान नदिने हो भने गाउँमा बूढाबूढीबाहेक अरू कोही पनि नहुने रिब्दीकोटका गोविन्द पोखरेलको भनाइ छ । 

अर्थका दुई विभागमा २ जना भुसाल, भन्सारमा यमलाल, राजश्वमा भीष्म

काठमाडौं । अर्थ मन्त्रालय अन्तर्गतका दुई महत्त्वपूर्ण विभागमा नयाँ नेतृत्व नियुक्त गरिएको छ । भन्सार विभागको महानिर्देशकमा सहसचिव यमलाल भुसाल नियुक्त भएका छन् भने आन्तरिक राजश्व विभागको महानिर्देशकमा सहसचिव डा. भीष्मकुमार भुसाललाई जिम्मेवारी दिइएको छ । भन्सार विभागका निमित्त महानिर्देशक भरतमणि पाण्डेयलाई अर्थ मन्त्रालय बाहिर सरुवा गरिएको छ । त्यस्तै, भन्सार विभागको उपमहानिर्देशकमा प्रेमप्रसाद आचार्य नियुक्त भएका छन् । यस्तै, आन्तरिक राजश्व विभागका हालका महानिर्देशक रमेश अर्याल पनि अर्थ मन्त्रालय बाहिर सरुवा भएका छन् । नयाँ जिम्मेवारी पाएका तीनै जना सहसचिव हालै बसेको मन्त्रिपरिषद् बैठकबाट अर्थ मन्त्रालयमा सरुवा भएर आएका अधिकारी हुन् ।