विकासन्युज

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

काठमाडौं । बैङ्ककस्थित नेपाली दूतावासले कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार गरेको छ । उद्धार गरिएका सबै स्वदेश फर्केका छन् ।  विभिन्न माध्यमबाट कम्बोडिया पुगेका उनीहरूलाई गैरकानुनी काममा लगाइएको जानकारी प्राप्त भएपछि कम्बोडियाली सरकारको सहयोगमा उद्धार गरी स्वदेश फर्काइएको हो ।   उक्त दूतावासका अनुसार आकर्षक रोजगारी पाइने विश्वासमा सन् २०२१ मा १०१, २०२२ मा एक हजार ९७७, सन् २०२३ मा दुई हजार ९४०, सन् २०२४ मा छ हजार ४०४ तथा सन् २०२५ मा नौ हजार ६७६ जना नेपाली कम्बोडिया पुगेका थिए ।  साथै दूतावासले श्रम स्वीकृति नलिइ कम्बोडिया, लाओस, म्यानमार  र थाइल्याण्ड नजान अनुरोध गरेको छ । 

स्थानीय मिडियालाई उपेक्षा गर्ने सरकारी निर्णय सच्याउन उपप्रमुख पाण्डेको माग

काठमाडौं । गोरखाको पालुङटार नगरपालिकाकी उपप्रमुख बन्दना पाण्डेले सरकारी विज्ञापन र सूचनाहरू केवल सरकारी सञ्चारमाध्यममार्फत मात्र प्रवाह गर्ने सरकारको पछिल्लो निर्णयप्रति असहमति जनाएकी छन् ।  अर्थ मन्त्रालयमा बिहीबार (आज) आयोजित अन्तर–सरकारी वित्त परिषद्को बैठकमा बोल्दै उनले असहमति जनाएकी हुन् । सरकारले तीनै तहका सरकारी निकायलाई सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चारमाध्यमबाट मात्र प्रकाशन तथा प्रसारण गर्न निर्देशन दिएको सन्दर्भमा उनले यस्तो नीतिले स्थानीय स्तरमा सूचनाको पहुँचलाई कमजोर बनाउने बताएकी हुन्। उपप्रमुख पाण्डेका अनुसार गाउँघरमा रेडियो नेपाल सुन्ने वा गोरखापत्र पढ्ने नागरिकहरूको संख्या अत्यन्त न्यून रहेको र स्थानीय सञ्चारमाध्यमहरूबाट गरिने सूचना प्रवाह नै बढी प्रभावकारी हुने गरेको छ ।  नगरपालिकाले पनि आफ्ना कार्य र सूचनाहरू स्थानीय मिडियामार्फत नै सार्वजनिक गर्ने अभ्यास गरिरहेको उनले स्पष्ट पारिन् । साथै उप(प्रमुख पाण्डेले सरकारको यो निर्णयले देशभरका सामुदायिक रेडियो र धेरै संख्यामा रहेका निजी सञ्चारमाध्यमहरूलाई ठूलो आर्थिक संकटमा धकेल्ने चेतावनी समेत दिइन् ।  सरकारी विज्ञापनको बजेटबाट वञ्चित हुँदा धेरै मिडियाहरू बन्द हुने अवस्थामा पुग्ने उल्लेख गर्दै उनले सरकारलाई तुरुन्त यो निर्णय सच्याउन मागसमेत गरेकी छन् ।

सार्वजनिक खरिद ऐन विकासको बाधक, आर्थिक वर्ष परिवर्तन गर्न मेयर महर्जनको सुझाव

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबावु महर्जनले देशको विकास र समृद्धिमा वर्तमान ‘सार्वजनिक खरिद ऐन २०६३’ मुख्य बाधक रहेको बताएका छन्।  अर्थ मन्त्रालयमा बिहीबार (आज) आयोजित अन्तर–सरकारी वित्त परिषद्को बैठकमा बोल्दै उनले उक्त ऐनमा तत्काल संशोधनको माग गरेका हुन् । मेयर महर्जनले देश अहिलेको आर्थिक र भौतिक अवस्थामा आइपुग्नुमा खरिद ऐनको ठूलो भूमिका रहेको टिप्पणी गरे ।  विशेषगरी ललितपुर जस्तो सम्पदाको सहरमा समेत यही झन्झटिलो ऐन अनुसार काम गर्नुपर्दा प्राचीन वैभवको संरक्षण र पुनर्निर्माणमा बाधा पुगेको उनको तर्क थियो । उनले भने, ‘ठेकेदारहरूले काम पाउने बेलासम्म अनेक प्रयत्न गर्छन्, तर काम सुरु गरेपछि समयमा सम्पन्न गर्दैनन् । वर्तमान खरिद ऐन अनुसार काम गर्दा ठेकेदारलाई जति धेरै काम गर्‍यो त्यति नै घाटा हुने अवस्था छ, जसले गर्दा समयमै काम नगर्ने परिपाटी मौलाएको छ ।’ बैठकमा मेयर महर्जनले मुलुकको खर्च गर्ने प्रणाली र कार्यक्षमतामा सुधार ल्याउन  आर्थिक वर्ष नै परिवर्तन गर्नुपर्ने सुझाव दिएका छन् ।  असारे विकासको प्रवृत्तिलाई रोक्न र बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन समयरेखा बदल्नुपर्ने उनको धारणा थियो । सहकारी क्षेत्रमा देखिएको संकटका बारेमा बोल्दै महर्जनले ललितपुर महानगरपालिकामा सहकारी पीडितको समस्या तुलनात्मक रूपमा कम रहेको दाबी गरे ।  तत्कालीन समयमा जथाभाबी सहकारी संस्था दर्ता नगर्ने अठोट लिएकै कारण अहिले धेरै ठुलो दुर्घटनाबाट जोगिएको उनले बताए । ‘अहिले देशभरका स्थानीय तहमा सहकारी पीडितहरू धर्ना बसिरहेका छन्, तर हामीले सुरुदेखि नै अपनाएको कडा नीतिले ललितपुरमा यो समस्या न्यून छ, उनले भने ।

अब बाइक साटेर घर लैजानुहोस् टियागो ईभी, टाटाको नयाँ अफर

काठमाडौं । सिप्रदी ट्रेडिङमार्फत नेपालको आधिकारिक वितरक रहेको टाटा मोटर्सले ‘स्विच टु टियागो ईभी’ नामक विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ । यस अभियानअन्तर्गत ग्राहकहरूले पुरानो बाइक वा स्कुटर साटेर नयाँ टाटा टियागो ईभी खरिद गर्न सक्नेछन् । कम्पनीका अनुसार यो क्याम्पेन आगामी अप्रिल १७, १८, १९ र २०, २०२६ मा देशभर सञ्चालन हुनेछ । अभियानअन्तर्गत जुनसुकै ब्रान्डका बाइक वा स्कुटर प्रयोगकर्ताले आफ्नो सवारी एक्सचेन्ज गरी आकर्षक सुविधासहित टियागो ईभी खरिद गर्न सक्नेछन् । यस अफरमा ग्राहकहरूले ४ लाख ९९ हजार रुपैयाँ डाउनपेमेन्टमै टियागो ईभी आफ्नो बनाउन सक्नेछन् । योजनाअन्तर्गत पुराना दुईपाङ्ग्रे सवारीको उत्कृष्ट मूल्याङ्कन, आकर्षक नगद छुट, निःशुल्क एक्सेसरिज तथा एक वर्षको सवारी कर छुट जस्ता विशेष सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । त्यसैगरी ग्राहकहरूले सिप्रदी नेटवर्कमार्फत आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ र निःशुल्क होम चार्जिङ इन्स्टलेसन सुविधा पनि प्राप्त गर्नेछन् । साथै एक जना भाग्यशाली ग्राहकले आईफोन १७ प्रो म्याक्स जित्ने अवसर समेत पाउने कम्पनीले जनाएको छ । सुरक्षित, आरामदायी र आधुनिक प्रविधियुक्त विद्युतीय कार प्रयोग गर्न चाहने ग्राहकका लागि यो योजना प्रभावकारी हुने कम्पनीको विश्वास छ । इच्छुक ग्राहकहरूले देशभर रहेका टाटा मोटर्सका आधिकारिक शोरुममा पुगेर तोकिएको अवधिभित्र अफरको लाभ लिन सक्नेछन् ।  

अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा विदेशस्थित नेपाली नियोगमा विविध कार्यक्रम

काठमाडौं । अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा विश्वका विभिन्न मुलुकस्थित नेपाली नियोगमा विविध कार्यक्रम आयोजना गरिएका समाचार प्राप्त भएका छन् । ढाका, मस्को, कोलोम्बो, टोकियो, ओटावा तथा सोलमा रहेको नेपाली राजदूतावास तथा चीनको ग्वान्जोओस्थित महावाणिज्य दूतावासमा उक्त दिवस मनाइएको ती दूतावासले बिहीबार जारी गरेका बेग्लाबेग्लै विज्ञप्तिमा जनाइएको छ । ती कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले जारी गरेको आरोग्य दिवसम्बन्धी भिडियो सन्देश प्रस्तुत गरिएको थियो । टोकियोस्थित नेपाली दूतावासमा नेपाली उत्पादन शिलाजित च्यूरीको तेल, जैविक चिया, ‘हिमालयन वाथ साल्ट’ र ‘सिङङिङ वाउल’ को प्रदर्शनी गरिएको थियो ।  त्यस अवसरमा साथै नेपालका पर्यटकीय क्षेत्र र पदमार्गसम्बन्धी प्रचारात्मक सामग्री जापानी अथितिहरुलाई निःप्रदान गरिएको थियो । समग्र स्वास्थ्य, सुख र सन्तुलित जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको महासभाले अप्रिल १५ लाई अन्तरराष्ट्रिय आरोग्य दिवसका रूपमा घोषणा गरेको हो । हरेक वर्ष आरोग्य दिवस मनाउन नेपालले गरेको प्रस्तावलाई महासभाले गत फागुन २६ गते अनुमोदन गरेको हो । सस्तो, सुलभ र समावेशी स्वास्थ्य अभ्यास अवलम्बन गर्न सबैलाई प्रेरित गर्नु यो दिवसको लक्ष्य हो ।  रोग लागेपछि उपचार गर्नेभन्दा रोग लाग्नै नदिने निवारणमुखी उपाय, स्वस्थ जीवनशैली र मानिस केन्द्रित स्वास्थ्य प्रणालीमार्फत जीवन रक्षा, स्वास्थ्य खर्च न्यूनीकरण तथा रोकथामयोग्य रोग नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।  दिगो विकास लक्ष्यको तेस्रो बुँदामा स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखिएको छ । सबै उमेर समूहका मानिसका लागि स्वस्थ जीवन सुनिश्चित गर्ने यसको लक्ष्य छ । मातृ तथा शिशु स्वास्थ्य, सरुवा तथा नसर्ने रोग नियन्त्रण, आवश्यक औषधि तथा खोपमा पहुँच, मानसिक स्वास्थ्य प्रवद्र्धन र स्वास्थ्य असमानता न्यूनीकरण यस लक्ष्यका प्रमुख प्राथमिकता हुन् । रासस

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) पनि सुनचाँदीकै मूल्य बढेको छ । सुनको मूल्य तोलामा एक सय रुपैयाँ बढी ३ लाख २ हजार ८०० रुपैयाँ पुगेको छ ।  आज चाँदीको भाउ तोलामा ३० रुपैयाँले बढेर ५ हजार २५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला ६ हजार रुपैयाँ बढेको थियो भने चाँदीको भाउ ३२० रुपैयाँले बढेको थियो ।  हिजो सुनको भाउ तोलाको तीन लाख दुई हजार ७०० र चाँदीको मूल्य ५ हजार २२० रुपैयाँ थियो ।  गत माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो । नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो ।

कांग्रेसको विशेष महाधिवेशन विवादमा आज अन्तिम सुनुवाइ

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनविरुद्ध दायर रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज (बिहीबार) सुनुवाइ हुने भएको छ । विशेष महाधिवेशनबाट चयन गरिएको कार्यसमिति अवैधानिक रहेको दाबी गर्दै दायर रिटमा न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेसी तोकिएको हो । यसअघि चैत २७ गते कामुप्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको इजलासले विपक्षीहरू विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा लगायतलाई पेसीको सूचना दिन आदेश दिएको थियो ।  प्रारम्भिक सुनुवाइमा भने न्यायाधीश सुनिलकुमार पोखरेलले तत्कालीन सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेका थिए ।  अदालतले जटिल संवैधानिक र कानुनी प्रश्नहरूको अन्तिम निरूपण अन्तिम सुनुवाइमै हुने भन्दै तत्काल हस्तक्षेप आवश्यक नदेखिएको ठहर गरेको थियो । सो क्रममा अदालतले विपक्षीहरू गगन कुमार थापा र विश्वप्रकाश शर्मा विरुद्ध कारण देखाऊ आदेश जारी गर्दै मुद्दालाई अग्राधिकारमा राखेको थियो ।

प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग संवाद गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले बिहीबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग संघीयता कार्यान्वयन र समन्वय सुदृढीकरणबारे छलफल गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो २ बजे हुने बैठकमा प्रदेशस्तरका समस्या, प्राथमिकता र केन्द्र–प्रदेश समन्वयका विषयमा प्रत्यक्ष संवाद गरिने जनाइएको छ । प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार बैठक मुख्यतः मुख्यमन्त्रीहरूको धारणा सुन्न केन्द्रित रहनेछ । बैठकमा सुदूरपश्चिमका कमल शाह, कर्णालीका यामलाल कँडेल, लुम्बिनीका चेतनारायण आचार्य, गण्डकीका सुरेन्द्र पाण्डे, बागमतीका इन्द्र बानियाँ, मधेशका कृष्णप्रसाद साह र कोशीका हिक्मत कार्की सहभागी हुने बजगाईंले जानकारी दिए । प्रधानमन्त्री साहले बैठकमा सरकारका प्राथमिकता, नीतिगत दृष्टिकोण तथा संघीय संरचनालाई प्रभावकारी बनाउने विषयमा धारणा राख्ने तयारी गरेका छन् । मुख्यमन्त्रीहरूले पनि संघीयतालाई सुदृढ बनाउन आवश्यक कानुनी तथा नीतिगत सुधार अघि बढाउने दिशामा प्रधानमन्त्री कार्यालयको धारणा जान्न चाहेको लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी दिए । संघीय शासन प्रणाली कार्यान्वयनमा देखिएका व्यावहारिक समस्या र समाधानका उपायबारे केन्द्र र प्रदेशबीच प्रत्यक्ष संवाद हुने अपेक्षा गरिएको कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले जानकारी दिए ।